७ आश्विन २०७७ बुधबार
अन्य

सारंगीको तार: बाबुछोराको जिउने आधार

सारंगी त रेटे पनि बोल्छ मीठै ध्वनि
मै कसरी मधुर बनाऊँ निठुरलाई पनि
सारंगीको महत्व दर्शाउने यो चर्चित गीत माधवप्रसाद घिमिरेले रचना गरेका हुन् भने शिशिर योगीले गाएका हुन्।
त्यस्तै,
सारंगी रेटौंला
मौका मिले फेरि भेटौंला
सारंगी नै जोडिएको यो अर्काे चर्चित गीत हो, जसमा हरिवंश आचार्यको स्वर र संगीत छ।   सारंगी भन्नेबित्तिकै यी गीत हाम्रो मानसपटलमा आउँछन्। सारंगीको धुनमा नरम्ने र नजम्ने मानिस कमै होलान्। नेपाली समाज आधुनिकतामा प्रवेश गरे पनि हाम्रा मौलिक बाजा अझै पनि उत्तिकै लोकप्रिय छन्। त्यसमा पनि सारंगीको लोकप्रियता अझ माथि छ।

गीत–संगीतका वाद्यवादनमा धेरै परिवर्तन भएको देखिन्छ। आधुनिक, पप, लोकदोहोरी सबै गीतमा सारंगीको स्थान बेग्लै हुन्छ। नेपालमा अहिले सारंगी व्यवसायको भविष्य राम्रो भएकाले सारंगी वादकको संख्या बढ्दै गएको छ। तर पेसा नै बनाएर सारंगी बोक्नेको संख्या थोरै छ। सारंगीलाई नै जिन्दगी बनाउनेहरूको भीडमा कमलकुमार विश्वकर्मा चर्चित नाम हो।

काठमाडौं, थानकोटका ५६ वर्षीय फणिराम विश्वकर्मा (कमलका बुबा)को दैनिकी गएका चार महिनादेखि सारंगी निर्माणमा व्यस्त छ। कामको सिलसिलामा १५ वर्ष बिदेसिएका फणिराम अहिले सारंगी निर्माण पेसामै रमाइरहेका छन्। सारंगीबाटै उनको दैनिकी सुरु हुन्छ। उनलाई त्यसै बसिरहन पटक्कै मन पर्दैन। हातमा भएको सीप खेर जानुहुँदैन भन्ने उनको मान्यता छ। उनी जाडोको समय भएकाले दिउँसो परिलो घामको मजा लिँदै सारंगी बनाउँछन्, अनि बिहान–बेलुकाको समयमा सारंगीमा रंग लगाउन व्यस्त हुन्छन्। घरमा सांगीतिक माहोल भएकाले उनलाई काम गर्ने थप ऊर्जा मिलेको छ।

बिदेसिनुअघि पनि फणिराम सारंगी निर्माणकै काम गर्थे। यो सीप उनले चार दशकअघि नै सिकेका हुन्। गाउँमा खेल्दा खेल्दै जानेको यो सीपले आज धेरै उपलब्धि दिएको उनी बताउँछन्। उनको घर बागलुङ, काठे गाउँपालिका वडा नं. ३, धम्जा हो। सानैदेखि सारंगीको धुनमा उनी असाध्यै रमाउँथे।

सीप हुनेलाई यो खासै गाह्रो काम होइन। घरमा बसेर गर्न सकिने काम हो। पहिलेभन्दा अहिले सजिलो भएको छ। यसको बजार पनि राम्रो हुँदै गएको छ। विभिन्न ठाउँबाट अर्डर आउँछन्।

‘गन्धर्व बाले बजाएको सारंगी सुन्दासुन्दै मलाई पनि बजाउने रहर हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘त्यतिबेला घरमा सारंगी बजाउन त के छुन पनि पाइँदैनथ्यो। जतिबेला म १०–१२ वर्षको थिएँ होला, दुई कक्षामा पढ्थें। किताबमा सारंगीको चित्र देखेर मलाई सारंगी बनाउन मन लाग्यो र काठमा चित्र कोरेर बनाउने कोसिस गरें।’  किताबको चित्र हेर्दै खेर गएको काठमा उनले सारंगीको आकार कोरे। जानी–नजानी काठमा सारंगीको आकार बनाए। गन्धर्वसँग सारंगी बनाउन चाहिने अरू सामग्री मागेर उनले सारंगी निर्माण गरे। यसरी सारंगी बनाउने र बजाउने उनको रहर पूरा भयो। अभ्यास गर्दै गएपछि आफूले आकर्षक सारंगी बनाएको उनी सुनाउँछन्।

