७ कार्तिक २०७८ आइतबार
अन्य

छोराछोरी छरछार

  पुगौं–पुगौं भो मन !
  थकाइ भुल्न पसारिएथ्यौँ । तर यांगर पुग्ने रहरमा सुतिरहन मन मानेन । फेरि थकाइ, हैरानी र दिग्दारी सम्झिनै भएको छैन मैले ।
यांगर हिमालसँग आँखा जुधाउन पुगेथ्यो घाम । बादल धुम्मिएर हिमालका कुनातिर पसेर कानेखुसी गर्न लाग्दै थियो ।

‘बेलैमा जाऊँ, बेलैमा फर्कौं !’
मेरा कुरा माने कन्जोकले ।
त्यसपछि हामी आधारबाट बाहिरियौँ । घाम र बादलले अँगालिरहेको यालबाङसँग हावा पनि सिर्सिराइरहेथ्यो । दक्षिणतिरका डाँडाहरुमा हिउँ परुँ–परुँ भइरहेको लाग्थ्यो । तल कर्णालीका छाल उर्लिरहेको खबर हावाको फिर्फिराइमा देखिन्थ्यो ।
    ३२ जेठको डुब्दो घाम ।
    महाबौद्ध विद्यालयबाट स–सानो झाडी भएर मूलबाटो पुग्यौँ हामी । उत्तर र पूर्वी कुनाको गुम्बाका लुङ्ता हावामा फिर्फिराइरहेथे ।
    बाटोमुनि सरकारी विद्यालय । बाटो मास्तिर भव्य गुम्बा ।
    यी दुवैमा पठन–पाठन हुन्थ्यो । दुवैको शैलीमा थियो अलग पारा । तर पुग्ने निश्चित बिन्दु एकै थियो । हिँडाइ र सिकाइको ढङ्ग भने भिन्न–भिन्न ।
    स्कुलमा थुप्रै केटाकेटी थिए । गुम्बा नि उत्ति नै देखेथेँ ।
    ‘हरेक घरबाट गुम्बामा गएकै हुन्छन् !’
    कन्जोकले भने ।
परम्परागत शिक्षा भएकाले यसको छुट्टै महत्व र छाप लामा समुदायमा रहेछ । प्रचार धर्मको भए पनि नीति, सिद्धान्त र व्यवहारका सरल रुप पनि गुम्बाले सिकाउने गर्छ नै ।
    यांगर गइरहेका छौँ ।
    हावा बेस्सरी चलेको छ । बाटोको धुलोले भन्दा पनि हावाको तिखो लहरले अनुहार छेडिरहेको छ, ताछिरहेको छ, पखालिइरहेको छ ।
    काने टोपी तानेको तानेकै छु म ।
    काँडे पोथ्रा छन् । पश्चिम बेगिएको बाटोको उत्तरतिर हिउँले क¥याककुरुक पारेको पहाड छ । ढुंगाको थाक छ भने नि हुने । अनौठा रुपका चट्टानमा अनौठा रङको चमक थुप्रिएको देख्छु ।
    पहिला–पहिला यताका मान्छे ज्ञानगुन सिक्न तिब्बत जान्थे । गाउँतिर गुम्बाको चलनै रहेनछ ।
    दलाई लामा भागेर यता आएपछि दलाईका अनुयायीहरु नि हुम्लातिरै पसेर ज्ञानगुन सिकाउन थालेछन् । अवतारी लामा र रेखी लामा गरी दुई खालका लामाले हुम्लाको लामा समाजमा गहिरो योगदान पुगेको रहेछ ।
    सामाजिक काम, प्रवचन, नीति, कर्मको मूल्य आदि बारे अवतारी लामाले सिकाउने प्रचलन रहेछ । त्यस्तै जन्म, मृत्यु, विवाह र अन्य लोक मान्यताको सिकाइमा अवतारी लामाले ज्ञान दिँदा रहेछन् ।
    रेखी लामाले गाउँमा चाडपर्व, मूल्य र महत्वबारे प्रकाश पारी जीवन सहज र सरलीकरण गराउँदा रहेछन् । गुफामा बसेर अथाह ज्ञान बटुलेका रेखी लामाको चिन्तन पनि अपार हुँदोरहेछ ।

