coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मुद्रा महत्ता

पृष्ठभूमि
इतिहास, सभ्यता र संस्कृतिलाई प्रमाणित गर्ने विभिन्न आधारमध्ये मुद्रालाई एउटा महत्वपूर्ण पुरातात्विक प्रमाण मानिन्छ। अभिलेख र ऐतिहासिक दस्तावेजले प्रमाणित गर्न नसकेका इतिहासका विवादलाई मुद्राका माध्यमबाट प्रमाणित गर्न सकिने हुँदा पुरातत्त्वक उत्खननमा यसलाई महत्वपूर्ण प्राप्ति मानिन्छ। तत्कालीन राजनीतिक घटनाक्रमको आरोह–अवरोह, धार्मिक, सांस्कृतिक, आर्थिक परिदृश्य, भाषा तथा लिपि, वैदेशिक व्यापार सम्बन्ध, परराष्ट्र मामिला लगायत विषय मुद्राका माध्यमबाट जान्न सकिन्छ। मुद्राले शासक, समय र भूगोललाई प्रकाशित पारेको हुन्छ।

व्युत्पत्तिगत आधार
वस्तु विनिमयको अवधारणासँगै मुद्राको आवश्यकता महसुस गरियो। राजकुमार सुवेदीको विद्यावारिधि शोधपत्र ‘मध्यकालीन नेपाली मुद्राहरूमा धार्मिक तथा सांस्कृतिक प्रभाव’का अनुसार, विभिन्न मानव समूहबीच व्यावसायिक जीवनमा परेका अप्ठेरालाई सरलीकरण गर्ने क्रममा विनिमय प्रणालीको स्थानमा अर्को कुनै विश्वासयोग्य वस्तुलाई विश्वास गर्ने क्रममा मुद्रा व्युत्पत्तिको बीजरूप देखिन्छ। भिन्न वस्तुहरूबीच मूल्यगत मापन गर्ने आधार विनिमय प्रणाली नहुँदाको अप्ठेरोले मुद्राको व्युत्पत्तिमा ऐतिहासिक भूमिका खेल्यो, यद्यपि विनिमय प्रणालीको अवशेष गाउँघरमा अझै पनि देखिन्छ, ऐँचोपैँचोका रूपमा।

डा. रमेश ढुंगेलको पुस्तक ‘प्राचीन अर्थव्यवस्थामा उल्लेख छ, ‘आर्थिक कारोबारमा मानिसमा समान आवश्यकताको अभाव, मूल्यको सर्वमान्य मापनको अभाव, विभाजनमा देखिएको कठिनाइ, मूल्य सञ्चयमा असुविधा र भविष्यमा हुने भुत्तानीको कठिनाइ जस्ता कारणले विनिमय प्रणालीको विकल्प खोज्ने क्रममा मुद्राको व्युत्पत्ति भएको हो।’

राज्यको उत्पत्तिसँगै निजी स्वामित्वको अवधारणाले वस्तुको खरिद–बिक्री, राजस्व, मौद्रिक नीति, राज्यको सार्वभौम अस्तित्वमा मुद्राले भूमिका खेलेको पाइन्छ।

सिन्धुसभ्यतामा मुद्रा
ताम्रप्रस्तर (चाल्कोलिथिक) युग अर्थात् आद्यइतिहासका रूपमा सिन्धुसभ्यता परिचित छ। प्राचीनकालमा गहनालाई मुद्राका रूपमा प्रयोग गरिएको पाइन्छ। सिन्धुघाँटी र मोहेन्जोदारो लगायत भारतीय आद्यसभ्यता उत्खननबाट प्राप्त माटोका सिलछापहरूले आदिम मुद्राको संकेत गरेका छन्। ती मुद्रामा अंकित चिह्नलाई लिप्यान्तरण र भाषान्तरण गर्न भने अद्यापि सकिएको छैन।