गाउँमा कसैले आग्रह गरेमा मात्र उनी सारंगी बनाइदिन्थे। यसलाई व्यवसाय नै भने बनाएका थिएनन्। तर  उनकै छोरा (कमल)ले भने यसलाई व्यवसाय बनाएका छन्। फणिराम अहिले एक हप्तामा दुईटा सारंगी बनाउँछन्। ‘सीप हुनेलाई यो खासै गाह्रो काम होइन,’ उनले भने, ‘घरमा बसेर गर्न सकिने काम हो, पहिलेभन्दा अहिले सजिलो भएको छ। यसको बजार पनि राम्रो हुँदै गएको छ। विभिन्न ठाउँबाट अर्डर आउँछन्।’ बजारमा एउटा सारंगीको मूल्य १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने उनी सुनाउँछन्। आफ्ना बुबाले बनाएको सारंगीका लागि बजार व्यवस्थापन कमलले गरिरहेका छन्। यस काममा परिवारको साथ–सहयोग मिलेकाले धेरै सजिलो भएको फणिराम बताउँछन्। उनले अहिले सारंगी मात्र नभएर पञ्चेबाजाका सामग्री पनि बनाउन थालेका छन्।

यतिबेला उनका छोरा कमलको जिन्दगी नै सारंगी भएको छ भन्दा फरक पर्दैन। उनी बिहानदेखि बेलुकासम्मै सारंगीकै काममा व्यस्त हुन्छन्। उनी आफ्नो घरमा उत्पादन भएका सारंगी बिक्रीमा मात्र होइन, यसबाट सुमधुर संगीत निकाल्न पनि निकै माहिर छन्। यसैले अहिले उनी सारंगी बजार व्यवस्थापक मात्र नभएर आफैंमा एउटा संगीतकार अर्थात् व्यावसायिक सारंगीवादक पनि भएका छन्। यसैले उनका दिन रेकर्डिङ स्टुडियो, टेलिभिजनदेखि विभिन्न कार्यक्रमसम्म सारंगी रेट्नमै बित्ने गरेका छन्। पछिल्लो समय उनले सारंगीको धुन बजाउने मात्र होइन, आफैं गीत रचना गर्ने तथा गाउने पनि गरिरहेका छन्। उनले सारंगी युटुब च्यानलै सञ्चालन गरेका छन्।

अहिलेसम्म करिब ५ हजार गीतमा सारंगीको धुन दिएको उनी सुनाउँछन्। ‘अहिले गीतका विभिन्न विधामा सारंगीको प्रयोग हुन थालेको छ,’ उनले भने, ‘कुनै समय विशेष गरेर लोकगीतका लागि मात्र सारंगी प्रयोग हुन्थ्यो। तर अहिले पप, आधुनिक, ब्याटलजस्ता आधुनिक गीतमा समेत सारंगीको माग बढेको छ।’

कमलले सारंगीलाई नै व्यवसाय बनाएको एक दशकभन्दा बढी भयो। सारंगीमा उनको रुचि अहिलेको होइन, बाल्यकालदेखिकै हो। बुबाले सारंगी बनाएका बेला उनी छेउमा बसेर ध्यानपूर्वक हेरिरहन्थे। यसरी हेर्दाहेर्दैको परिणाम हो, आजका उनी। ‘सारंगी बनाउन त्यतिबेला अहिलेजस्तो सजिलो थिएन,’ उनले भने, ‘सामान जुटाउनै गाह्रो हुन्थ्यो। साथीहरूले सामान जुटाउन धेरै सहयोग गर्थे।’ सारंगी बनाउन सिक्दा आफूले धेरै दुःख पाएको उनी सम्झिन्छन्। पढाइमा भन्दा पनि उनको ध्यान बढी सारंगीमै हुन्थ्यो। सारंगीबाटै उनले धेरै अवसर पनि पाए। यसले सारंगीलाई व्यवसाय बनाउन हौसला मिलेको उनी बताउँछन्। 

सारंगीमा ठूलो भविष्य देखेर उनी बागलुङबाट २०६३ सालमा काठमाडौं प्रवेश गरे। कलाकारहरूसँग चिनजान बढ्दै गयो र उनीहरूबाट धेरै कुरा सिक्ने अवसर पनि उनले पाए। ‘गाउँका चिनेजानेका दाइहरूले रेकर्डिङ स्टुडियो लानुभयो, दिनभरि रेकर्डिङ स्टुडियोमा अरूले गीतका वाद्यवादन बजाएको हेरेर बस्थें,’ उनी सम्झन्छन्, ‘त्यसमा पनि सारंगी बजाएकोचाहिँ विशेष ध्यान दिएर हेर्थें, मेरो रुचिको विषय पनि भएर होला।’ यही सिलसिलामा उनी गीत संगीतका विभिन्न संघसंस्थामा आबद्ध भए।

सारंगीमा राम्रो काम गर्न थालेपछि अग्रज कलाकारले खोजी गरेर आफूलाई गीतमा राखेको कमल बताउँछन्। पञ्चेबाजामा उनले कहिल्यै सारंगी रेटेका थिएनन्। तर बीबी अनुरागीले आफ्नो पञ्चेबाजाको गीतमा सारंगी बजाउन आग्रह गरे। पहिलोपटकमै पञ्चेबाजामा राम्रोसँग सारंगी बजाएको भनेर प्रशंसा पाएको उनी सुनाउँछन्। सबैको साथ र सहयोगले सारंगी यात्रामा यहाँसम्म आउन सकिएको उनी बताउँछन्।

प्रकाशित: ११ माघ २०७६ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App