दलाई लामाले तिब्बत छोडेसँगै धेरै लामाहरु भारत पसे । कतिले हुम्लामै बसेर आफूलाई ज्ञान, चिन्तनमा डुबाए । कति खम्पाहरु यतै बसेर चीनसँग लडिरहे ।
    त्यो बेला नेपाली र खम्पाबीच पनि पटक–पटक द्वन्द्व भएछ । त्यसका धेरै अवशेष म यालबाङतिर नि देखिरहेको थिएँ ।
    बाटो कटनीसँग तिब्बत, दलाई र खम्पाबारे कुरामा कुरा गाँसिएर आए । यालबाङको गुम्बा देखिउन्जेलमा निकै कुरा भए कन्जोक र मेरा ।
    बाटोमा भेटिएको छोर्तेन नाघेर हामीले निकै तेर्छो पार गर्‍यौँ । झरुँ–झरुँ भएका डरलाग्दा चट्टान थिए । खसेर हामीलाई धुलोपीठो पारुँला भएका देखिन्थे । खस्नै आँटेका अरिमट्ठे र जर्खरिएका ढुंगाका थाक हेर्दै गइरहेको छु म ।
चिनियाँ सहयोगमा यतातिर गुम्बा, छात्रावास, विद्यालय बनेका रहेछन् निकै नै । बाटो उत्तर एउटा छात्राबास देखियो– चीनकै सहयोगको ।
    ‘हाम्रा गाउँमा चौंरी बाँडे ताक्लाकोटेले !’
    हिजो बुरामसेलीका छिरिङ लामा र मुचुका कुन्दुई लामाले भनेथे । यारीकै वाङ्ग्याल, गथोक र ताक्पार लामाले नि थपेथे– ‘चिनियाँहरु यता चौंरी, जोप्क्यो किनिदिएर धर्म गर्छन् !’
    खासगरी चिनियाँ सरकारले कृषि, पशुपालनमा राम्रै लगानी गरेको रहेछ– तिब्बती समुदायमा । निश्चित चौंरी पाल्नुपर्ने भएकाले बढी भएका चौंरी हुम्लाका गाउँ–गाउँमा दिएको अनुमान नि मैले यालबाङतिरै सुनेथेँ ।
‘चौंरी दान निकै हुने गरेको छ चिनियाँबाट !’
कन्जोकले भनेको सुनिरहेको छु ।
तेर्पे मोडिएर गयो हिल्सातिरै । मैले अब त्यो बाटोलाई हात हल्लाएर बिदा गरेँ ।  
    ‘यता झरौँ यता !’

छात्राबास कटे लगत्तै घुम्तीपछिको सानो गोरेटोतिर कन्जोक लागे ।
    म पनि उनलाई पछ्याउन लागेँ । बाटो ओरालो, भिरालो र गिर्खे ढुंगाको छापोले भरिएथ्यो । जिउ थेग्यो, खुट्टा नअडिने । खुट्टातिर हेर्न थाल्यो– ज्यान हुत्तिने । यस्तै तिरिमिरी झ्याइँमा ओर्लिरहेँ म ।
    समात्ने बुटा परेँ काँडैकाँडा । सुलुत्त–सुलुत्त चिप्लिने गिर्खे भीर । सुलुलु पुगुँ–पुगुँ भइरहेको छु ।
    अलिक तल पुगेपछि कन्जोक आफैँ आए, डोर्‍याउन मलाई ।
    यस्तो अत्यास लाग्दो बाटोमा नि म उत्तर र दक्षिणका सेता हिउँचुली हेरेर थाकेको छैन, गलेको छैन, सुस्ताएको छैन । जीवनमा उज्यालो र अँध्यारो एकैचोटी आए पनि उज्यालोले धुकधुकीलाई एक सर्को हेरिदिँदा नि लाख हुँदो रै’छ । यस्तै सम्झिन्छु म यतिबेला ।
    सेता बादलको उज्यालोले आकाश खुलेको छ ।
    ‘किन कर्णाली यति धमिलो ?’
    ‘हिउँ पग्लेर बग्यो होला नि !’
    कन्जोक बोले ।
    हामी तलै झरेछौँ ।
    ‘ओहो, गजब देखियो– यांगर !’
    ‘अब पुगियो !’

