८ वैशाख २०८१ शनिबार
अन्य

मस्तिष्कको विस्मृति

केही महिनाअघि मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकहाँ दुई छोराले ८० वर्षीय बुबालाई उपचारका लागि पुर्‍याए । ती वृद्ध बा हराएर भेटिएका रहेछन् । घरबाट निस्किएपछि आफ्नो घर पत्ता लगाउन नसकेर घर फर्कन सकेनन् । तर उनले लगाउने कपडामा छोराहरुले फोन नम्बर तथा सम्पर्क ठेगाना लेखिदिएका थिए । त्यही सम्पर्क नम्बरको आधारमा ती वृद्धलाई एक व्यक्तिले परिवारका सदस्यलाई खबर गरेपछि भेटिएका हुन् । ती वृद्धलाई अल्जाइमरको लक्षण देखिएपछि डा. उपाध्यायले परिवारका सदस्यले निगरानीका साथ हेरचाह गर्नुपर्नेजस्ता परामर्श दिए । उनले अल्जाइमर भएका व्यक्तिलाई गर्नुपर्ने व्यवहारका बारेमा परामर्श दिए ।

त्यस्तै मनोविद् गोपाल ढकालकहाँ केही महिनाअघि करिब ७० वर्ष नाघेका श्रीमान्–श्रीमती परामर्शका लागि पुगे । उनीहरुको घरमा १० वर्षका बालक पढ्दै काम गर्न बसेका थिए । तर ७० काटेकी श्रीमतीलाई उनका श्रीमान्ले त्यही दस वर्षे बालकसँग लसपस गरेको भन्दै सधैँ शंका गर्न थाले । जसका कारण श्रीमान्–श्रीमतीबीच दैनक झगडा पथ्र्यो । बुढी आमैले उनका श्रीमान्लाई ढकालकहाँ पुर्‍याएकी हुन् ।

ती बुढा बालाई मानसिक समस्या नभई अल्जाइमरको लक्षण देखिएपछि उनले त्यही अनुसारको परामर्श दिए । परिवारका सदस्यले अपनाउनुपर्ने भूमिकाका बारेमा बताए । डा. उपाध्याय र ढकालकहाँ पुगेका दुई व्यक्ति अल्जाइर्स रोगको समस्या भएका प्रतिनिधि पात्र मात्रै हुन् । उमेर पाको हुँदै जाँदा अल्जाइमरको समस्या बढ्दै जाने डा. उपाध्याय र ढकालले बताए ।

प्रमुख दस रोगमध्येमा पर्छ अल्जाइमर्स–डिमेन्सिया । अल्जाइमर्सको समस्या भएका व्यक्तिलाई हेरचाह गर्न निक्कै असहजता उत्पन्न हुन्छ । यो एक दीर्घकालीन रोग हो । बिरामीले के गर्न हुन्छ वा के गर्न हुन्न भन्ने कुराको सही निर्णय लिन सक्दैनन् ।

वृद्ध अवस्थामा हुने अर्को समस्या डिमेन्सिया हो । डिमेन्सिया धेरै किसिमका हुन्छन् तीमध्ये बढी देखिने अल्जाइमर्स–डिमेन्सिया हो । किन यो रोग लाग्छ भनेर अनुसन्धानहरु भैरहेका छन् । अध्ययनअनुसार हर्पिज सिम्पेलक्स भाइरसको संक्रमण र अल्जाइमर्स डिमेन्सियाको केही लिंक छ भन्न थालिएको डा. उपाध्याय बताउँछन् । यस्तो संक्रमणको राम्रो उपचार गरेर अल्जाइमर्स रोक्न सकिन्छ कि भन्ने तर्कसमेत आउन थालेका छन् ।

