coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

जसले नोबेल पुरस्कार अस्वीकार गरे

सन् १९६४ मा स्विडिस एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक, दार्शनिक तथा अस्तित्ववादका पक्षधर जाँ पाल सार्त्र (सन् १९०५–१९८०) लाई प्रदान ग-यो। सात्र्रको स्वतन्त्रताको भावना र सत्यको खोजीले भरिएको समृद्ध विचार तथा कामले तत्कालीन विश्वलाई प्रत्यक्ष प्रभाव पारेको भनेर उनलाई पुरस्कार दिइएको थियो। आश्चर्य त, विश्व साहित्य क्षेत्रमै सबैभन्दा चर्चित र सम्मानित मानिएको पुरस्कारलाई सात्र्रले अस्वीकार गरे। आजको दिनसम्म हेर्दा संसारभरका लेखक, राजनीतिज्ञ, वैज्ञानिक लगायतले यस पुस्तकप्रति रुचि राखेकै देखिन्छ। संसारमै आजसम्म नोबेल पुरस्कार अस्वीकार गर्ने व्यक्ति यिनी मात्रै हुन्।

सात्र्रले पुरस्कार अस्वीकार गरेको विषयले संसारलाई नै चकित पा-यो। सधैँ आधिकारिक सम्मान अस्वीकार गरेका सात्र्रले ‘लेखकले आफूलाई संस्थामा रूपान्तरण गर्नु हुँदैन’ भनेर पुरस्कार अस्वीकार गरेको भने पनि विश्वका चर्चित व्यक्ति र ठूला मिडियाले विभिन्न टीका–टिप्पणी गरे। अर्को भाषामा भन्दा उनको यो साहसिक कदमले सबैलाई उनको जीवनबारे नयाँ कुतूहलता जगायो।

यद्यपि उनले पछि यो पुरस्कार रकमले रंगभेदविरोधी आन्दोलनलाई मद्दत गर्न सक्थ्यो कि भन्ने महसुस गरे, जुन आन्दोलन त्यतिबेला लन्डनमा आधारित थियो। सात्र्रले सबै कामको मूल्य निर्धारण गर्न बाह्य पुष्टीकरण आवश्यक पर्दैन भनेर आजसम्म पनि संसारलाई सिकाउन खोजेका छन्। आजको संसारमा त पुरस्कारका लागि ठूलै राजनीति गरिन्छ। त्यति मात्रै नभई पुरस्कार किनबेचसम्म नै हुन थालेको छ।

उनले पुरस्कार अस्वीकार स्वरूप स्विडिस एकेडेमीलाई लेखेको चिठीको एक अंश यस प्रकार छ, ‘आजको सांस्कृतिक मोर्चामा मात्र सम्भव भएको एक मात्र लडाइँ पूर्वीय र पश्चिमी संस्कृतिहरू, पूर्व र पश्चिमको शान्तिपूर्ण सह–अस्तित्वका लागि लडाइँ हो। मेरो मतलब यो होइन कि उनीहरूले एक–अर्कालाई अँगाल्नुपर्छ। मलाई थाहा छ, यी दुई संस्कृतिको टकराब आवश्यक रूपमा द्वन्द्वको रूपमा लिनुपर्छ, तर यो टकराब मानिस र संस्कृतिबीच हुनुपर्दछ, संस्थाको हस्तक्षेप बिना।

सार्त्रले ‘लेखकले आफूलाई संस्थामा रूपान्तरण गर्नु हुँदैन’ भनेर पुरस्कार अस्वीकार गरेको भने पनि विश्वका चर्चित व्यक्ति र ठूला मिडियाले विभिन्न टीका–टिप्पणी गरे।

म आफैँ पनि दुई संस्कृतिका बीचको विरोधाभासबाट गहिरो रूपमा प्रभावित छु। मेरा सहानुभूतिहरू निर्विवाद रूपमा समाजवादमा जान्छन्, जसलाई पूर्वी समूह भनिन्छ, तर मेरो जन्म बुर्जुवा परिवारमा भयो र बुर्जुवा संस्कृतिमै हुर्किएँ। यसले मलाई ती सबैसँग मिलेर काम गर्न अनुमति दिनेछ, जसले दुई संस्कृतिलाई एकसाथ ल्याउन खोज्छन्। जेहोस्, म पक्कै पनि आशा गर्दछु, सबैभन्दा राम्रो मान्छेले जित्छ, जुन समाजवाद हो।

यसैले म पश्चिमी देशका सांस्कृतिक अधिकारीले पु¥याएको सम्मानलाई स्वीकार गर्न सक्दिनँ, किनकि म पश्चिमी देशभन्दा उनीहरूको अस्तित्वप्रति सहानुभूति राख्छु। यद्यपि मेरा सबै सहानुभूति समाजवादी पक्षमा छन्।’ फ्रान्सको पेरिसमा जन्मिएका सात्र्र २०औँ शताब्दीका अग्रगामी बौद्धिक लेखक र कार्यकर्ता थिए, जो अस्तित्ववादका समर्थक भई फ्रान्स र अन्य देशमा वामपन्थी विचारको समर्थन गरेका थिए। उनले थुप्रै अत्यधिक प्रभावशाली पुस्तक लेखे, जस्तैः ‘नजिया’, ‘वड्र्स’, ‘बिइङ एन्ड नथिङनेस’ आदि। प्रख्यात बौद्धिक लेखिका ‘सिमोन द बिभोर’ सँगको सम्बन्धले सात्र्रलाई विशेष चर्चाको शिखरमा पु-यायो।