कर्णालीसँग टाँसिएर बसेको यांगर गाउँ हेरेर मग्न छु म । गाउँ पश्चिमको पहाडी भित्तामा थियो– आनी गुम्बा । पेमा रिक्साल लामाकै पसिनाले बनेको रहेछ– यो गुम्बा पनि ।
    ओरालोमा थिग्री–थिग्री तल सजिलो बाटोमा पुगियो । मेरा पाखुरामा थपक्क समातेका छन्– लामाले । कुइनेटाबाट मज्जैले देखियो यांगर ।
    उत्तरी कुनाबाट छहरे खोला छङछङाएर बगिरहेथ्यो । पूर्वतिर हरियालीले छपक्कै ढाकेथ्यो– आलु, केराउ, उवा, गहुँको हरियै लहलह ।
    तल्तिर गाउँ, माथि गुम्बा थियो । अझ मास्तिर थिए गुफा ।
    यांगर– जति गइरहेको छु नजिकै । सुन्दर, झुरुप्प र अँगालोमा कसिएको गाउँ लागिरहेको छ । लुङ्ताको फरफर छ हरेक घरका छाना र आँगनमा ।
    २८ घरधुरी रहेछन्– यांगरमा ।
    ‘यो गाउँमा अन्तका केटी आएका छन् ?’
    मैले सोधेँ ।
    ‘अँहँ, छैनन् । माथिका केटी तल जानु हुँदैन भन्ने विश्वास छ ।’
    ‘त्यै भएर यांगरका केटी सिमिकोटतिर बढी बिहे भएका छन् । सिमिकोटका केटी यांगरमा आएका छैनन् ।’
    कन्जोकले बताए ।
    ‘सकेसम्म लामा गाउँमा आफ्नै गाउँका केटी भित्र्याउने चलन छ ।’
    गाउँकै केटी ल्याउँदा धेरै बलियो नाता जोडिने विश्वास लामा समाजको हुँदोरहेछ । खर्क जान, घर चलाउन, गाउँकै केटी भित्र्याउने गरिँदो रहेछ । सकेसम्म गाउँ बाहिरको केटी बिहे गरी नल्याउने परम्परा अहिलेसम्म यालबाङ, यांगर लगायतका गाउँमा रहेछ ।
    आमापट्टि रगत नाता र बुबातिर हाडनाताको चलन रहेछ यता पनि । कुल नाता चैं खलकलाई मानिन्छ । आफ्नै गाउँका केटीसँग बिहे हुँदा व्यवहार, विधि र संगतमा सघाउ पुग्ने मान्यता रहेछ यांगरमा ।
    घर–ज्वाइँ ल्याउँदा उसको घरपूजा छोरीकै हुँदोरहेछ– तर वंश र हाडनाता चै ज्वाइँकै मानिने चलन रहेछ यांगरमा ।

२२ घर ढुंगा माटो र काठका टाँडे घर थिए । सबै घरका अगाडि ह्वाङ्ग मटान थियो । ६ वटा घरमा छाना थिए नीला– जस्ताका ।
    ‘पुरानोलाई जित्दै गएको हो कि ?’
    मैले सोधेँ ।
    ‘जस्ता पाता ल्याउन नि सजिलो । छिटोछरितो । हुनेले पुरानोभन्दा नि नयाँतिर ढल्कन थाले ।’
    कन्जोग बोले ।
    खोल्सो तरेर गाउँ छिर्‍यौँ हामी ।
    एक सय साठीको वरपरमा जनसंख्या रहेछ यांगरमा । झुरुप्प थिए घरहरु । सानो गोरेटो भएर गाउँ पस्दा मान्छेहरु फाट्टफुट्ट हसिँयाजस्तो धार नभएको हतियार बोकेर घर हिँडिरहेथे ।
    ‘कँमा हो यो !’
    ‘खन्न र खोस्रिन सजिलो हुने रहेछ ।’
    कन्जोगले नाम चिनाएपछि मैले हँसिया जस्तो हतियार यसो चलाएँ ।
    हरेक घरका आँगनमा दाउराका चाङ थिए । बाटैभरि घोडा, खच्चड, झोपा, जुमाको मलले भरिभराउ थियो । आराले चिरेका काठको रास घरभरि थियो ।
नाक फुट्ला जस्तो भयो मलाई त । लिदी गनाएर अत्तालिएँ म ।
    ‘के खान्छन् त यहाँकाले ?’
    ‘फलेको केही नि म देख्दिनँ ?’
    मैले रोकिई–रोकिई खसखस पोखेँ ।
    ‘जडिबुटी खोज्छन् । कामका लागि वर्षको एकचोटि ताक्लाकोट जान्छन् ।’
    हामी बस्ती पसेर यताउता हेर्न थाल्यौँ । रित्ता थिए घरहरु । चकमन्न घरमा बेला–बेला लुङ्ता हल्लिएर सुनसान भत्काउँछ फरफर... फरफर... ।
    पूर्वपट्टि खेतमा गरैगरा छन् । कर्णालीको सेता लहरसँग यांगरका आइमाई, केटाकेटी सबै नङ्ग्रा खियाइरहेका छन् ।