चिकित्सकका अनुसार व्यक्तिको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई अल्जाइमर्सको शंका गर्न सकिन्छ । यो रोग प्रायः ६० वर्ष उमेर पछि मात्र लाग्छ र जति उमेर बढ्दै गयो अल्जाइमर्स हुने सम्भावना पनि बढ्दै जान्छ । प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा अल्जाइमर्स–डिमेन्सिया हुने सम्भावना करिब एक प्रतिशत हुन्छ, भने ९० देखि ९५ वर्ष उमेर समूहका व्यक्तिलाई यो रोगको सम्भावना करिब १० प्रतिशत हुने चिकित्सक बताउँछन् । सय नाघेकामा यो रोगको प्रतिशतको अनुपात बढ्छ ।

डिमेन्सिया र अल्जाइमरको फरक
हेर्दा उस्तैउस्तै लक्षण देखिने भए पनि डिमेन्सिया र अल्जाइमर फरक समस्या हुन् । मनोविद् ढकालका अनुसार डिमेन्सिया उमेर पाको हुँदै जाँदा बिर्सने समस्या हो भने अल्जाइमर डिमेन्सियाको एउटा प्रकार हो । डिमेन्सियाको समस्या भएका व्यक्तिमा बिर्सने मात्र नभई व्यवहार तथा व्यक्तित्व, सोचाइलगायतमा फरक पर्छ । डिमेन्सियाको समस्या भएका व्यक्तिमा रिसाउने, झन्किने, चिटचिटाहट हुनेजस्ता लक्षण देखिन्छन् भने डिमेन्सिया भएका अधिकांश व्यक्तिमा अल्जाइमरको समस्या हुन्छ ।

डिमेन्सिया पाको उमेरका व्यक्तिमा हुने समस्या हो भने अल्जाइमर मस्तिष्कको नसा सुक्ने रोग हो । नसा सुक्दै जाँदा मस्तिष्कको क्रियाकलापमा ह्राष आउँदा अल्जाइमरको समस्या हुन्छ । नसा सुक्ने, खिइनेजस्ता डिमेन्सियाका प्रकार हुन्छन् । जसमध्ये एक हो, अल्जाइमर । चिकित्सकका अनुसार डिमेन्सिया हुने विभिन्न कारणमध्ये ७५ प्रतिशत कारण अल्जाइमर्स हो ।

डा. दिनेश बाँस्तोलाका अनुसार यी दुवै समस्यामा पाको उमेरका व्यक्तिमा छोटो सम्झना हुन्न । दीर्घकालीन सम्झना भने यथावत रहन्छ । भर्खरै गरेको कुरा सम्झन सक्दैनन् । तर पुरानो कुरा सम्झन सक्छन् । ‘लामो समयको सम्झनाको तुलनामा छोटो सम्झना छिटो बिर्सन्छन्,’ डा. बाँस्तोला भन्छन्, ‘व्यक्तिले पहिले ग्रहण गरेको कुरा सम्झन सक्ने तर भर्खरै भएको कुरा भने मस्तिष्कको ग्रहण गर्ने क्षमतै नहुँदा भर्खर गरेको कुराको सम्झना हुन्न ।’  त्यसैले पाको उमेरका व्यक्तिले पुराना कुरा धेरै गर्न सक्छन् । डिमेन्सिया (विस्मृति) को समस्या भएका व्यक्तिमा कुन सही हो र कुन गलत हो भन्ने कुरा थाहा हुन्छ ।

मनोचिकित्सक डा. उपाध्यायका अनुसार डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो । यो कुनै नयाँ रोग पनि होइन । आयुर्वेदमा ‘स्मृति भ्रंस’ भन्ने रोग तीन हजार वर्षभन्दा पहिले देखि नै छ जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको छ ।

मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने, बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठिक वा बेठिक कुराको निर्णय लिने गर्छ । यसैगरी हिसाब गर्न सक्ने आफू कुन ठाउँमा छु, के कस्तो अवस्थामा छु, आफ्नो घर/डेरामा कुन कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्दहरुको चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ । तर डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरु बिस्तारै  देखिन थाल्छन् र अलिअलि गरेर बढ्दै जान्छन् । रोग बढी सकेपछि मस्तिष्कले पहिले सहज रुपमा गर्दै आएका काम र खास गरेर पहिले सजिलै सम्झिने कुरा बिर्सन थाल्छ । यस्तो अवस्थामा अल्जाइमर्सका लक्षण देखिने डा. उपाध्याय बताउँछन् ।