लिच्छवि राजा मानदेवको नामबाट जारी गरिएको ‘श्रीमानांक’ मुद्रा नेपालको मौद्रिक इतिहासको प्रथम मुद्रा हो। राजा मानदेवभन्दा पहिलेका मुद्रा प्राप्त भएको छैन।

वैदिक आर्यहरूको युनान, रोम र बेबिलोनियन सभ्यतासम्म व्यापारिक सम्बन्ध रहेको विद्वान्का विचारका आधारमा सिन्धु सभ्यतादेखि नै पश्चिमी सभ्यतासम्म व्यापारिक सम्बन्ध कायम भएको देखिन्छ, (कुलचन्द्र कोइराला, शाक्त सम्प्रदाय) ।

बेलुचिस्तानको बाटो भएर इरानसम्म हरप्पा तथा मोहन्जोदारोका व्यापारीको सामुद्रिक व्यापार चल्ने तथ्य साहित्यिक तथा पुरातात्विक प्रमाणले बताएका आधारमा सिन्धुसभ्यतामै मुद्राको आविष्कार भएको विश्वास गर्न सकिन्छ।

भारतीय मुद्राको भूगोल
मुद्रा आविष्कारको आधिकारिक स्थानका विषयमा इतिहासकारले बताउन सकेका छैनन्। प्रोफेसर वासुदेव उपाध्यायको पुस्तक ‘प्राचीन भारतीय मुद्राएँ’ अनुसार, भारतीयहरूको केन्द्र एसिया हुँदै बेबिलोनिया, रोम र युनानसम्म व्यापारिक सम्बन्ध भएको पौराणिक र ऐतिहासिक प्रमाणका आधारबाट चीन तथा लिबियाको निकट क्षेत्र एसिया माइनर, भारतवर्ष वा महाचीनमै मुद्राको आविष्कार भएको मानिन्छ।

यस तर्कलाई नेपालका प्रथम मुद्रा अध्येता सत्यमोहन जोशीले पनि स्वीकार गरेका छन्। वैदिक पौराणिक सन्दर्भमा परेको मुद्राको बीजरूप, भारतीयहरूको यवनसम्मको व्यापार र हेरोडोटसको विचारका आधारमा ईशापूर्व ७०० वर्षअगाडि लिडिया र एसिया माइनर क्षेत्रमा मुद्राको उत्पत्ति भएको मान्न सकिन्छ। विभिन्न विद्वान्ले भारतीय सर्वप्राचीन आहतमुद्रा (पञ्चमार्क)लाई पौराणिक साहित्यका आधारमा इसापूर्व आठौँ शताब्दीको र पुरातात्विक प्रमाणका आधारमा इसापूर्व छैटौँ शताब्दीको मानेका छन्, यसरी हेर्दा मुद्रा उत्पत्तिको केन्द्रस्थल एसिया माइनर हुन सक्ने देखिन्छ।

प्राचीन साहित्यमा मुद्रा
सभ्यताको विकास क्रममा वैदिककाललाई सिन्धु सभ्यतापछिको काल मानिन्छ। वैदिक तथा पौराणिक साहित्यमा व्यापार विनिमय र मौद्रिक कारोबारका तथ्य पाइन्छन्। वैदिककालमा प्रचुर मात्रामा कृषिको विकास भइसकेको र पश्चिमी सभ्यतासँग भारतीयको व्यापारिक सम्बन्ध रहेको विद्वान्को विचार छ। ऋग्वेदको कुनै एक प्रसंगमा इन्द्रको एउटा मूर्तिलाई दशवटा गाईसँग तुलना गरिएको छ। ऋग्वेदमा उल्लिखित कृष्णल, सुवर्ण, शतमान, निश्क जस्ता शब्दले विनिमयका रूपमा अपनाइएका मौद्रिक इकाई र मूल्यमापक संकेत गरेको बुझिन्छ।