हरियो सागको भारी अँगालोभरि टिपेर आएकी थिइन्– छेलिङ लामा ।
    गुम्बा र सरकारी स्कुलमा नि हालेँ ।’
    छोराछोरी सबैतिर हालेको अनुभव छेलिङले सुनाइन् ।
    म हाँसेँ ।
    ‘सबैलाई भाग पुर्‍याएकी रे छरछार गरेर !’
    कन्जोगले भनेपछि अरु नि हाँसे ।
    छेउमा थिइन्– छपाल लामा ।
    गाउँ छोडेर कतै नगएकाहरु निकै भेटिए यांगरमा ।
    ‘खोलापारि वनमा । कि त वारि गाउँमै !’
    छिरिङ डोमाले भनेकी थिइन् ।
    ‘मैले दुई आँगन टेकेँ । तीन घर पर म जन्मेको आँगन छ, तीन घर यता मैले छोरी जन्माएको आँगन ।’
    लोप्साङ छिमीले भन्दा मभित्र हजार खुल्दुली उम्रिए ।
    मैले धारामा पानी थापिरहेकाहरुसँग निकै कुरा गरेँ । दुःख, अभाव र गरिबीका कहालीलाग्दा भड्खारा यांगरमा थिए । ती भड्खारामा भासिएर बाहिरिन खोज्नेहरुका आँखासँग आँखा जुधाउन मलाई गाह्रो परिरहेथ्यो ।
    ‘एक पटक पुगेको म । सुर्खेत कि सिमिकोट । थाहा छैन ।’
    छेलिङले पनि थपिन् ।
    नसकी–नसकी नि सुनेँ मैले ।
    ‘ह–ह !’
    लामाले यसो भन्दै अगाडि बाटो तताए ।
    ‘हुन्छ, छुटौँ त !’
    संकेत यही रहेछ कन्जोगको भनाइको ।
    गएकै गोरेटो भएर हामी खोल्सोमा आयौँ । लिदीले गाउँ गनाएको थियो । त्यही गन्धपुरीमा यांगरको संसार बिहान, दिउँसो र रात भएर कटिरहेथ्यो ।
    एकजना वृद्ध भेटिए ।
    घरका छतमा ३–४ जना केटाकेटी हेरिरहेथे उनी । ती केटाकेटी सबै झिँगाले छोपिएका थिए । मौरीका बथान जस्तो झिँगाले केटाकेटीका मुख, नाक, आँखा र ओठका कुनाकाप्चा छोपिएथे छपक्कै । वृद्धले सिँगान पुछेका औँलामा नि झिँगाले पुरै निलिसकेथे ।
    ०००

पाल दोर्जेबाट हामी पूर्व लाग्यौँ ।
    अघि झरेको ओरालीले बोलाइरहेथ्यो । तर हामीले उसलाई नै बिदा ग¥यौँ ।
    ‘नयाँ बस्ती भएर जाऊँ ।’
    कन्जोग लागे बाटो ।
    बाटोमा ३ वटा छोर्तेन थिए । त्यसलाई मनैले फन्को मा¥यौँ । खुट्टाभन्दा नि मन नै पवित्र हुन्छ । त्यै भएर हामीले वरैबाट श्रद्धा बोलेका थियौँ ।
    यांगरमा अघि–अघि बहुपति प्रथा थियो । हिजोआज हरायो रे ।
    ‘कम भयो । भित्रभित्रै भए नि, कम बाहिरिन्छन् ।’
    कन्जोगले भने ।
    ‘धेरैले भन्दैनन् ।’
    उनले थपे ।

