१३ आश्विन २०७७ मंगलबार
अन्य

१०० वर्षे कामदार

जारिया गर्वेट
वृद्धावस्था दिनदिनै महँगिन थालेको छ । जीवन गुजारा यत्ति महँगिन थालेको छ कि मानिसले अब कामबाट अवकाश लिने विचार नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । उसो भए जब हामी वृद्धअवस्थामा पुग्छौँ, त्यो बेला हामी के काम गरौँला त ? काम गर्न लायकका त हुन्छौँ हामी ? कसैले हामीलाई काम देला त ?

१०७ वर्षे चिकित्सक बिल फ्रकल्यान्ड अझै पनि काम गरिरहेका छन् । शायद यो धर्तीमा यो उमेरसम्म काम गर्ने उनी एक्ला चिकित्सक होलान् । उनी अहिले पनि लण्डनस्थित अफिसमा टाइसुट लगाएर काममा निस्कन्छन् । एक सय वर्ष पूरा गरिसकेपछि पनि उनले चार वटा शोधअनुसन्धान गरेर पेपर छापिसकेका छन् । यतिबेला उनी पाँचौँ शोधपत्र तयार गरिरहेका छन् ।

फ्रकल्यान्ड १९३० को दशकमा चिकित्सक बनेका थिए । लामो करियरमा उनले एलर्जीको चिकित्सामा निकै नाम कमाए । एन्टिबायोटिकको खोजीका लागि नोबेल पुरस्कार जित्ने अलेक्जेन्डर फ्लेमिङसँग पनि उनले काम गरे । एक पटक त उनी इराकी तानाशाह सद्दाम हुसेनको उपचारका लागि बग्दादसम्म पुगे ।

खासमा नियमअनुसार हो भने फ्रकल्यान्डले ६५ वर्षकै उमेरमा अवकाश पाइसक्नुपर्ने हो तर उनले काम गर्न बन्द गरेनन् । अवकाश लिने उमेर भए पनि उनले आफ्नै मर्जीले काम गरिरहेका छन् र यस्तो गरेको पनि चालीस वर्ष पूरा भएको छ । डा. फ्रकल्यान्ड भन्छन्, ‘म काम नगरेर के गरौँ त ? मैले जीवनभर यही एउटा कुरा सिकेँ, उपचार गर्न । सकुञ्जेल र मनले हार नमानुञ्जेलसम्म यही गर्ने हो ।’ कामका प्रति फ्रकल्यान्डको यो दृष्टिकोण सामान्य होइन । अधिकांश मानिस त वृद्धावस्था भनेको छुट्टि मनाउने दिन हो । तर भविष्यमा शायद यस्तो सोच्ने दिन आउने छैन ।

रिटायरमेन्टका लागि अधिकांश मानिसहरुले जति वचत गर्न सकिरहेका छन् र जति उनीहरुलाई आवश्यक पर्नेछ, त्यसमा निकै फेदबदल भइसकेको छ । यो अन्तर दिनदिनै बढिरहेको छ । वल्र्ड इकोनमिक फोरमको पछिल्लो रिपोर्टका अनुसार संसारका ठूला अर्थव्यवस्था भएका मुलुकहरु अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, क्यानडा, अस्ट्रेलिया, चीन र भारतमा २०५० सम्म वृद्धवृद्धाहरुलाई जति वचत आवश्यक हुन्छ, त्यसमा ठूलो रकमको कमी छ । लगभग ४२८ हजार अर्ब डलरको कमी ! यो चानचुने रकम होइन ।

पेन्सनले काम गर्दैन
संसारको जनसंख्या क्रमशः बूढो हुँदै जाँदैछ । २०१५ मा करिब ४ लाख ५१ हजार मानिस सय वर्ष पुगेका थिए । आउँदो तीन दशकमा यो संख्या आठ गुणाले बढ्नेछ । धनी मुलुकमा पछिल्लो समय जन्मिएका बालबालिकाहरु सय वर्षभन्दा बढी बाँच्ने आँकलन गरिएको छ । समस्या चाहिँ यहीँबाट शुरु हुन्छ ।

अमेरिकामा १९६० को दशकमा औसत पाँच वर्षसम्म वृद्धवृद्धाहरुले पेन्सनको फाइदा पाउँथे । त्यो बेला ६५ वर्षको उमेरमा उनीहरु रिटायर्ड हुन्थे । उनीहरु करिब ७० वर्षको उमेरसम्म बाँच्थे । जो वृद्धवृद्धा हिजोआज १०० वर्षसम्म बाँचिरहेका छन्, अर्थात् अवकाशपछि पनि सात गुणा लामो जीवन बाँचेका छन् ।

