८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

कञ्चनजङ्घाको काखबाट...

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आफ्नै महिमा छ। जुन हिमाल (८,५८६ मिटर)को बेसक्याम्प क्षेत्र घुम्न रोचक, रमाइलो र उत्साहप्रद हुन्छ। मैले पनि कात्तिक महिनामा घुम्ने अवसर पाएँ। यस क्षेत्रको अनुपम दृष्य, भूबनोट र पदयात्रा रोचक बन्यो।

उल्लेख्य संख्यामा पर्यटकका पाइला परिनसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्यटक बढ्ने क्रम भने जारी छ। होटल सहितका पर्यटकीय पूर्वाधारको वृद्धिले यस्तो संकेत दिन्छ। उत्तरी र दक्षिणी बेसक्याम्प नेपालतर्फ छ। कञ्चनजङ्घासँगै अन्य हिमाल पनि छन्। साथै पदयात्रामा भेटिने ठाँउ, जीवनशैली, प्राकृतिक सम्पदा जीवनभरका लागि मिठो सम्झना बनिदिन्छन्। 

कञ्चनजङ्घा हिमाल कम मात्र आरोहण भएको छ। यस  श्रृङ्खलामा विभिन्न हिमाल छन्। यहाँ धेरै पर्यटक ल्याउन नसक्नुमा पूर्वाधार र प्रचारको अभाव भएको पाइयो। सरोकारवालाले यसमा ध्यान पु-याउनुपर्छ। 

कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमश्रृङ्खला पनि छन्। यलुङकाङ, कञ्चनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्तालुङ, काङबाचेन, किरातचुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभरा जस्ता सात हजार मिटरभन्दा अग्ला हिमाल छन्। 

‘अब पदयात्रा गर्न रुचाउनेलाई लैजाने महत्वपूर्ण थलो कञ्चनजङ्घा नै हो। यो कुमारी डेस्टिनेसनकै रूपमा छ। विदेशी तथा नेपालीलाई यो क्षेत्र घुमाउन आवश्यक छ’, तमोर भ्याली ट्राभल, टुर एण्ड ट्रेकिङका निर्देशक दिपेन्द्र तुम्बापो भन्छन् ‘पदयात्रा अविस्मरणीय छ। विदेशीले रुचाउन थालेका छन्। अलिअलि पूर्वाधार थपिएको देखिन्छ। कहाँसम्म जान सक्ने हो त्यहाँसम्म घुम्दा हुन्छ। पूरै सर्किट घुम्नुको त छुट्टै मज्जा हुन्छ।’

क्षेत्र २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। ओलाङचुङगोला, लेलेप, तापेथोक, याम्फुदिन क्षेत्रमा पर्ने संरक्षण क्षेत्र विभिन्न विविधताको कारणले पनि महत्वपूर्ण छ। हिमाली जनजीवन, शेर्पा जीवनशैली, याक, चौंरीको अवस्थिति, जडीबुटी र प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याउँछन्।

विदेशी घण्टौँसम्म हिमाल हेरेर रमाएका देखिन्थे। यहाँको फक्तालुङ र शिरिजङ्गा गाँउपालिकालाई समेटेर कञ्चनजङ्घा संरक्षण क्षेत्र बनाइएको छ। २०५४ सालदेखि सरक्षण क्षेत्रका रूपमा विकास गरिएको थियो। यो समुदायमा हस्तान्तरण गरिएको एसियाकै पहिलो संरक्षण क्षेत्र भएको यहाँ सञ्चालित समृद्ध पहाड परियोजनाका कार्यक्रम संयोजक सुदिप श्रेष्ठ बताउँछन्। २०६३ साल असोजमा समुदायलाई हस्तान्तरण गरिएको थियो। 

यो क्षेत्र २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। ओलाङचुङगोला, लेलेप, तापेथोक, याम्फुदिन क्षेत्रमा पर्ने संरक्षण क्षेत्र विभिन्न विविधताको कारणले पनि महत्वपूर्ण छ। हिमाली जनजीवन, शेर्पा जीवनशैली, याक, चौंरीको अवस्थिति, जडीबुटी र प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याउँछन्। व्यस्तता र भागदौडबाट समय निकालेर केही दिन प्रकृतिमा विचरण गर्न सकिन्छ।

