११ आश्विन २०७७ आइतबार
अन्य

भैंसेपाटीका महिषपाल

बझाङका सचदेव निरौला विगत पाँच वर्षदेखि ललितपुर–१८ मा  भैंसीपालन व्यवसायमा रमाउँदै छन्। उपत्यकाबाट  भैंसीपालन व्यवसाय हराउँदै गए पनि उनी भने  एक दर्जन बढी भैंसी र पाडापाडी स्याहार्दै ‘महिषपाल’ जिन्दगी जिउँदै छन्।  उनलाई  ललितपुरमा भैंसेपाटी नाम किन रह्यो, थाहा छैन। 

‘अहिले मसँग १३ वटा भैंसी, पाँचवटा पाडा, पाँच गाई र एक बाच्छा  छन्,’ उनले भने, ‘दैनिक २ सय लिटर दूध बेच्दै आएको छु।’  महिषपालको अर्थ बुझेका निरौलाले अहिले आफू पनि  भैंसीको साहुजस्तै भएको सुनाए। भैंसी पाल्नुअघि ४८ वर्षीय निरौलाले थुप्रै हन्डर खाएका छन्। सानैमा मजदुरीका लागि भारत पसेका निरौलाले मुम्बई, दिल्ली, हिमाञ्चलमा १६ वर्षभन्दा बढी समय बिताए। उताबाट राजधानी फर्केका उनले प्रेसमा अपरेटरको जागिर पनि खाए।

‘जागिरले मात्र राजधानीमा सन्तान पाल्न नसकिँदो रहेछ,’ चार सन्तानका पिता निरौलाले भने, ‘आवश्यकताले मलाई भैंसीपालक बनायो।’ मासिक ४२ हजारको जागिर छाडेर भैंसी पालन थालेका निरौलाले दैनिक नौ हजारको दूध बेच्दै आएका छन्। ‘मासिक तीन लाख जतिको दूध बेच्छु,’ उनले भने, ‘खर्च छाटेर आधा जति बचाउँछु। ’

वार्षिक २० हजार  तिरेर तीन रोपनी जमिन भाडामा लिएका निरौलाले जमिनको भाडा  खर्च त गोबर बेचेकै पैसाले पुग्ने सुनाए।  तर, पानीको समस्याले भने उनको ढाडै सेकिएको छ। ‘महिनाको १२ हजारको त पानी नै किन्नुपर्छ,’ हाँस्दै भने, ‘यो दूधमा हाल्न हैन नि, भैंसीलाई खुवाउन हो।’ भदौदेखि असारसम्म पानी किन्ने गरेका निरौलाले  पर्याप्त पानी पाइने ठाउँको खोजीमा रहेको सुनाए।

भैंसीको दूधबाट  राम्रै आम्दानी भए पनि भैंसी पाल्न धेरै मिहिनेत गर्नुपर्ने उनले सुनाए। ‘बिहान साढे ३ बजे नै  उठ्छाैँ,’ उनले भने,  ‘बेलुका नौ नबजी सुत्न पाउँदैनौं।’ पत्नी जानकी देवीले पनि निरौलालाई व्यवसायमा सहयोग गर्छिन्।  छोराहरूले पनि सामान्य सहयोग गर्ने गरेको निरौलाले सुनाए।

मासिक ४२ हजारको जागिर छाडेर भैंसीपालन सुरु गरेका निरौलाले दैनिक नौ हजारको दूध बेच्दै आएका छन्।

‘भैंसीको दूध दुहुन मात्र दुई घन्टाभन्दा बढी  लाग्छ,’ निरौलाले सुनाए, ‘त्यसपछि बाइकमा राखेर घर र डेरीमा पु-याउँछु।’

निरौला दम्पती  एउटा गाईबाट सुरु भएको व्यवसाय  अझै बढाउने योजनामा छन्। बझाङबाट राजधानी आएका केटाकेटीले भात खाने बेलामा सेतो ‐दूध, दही, मही) खोइ भनेर खाना नखाएपछि उनी दूधको खोजीमा निस्किएका थिए।