यही कारण पनि कतिपय कम्पनीहरुले अन्तिम तलबका आधारमा पेन्सन तय गर्ने व्यवस्थालाई परिवर्तन गरिसकेका छन् । यस्तोमा जो मानिस अमेरिकाको राष्ट्रिय औसत ४४,५६४ डलर वार्षिक आम्दानी चाहन्थे, उनीहरुले यसका लागि १० लाख डलर वचत गर्नुपर्ने आवश्यक हुन्छ । यसका लागि उनीहरुले वृद्धावस्थामा पनि काम गर्नुपर्ने आवश्यक हुनसक्छ । तर उनीहरुले के काम गर्लान् त ? उनीहरु काम गर्न लायकका हुन्छन् त ? कसैले उनीहरुलाई काम दिन्छ त ?

नेपालमा चर्चामा आएका दुई जना सय वर्ष पूरा गरेका वृद्ध छन्, जसलाई हामी कवि माधवप्रसाद घिमिरे र संस्कृतिकर्मी सत्यमोहन जोशीका नामले चिन्छौँ । दुवैले काम गर्न छाडेको दशकौँ भयो । नेपालमा अझै पनि वृद्धावस्थामा काम गर्ने सोच शुरु भइसकेको छैन किनभने वृद्धवृद्धा परिवारको जिम्मेवारी हुन् । निश्चित समयसम्म काम गरिसकेपछि परिवारले तिनलाई संरक्षण गर्छ ।

तर विकसित मुलुकमा वृद्धवृद्धाहरु परिवारको भन्दा राज्यको दायित्व हुन्छन् । राज्यले तिनले आफ्नो जीवनकालमा तिरेको करको योगदानको हिसाबले सुविधा दिने हुनाले १०० वर्षभन्दा बढी बाँच्नेहरुले ती आधारभूत सुविधा पाउन सक्तैनन्, जसको उनीहरु हकदार हुन्छन् । यस्तो अवस्थामा गुजारा चलाउनै मुस्किल पर्छ । यसका लागि उनीहरुले अप्ठेरा काम गरिरहेका छन् । जस्तो कि एन्थनी मेसिनली ९५ वर्षको उमेरमा पनि दाह्री काटिरहेको भेटिन्छन् । स्टेनिस्ला कोवाल्स्की जस्ता नाम चलेका एथलिटले पनि १०४ वर्षको उमेरमा सय मिटर दौडमा रेकर्ड तोड्ने भूत सवारलाई ज्यूँदै राखे र वृद्ध एथलेटमा नामसमेत कमाए । १०७ वर्षको उमेरमा मस्तनम्मा युट्युबमा सर्वसाधारणलाई खाना कसरी बनाउने भनेर सिकाउँदैछिन् ।

वृद्धवृद्धाहरु सामान्यतः काम गर्न रुचाउँछन् । यही सोचलाई बेलायती उद्यमी पिटर नाइटले आधा दशकअघि कम्पनीमा परिणत गरे । उनी वृद्धवृद्धाहरुलाई काम दिलाउँछन् । ‘फोर्टिज पिपुल्स’ नामक यो कम्पनीले बूढाखाडालाई जागिर दिन्छ ।

अहिले उनको कम्पनीमा सबैभन्दा वृद्ध ८२ वर्षका कामदार छन् भने एकतताका त ९४ वर्षका व्यक्तिलाई पनि काम दिएका थिए । यो कीर्तिमान भने बढेको छैन ।

९० वर्ष पछि पनि काम
९४ वर्षे ती व्यक्ति एउटै कम्पनीबाट तीन पटक रिटायर्ड भइसकेका थिए । उनको कम्पनीले बेलायती सेनासम्बन्धी रोयल मरिनको रेकर्ड रेखदेख गर्छ । रिटायर्ड भएपछि पनि ती व्यक्ति साथीहरुलाई भेटघाट गर्न अफिस आइरहन्थे र सित्तैमा त्यहाँका कर्मचारीहरुलाई सघाउँथे । यसरी उनले दोहोर्‍याएर काम थालेका थिए । सो सहयोगबापत कम्पनीले पछि उनलाई केही रकम दिन थाल्यो । भलै उनी रकम लिन चाहेका थिएनन् तर कम्पनीले कि त तिमी नआऊ, आउँछौ भने केही भए पनि पैसा लिऊ भनेपछि उनले पैसा लिन मञ्जुरी दिए ।