अचेल धमाधम होटल, टि हाउस खुल्दै छन्। ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक छ। यहाँ एयरपोर्ट समेत छ। यहाँबाट कच्ची सडक रानीपुलसम्म गाडीमा जान मिल्छ। करिब पाँच घण्टा लाग्छ। कतिपय विदेशी सुकेटारबाटै हिँड्छन्। रानीपुलदेखि सेकाथुम आम्जीलेसा हुँदै दुई दिनमा घुन्सा पुगिन्छ। उपत्यका जस्तो घुन्सा अहिले शहर जस्तो भएको छ। घुन्सादेखि खम्बाचेन, लोनाक हुँदै तीन दिनमा उत्तरी पाङपेमा बेस क्याम्प (५,१४० मिटर) पुगिन्छ। खम्बाचेनदेखि लिम्बू जातिको उत्पत्ति थलो मानिने फक्तालुङ (कुम्भकर्ण) हिमालको बेस क्याम्प जान मिल्छ।  घुन्सा फर्केर दक्षिणी बेस क्याम्प जान सकिन्छ। घुन्सादेखि सेलेले पास गरेर चेराम, यालुङ, रामचेर, ओक्ताङ भ्याली हुँदै उत्तरी बेस क्याम्प पुग्न सकिन्छ। साउथ बेस क्याम्प ४ हजार ५ सय मिटर उचाइमा पर्छ। यहाँबाट फर्किदा तोरोङदेन हुँदै लेलेप वा याम्फूदिन, मामाङखे हुँदै फर्किन मिल्छ। चित्रकारले कल्पना गरेको अनुपम चित्रकलाझैं सुन्दर लाग्छ यो क्षेत्र। हिमाल, पहाड, झरना, उकालीओराली सुन्दर देखिन्छन्।

भारत र चीनसँग जोडिएकाले यो क्षेत्रलाई सामरिक महत्वका साथ हेरिन्छ। हिउँचितुवा, हाब्रे, हिमाली कालो भालु, कस्तुरी मृग र पहरे बाँदर, नाउर, लगायतका वन्यजन्तुको महत्वपूर्ण बासस्थानका रूपमा यो क्षेत्रलाई लिइन्छ। रैथाने र घुमन्ते गरी २ सय ५२ प्रजातिका चरा पाइने संरक्षण क्षेत्रको कार्यालयले जानकारी दिएको छ। जसमध्ये ८ वटा नेपालमा निकै जोखिम अवस्थामा छन्। चिराइतो, कुट्की, पाँचऔंले, माइकोपिला, बिख, बिखमा, सुनपाती, भुइँचुक, खोकिम, मजिठो, मालिङो, ओखर, लोक्ता, अर्गेली आदि जडीबुटी पाइन्छ। नाङ्मा, छेरछेन, पाबुक, टिप्ताला सिंजेमा, हाँसपोखरी, नागपोखरी, तिम्बुङपोखरी, तिनपोखरी आदि ताल तथा पोखरी थप आर्कषण हुन्। त्यस्तै याङमा लगायत ओलाङचुङगोला, खाम्बाचेन, रामजेर, लोनार्क, घुन्सा उच्च हिमाली बसोबास क्षेत्र हुन्।

कञ्चनजङ्घा सर्किट, उत्तरी तथा दक्षिणी बेसक्याम्प, सुकेटार याम्फूदिन कावेली सर्किट, ताप्लेजु–ढिप्ताला, गोला–हाँसपोखरी–ग्याब्ला, याङमा लगायतका पैदलमार्ग छन्। 

जंगबहादुर राणाको पालामा बेलायती जेसफ हुकरले तमोर नदीको बाटो ओलाङचुङ्गोला हुँदै चुङचेर्मासम्म यात्रा गरेको इतिहास छ। कञ्चनजङ्घा हिमालमा पहिलो पल्ट १९५५ मे २५ मा आरोहण गरिएको थियो। जर्ज बैड र जो ब्राउनले पहिलो पटक आरोहण गरेका थिए। हिमाल चढ्ने पदयात्रीको संख्या धेरै छैन। यस क्षेत्रमा आउने पदयात्रीको संख्या पनि कम छ।

सडक मार्गको कुरा गर्दा, ताप्लेजुङ सदरमुकामदेखि ओलाङचुङगोला हुँदै चीनसँगको टिप्तला नाका जोड्ने सडक बन्ने क्रममा छ।

कञ्चनजङ्घा क्षेत्रमा महिनाभरि घुम्न सकिने ठाउँ छन्। घुम्नेको अनुकूल समय र हिमाली क्षेत्रमा हिँड्न सक्नुपर्छ। ‘हामी पर्यटकलाई स्वागत गर्न आतुर छौँ। यहाँको सौन्दर्यको प्रचार व्यापक हुन पाए हुन्थ्यो। अहिले होटल लगायतका सुविधा पनि थपिएका छन्’ घुन्साका हिमाली चुङ्दा शेर्पा भन्छन् ‘पूर्वाधारहरू बन्न र प्रचारको अभाव छ। तर यहाँ आउने चाहे जति नै रमाउन सक्छन्।’

समय मिलाएर हिँड्नु उपयुक्त हुन्छ। स्वच्छ प्राकृतिक वातावरण भरिपूर्ण यो क्षेत्रमा पदमार्गलाई व्यवस्थित गर्ने लगायतका पूर्वाधार निर्माण, सुविधाको विस्तार गर्न आवश्यक देखिन्छ। असोज–कात्तिक, फागुन–वैशाख यो क्षेत्र घुम्न उपयुक्त मानिन्छ।

प्रकाशित: १९ पुस २०७६ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App