लक्षण र जोखिम
चिकित्सकका अनुसार अल्जाइमर्सको समस्या भएका व्यक्तिमा आफन्तजनहरुलाई नचिन्ने, उनीहरुको बिर्सने, सरसफाइ, नुहाइ–धुवाइ तथा दिसा, पिसाब गर्न नसक्ने हुँदै जान्छन्

डिमेन्सिया (विस्मृति) र अल्जाइमर्सको समस्या भएका व्यक्तिमा उदासिनता, निराशा बढ्दै जाने चिकित्सक बताउँछन् । यस्तो समस्या भएका व्यक्ति हराउने, आत्महत्या गर्नसक्ने जस्तो जोखिम हुन्छ । कतिपय यस्ता व्यक्तिले अरु व्यक्तिलाई आक्रमणसमेत गर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन् । के सही र के गलत हो भन्ने छुट्याउन नसक्दा घरकै सदस्यलाई समेत बलात्कार गर्न सक्छन् । यस्तो समस्याका कारण शरीरको रोगप्रतिरोधात्मक क्षमतामा समेत कमी आउँछ । जसका कारण संक्रमणले आक्रमण गरी शरीर कमजोर हुन सक्छ । यसमा परिवारका सदस्यले राम्रो हेरचाह गर्नु आवश्यक हुन्छ ।

अल्जाइमर्सका लक्षण परिवारका सदस्यले थाहा पाउन सकिने चिकित्सक बताउँछन् । अल्जाइमर्स रोगको समस्या भएका व्यक्तिले नियमितरुपमा गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने मनोविद् ढकालले बताए । यो रोग लागेपछि बिर्सी राख्ने र कुनै कुरा सम्झाउँदा पनि एकैछिनमा बिर्सिने लक्षण हुन्छ । डा. उपाध्यायले भने, ‘यो रोग लागेका व्यक्तिले पैसा, गरगहना, साँचो वा कागजपत्रहरु राखेको ठाउँ प्रायःजसो बिर्सन्छन् । असामान्य किसिमले बिर्सनु रोग हो कहिलेकाहीँ सामान्य बिर्सने जो कोहीलाई पनि हुन सक्छ, यसलाई रोग मानिँदैन ।

यो रोग लागेका व्यक्तिले आफु बसेको ठाउँ बिर्सन्छन् । महिना, बार, गतेजस्ता कुराको सम्झना हुँदैन । आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जान्छ । झर्किने, मलाइ मार्न आयौ भन्ने, आफू बसेको ठाउँ तथा घरै बिर्सिएर पत्तालगाउन नसक्नेजस्ता लक्षण हुन्छन् ।

ढकालका अनुसार रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने, खाना माग्ने समस्या हुन्छ । आफ्नै छोरा, छोरी, बुहारीलाई नचिन्दा नचिनेको मान्छे जस्तै गरी हजुर, तपाई, भन्ने लक्षण देखाउँछन् ।  अल्जाइमर्सको समस्या भएका व्यक्तिमा आफ्नै परिवारका सदस्यलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि ? सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने जस्ता लक्षणहरु देखिन्छन् ।

समस्याको कारण
अल्जाइमर्स लागेको अवस्थामा मस्तिष्कका स्नायुकोषहरु मर्दै जाने र मस्तिष्कमा भएका केही रसहरु उत्पन्न गर्ने स्नायुकोष पनि हराउँदै जाने गरेको पाइएको छ । डिमेन्सिया हुने कारण विभिन्न हुन्छन् ।  तीमध्ये करिब ७० प्रतिशत बिरामीमा अल्जाइमर्स रोगका कारण डिमेन्सियाको समस्या हुने गरेको छ । ‘अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो,’ डा. उपाध्यायले भने ,‘डिमेन्सिया हुन सक्ने अन्य कारणहरुमा अत्यधिक मदिरा सेवन, एचआइभी/एड्स, पोषण तत्वको कमी र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु मुख्य हुन् ।’

