coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सेलिब्रिटी माया

आज कलेजबाट छिटो फर्केर खाना पकाइवरी खाना खाएर म आफ्नो कोठामा टिभी हेर्न बसेँ । आज मैले मन पराएको मान्छेको टिभीमा अन्तर्वार्ता थियो । उनी बोली रहेकी थिइन् । मलाई उनको हरेक शब्द, हाउभाउ, हाँसो सबैसबै मन पथ्र्यो । उनको अभिव्यक्त गर्ने विचारधाराले मलाई एउटा बाटो देखाउँथ्यो । म सधैँ उनलाई इन्स्टाग्राम, ट्वीटर, फेसबुक सबैमा पछ्याउँथे । मेरो हरेक धड्कनमा उनी थिइन् ।

मैले उनलाई यसरी सामाजिक सञ्जाल र मिडियामा पछ्याउन थालेको करिब दुई वर्ष भयो । उनलाई पछ्याउन थालेदेखि मेरो दैनिक कार्य र गतिविधि नै फरक हुन थालेको थियो । मेरा गलत संगत, उठबस, खानपान, सबैसबै परिवर्तन भइरहेको थियो ।

मोफसलबाट ठूलो मान्छे बन्ने उद्देश्यले काठमाडौँ छिरेको थिएँ । काठमाडौंको डेरामा एक्लै बस्थेँ । शुरुमा मेरालागि काठमाडौँ एउटा चमकदमकपूर्ण शहर बन्यो । काठमाडौंको आधुनिकता र रमाइलो र मस्ती ! म यो शहरमा आएपछि यत्ति मात्तिएँ कि मैले के मात्र गरिनँ । रक्सीचुरोट, गाँजा–धतुरो के मात्र खाइएन ? रोक्ने कसले ? सम्झाउने को ? बेलामौकामा कुनै पनि नराम्रो काम गर्न उक्साउने टोली पनि तयार नै थियो । यसरी सोच्दैनसोचेको अचम्मको दैनिकी बन्न पुगेको थियो । नराम्रा लतहरुमा फस्ने मान्छेका अनेकन् बहाना थिए तर मसँग त्यस्तो केही थिएन । लहलहैमा ‘टेस्ट’ गर्ने धुन सवार थियो । र, टेस्टले जिन्दगी नै फेल गराइदेला भन्ने के थाहा ?

घरबाट आउने रकम कम हुन थालेपछि म बिहानको कलेजपछि दिउँसो स्कुलमा काम गरेँ । स्कुलको पैसाले मस्ती गर्ने पैसा नपुगेपछि राति डान्स बारमा समेत काम थालेँ । जोश–जाँगर त थियो तर ती सबै नराम्रा गतिविधि पाल्न र हुर्काउन खर्च भइरहेको छ भन्ने मैले बुझिरहेको थिइनँ । उता आमाबुबा छोरो शहरमा पढिरहेको छ, भविष्यमा नाम र दाम कमाउला भन्ने सोच्नुहुन्थ्यो तर मेरो दैनिकी भने उहाँहरुको सपनाजस्तो थिएन ।

एक दिन साथीभाइसँगको रक्सी र नशाको सुरमा झगडा गर्न पुगेँ । पाँच दिन थुनामा बस्नु पर्‍यो । थुनाको दैनिकी निकै कष्टदायक थियो । दुई वर्ष अगाडिसम्म यसरी दिन बितिरहेका थिए । घरबेटीले घर छोड्न चेताइरहेका थिए । स्कुलमा पनि काममा बेवास्ता बढेको भन्दै हप्काइरहेका थिए । नचाहिँदा केटाहरुसँग मेरो जीवन बितिरहेको थियो । धर्तीभन्दा बीसौं फुटमुनि मेरो जीवन धस्केको थियो ।

मलाई पनि यस्तो जीवनबाट दिक्क लागिरहेको थियो । एक दिन स्कुलको वा¨षक उत्सवको क्रममा उनी आएकी थिइन् । उनको नाम हो– स्मृति शर्मा । विद्यार्थीहरुका लागि मोटिभेसनल स्पिच दिन आउनुभएको थियो । म त्यही कार्यक्रमको उद्घोषक थिएँ ।

स्मृतिले त्यहाँ जीवनको भोगाई, जीवन प्रतिको सकारात्मक सोच, सपनाको बिजारोपण र साकार बनाउने कला, समयको महत्वजस्ता कुराहरु उनबाट सुनेँ । मभन्दा तीन वर्ष कान्छी थिइन् उनी तर व्यवहार परिपक्व ।
यसपछि मनमा हुण्डरी चल्न थाल्यो । कसरी मान्छेले आफैँलाई नचिन्दा कुहिरोको काग बन्दोरहेछ ! छटपटी हुन थाल्यो, कसरी म यो नशाको दलदलबाट निस्कने र उनीसँग नजिकिने !

