५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्य

रेमिटेन्सले अर्थतन्त्र धानेको छ

दिवाकर पौडेल
प्रबन्ध निर्देशक, ग्लोबल मनी एक्सप्रेस (जिएमई)
बागलुङको जैमिनी नगरपालिका (साविक पैयुँथन्थाप गाविस वडा नं. ६) मा जन्मिएका दिवाकर पौडेल १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा कार्यरत छन् । शिक्षण पेशाबाट करिअर सुरु गरेका पौडेलले सन् २००२ देखि २०१६ सम्म मुलुककै अग्रणि रेमिटेन्स कम्पनी आइएमईमा काम गरेका थिए । करिब १३ वर्ष मलेसियामा बसेर आइएमईको नेतृत्व गरेका पौडेल अहिले रेमिटेन्स सेवा प्रदायक कम्पनी ग्लोबल मनी एक्सप्रेस (जिएमई) को प्रबन्ध निर्देशक छन् । बिएसस्सीसम्मको अध्ययन गरेका पौडेलको नेतृत्वमा सुरु गरेको जिमएई कम्पनीले अहिले विश्वभरबाट रेमिटेन्स भिœयाइरहेको छ । जिएमईका प्रबन्ध निर्देशक पौडेलसँग मुलुकमा रेमिटेन्स आगमनको अवस्था, रेमिटेन्सको प्रयोग, यसले अर्थतन्त्रमा पारेको प्रभावलगायतका विषयमा नागरिक परिवारका लागि दिलीप पौडेलले गरेको कुराकानी :

मुलुकमा रेमिटेन्स आप्रवाहको अवस्था कस्तो छ ?
विगतका वर्षलाई तुलना गर्दा यो वर्ष मुलुकमा रेमिटेन्स आप्रवाह वृद्धि हुन सकेको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकले रेमिटेन्सको भोलुम बढेको देखिँदैन । गत वर्ष जुन अनुपातमा वृद्धि भएको थियो । त्यो वृद्धि नभएर रोकिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिटेन्स ४.९ प्रतिशतले घटेको देखिन्छ । तीन महिनामा दुई खर्ब ३० अर्ब २४ करोड रुपैयाँ मात्र रेमिटेन्स आएको छ । गत वर्ष भने विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

रेमिटेन्स घट्नुको कारण के हो ?
वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले विप्रेषण आप्रवाह घटेको हो । विगतका वर्ष विभिन्न समस्याका कारण मलेसिया जाने कामदार जान पाएनन् । फर्कने क्रम मात्र भयो । कतारमा केही मुलुकले नाकाबन्दी गरेपछि त्यहाँबाट आउने रेमिटेन्समा गिरावट आयो । पछिल्ला दुई वर्ष विदेश जाने नेपाली कामदारको संख्या घटेको छ । त्यसको असर रेमिटेन्समा परेको हो । यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.७ प्रतिशत र पुनः श्रम स्वीकृतिमा विदेश जाने पनि ०.९ प्रतिशतले घटेको छ

रेमिटेन्स आयातमा गिरावट हुँदा मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्छ ?
रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानेको छ । नेपाल कृषि प्रधान देश भनिन्थ्यो । अहिले रेमिटेन्स प्रधानमुलुक भएको छ । यहाँका बेरोजगार युवा विदेश गएर गत वर्ष आठ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स पठाए । जुन मुलुकको कुल बजेटको करिब आधा हिस्सा हो । यसले प्रस्ट पार्छ मुलुकको अर्थतन्त्रका लागि रेमिटेन्सको भूमिका । गत वर्ष १४ खर्ब १८ अर्ब रुपैयाँको सामान विदेशबाट आयात भएको थियो भने ९७ अर्ब ११ करोड रुपैयाँको मात्र निर्यात भएको थियो । विदेशबाट सामान आयात गर्नका लागि रेमिटेन्सबाट आउने डलरले नै धानेको छ । यसरी हेर्दा स्वाभाविक रुपमा असर पर्छ ।