त्यसो त केही काम यस्ता पनि हुन्छन्, जसलाई छोड्न निकै गाह्रो हुन्छ । ९३ वर्षका बेलायती टेलिभिजन प्रस्तोता डेभिड एटनबरो बिबिसीका लागि वन्य जीवजन्तुसम्बन्धी टेलिभिजन कार्यक्रम बनाउँछन् । डेभिड हिजोआज भन्न थालेका छन्, ‘म पक्कै पनि सय वर्षसम्म त यो काम गर्छु होला हौ !’

जेन फाल्किङ्घम जराविज्ञानमा नाम कहलिएका व्यक्ति हुन् । उनी साउथ हेम्प्टन विश्वविद्यालयको सेन्टर अफ पपुलेन चेन्जका निर्देशक पनि हुन् । उनी भन्छन्, ‘बेलायतमा अब अनिवार्य रुपमा रिटायरमेन्टको कुनै उमेर छैन ।’ शिक्षाका क्षेत्रमा उनले लामो समय काम गरे । अहिले ७५ वर्ष पुगिसके तर विश्वविद्यालयले उनलाई कामबाट बिदा लेऊ भन्न सकेको छैन किनभने उनले चुस्त काम गरिरहेका छन् ।

डा. फ्रकल्यान्डका लागि काम गरिरहनु एउटा व्यावहारिक निर्णय थियो । १०६ वर्षको उमेरमा उनले कुन काम पो गरुन् ? हुन त उनलाई बगैँचे बन्ने खुब ठूलो रहर थियो तर बगैँचामा काम गर्न उनलाई बढीभन्दा ऊर्जा चाहिन्छ र त्यसका लागि उनको शरीरले दिँदैन । यसको साटो पढ्नु र लेख्नुलाई उनले कामको माध्यम बनाए । उनी हिजोआज पनि नयाँ नयाँ शोध केमा गर्न सकिन्छ भनेर घोत्लिरहेका हुन्छन् ।

‘फोर्टिज पिपुल्स’मा पिटर नाइटले कुन कामका लागि कसलाई जागिर दिने भन्ने कुनै निश्चित शैली वा प्याटर्न छैन । उनी भन्छन्, ‘गएको केही सातामा तीन वटा प्रेस कम्पनीले हामीलाई रिसेप्सनका लागि वृद्धवृद्धा चाहियो भनेर मान्छे मागे । हामीले पठाइदियौँ ।’

खासमा जवान युवायुवतीको रिसेप्सनमा जागिर भनेको अनाकर्षक जागिर हो । ती न त भरोसा गर्न लायक हुन्छन् न त मानिससँग कसरी व्यवहार गर्ने भन्ने नै जानेका हुन्छन् । आफ्नो कामलाई इमान्दारीपूर्वक गर्ने मान्छेको खाँचो वृद्धवृद्धाबाट भएको तिनको धारणा थियो ।

यस्तो कामका लागि शारीरिक श्रम पनि आवश्यक पर्दैन । अँ, लामो समयसम्म कुर्सीमा बसिरहनु, तनावपूर्ण फोन कलहरुको जवाफ दिनु चाहिँ तिनको रक्तचाप बढाउने काम हुनसक्छ । यो तिनका लागि चुनौतीपूर्ण काम पनि हो । तर फल्किङ्घम भन्छन्, ‘प्रविधि परिवर्तन भइरहेको छ र त्यसले हाम्रो कामलाई पनि परिवर्तन गरिरहेको छ । बढी मिहिनेत गर्ने काम अब मेसिनले गरिरहेको छ । यो परिवर्तनले मानिसलाई सय वर्षमाथि पनि काम गर्न सहज पार्ने एउटा अवस्था बन्न पुगेको छ ।’

काम गर्ने क्षमता र स्वास्थ्य
सबैभन्दा आश्चर्य त के छ भने सय वर्ष पूरा गरिसकेका वृद्धवृद्धाहरु अचम्मैसँग स्वस्थ छन् । उनीहरुको अनुहारमा भलै बढीभन्दा बढी छाला लत्रिएको होस् तर उनीहरु जवान पेन्सनधारकभन्दा स्वस्थ र तन्दुरुस्त छन् । एउटा नयाँ शोधले ेखाएको छ, उनीहरु आफूभन्दा २० वर्ष कान्छाहरुको तुलनामा कम नै बिरामी पर्ने गरेका छन् । मानसिक रुपमा पनि उनीहरु अलि बढी सजग हुन्छन् ।