उनले बोलेका हरेक कुरा मलाई नै इंगित गरेजस्तै लाग्यो । उनले भनेकी थिइन्, ‘हाम्रो जीवन कुमालेले बनाउन लागेको भाँडोको काँचो माटोजस्तो हो । कुम्हाले तपाईं आफैँ हो, काँचो माटो तपाईंको वर्तमान हो र वर्तमानलाई तपाईंले जुन र जस्तो आकार दिनुहुन्छ, त्यो तपाईंको भविष्य हो ।’ ‘समयको महत्व बुझेको दिन तपाईंले काँचो माटोलाई आकार दिन थाल्नुहुन्छ,’ उनले भनेकी थिइन् र मलाई चस्स घोचेको थियो ।

लाग्यो– अहो, यो फुच्चीले जीवनको यति गहन कुरा कति सरल तरिकाले बुझाउन सकेकी होली ! त्यो दिन म मन्त्रमुग्ध भएर उनको वक्तव्य सुनिरहेको थिए । म मात्र होइन, पूरा हल मन्त्रमुग्ध भएर सुनिरहेको थियो । जब तालीको गड्गडाहट आयो, बुझेँ– उनले सबैलाई कत्ति धेरै प्रभाव पार्न सकिछन् ।
कार्यक्रम समापन गर्न म पनि उठेँ ।
०००
स्मृतिसँगको यो भेट, त्यहाँ उनीसँगको सानो सहकार्य, सामूहिक तस्बिरको कार्यक्रम यी सबै मेरालागि विराट स्मृति बन्न पुग्यो । स्मृतिको स्मृति ! उनी मेरो दिमागबाट अब भने हट्न सकिनन् । यसपछि उनलाई सोसल मिडियामा फलो गर्न थालेँ । उनी के गर्छिन् ? के खान्छिन् ? उनको दैनिकी के–कस्तो छ ? परिवारमा को–को छन् ?
मेरो दिमाग स्मृतिबाहेक केही र कोही थिएन । उनको परिवार मलाई मेरो आफ्नै लाग्न थाल्यो । उसको घरका स–साना बिरुवा पनि मलाई आफ्नै लाग्न थाले । अब मलाई बाँच्नका लागि कुनै नशाको आवश्यकता थिएन । कुनै खराब संगत चाहिने बाध्यता रहेन । उनी स्वयं मेरालागि नशा र संगत थिइन् ।

मन चङ्गा भयो भने धेरै कुरा परिवर्तन हुँदा रहेछन् र परिवर्तन हुन नसक्ने केही चिजका लागि हामी संघर्ष गर्दारहेछौँ । क्रमशः ममा धेरै कुरा सुधार आउन थालेपछि पहिलो काम मैले डेरा परिवर्तन गरेँ किनभने ती घरबेटीले म परिवर्तन भएको देखेनन् । उनलाई म पुरानै व्यक्तिझैँ लागेकाले पहिलेकै जस्तो व्यवहार गर्थे । मलाई मन परेन । म नयाँ म हुँ, यस्तै लाग्यो मलाई ।

जुन मानिसमा आत्मसम्मान हुँदैन, ऊ राम्रो काममा जम्न सक्दैन भन्ने लाग्यो मलाई । त्यसैले बद्लिएको मलाई आफैँले सम्मान गर्नुपर्छ । त्यसपछि अरुले गर्न थाल्छन् । यही सोचेर मैले डेरा परिवर्तन गरेँ । नयाँ डेरा, नयाँ ठाउँ, नयाँ उत्साह, सबै कुरा नयाँ हुन थालेकाले अध्ययनमा जोड दिन थालेँ । पहिला पर्याप्त फुर्सद हुन्थ्यो, अहिले भने फुर्सद मिलाउन हम्मे पर्न थालेको छ । यसबीच मैले स्मृतिका हरेक स्पिच युट्युब सर्च गरीगरी सुन्थेँ । उनका हरेक लेखहरु पढ्थेँ । हरेक शब्दहरु गम्थेँ ।

बुढापाकाहरुले भनेको सम्झन्थेँ, एउटा कमलको फूलले हिलो पोखरीलाई पनि उज्यालो बनाउँछ । एउटा असल संगतले जीवनलाई सफल बनाउँछ । यो भनाइ यथार्थमा हो रहेछ । जति–जति म स्मृतिलाई सुन्थेँ, उनका भाषा र शब्दले मलाई उनीप्रति अझ आकर्षित गथ्र्यो । उनैका शब्दले म परिवर्तन भएको थिएँ । उनी मेरालागि के मात्र थिइनन् !