जाँ पाल सात्र्र एक नौ सैनिक अफिसर जाँ–बापिस्ट सात्र्र र आन–मेरी स्वेइत्जरको एक मात्र सन्तान थिए। सात्र्रले बाल्यावस्थामा आफ्नो बुबा गुमाए। अलि हुर्केर जवान हुँदा सात्र्रले हेनरी बर्गसनको ‘समय र स्वतन्त्र इच्छा’ भन्ने लेख पढे र दर्शनमा चासो देखाए। उनले पेरिसमा इकोले नर्माले सुपरियरमा दर्शनमा डक्टरेट हासिल गरे। उनी कान्ट, हेगेल, किरकेगार्ड, हुसेरल र हेडेगरका विचारबाट प्रभाभित भए।

पेरिसको ठूलो विश्वविद्यालय सोर्बोनमा दर्शनशास्त्रको अध्ययनका क्रममा जाँ पाल सात्र्रको भेट सिमोनसँग भयो, जो एक प्रसिद्ध दार्शनिक, लेखिका र नारीवादी आस्था बोकेकी प्रभावशाली महिला थिइन्। उनले लेखेका प्रसिद्ध पुस्तकमा ‘द सेकेन्ड सेक्स’, ‘द वमेन डिस्ट्रोइड’, ‘मेमोरिज् अफ् अ ड्युटीफुल डटर’, ‘अ भेरी इजी डेथ’ आदि पर्छन्। सन् १९४३ मा सिमोनले आफ्नो आत्मकथा ‘सि कम टु स्टे’ प्रकाशित गरिन्, जसमा सात्र्रसँगको भेटबारे उल्लेख छ।

सोर्बोनको पहिलो वर्षको परीक्षामा सात्र्र प्रथम भएका थिए भने सिमोन दोस्रो, यद्यपि परीक्षकले २१ वर्ष उमेरकी कक्षाकी सबैभन्दा कान्छी बिभोर दर्शनमा सबैभन्दा राम्रो भएको भनेपछि सरल, कडा अनि व्यंग्यात्मक विद्रोह गर्न माहिर सास्त्र्रले पानीको फोका (पानी बम) झ्यालबाट बाहिर फालेर सबैलाई चकित पारेका थिए। तेस्रो वर्षसम्म बिभोर एक उज्वल दिमागका धनी सात्र्रसँगै धेरैसँग परिचित भएकी थिइन्।

सात्र्र अन्य केही घनिष्ठ मित्रहरूसँग निजी भाषा कक्षामा भर्ना भएका थिए, जसमा उनीहरुले बिभोरलाई ‘राम्रो नीलो आँखाले नराम्रो लुगा लगाउने’ को संज्ञा दिएका थिए। तैपनि, सात्र्रलाई थाहा थियो कि उनले परीक्षामा धेरै उच्च अंक प्राप्त गर्ने अपेक्षा गरिएको छ, जुन उसले अघिल्लो वर्ष असफल भएको थियो। उनले बिभोरलाई लिब्निज (बिभोरको थेसिस विषय) को चित्र पठाई परिचय गराउन भने। अन्त्यमा, १९२९ जुनमा बिभोरलाई लिब्निजको बारेमा अर्थ खुलाउन सात्र्रको कोठा भएको सिते युनिभर्सिटीमा आमन्त्रित गरियो। बिभोर आफैं पनि लामो समयदेखि बौद्धिक सात्र्रको समूहमा सामेल हुन चाहन्थिन् तर आफूलाई ‘मूर्ख’ भन्लान भनेर  उनी डराउँथिन्, यद्यपि सात्र्र आफैँमा उच्च व्यक्तित्व भएका मानिस थिए।

यी दुई आजीवन सहयोगी भएर सँगै बसे। तर न उनीहरूले बिहे गरे, न त सन्तान नै जन्माए। उनीहरूले ‘बुर्जुवा’ पृष्ठभूमिहरूको सांस्कृतिक र सामाजिक अपेक्षालाई चुनौती दिए। उनीहरूले खुला रूपमा दमनकारी अनुरूपता र सत्यता बीचको द्वन्द्वको सम्बोधन गरे, जुन सात्र्रको प्रारम्भिक जीवनको मुख्य विषय बन्न पुग्यो।