उमेर बढ्दै जाँदा शारीरिक तथा मानसिक शिथिलता हुने भएकाले अल्जाइमर्सको जोखिम हुन्छ ।
चिकित्सकका अनुसार यी दुवै किसिमका रोग सँगसँगै वा एक पछि अर्को गर्दै आउँछन् । कतिपय व्यक्तिलाई डिमेन्सिया (विस्मृति) एकपछि अर्को गर्दै सँगसँग हुने डा. बाँस्तोला बताउँछन् । सामान्यतः डिमेन्सिया (विस्मृति) को सुरुवात भएपछि अल्जाइमर्सको समस्या हुन्छ ।

पाको उमेरमा डिमेन्सिया (विस्मृति) मस्तिष्कका शिरा र धमनीको रोगले हुन्छ भने आयोडिनको कमी, रक्सी सेवन, टाउकोमा चोटजस्ता कारणले डिमेन्सिया (विस्मृति) को समस्या हुन्छ । यस्ता विस्मृतिका समस्या नै उमेर पाको हुँदै जाँदा अल्जाइमर्स रोग हुने मुख्य कारक तत्व बन्ने जोखिम हुने डा. बाँस्तोलाले बताए ।  विस्मृतिको समस्या भएका व्यक्तिमा अल्जाइमर्स हुने सम्भावना करिब ६० प्रतिशतभन्दा बढी हुने चिकित्सक बताउँछन् ।  

चिकित्सकका अनुसार अल्जाइमर्स रोगको विकास हुने मुख्य कारक तत्व नै उमेर हो । उमेर बढ्दै जाँदा अल्जाइमर्सको जोखिम बढ्दै जान्छ । विकसित देशहरुमा उमेर बढ्दै जाँदा डिमेन्सिया (विस्मृति) र अल्जाइमर्स रोगका बिरामीहरु पनि बढ्दै गएका छन् । जिउने उमेरको दर पुरुषको तुलनामा महिलाको बढी हुने भएकाले यस्ता रोग पुरुषको तुलनामा महिलामा बढी देखिन्छ ।

अल्जाइमर्सका बिरामीहरुमा देखिने सबै लक्षणहरु एकै चोटी थपिँदै देखिँदैनन् । सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरु पनि देखिँदै जान्छन् । डा. उपाध्यायले भने, ‘याद राख्नु पर्ने मुख्य कुरा के हो भने अल्जाइमर्स–डिमेन्सिया रोग हो, बुढेसकालको लक्षण होइन । तर पनि हाम्रो समाजमा यो बुढेसकालका कारण भएको हो भन्ने गलत सोचाइ व्यापकरुपमा छ ।’

उच्च रक्तचाप, मुटुरोग, डाइबेटिज, थाइरोइडजस्ता कारण अल्जाइमर्सको समस्या हुने चिकित्सक बताउँछन् । उपाध्यायका अनुसार पाँचदेखि आठ प्रतिशत व्यक्तिमा वंशाणुगतरुपमा यो रोगको समस्या हुन्छ । ९० प्रतिशत अव्यवस्थित जीवनशैलीका कारण हुन्छ ।

लक्षण हेरी उपचार
अल्जाइमर्सको समस्या भएका व्यक्तिका लागि ठोस उपचार पद्धति नै नभएको चिकित्सक बताउँछन् । तर लक्षण र चिह्नको आधारमा उपचार पद्धति भने अपनाउन सकिने डा. बाँस्तोला बताउँछन् । उदासीन भएका व्यक्तिमा उदासिनताको उपचार, रक्सी पिउने व्यक्तिमा रक्सी छुटाउने उपाय अपनाउन सकिन्छ । आयोडिनको कमीले भएको असरमा आयोडिन दिन सकिने चिकित्सक बताउँछन् । मस्तिष्कमा चोटका कारणले यस्तो समस्या भएको खण्डमा मस्तिष्कको उपचार पद्धति अपनाइन्छ । डा. उपाध्यायले भने, ‘डिमेन्सिया रोग लागि सकेपछि उपचार  गरेर पूरै निको हुने सम्भावना निकै कम हुन्छ ।’