कुन–कुन क्षेत्रमा असर गर्छ ?
रेमिटेन्स घट्दा त्यसको असर समाजका विभिन्न पाटामा पर्छ । नेपालको ठूलो जनसंख्या वैदेशिक रोजगारमा आश्रित छ । मुलुकको अर्थतन्त्रसहित निम्न र मध्यम वर्गीय परिवारको भान्सासम्म पर्छ । हाम्रो मुलुकको व्यापार घाटा ठूलो छ । आयातमुखी अर्थतन्त्र भएकाले विदेशबाट सामान खरिद गरेर ल्याउँदा डलरमा भुक्तानी गर्नुपर्छ । रेमिटेन्स आएन, सामान निर्यात गर्न सकेनौं भने मुलुकको ब्यालेन्स अफ पेमेन्ट बिग्रिन्छ । मुलुकमा डलरको सञ्चिति घट्यो भने विदेशी राष्ट्र र दातृ निकायले पनि ऋण लगानी गर्न पनि हिच्किचाउँछन् ।

रेमिटेन्स सेवा प्रदायक कम्पनीले कसरी काम गरिरहेका छन् ?
औपचारिक रुपमा रेमिटेन्स ल्याउने मुलुकको पहिलो कम्पनी आइएमई हो । अहिले ४० कम्पनीले सक्रिय रुपमा काम गरिरहेका छन् । विदेशमा रहेका नेपालीले आर्जन गरेको रकमलाई वैधानिक रुपमा नेपाल भित्र्याउने काम जिएमईले पनि गरिरहेको छ ।  धेरै कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्छ ।

जिएमईले कुन–कुन देशबाट रेमिटेन्स भित्र्याएको छ ?
हामीले कोरियालाई आधार बनाएर रेमिटेन्स भित्र्याउन सुरु गरेका हौं । अहिले जापान, मलेसिया, युके, युएसए, इजरायल, दुबईबाट रेमिटेन्स भित्र्याएका छौं । अरु मध्य पूर्वका देशबाट अब सुरु गर्ने तयारी गरेका छौं । १० वटा देशमा पुगेका छौं । अन्य रिहा, एक्सप्रेसलगायत कम्पनीसँग साझेदार गरेर विश्वभरबाट रेमिटेन्स ल्याई सेवा दिएका छौं ।

जिएमईको भुक्तानी संयन्त्र कस्तो छ ?
मुलुकका सबै जिल्ला, प्रदेशसहित हरेक सहरबाट भुक्तानी दिने व्यवस्था मिलाएका छौं । जिएमईले आफ्नै एजेन्ट नियुक्त गरेको छ । त्यसमा निजी कम्पनी, सहकारी संस्था, लघुवित्त, फाइनान्स, विकास बैंक, वाणिज्य बैंकहरुले जिएमईमार्फत आएको रकम भुक्तानी दिने व्यवस्था मिलाइएको छ । विश्वका जुनसुकै देशबाट पठाएको रकम मुलुकभरका करिब सात हजार पाँच सय एजेन्टमार्फत भुक्तानी लिन सकिन्छ ।

रेमिटेन्स कुन–कुन क्षेत्रमा खर्च भैरहेको छ ?
रेमिटेन्स कम्पनीले विदेशबाट फर्मल च्यानलबाट रकम भित्र्याएर उही दिन वा भोलिपल्ट सम्बन्धित व्यक्तिलाई भुक्तानी दिन्छ । त्यो रकम डिपोजिट गराउने अधिकार रेमिटेन्स कम्पनीलाई छैन । रेमिटेन्सको प्रमुख हिस्सा व्यक्तिगत घरखर्चमा प्रयोग भएको देखिन्छ । त्यसको प्रभाव भने सकारात्मक छ । व्यक्तिगत रुपमा दैनिक उपभोग्य वस्तु, घरजग्गा, बालबच्चाको पढाइ, स्वास्थ्योपचार आदि क्षेत्रमा खर्च गरेका छन् ।