सन् १९३९ मा सात्र्र फ्रान्सेली सेनामा भर्ती भए, जहाँ उनले मौसमविद्को रूपमा काम गरे। उनलाई जर्मन सेनाले सन् १९४० मा पक्राउ गरी नौ महिना युद्ध बन्दीका रूपमा राखे। जर्मनीले पोल्यान्डमा सेप्टेम्बर १, १९३९ मा आक्रमण गरेपछि फ्रान्स र बेलायतले जर्मनीविरुद्ध युद्धको घोषणा गरे, यो नै दोस्रो विश्व युद्धको सुरुवात थियो। १९३९ देखि १९४० को ‘फोनी युद्ध’पछि सात हप्तामै जर्मनहरूले फ्रान्सलाई आक्रमण गरी बेलायतीहरूलाई धपाउन सफल भएका थिए। त्यसपछि फ्रान्सले औपचारिक रूपमा जर्मनीसँग आत्मसमर्पण गरेको थियो।

सन् १९४१ मा उनले सिभिलियन स्थान पाई पेरिस बाहिर लिसे पास्चरमा पढाउने काम गरे। पछि पेरिस फर्किएपछि सात्र्रले अरू थुप्रै लेखकसँग संगत गरे, जुन भूमिगत समूह ‘सोसलिजम् तथा लिबर्टीको’ स्थापनाका निम्ति समर्पित थियो। यो समूह चाँडै विघटन भयो। सात्र्रले सक्रिय प्रतिरोधमा भाग लिई उत्रनुको सट्टा लेख्ने निर्णय गरे। छोटै समयमा उनले ‘बिइङ एन्ड नथिङनेस’, ‘द फ्लाइज एन्ड नो एक्जिट’ जस्ता पुस्तक प्रकाशित गरे, जसले उसलाई ख्याति दिलायो। सात्र्रले आफ्नो कामको अनुभवबाट आफ्नो लेखनमा धेरैलाई आकर्षित गरे। पेरिसको स्वतन्त्रतापछि उनले ‘एन्टी–सेमिट र यहुदी’ लेखे, जसमा उनले सेमिटिजम्को विरोधीको विश्लेषण गरेर घृणाको अवधारणालाई व्याख्या गर्ने प्रयास गरे।

९० वर्षको उमेरमा प्रकाशित निकै प्रख्यात पुस्तक सात्र्रको प्रख्यात आत्मकथा ‘द वर्ड्स’ मा उनको पहिलो दश वर्ष रुस्सोको आत्मकथा ‘कन्पसन्स’सँग तुलना गरिएको छ। यस पुस्तकमा समावेश शब्द आत्म–विश्लेषणको उत्कृष्ट कृति हो। सात्र्रको बाल्यावस्थादेखिको इमानदारिता उदाहरणीय मानिन्छ। एक मायालु परिवारमा जन्म लिई विधवा आमा र हजुरबा–हजुरआमाको रेखदेखमा हुर्केका उनको बाल्यकाल र पारिवारिक प्रेम सम्बन्धको रूपमा वर्णन गरिएको छ। उनका प्रत्येक शब्दले मानव अनुभवमा पुस्तक र भाषाको सम्पूर्ण प्रयोगको अन्वेषण र मूल्यांकन गर्दछ।

सात्र्रले सार्वजनिक बौद्धिकको रूपमा आफ्नो भूमिकालाई मूल्यवान् तुल्याउन सफल भए। दोस्रो विश्वयुद्धपछि उनी राजनीतिक रूपमा संलग्न कार्यकर्ताको रूपमा देखा परे। उनी अल्जेरियामा फ्रान्सेली शासनको प्रस्ट विरोधी थिए। उनले माक्र्सवादलाई अँगाले र क्युबा भ्रमण गरी फिडेल कास्त्रो र चे ग्वेभारासँग समेत भेट गरे। त्यस्तै, उनले भियतनाम युद्धको विरोध गरे, सन् १९६७ मा अमेरिकी युद्ध अपराधको पर्दाफास गर्ने अभिप्रायमा भाग लिए। राजनीतिका बाबजुद उनले आफ्नो लेखन जारी राखे। सन् १९५५ पछि उनले सन् १९६० मा ‘द क्रिटिक द ला रेजों डायलिटिक’ अर्थात् ‘आलोचनात्मक तर्कको कारण’ प्रकाशन गरे।

सन् १९६० ताका युरोप भ्रमणका क्रममा नेपाली कांग्रेसका प्रखर नेता तथा नेपालका पूर्वप्रधानमन्त्री बिपी कोइरालाले जाँ पाल सात्र्रलाई भेटेका थिए। गत हप्ता फ्रान्सको पेरिसस्थित इनाल्को भाषा विश्वविद्यालयका नेपाली विभाग प्रमुख रेमी बोर्देसँगको भेटघाटका क्रममा उनले यो जानकारी दिए। यसबारे लिखित प्रमाण अहिलेसम्म नभेटिए पनि यसको पुष्टि गर्न फ्रान्सका साहित्यकार समूहले नेपालको बिपी कोइराला प्रतिष्ठानमार्फत यसका लागि पहल गरेको समेत बोर्देले बताए।

प्रकाशित: २१ मंसिर २०७६ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App