  बस्तीतिर छिरिरहेका छौँ । टुप्लुकिइरहेका छन् सुकिला घर ।
    दक्षिणतिरको फाँट र खेतबाट आइमाईहरु कँमा लिएर आइरहेका छन् । अनुहारमा दुःखभन्दा नि आशाको रेखा भेटिन्छ ।
    ‘गोडेर आएका छौँ । फल लाग्ला नि त ।’
    डोमाले भनिन् ।
    अलिक अगाडि पुग्दा घरबाट धुवाँ पुत्पुताइरहेको देखियो । घरभित्र चिहाए कन्जोगले ।
    ‘पसौं न !’
    भित्रबाट बोलाइरहेपछि हामी छिर्‍यौँ घरमा ।
    खच्चड खेदेर अहिले झिँगा धपाउँदै लर्बरिइरहेका भेटिए– जगबीर र हिरालाल सार्की ।
    ‘खच्चड किन्न आएको । भाउ मिलेन बड्डा ।’
    हिरालालले भने ।
    सार्कीहरुसँग अरु कुरा नि भए । किताबभन्दा खच्चड खेद्न रमाइलो भएको उनीहरुले भनिरहे । मैले किताब अझै खेदे नि हुन्छ भनिरहेँ ।
    घोडामर्चा चिया पाकिसकेछ । खायौँ दुईटैले ।
    हिँड्ने बेलामा चौरीको छुर्पी हातमा नि दिइन् । एक पोको नि पारिदिइन्– कुन्साङ लामाले । मैले कुटुक्क टोक्दै २–४ पैसा दिन खोजेँ ।
    ‘हुँदैन, नाइँ ।’
‘एक्लै आया भए लिन्थेँ । आफन्तीसँग आयाका छौ ।’
कुन्साङले मानिनन् ।
    साँझ घर्किन थाल्यो । अनि यालबाङ लाग्दा माथिबाट तल हुम्ला कर्णालीको मलिलो तीर देखिन्थ्यो– हरियो, पहेँलो, कालो, नीलो ।
    औधी रमाइलो लागिरहेथ्यो । पहाड, हिउँ, खेत र खोलाको तह–तहमा आँखा ओछ्याइएर म पाइला घिसारिरहेथेँ ।
    हिल्सा जाने बाटो बटारिँदै–बटारिँदै गइरहेथ्यो । त्यसलाई पछाडि पारेर हामी पूर्व हानिइरहेथ्यौँ ।
    यांगर– कति सुन्दर । यांगर– कति लोभलाग्दो । यांगर– कति मोहक । यांगर– कति शान्त ।
    पहाडको चेपमा बसेको सौम्य बस्ती– यांगर ।
    शान्त र चकमन्नको संसारले घेरेको छ यांगरलाई । वन, पहाड र हरियालीले अँगालेको छ यांगरलाई ।
    मैले झम्टी–झम्टी हेरेँ यांगरलाई । मैले घोरिँदै–घोरिँदै हेरेँ– यांगरलाई । मैले घरी–घरी हेरेँ यांगरलाई । मैले फर्की–फर्की हेरेँ– यांगरलाई ।

यांगरका सबै मान्छे तल फाँटमा थिए । खेत र गरामा थिए । आली र बालीमा थिए ।
    बाटोमा फाट्टफुट्ट भेटिन्थे कँमा बोकेर फर्किरहेका । बूढाबूढी थिए ती सबै । धेरै चाउरी परेका बूढीहरु थिए ।
    मैले बाटो काटिरहँदा यांगर हिमाल, हुम्ला कर्णाली र यालबाङको चौरसँग मन गाँसिरहेको थिएँ । पुया खोलाको गोरेटो र याला जाने ठाडै उकाली नि निहालिरहेकै थिएँ ।
    जीवनसँग यी सबै गाँसिएका छन् ।
    माथि–माथिका खर्कहरु हेरिरहेको छु । बुकी फुल्ने पाटनहरु नि निहालिरहेकै छु । कर्णालीले पखालेका सुकिला ढुङ्गामा लहलहाएका लहरामा जीवनका खँदिला शब्दहरु जोरजाम गरिरहेको छु ।
    त्यतातिर एउटा विश्वास रहेछ– धर्तीबारे ।
    ‘सबसे माथि आकाश । आकाशमुनि हिमाल । हिमालमुनि बुकी फूल । बुकी फूलमुनि चट्टान । चट्टान मुन्तिर जङ्गल । जङ्गलमुनि बस्ती । बस्तीमुनि नदी ।’
    यो विश्वासलाई जोडेर हुम्लीहरु गीत पनि गाउँदा रहेछन् ।
    यसरी नै प्रकृति मिलेमा राम्रो मानिन्छ । यो राम्रोभित्र धर्तीको सबै कुरा उत्तम हुन्छ । त्यो उत्तमले जीवनको हरेक क्षण सत्यम् पार्छ, शिवम् तुल्याउँछ र सुन्दरम् बनाउँछ ।
    यालबाङ पुग्दा नाङ्ले जून टहटहाइरहेथ्यो पूर्वतिर । छातीमा त्योभन्दा ठूलो चन्द्रमा हाँसिरहेथ्यो खित्काएर– यांगरको जून ।
    कहिले लेखिएका यांगरको साँचो कथा ?

 

प्रकाशित: ५ माघ २०७६ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App