अल्जाइमर्स रोग लागेका व्यक्तिमा लक्षण बिस्तारै सुरु भएर बिर्सने, आफूले नियमित गर्दै आएको काम गर्न नसक्नेजस्ता लक्षणलाई परिवारका सदस्यले सामान्यरुपमा लिनु पर्छ । सामान्यतः नेपालमा रोग निक्कै बढिसकेपछि चिकित्सकको सल्लाह लिने चलन भएकाले रोगको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिन डा. उपाध्यायको सुझाव छ ।

चिकित्सकका अनुसार रोगको सुरुवाति चरणमा केही औषधिहरुको प्रयोग गरी रोकथाम गर्न सकिन्छ । रोग बढी सकेपछि औषधिले रोकथाम सकिँदैन । त्यसैले रोगको निदान छिटो हुन सके राम्रो । परिवारले अल्जाइमर्स रोग लागेको जानकारी पाएपछि के कसरी स्याहार, सुसार गर्न सकिन्छ भन्ने वारेमा  ध्यान दिन आवश्यक छ ।
बिरामीको सम्झने शक्ति ठिक छ वा छैन भनेर परीक्षण गरिन्छ । अन्य कुनै रोगको कारणले समस्या भएको हो कि ? भनेर पहिचान गर्ने तथा रगत परीक्षण गरिन्छ ।

उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झने शक्तिमा समस्या भएको अवस्थामा उपचारपछि ठिक हुने डा. उपाध्याय बताउँछन् । ‘अन्य कारणले नभई अल्जाइमर्स–डिमेन्सिया भएर नै स्मरणशक्ति हराउँदै गएको अवस्थामा रोगको एकिन भएपछि बिरामीको स्याहार सुसारमा ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सुझाव दिइन्छ,’ डा. उपाध्यायले भने, ‘रोगको सुरुवाती अवस्थामा औषधिको प्रयोग पनि गर्न सकिन्छ ।’ मस्तिष्कको टुक्रा झिकी बायोप्सी परीक्षण गरेर, सिटिस्क्यान तथा एक्सरेजस्तो जाँच गरी अल्जाइमर्स भए नभएको परीक्षण गर्न सकिने उनी बताउँछन् ।

ब्रिटिस मेडिकल जर्नलअनुसार एसीटाएल कोलिन नामक न्युरोट्रन्समिटरले मस्तिष्कमा न्युरोन्सहरुबीच नयाँ–नयाँ कनेक्सन तथा सम्पर्क स्थापना गर्छ । यस्ता कनेक्सन जति राम्रो र बलियो भयो त्यति नै मस्तिष्क तेजिलो हुन्छ । न्युरोट्रान्समिटरको कमी हुँदै जाँदा, न्युरोन्सहरु सुक्दै जान्छन् ।

शरीरका माशंपेशीहरु शारीरिक व्यायाम वा परिश्रम नगरे घट्दै जान्छन् । शारीरिक मात्रै हैन मस्तिष्कको राम्रोसँग व्यायाम नभएको अवस्थामा मस्तिष्क निष्क्रिय हुँदै जाने भएकाले मस्तिष्कलाई सक्रिय राख्न शारीरिक तथा मानसिक व्यायामको आवश्यकता पर्ने चिकित्सक बताउँछन् ।

सावधानी र बच्ने उपाय
यो रोग लाग्नुभन्दा पहिले त सावधानी अपनाउनै प¥योे । रोग लागिसकेका व्यक्तिका परिवारले विशेष सजगता अपनाउनु पर्छ । अल्जाइमर्स तथा डिमेन्सियाको समस्या भएका व्यक्ति हराउने जोखिम भएकाले उनीहरुले लगाउने लुगा–कपडामा सम्पर्क नम्बर तथा ठेगाना लेखिदिनुपर्छ । यसरी सम्पर्क ठेगाना राखिदिँदा कसैले भेटेको खण्डमा परिवारका सदस्यलाई खबर गर्न सक्छन् ।