त्यसो त उमेरका कारण केही कामको क्षमता त घट्छ तर वर्षौंको कामको अनुभवले तिनले जुन कौशल र ज्ञान आर्जित गरेका हुन्छन्, त्यसमा अझ विशिष्टता थपिन्छ । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा न्युयोर्कमा भोट दिने सय जना व्यक्तिहरुमाथि एउटा वैज्ञानिक शोध गरिएको थियो । उनीहरुमा वृद्धावस्थाको लक्षण निकै कम पाइएको थियो र तुलनात्मक रुपमा उनीहरुको दिमाग उम्दा तरिकाले काम गरिरहेको थियो ।

केहीलाई लाग्छ, चाँडै अवकाश लिनु स्वास्थ्यका लागि निकै राम्रो कुरा हो तर कयौँ अवस्थामा यसले मानिसको स्वास्थ्यमा उल्टो असर पनि पारिरहेको हुन्छ । अस्ट्रियामा अफिसमा काम गर्नेहरुमाथि गरिएको एउटा अध्ययनले देखाएको थियो– जो व्यक्तिले साढे तीन वर्ष पहिले रिटायरमेन्ट लिएका थिए, ६७ वर्षको उमेरसम्म तिनीहरुको मृत्युको सम्भावना १३ प्रतिशतले बढी पाइयो । एकांकी जीवन बिताउनेहरु र शारीरिक श्रम पूर्ण रुपमा बन्द गर्नेहरुको मृत्युको प्रतिशत त अझ बढी थियो ।

जापानको ओकिनावामा सय वर्ष पूरा गर्ने मानिसहरुका लागि चर्चित छ । एउटा अनुमानअनुसार यहाँको हरेक दुई हजारमध्ये एक जना व्यक्ति सय वर्ष पूरा गरिसकेको छ । ओकिनावाका मानिसको लामो उमेर र तिनको जीवनशैलीमाथि कयौँ अध्ययन भएका छन् । उनीहरुले कम क्यालोरीयुक्त खाना, बढीभन्दा बढी सागसब्जी र बढीभन्दा बढी काम गर्नाले उनीहरुको उमेर पनि बढी भएको अध्ययनमा देखिएको छ ।

ओकिनावाका स्थानीयहरुको बोलीमा ‘रिटायरमेन्ट’ (अवकाश) भन्ने कुनै शब्द छैन । स्थानीयहरु खेती गर्छन्, माछा मार्छन् र जीवनको अन्तिम दिनसम्म लगातार काम गरिरहेकै हुन्छन् । बूढाबूढीहरु ‘इकिगाई’को एउटा नियमलाई पछ्याउँछन् र यसले उनीहरुलाई रहेक बिहान उठ्ने र काम गर्ने कुरामा प्रेरणा दिने गर्छ ।

ओकिनावा मात्र एउटा यस्तो एक्लो द्विप होला, जहाँ सय वर्षभन्दा बढी उमेरका मानिसहरुको म्युजिकल ब्यान्ड छ । केबिजी ४८ नामक यो ब्यान्डले सांगीतिक टुरका लागि जापानभर यात्रा गर्ने गर्छ । यसको सदस्य बन्ने पहिलो शर्त नै सबैभन्दा कान्छो उमेर ८० वर्षको हुनुपर्छ ।

यी सबै कुरा जानिसकेपछि बूढाहरु त्यति लाचार छैनन् जति तिनका बारेमा सोचिन्छ भन्ने तपाईंलाई लाग्दैन ? उनीहरुसँग काम गर्नका लागि पर्याप्त काम छ तर प्रश्न के छ भने उनीहरुलाई साँच्चिकै कोही काममा राख्न चाहन्छ त ?

पिटर नाइट भन्छन्, ‘भविष्यमा वृद्धवृद्धाहरुको संख्या तीव्र रुपमा बढ्नेछ । नयाँ पिँढीको तुलनामा बूढाबूढीहरु नै फाइदाको स्थितिमा हुनेछन् । उनीहरु कामलाई कति मजाले गर्न सकिन्छ भन्ने जान्दछन्, सम्प्रेषण क्षमता पनि बढी हुन्छ । युवाहरु भने हावाहुण्डरीजस्ता हुन्छन्, जसलाई प्रायः कमैले विश्वास गर्छन् । यस्तो अवस्थामा बूढाबूढीहरुको भविष्य निकै उज्ज्वल देख्छु म त !’