रेमिटेन्स अनुत्पादनशील क्षेत्रमा खर्च भयो भनिन्छ । वास्तविकता के हो ?
रेमिटेन्स घरायसी खर्चमा मात्र सकियो भनेर त्यसलाई पूरै अनुत्पादनशील भयो भन्न मिल्दैन । विदेश गएर कमाएपछि बालबच्चा राम्रो स्कुलमा पढेका छन् । स्वास्थ्योपचारमा ध्यान दिएका छन् । घरजग्गा जोडेका छन् । नागरिकको जीवनस्तर सुधार आउनु भनेको मुलुक समृद्ध हुनु हो । बेरोजगार युवा विदेश गएर पठाउने भएकाले घरपरिवार चलाउन, व्यक्तिगत समस्या फुकाउन सजिलो भएको छ । जुन अनिवार्य आवश्यकता हो ।  घरखर्च बाहेक अन्य रकमलाई कसरी सदुपयोग गर्ने भन्ने महत्वपूर्ण पक्ष हो । रेमिटेन्सलाई उपयोगमा ल्याउन सरकारले उपयुक्त नीति बनाउनु पर्छ ।

उत्पादनमूलक क्षेत्रमा लगानी गरेर कसरी थप सदुपयोग गर्न सकिन्छ ?
सरकारले ठूला परियोजना बनाएर विदेशमा बस्ने नेपाली युवालाई आकर्षित गर्न प्याकेज ल्याउन सक्नु पर्छ । पूँजी ठूला परियोजनामा लगानी गरेर फाइदा लिन सकिन्छ । यसले व्यक्तिसहित मुलुकको आर्थिक उन्नतिमा टेवा पु¥याउँछ । खर्च भएर बचेको रकमलाई प्रयोगमा ल्याउन आवश्यक देखिन्छ ।

अहिले पनि विदेशबाट हुण्डीलगायतका गैर बैंकिङ च्यानलबाट रकम आइरहेको भन्ने सुनिन्छ ? यसले के असर पार्छ ?
अवैध रुपमा आउने रकमले स्वाभाविक रुपमा अर्थतन्त्रमा नकारात्मक असर पर्छ  । हुण्डीबाट आउने भनेको व्यक्ति–व्यक्तिबीच आफ्नो आवश्यकताअनुसार डिल गरेर आउने रकम हो । राज्यले गैर बैंकिङ क्षेत्रबाट आउने रकमलाई नियन्त्रण गर्न सक्रियता बढाउनु पर्छ । मलेसिया, कदार, दुबईलगायतका देशमा धेरै जसो औपचारिक माध्यमबाट आएको छ । तर पनि अन्य मुलुकबाट अनौपचारिक रुपमा आउने ठूलो भोलुम छ । सबै रेमिटेन्स वित्तीय संस्थामार्फत ल्याउन सके त्यो मुलुकका लागि फाइदा हुन्छ । नेपालीको आकर्षक वैदेशिक रोजगारको गन्तव्य कोरियामा अझै पनि ५०–६० प्रतिशत कारोबार गैर बंैकिङ च्यानलबाट आइरहेको भन्ने सुनिन्छ ।

कसरी व्यवस्थित गर्न सकिन्छ त ?
म्यानमार, श्रीलंका, फिलिपिन्स, इन्डोनेसियालगायत मुलुकमा पनि ठूलो जनशक्ति वैदेशिक रोजगारमा छ । विकसित मुलुक इन्डोनेसिया हेर्ने हो भने त्यहाँ विदेश जाने कामदारलाई अनिवार्य बैंक खाता खोलेको छ । बैंकमार्फत कारोबार हुन्छ । उपभोक्ताको खातामा पैसा आएपछि चाहिने पैसा मात्र निकाल्छ । हुन त अहिले नेपाल सरकारले पनि अनिवार्य खाता खोल्ने नियम बनाएको छ । यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याउनु पर्छ । नचाहिने पैसा बैंकले पुँजी परिचालन गर्न सकिन्छ ।
औपचारिक माध्यमबाट रेमिटेन्स आउँदा त्यसको फाइदा राज्यले लिन सक्छ । हुण्डीबाट आएको रकम ह्वाइट मनीको रुपमा गणना हुँदैन । विदेशबाट फर्मल र इनफर्मल च्यानलबाट आउने रेमिटेन्सको भिन्नताका बारेमा सुसुचित गर्नुपर्छ । अहिले पाकिस्तानमा एक सय डलरभन्दा बढी पठाउँदा त्यसको सर्भिस चार्ज पठाउने मान्छेलाई लाग्दैन । बाहिर बसेका नेपालीलाई प्रोत्साहन गर्न यस्तै नीति ल्याउनुपर्छ । राज्यका निकाय, रेमिटेन्स कम्पनीले चेतना अभिवृद्धि गर्न सक्छन् । नेपाल राष्ट्र बैंकले पनि नियमन गर्नुपर्छ । बैंकबाट आउन थालेपछि गैर बैंकिङ क्षेत्रबाट आउन रोकिन्छ । बैंकमा रहेको निक्षेप अरुले प्रयोग गर्न सक्छन् ।