अल्जाइमर्स रोगबाट बच्ने उपायका बारेमा थुप्रै अध्ययन भएका छन् तर यो रोगबाट बच्ने एकिन उपाय नभेटिएको डा. उपाध्यायले बताए ।

फलफूल तथा पोषिलो खानपान गर्नुपर्छ । ओखर, काजु, बदामजस्ता नट्सले मस्तिष्क सक्रिय रहन सहयोग पुग्छ । जहिल्यै सकारात्मक सोच्न ढकालको सुझाव छ । राम्रोसँग निदाउनु पर्छ । तनाव व्यवस्थापन त गर्नै पर्‍यो ।
विभिन्न किसिमका भिटामिन तत्वको कमीले यो समस्या हुन सक्छ ।

भिटामिन ‘बी–१२’, हार्मोनको कमी, औषधिको प्रयोगले बिर्सने रोग लाग्न सक्छ ।  त्यसैले खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ । यस्तो अवस्थामा उपचारपछि ठिक हुन सक्ने चिकित्सक बताउँछन् । त्यस्तै डिप्रेसन रोग लाग्दा, धेरै मानसिक तनाव हुँदा,  निद्राको समस्याले गर्दा, लागू औषधिको प्रयोग वा धेरै मदिरा सेवनका कारण पनि स्मरणशक्ति कम हुने भएकाले यस्तोमा सजग रहन ढकालको सुझाव छ ।

यी कारणले गर्दा स्मरण शक्ति कम भएको हो भने, शरीरमा कमी भएको तत्व पूरा गर्दा तथा नोक्सान गर्ने पदार्थहरु छोड्नु नै लाभदायक हुन्छ । धूमपान गर्नु हुन्न । मधुमेह भएको अवस्थामा यसको नियन्त्रण गर्नुपर्छ । व्यायाम तथा सन्तुलित भोजन र व्यवस्थित जीवनशैलीमा त ध्यान दिनै पर्‍यो । टाउकोमा चोटपटक लागेको खण्डमा पछि गएर अल्जाइमर्सको सम्भावना हुने भएकाले टाउकोमा चोटपटक नलागोस् भन्नेतर्फ ध्यान दिनु पर्छ ।

खानपान तथा जीवनशैलीमा सुधार गर्नाले मस्तिष्कका नसा सक्रिय भई मस्तिष्क तीक्ष्ण हुन्छ । यौन सम्पर्कले पनि अल्जाइमर्सको समस्या हुन बाट बच्न सकिने भएकाले व्यवस्थित यौन सम्पर्क गर्न सकिने डा. उपाध्याय बताउँछन् । सखरखण्ड तथा ग्रिन टी खाए यस्तो समस्याबाट बच्न सकिन्छ ।

‘मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ । तनाव हुँदा कर्टिसोल भन्ने हार्मोन शरीरमा बढी निस्कन्छ जुन शरीर र मस्तिष्कलाई हानिकारक छ,’ डा. उपाध्यायले भने, ‘तनावको राम्रो व्यवस्थापन गर्नुपर्छ । आफ्ना समस्या मिल्ने साथी वा परिवारका सदस्यसँग सेयर गर्नुपर्छ, समस्या समाधान गर्ने प्रयास गर्ने, शारीरिक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहारका साथै संगीत श्रवण गर्नुपर्छ  ।’

नयाँ नयाँ काम गर्नाले, सिक्नाले मस्तिष्कको राम्रो व्यायाम हुने भएकाले अल्जाइमर्सको समस्या हुनबाट बच्न सकिने चिकित्सक बताउँछन् । अल्जाइमर्स रोग भएको रोगीमा ओमेगा–३ घटेको पाइने भएकाले यो तत्व पाइने खाद्यपदार्थ खानुपर्ने डा. उपाध्यायको सुझाव छ । यो तत्व भटमासको तेल र माछामा प्रशस्त पाइन्छ । स्वस्थ जीवनशैली अवलम्बन गर्नाले यस्ता कयौं रोगबाट बच्न सकिन्छ, त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुन्छ ।