‘अब थप जमिनको खोजीमा छौं,’ उनले भने, ‘अनि भैंसीको संख्या पनि बढाउँछौं।’  भैंसीलाई चाहिने पराल खोकनाका किसान र भुस तराईबाट ल्याउने गरेको उनले सुनाए।

त्यस्तै, उनले भैंसीको बिमा पनि गराएका छन्।  ललितपुरको धापाखेलस्थित बजारबाट ल्याउने गरेको भैंसीको सरदर मूल्य १ लाख ५० हजार पर्ने गरेको उनले सुनाए। ‘सरकारको बिमा नियममा भैंसीको मूल्य १ लाखभन्दा बढी छैन,’ उनले भने, ‘त्यही नियमअनुसार बिमा गराएका छौं।’

उनले गरेको देखेर कैलालीका नन्दराज पाण्डेले पनि भैंसी पाल्न थालेका छन्। उनीसँग पनि ११ भैंसी र चारवटा गाई छन्। ‘म पनि दैनिक १ सय ७५ लिटर दूध बेच्छु,’ उनले भने, ‘व्यवसायलाई अझै बढाउने सोचमा छु।’

चरनको व्यवस्था नभए पनि तराईबाट आउने भुस र स्थानीय स्तरमै पाइने परालले भैंसी पाल्न सहज भएको उनीहरूको बुझाइ छ। ‘किसान पराल बेच्छन्, दूध किनेर लैजान्छन्,’ पाण्डेले भने, ‘यसले हामीलाई भैंसी पालन सहज बनाएको छ।’ बढ्दो सहरीकरणसँगै बन्न थालेका कोलोनीहरू पनि दूध बिक्री गर्ने भरपर्दो स्थान बन्दै गएको उनले सुनाए।

दूध खाने ग्राहक पनि निकै सजिला रहेको सहदेवको बुझाइ छ। महिना पुग्नेबित्तिकै पैसा पाइने र पाँच वर्षको अवधिमा कुनै पनि ग्राहकले  दूध खान नछाडेको उनले सुनाए। ‘कोही कोही जिस्केर कति पानी हाल्छौ नि भनेर सोध्छन्,’ उनले सुनाए, ‘हालेको त छु, आफैं पत्ता लगाउनू भनेर भन्छु।’

भैंसीको दूधमा थौरै पानी राखे पनि गाईको दूधमा भने हाल्नै नमिल्ने उनले सुनाए। ‘बाल्टिन त पखाल्नैप-यो नि,’ उनी फेरि हाँसे, ‘भैंसीको दूध बाक्लो हुन्छ,  बाल्टिन  पखाल्दा अलि बढी पानी त लाग्ने नै भयो नि।’ सरसफाइ र दूधको गुणस्तरमा भने निकै ध्यान दिने गरेको उनले सुनाए। ‘मैले आर्जन गरेको विश्वास नै मेरो सम्पत्ति हो,’ उनले भने, ‘यसैबाट मैले व्यवसाय थप विस्तार गर्नु छ।’

कृषिमा आफूहरूले लगानी गरे पनि राज्यका तर्फबाट भने कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ। ‘सरकारले कृषिमा अनुदान दिन्छ भन्ने सुनेको छु,’ पाण्डेले भने, ‘तर हामीले कहिल्यै त्यस्तो सहयोग पाएनौं।’ बरु प्यानमा दर्ता गरेर आफूहरूले नै राज्यलाई कर दिन थालेको उनले सुनाए।

भैंसी पालन यस क्षेत्रमा फैलिँदै गएको उनले सुनाए। ‘हाम्रा साथीमध्ये हीरामणि सापकोटाले पनि आठवटा भैंसी र पाँचवटा गाई पाल्नुभएको छ,’ उनले भने, ‘अन्य थुप्रैले पनि जमिन भाडामा लिएर भैंसी पालन थालेका छन्।’ राज्यले पशुपालक कृषकका लागि केही ध्यान दिएमा  यो आम्दानीको भरपर्दो  स्रोत बन्ने निरौलाले बताए।

प्रकाशित: ४ माघ २०७६ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App