रेमिटेन्स र वैदेशिक रोजगारी एकअर्काका परिपुरक हुन् । नेपालको वैदेशिक रोजगारीलाई कसरी हेर्नु भएको छ ?
हाम्रो मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प छैन । राज्यले काम दिन नसकेका मान्छे मलेसिया, कतार, दुबईलगायत मुलुकमा पुगेर आम्दानी गरेर घर रकम पठाएका छन् । दीर्घकालीन रुपमा वैदेशिक रोजगारी मुलुकका लागि धेरै हितकर नहुने भए पनि हाम्रो जस्तो मुलुकका लागि अपरिहार्य छ । युवा वैदेशिक रोजगारमा गएका कारण नै एक वर्षमै आठ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटेन्स आएको छ । यो मुलुकको अर्थतन्त्रको हिस्सा हो । अहिले ठूलो अदक्ष जनशक्ति वैदेशिक रोजागारीमा गएकाले राज्यले तालिम दिएर दक्ष जनशक्ति पठाए राम्रो तलब पाउँछन् । यसले रेमिटेन्स आप्रवाह बढ्छ । वैदेशिक रोजगारी मात्र नभएर स्वदेशमा पनि औद्योगीकरण गरेर रोजगारी सृजना गर्नुपर्छ । विदेशमा सीप सिकेका छन् । विदेशबाट ल्याएको पुँजी र सीपलाई प्रयोगमा ल्याउनु पर्छ । यसले अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याएको छ ।

जिएमईको भावी योजना के छ ?
सरकारको नीतिअनुसार रेमिटेन्सलाई वालेटबाट डिजिटल पेमेन्टको सिस्टम कार्यान्वयनमा ल्याउन आवश्यक तयारी गरिरहेका छौं । विदेशबाट सानो रकम डिजिटल सिस्टमबाट तुरुन्त स्वदेशमा रहेका आफन्तलाई पठाउन सकून् भन्ने उद्देस्य हो । वालेटबाट वालेटमा पैसा पठाउने व्यवस्था मिलाउन लागेका छौं ।

डिजिटल पेमेन्टले के फाइदा पुग्छ ?
विदेशमा बसेका नेपालीले त्यहाँबाट तुरुन्त घर रकम पठाउन सक्छ । मोबाइलमा एप्स डाउनलोड गर्ने । त्यहाँको आफ्नो खाताबाट हाम्रो खातामा पैसा पठाएर आफन्तले पाउँछन् । अहिलेसम्म भुक्तानी लिँदा कि नगद लिन्छ नभए बैंंकमा डिपोजिट गर्छ । त्यो दुईवटा बाहेक विदेशबाट वालेटमा पठाएको रकम जिएमईमार्फत यहाँको सेवाग्राहीको वालेटमा आउँछ । वालेटमा सानोतिनो भुक्तानी, टपअप गर्न सकिन्छ । एक दिनमा २५ हजार रुपैयाँ वालेटबाट पठाउन सकिन्छ ।