डा. उपाध्यायका अनुसार मस्तिष्कमा रहेका न्युरोनको कोषिका नस्ट हुँदै जाने तथा अनावश्यक पदार्थ जम्मा हुँदै जाने भएकाले मस्तिष्क सधैँ स्वस्थ राख्नु पर्छ । मस्तिष्कमा व्यायाम पुग्ने किसिमको चेस, डान्सका नयाँ स्टेप, म्युजिकका नयाँ कुरा, नयाँनयाँ खोज तथा अनुसन्धान गरी मस्तिष्कलाई सक्रिय बनाई मस्तिष्क स्वस्थ राख्न सकिने मनोचिकित्सक बताउँछन् । ‘सामाजिक सेवा, भेटघाट गर्नु त छँदैछ उद्देश्यसहित आनन्दले जिउनुपर्छ,’ ढकालले भने, ‘हराभरा तथा मनोरम ठाउँमा घुमफिर गर्दा मस्तिष्क सक्रिय राख्न सकिन्छ ।’

यसरी गरिन्छ हेरचाह
अल्जाइमर्स रोग लागेका व्यक्तिका लागि बच्चाबच्चीलाई झैं व्यक्तिगत सरसफाइ र खानपानमा परिवारले विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । दिउँसोको समयमा सुत्न दिँदा राति ननिदाउने समस्या हुने भएकाले राति सुत्ने बानी बसाल्नु राम्रो हुन्छ ।

विशेषगरी सहरी क्षेत्रमा हराउने डर हुने भएकाले घरको ढोका, घर कम्पाउन्ड, गेट राम्रोसँग बन्द गर्न डा. बाँस्तोलाको सुझाव छ । घर बाहिर गएमा बिरामी आफँै घर पर्किन नसक्ने सम्भावना भएकाले परिवारलाई बिरामी खोज्न सास्ती हुनसक्छ ।

बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नं. भएको कार्ड राखिदिएमा हराएमा पनि खोज्न सजिलो हुन्छ । अल्जाइमर्स रोगको समस्या भएका व्यक्तिमा नाम, सम्पर्क नम्बर भएको ब्रासलेट (चादी वा अन्य धातुको ) लगाईदिए हराएको खण्डमा परिवारका सदस्यलाई कसैले खबर गरिदिन सक्छ । लडेर चोटपटक लाग्ने र विभिन्न संक्रमणहरु भएर समस्या हुन सक्ने भएकोले त्यसतर्फ पनि सतर्क हुनु जरुरी हुने डा. उपाध्यायको सुझाव छ ।

डा. उपाध्यायले भने, ‘निद्रा नलाग्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधहरुको प्रयोग गर्न सकिन्छ ।’ असामान्य किसिमको व्यवहार गर्ने, आफूले लगाएका कपडा खोल्ने, नांगै हुने, यौनांग खेलाउने, रिसाउने, कुटपिट गर्ने, तोडफोड गर्नेजस्ता व्यवहार देखाए मनोरोग विशेषज्ञसँग सल्लाह लिन उपयुक्त हुन्छ । बिरामीहरु बिस्तारै आफूले आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा पुग्ने भएकाले परिवारका सदस्यले बोझको रुपमा लिन हुन्न ।

पाको उमेरमा मस्तिष्कमा समस्या
डा.दिनेश बाँस्तोला

बच्चाले भुल्ने स्वभाव विस्मृति हो । जुन स्वाभविक हो ।
विस्मृतिलाई अंग्रेजीमा ‘डिमेन्सिया’ भनिन्छ । कुपोषण, सानोमा टाउकोमा, चोट, उच्च रक्तचाप तथा मुटुको समस्याजस्ता कारणले मस्तिष्कमा असर पुगि डिमेन्सिया (विस्मृति) को समस्या हुन सक्छ ।