युवा टिम बनाउन जोड
बूढाहरु आफ्नो क्षेत्रमा माहिर हुन्छन् । फ्रकल्यान्ड ९९ वर्षको हुँदा उनलाई एउटा मुद्दाको सिलसिलामा जानकारी दिनका लागि अदालतले बोलायो । त्यो सडक दुर्घटनाको मुद्दा थियो । दुर्घटना गराउने चालकको दाबी थियो– यसमा मेरो गल्ती छैन । एउटा मृगले बाटो काट्ने क्रममा उसलाई अचानकसँग एलर्जी भयो र यो दुर्घटना हुन पुग्यो । डाक्टर फ्रकल्यान्डले भने ती चालकको दाबीलाई परास्त गर्ने अनेक उदाहरण दिए । यसपछि ती चालकलाई जेल हालियो ।

त्यसो त वृद्धावस्थाका चुनौती पनि कम छैनन् । नाइट भन्छन्, ‘कयौँ ग्राहकहरुले वृद्धवृद्धालाई जागिर किन दिँदैनन् भने उनीहरु आफ्नो काममा यति निपूर्ण हुन्छन् कि कहिलेकाहीँ अरुको ईष्र्याको कारण बन्न पुग्छन् । मेरो एक जना वृद्धा कामदारले जुन ठाउँमा काम पाएकी थिइन्, उनले काम यति मज्जाले गरिन् कि उनी बोसको प्रिय हुन थालिन् । बोसको प्रिय हुन थालेपछि जसले जागिर लगाएको थियो, उसमा ईष्र्या पलाउन थाल्यो र बिना कारण जागिरबाट निकालिइन् ।’

स्वाभाविक रुपमा वृद्ध हुनु एउटा समस्या हो । नाइट भन्छन्, ‘तपाईंले कुनै कम्पनीको वेबसाइट हेर्नुभयो भने उनीहरुको टोलीलाई ज्यादै युवा र ऊर्जाले भरिएको देखाउन चाहन्छन् । कोही पनि वृद्धवृद्धाको टोली देखाउन चाहँदैनन् ।’ यस सन्दर्भमा जापानले भने बाटो देखाइरहेको छ । त्यहाँको सरदर आयु बढी छ र जन्मदर निकै कम छ । जनसंख्याको एक तिहाई अंश ६५ वर्षभन्दा बढीको छ । यस्तो अवस्थामा जुन कम्पनीले वृद्धवृद्धालाई जागिर दिन्छन्, तिनलाई सरकारले प्रोत्साहित गर्न थाल्यो । सरकारी पेन्सनका लागि न्यूनतम योग्यता ७० वर्ष पुर्‍याउनेतर्फ यहाँ काम भइरहेको छ ।

सौन्दर्य प्रशाधन बनाउने कम्पनी पोलामा काम गर्ने कर्मचारी संख्या पन्ध्र सय बढी छ । तीमध्ये अधिकांश ७० वर्षदेखि ९० वर्षसम्मका महिलाहरुले काम गरिरहेका छन् । यो कम्पनी कति लोकप्रिय छ भने यसका प्रतिबद्ध ग्राहकरु छन् । यहाँ काम गर्ने वृद्धाहरुले जवान कर्मचारीको भन्दा गतिलो काम गरिरहेको भन्दै पुरस्कृत भइरहेका छन् ।

१०७ वर्षको उमेरमा पनि फ्रकल्यान्डले काम गर्नु तपाईंलाई कस्तो लाग्छ ? उनी त भन्छन्, ‘ज्यादै वृद्ध हुँदाका शारीरिक समस्याहरु नभएका होइनन् । मूलतः तपाईं १०० वर्ष पार गरिसकेपछि कान सुन्नु हुन्न । सामग्री उठाउन, त्यसलाई ठाउँमा राख्न समस्या हुन्छ । हात काम्न थाल्छ । मेरै कुरा गर्ने हो भने मलाई पत्रपत्रिका खोज्नु ज्यादै अल्छी लाग्छ तर मेरो काम नै त्यही हो । म शारीरिक काम बहुतै कम गर्छु । पहिले म जे कुरा पनि हुन्छ भन्थेँ, हिजोआज चाहिँ मैले हुन्न भन्न सिकेको छु किनभने सबैथोक गर्न म सक्दिनँ र यो कुरा मैले स्वीकार गर्नुपर्छ ।’