म उनको सोचलाई अगाध प्रेम गर्थें । उनकै सपना देख्थेँ । अर्थात् चौबीसै घण्टा उनी मैसँग हुन्थिन् । स्कुलको कार्यक्रमपछि स्मृतिसँग कुनै भेट भएको थिएन, कुनै कुराकानी भएको थिएन तर उनी मेरो जीवनको सहयात्री भइसकेकी थिइन् ।
०००
आज फेरि म उनकै कार्यक्रम हेर्न टिभी अघिल्तिर बसिरहेको छु । कार्यक्रम हेरिसकेपछि जसरी एउटा भोकाएको बच्चा पेट भरिएपछि आनन्दले निदाउँछ, त्यसरी म निदाएँ । भोलिपल्ट बिहान चन्द्रागिरी हिल्समा हाइकिङ थियो । दस बजे चन्द्रागिरी हिल्स पुगेँ अनि श्रृंखलाबद्ध हिमालको दृश्य हेरिरहेको थिएँ । एउटा महिलासँग आँखा जुध्यो । आँखा हटाउन सकिनँ, नजिकै गएँ र भनेँ, ‘हाई, हाउ आर यु ?’ उनले मुस्कुराउँदै जवाफ फर्काइन्, ‘नमस्ते ।’ म अचानक किन ऊसित आकर्षित भइरहेको छु । कता देखेको व्यक्ति भनेको त उही स्मृति नै थिइन्, जो मेरो हरेक क्रियाकलापमा सँगै हुन्थिन् ।

उनलाई म रातदिन फलो गर्थें । जसको हरेक शब्द मेरै शब्द भइसकेका थिए । उसलाई एक्कासि नजिकै भेट्दा विश्वासै लागेन । स्मृतिले सोधिन्, ‘मलाई ठीक छ, अनि तपाईंलाई कस्तो छ ?’ सानोतिनो कुरा गर्दै जाँदा क्याफेभित्र हामी छिरिसकेका थियौँ । उनले दुई वटा कफी अर्डर गरिन् । मैले नाइँ भन्न सकिनँ किनभने उनका अघिल्तिर बसेर चुस्की लगाउने रहर कसलाई पो नहोला !

कफी पिउँदै गर्दा सोधिन्, ‘मलाई चिन्नु हुन्छ ? कसरी चिन्नुहुन्छ ?’ ‘म शेखर हुँ, तपाईंसँग धेरै अघि मेरो स्कुलमा भेट भएको थियो,’ मैले उनलाई कसरी स्कुलमा भेट भयो र त्यो भेटले गलत संगत त्याग्न कसरी प्रेरित गर्‍यो सबै बताएँ । यी दुई वर्षमा जीवनमा आएको परिवर्तनको भाव मेरो अनुहारमा हेर्दै कहिले गम्भीर त कहिले मुसुमुसु हाँसेको विचार गरेँ मैले ।

‘तपाईंले त मलाई ठूलै मानिस बनाइदिनु भयो,’ स्मृतिको मीठो आवाज गुञ्जियो, ‘मलाई यति ठूलो स्थान दिनुभयो, भाग्यमानी ठान्छु आफूलाई । म त्यस्तो ठूलो स्पिकर र लेखिका होइन तर के चाहिँ हो भने सानै उमेरदेखि संघर्ष र दुःख गर्न सिकेँ । समाजमा देखिएका सुपात्र र सुरुचि उद्धृत गर्दै जान थालेँ । यसले तपाईंहरुजस्ता साथीलाई प्रभावित पार्‍यो, केही फरक गर्न सोच दियो । यो नै ठूलो कुरा हो ।’

‘मेरा दुई वटा छोरी छन्,’ यसो भन्दा उनको अनुहार गम्भीर थियो तर मलाई चस्स घोचेको थियो, ‘तिनीहरुलाई पनि सही दिशा दिनुछ । जीवनमा मैले जे गल्ती गरेँ, आफूलाई जसरी गुमाएर फेला पारेँ, हरेक युवाले फेला पारुन् । म त चाहन्छु, तपाईं पनि हरेक युवाका लागि रोलमोडल बन्न सक्नुहोस् र सक्नुहुन्छ पनि । मात्र, थोरै मिहिनेतको खाँचो छ ।’

यसपछि हामी गफ गर्दै चन्द्रागिरी तल झर्‍यौँ । उनका लागि एउटा गाडी कुरिरहेको थियो । उनी हार्दिकताका साथ बिदा भइन् तर मेरो मनमा एउटा ठूलो शून्यताको विषाद छरेर गइन् ।
म बसको प्रतीक्षामा छेउको मुडामा भावशून्य भएर बसिरहेँ । उनका बारेमा मिनेटौँ सोचिरहेँ ।

प्रकाशित: १५ पुस २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App