सामान्यतः ६५ वर्ष उमेर काटेका पाँच प्रतिशतभन्दा बढी व्यक्तिमा डिमेन्सिया (विस्मृति) को समस्या हुन्छ, ८० वर्ष उमेर पुगेकामध्ये २० प्रतिशतमा यो समस्या हुन्छ । त्यसैगरी ८० नाघेका व्यक्तिमा डिमेन्सिया (विस्मृति) को समस्या हुने प्रतिशतको अनुपात ह्वात्तै बढ्दै जान्छ ।

अल्जाइमर्स रोग ४५ वर्ष उमेर काटिसकेपछि लाग्दै जान्छ । तर ६५ पुग्दा लक्षण देखिँदै जान्छन् । विभिन्न कारणले अल्जाइमर्स हुन्छ । ६५ वर्ष भन्दा कम उमेरका व्यक्तिमा प्रमुखरुपमा वंशाणुका कारणले यो रोग लाग्छ । अध्ययन अनुसार १५ प्रतिशत व्यक्तिमा पारिवारिक कारणले अल्जाइमर्सको समस्या भएको पाइन्छ । यसरी हेर्दा बुवा–आमाबाट सन्तानमा वंशाणुरुपमा यो रोग हुने सम्भावना हुन्छ, भने अर्कोतर्फ परिवारका कोही सदस्यलाई भएको अवस्थामा समेत अल्जाइमर्सको जोखिम हुन्छ ।

जति पाको हुँदै गयो, त्यति नै यो रोगको समस्या बढ्दै जान्छ । मस्तिष्कका कोषिका खिइँदै जाने भएकाले उमेर पाको हुँदै जाँदा अल्जाइमर्स रोग बढ्दै जान्छ । ‘सेरेब्रल’ र ‘हिप्पोक्याम्पुस’ मस्तिष्कका दुईवटा भाग हुन् । विशेषगरी ‘सेरेब्रल’ को बाहिरी भाग र ‘हिप्पोक्याम्पुस’ खिइँदा अल्जाइमर्स रोगको समस्या हुन्छ । यी भागमा ‘एमिल्वाइड’ लेपको दाग बस्दा यो समस्या हुन्छ । विभिन्न किसिमका प्रवाहजन्य रसायनहरुको असामान्य अवस्थाका कारणसमेत अल्जाइमर्स हुन्छ ।
यस्तो समस्या भएका व्यक्ति नहराऊन् भनेर लुगाकपडमा सम्पर्क नम्बर तथा ठेगाना अरुले देख्नेगरी लेखेर राखिदिनुपर्छ । नत्र व्यक्ति हराउने तथा चिसो मौसममा त कठ्यांग्रिएर मृत्युको समेत जोखिम हुन्छ ।

अल्जाइमर्स र मानसिक समस्या फरक
गोपाल ढकाल

मनोविद्
अल्जाइमर्स र मानसिक समस्या फरक हुन् । मस्तिष्कको कोषिकाकै गडबडीका कारण अल्जाइमर्सको समस्या देखा पर्छ, भने मानसिक रोगमा मस्तिष्कको खराबी हुन्छ नै भन्ने छैन । अल्जाइमर्स शारीरिक समस्या हो । अल्जाइमर्समा बेसुरका कुरा गर्ने, बिर्सने, शंका गर्नेलगायत मानसिक रोगीकै जस्ता लक्षण देखिन सक्छन् ।
अल्जाइमर र मानसिक समस्या विशेषगरी लक्षण तथा उमेरका आधारमा छुट्याउन सकिन्छ । अल्जाइमर पाको उमेरमा मात्रै हुने समस्या हो । स्मरण शक्तिको परीक्षण गरी अल्जाइमर हो वा मानसिक समस्या भनी छुट्याउन सकिन्छ । मानसिक समस्या भने जुनसुकै उमेरमा पनि हुन सक्छ ।

 

प्रकाशित: ८ माघ २०७६ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App