नेपाली समाज नगद कारोबारबाट डिजिटलतर्फ उन्मुख भएको हो ?
अहिले साधारणतया कसैले पनि सकेसम्म नगद रकम लिएर हिँड्न रुचाउँदैन । नयाँ पुस्ता त डिजिटल सिस्टममा आकर्षित छ । कार्डबाट भुक्तानी गर्न सजिलो पनि छ । ७० प्रतिशत बढी नेपालीको बैंक खाता रहेको बताइन्छ  ।

स्वदेशमा रेमिटेन्स कम्पनीले कस्तो कारोबार गरिरहेका छन् ?
बैंकमार्फत कारोबार गर्ने हो भने यो आवश्यक छैन । अहिले मोबाइल वालेट, ईबैंकिङबाट पैसा पठाउन मिल्छ । तर, यहाँ रेमिटेन्स कम्पनीले आन्तरिक रुपमा रकम पठाउन प्रयोग भैरहेको छ । रेमिटेन्स कम्पनीमा गएपछि त्यहीँको कर्मचारी फारम भर्दिने भएकाले सजिलोसँग पैसा पठाउन मिल्ने भएकाले रेमिटेन्स कम्पनी प्रयोग गरेका छन् ।

यहाँ १७ वर्षदेखि रेमिटेन्स कम्पनीमा आबद्ध हुनुहुन्छ । रेमिटेन्स आगमन कसरी परिवर्तन हुँदै आएको छ ?
सन् २००३ मा आइएमईको तर्फबाट मलेसिया जाँदा त्यहाँ काम गर्ने नेपालीलाई यसको बारेमा जानकारी थिएन । बुझाउन सिकाउनु पथ्र्यो । नेपाली ठगिने, रकम खाएर भाग्ने समस्या थियो । होस्टेल, काम गर्ने कम्पनीमा जाने मार्केटिङ गर्ने, रकम पठाउन सिकाउने गथ्र्यौं । अहिले रेमिटेन्स कम्पनीप्रति विश्वास बढ्यो । सबै सचेत भए । रेमिटेन्स कम्पनीबाट पठाएको पैसा १० मिनेट मै पाइन्छ । सबैमा चेतना बढ्दै गयो क्रमशः रेमिटेन्स कम्पनीमार्फत पठाउन थाले । अहिले प्रायः सबैले रेमिटेन्स कम्पनीमार्फत पठाउँछन् ।

कम्पनीको व्यावसायिक सफलताका लागि के आवश्यक पर्छ ?
लगनशीलता हुनुपर्छ । व्यवसायमा नेटवर्क आवश्यक पर्छ । समन्धित व्यवसायको काम राम्रोसँग बुझेर व्यवसाय सुरु गरे सफलता प्राप्त गर्न सकिन्छ ।

विज्ञान पढेको व्यक्ति कसरी यो क्षेत्रमा आउनु भयो ?
म शिक्षण पेसामा हुँदै यो क्षेत्रमा आएको हुँ । पहिला जनता मावि पैयुन्थन्थापमा गणित, विज्ञान अध्यापन गराएको थिएँ । शिक्षण पेसामा भन्दा यता अवसर देखेर रेमिटेन्स क्षेत्रमा आएको हुँ । सन् २००२ मा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सरले आइएमई सुरु गरेपछि आइएमईमा आबद्ध भएर लामो समय मलेसियामा नेतृत्व तहमा बसेर काम गरेँ। त्यसपछि निरन्तर यही क्षेत्रमा क्रियाशील छु । सन् २०१६ देखि जिएमईको नेतृत्व तहमा बसेर काम गरिरहेको छु ।

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
बिहान पाँच बजे उठ्छु । दुई घण्टा क्लब जान्छु । ८.३० देखि ९ बजे सम्ममा अफिस पुग्छु । साँझ ६.३० देखि ७ बजेससम्म घर फर्किन्छु ।
बिदाको समय– श्रीमती तारा ढकाल, छोरीहरु दिक्षिता, दिविजासहित परिवार, आफन्त, साथीभाइलाई समय दिन्छु ।
खानपान– नेपाली खाना दाल, भात तरकारी ।

 

प्रकाशित: २० पुस २०७६ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App