डाक्टर फ्रकल्यान्डको मानसिक क्षमता हेरी उनले आफूलाई सच्याएका छन्, जुन अरुका लागि पनि प्रेरणाप्रद छ ।
वृद्धावस्था भन्नेबित्तिकै केही काम नगरी, गनगन गर्दै दिन काट्नु सबैलाई मन पर्दैन । बिग्रेको स्वास्थ्यको अर्थ ६५ वर्षपछि काम गर्न नसक्नु हो तर जब सरकार र समाज स्वास्थ्यमा ध्यान दिन थाल्छ, वृद्धावस्थामा काम गर्नु सम्भव हुन्छ र भविष्यमा त्यो दिन आउँदैछ । भविष्यमा त्यो दिन आउँदैछ भने कामको स्वरुप र कार्यालयको अनुहार पनि अब परिवर्तन हुने दिन आउँनेछ ।

वृद्धावस्था किन आउँछ ?
एउटा नवजात शिशु र सय वर्षे वृद्धबीचको अन्तर सहज तरिकाले हामी थाहा पाउँछौँ तर जब वृद्धावस्था किन र कसरी आउँछ, त्यो भने भन्न सक्तैनौँ ।

अनुहार चाउरी पर्नु, मांशपेसी कमजोर हुनु वृद्धावस्थाको लक्षण हो भने त्यो कसरी हुन्छ ? किन हुन्छ ?
यस किसिमको प्रश्नले धेरैको माथिङ्गल खराब गरिदिएको छ । स्पेनको बार्सिलोनामा वैज्ञानिकहरुले १०३ वर्षका एक व्यक्ति र एउटा नवजात शिशुको डिएनएलाई जाँच गरे । सो जाँचपछि विभिन्न निष्कर्ष निकालेका छन् ।
शोधकर्ताहरुले ती दुवै जनाको ‘एपीजेनेटिक्स’लाई गहिरिएर अध्ययन गरे । एपीजेनेटिक्स जिनमाथि गरिने त्यो अध्ययनको नाम हो, जसमा जिनले कुन बेला काम गर्न थाल्छ र कुन बेला अन्त्य गर्छ भन्ने बताउँछ ।
जिन मानिसको शरीरको ब्लुप्रिन्ट हो । यो ब्लुप्रिन्टको कपी हरेक जिनमा हुन्छ तर हरेक जिनले त्यसलाई प्रयोग गरिरहनुपर्छ भन्ने छैन र गर्दैन पनि ।

बेलबिटेग बायोमेडिकलका मेनेल एस्टेलर र उनको टोलीले के पत्ता लगाए भने जिनले आफ्नो ब्लुप्रिन्टमा उमेर बढेसँगै नियन्त्रण गुमाउन थाल्छ । बालबालिकाको ८० प्रतिशत जिनमा र वृद्ध व्यक्तिको ७३ प्रतिशत जिनमा यसको असर देखिएको छ । अर्थात् दुवै बीचको अन्तर लगभग पाँच लाखको देखियो ।

डाक्टर एस्टेल भन्छन्, ‘यो खोजले के पत्ता लाग्यो भने कम उमेरमा जिनमा बढी नियन्त्रण हुन्छ र उमेर बढ्दै जाँदा कम हुन थाल्छ । यस्तो अवस्थामा एपीजेनेटिक्सले उमेर बढ्नुमा ठूलो भूमिका खेलिरहेको हुन्छ भन्ने दाबी गर्न सकिन्छ ।’

उसो भए कुनै व्यक्तिको एपीजिनोम परिवर्तन गर्न सकिन्छ त ? यसो गर्दा लामो समयसम्म स्वस्थ जीवन बाँच्न सकिन्छ त ?

एस्टेल भन्छन्, ‘हामीले तिनलाई बाहिरबाट प्रभावित तुल्याउन सक्छौँ । हामीले एपीजिनोमलाई परिवर्तन गर्न सक्यौँ भने वृद्धावस्थाको गतिलाई अलि सुस्त बनाउन सक्छौँ ।’

 

 

प्रकाशित: २४ पुस २०७६ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App