१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

कविताः आगो लाग्न सक्छ

वसन्त लोहनी

राष्ट्रलाई दिन दहाडै लुटेका
शासकहरूले
ब्रिफकेसका ब्रिफकेस सुनको बिस्कुट
अब खान थालिसके

अनि टेलिभिजनको पर्दामा
राष्ट्रिय पोसाकमा सजिएर
हात हल्लाइहल्लाई
विभिन्न मुद्रा र भावभंगीमा
जब राष्ट्रिय संवेदनशीलताको कुरा गर्छन्
इमानदारी र नैतिकताको व्याख्या गर्छन्

विकासको फल
आम जनताले चाख्न नपाए
प्रजातन्त्रको के मतलब
भनेर उल्टो प्रश्न गर्छन्
जनजीविकाको कुरा रूपान्तरण गर्ने
अठोटको मञ्चन गर्छन्
त्यतिबेला
असाध्यै चित्त दुख्छ

नेपालका छोरीलाई
बम्बईमा बेचेर आएपछि
चेलीबेटी बेचबिखन समस्याबारे
डलरको खेती गर्नेहरूले
पाँचतारे होटलमा आयोजना गरेको
खचाखच भरिएको कार्यक्रममा
प्रमुख वक्ता बनेर
जब भाषण गर्छन्

त्यतिबेला चित्त दुख्ने मात्र होइन
मभित्र आगो बलिसकेको हुन्छु
एकादशीको दिनमा
मासु खाएर आएपछि
हरिशयनी एकादशीको
महात्म्य व्याख्या गर्दै
पातालमा सुतेको भगवान्को उपासना गर्ने
त्यो धर्मात्माको पाखण्डताले
यहाँ कुनै बेला पनि आगो लाग्न सक्छ।

 

प्रकाशित: ५ पुस २०७६ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App