बेबिलोनियनहरूले मौद्रिक माध्यमका रूपमा प्रयोग गरेको ‘मना’ शब्दको प्रभाव ऋग्वेदमा देखिन्छ। इन्द्रले गाई र घोडाको साथै ‘मना’ नामक आफ्नो मुद्रा भक्तलाई दिएको प्रसंग पौराणिक साहित्यमा छ। यस तथ्यले भारतीयको बेबिलोनियनसँगको व्यापारिक सम्बन्ध संकेत गर्छ। ‘सय हातले कमाएर हजार हातले दान गर’ भन्ने ऋग्वेदको एक श्लोकले धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थलाई विशेष जोड दिएको देखिन्छ। महाकाव्य कालमा विनिमय तथा व्यापारको अधिकतम विकास भएका संकेत पाइन्छन्। उद्योग–धन्दा, दण्ड–जरिवाना, कर, मालपोत लगायत शब्दले तत्कालीन अर्थ प्रणालीलाई संकेत गरेका छन्। पारिश्रमिक, मजदुरी, आम्दानी–खर्च, राज्यकोष, लेखा लगायत अर्थ विषयक शब्द रामायण, महाभारतमा पाइन्छन्।

सिन्धु सभ्यताको उत्खननबाट प्राप्त मुद्राको सिलछाप, प्राचीन साहित्यमा वर्णित सन्दर्भ र अन्य क्षेत्रबाट प्राप्त आहत मुद्राको अध्ययनबाट भारतीय आफैँले मुद्राको आविष्कार गरेका हुन् भन्ने भारतीय विद्वान्को तर्क छ। आहत मुद्रालाई भारतीय इतिहासमा सर्वप्राचीन मानिन्छ।

त्यस्तै, आर्थिक प्रणाली र मौद्रिक इकाइसँग सम्बन्धित शब्दहरू, जस्तोः नैष्किकम्, द्विनैष्किकम्, त्रिनैष्किकम्, नैष्क शतिका,सहस्रिका, शतमान, निष्क, पाद आदि पाणिनीको अष्टाध्यायीमा उल्लेख छ। यसले तत्कालीन वित्तीय प्रणालीमा मुद्राको भूमिका संकेत गर्छ। प्राचीन भारतीय आर्थिक प्रणालीको अध्ययनमा महŒवपूर्ण मानिने कौटिल्यको अर्थशास्त्रमा पनि मुद्रा बनाउने टक्सार, मुद्राध्यक्ष, पण, अद्र्धपाद, काकिणी लगायत मौद्रिक इकाइ बोधार्थक शब्द पाइन्छ।

भारतीय इतिहासमा मुद्रा
वैदिक–पौराणिक मुद्रा प्रणालीको आधारलाई पछिका भारतीय केही शासकले निरन्तरता दिएको देखिन्छ। मुद्रा आविष्कारको अवधारणा भारतीयको आफ्नै हो वा पश्चिमी सभ्यताको नक्कल भन्नेमा भने विद्वान्बीच बहस छ। सिन्धु सभ्यताको उत्खननबाट प्राप्त मुद्राको सिलछाप, प्राचीन साहित्यमा वर्णित सन्दर्भ र अन्य क्षेत्रबाट प्राप्त आहत मुद्राको अध्ययनबाट भारतीय आफैँले मुद्राको आविष्कार गरेका हुन् भन्ने भारतीय विद्वान्को तर्क छ। आहत मुद्रालाई भारतीय इतिहासमा सर्वप्राचीन मानिन्छ। सन् १८३५ मा जेम्स प्रिन्सेपले आहत मुद्राको अध्ययन गरी यसलाई पञ्चमार्क नाम दिएका थिए। पौराणिक आधारबाट हेर्दा आहत मुद्रालाई ईसापूर्वको आठौँ–छैटौँ शताब्दीसम्मको मान्न सकिन्छ। वासुदेव उपाध्यायका अनुसार, पुरातात्विक उत्खननमा सांस्कृतिक तह क्रमको एनबीपी (नर्थेन ब्लाक पोलिस्ड) तहमा प्राप्त आहत मुद्राको कार्बन–१४ परीक्षणका आधारमा इसापूर्व छैटौँ शताब्दीमै यस मुद्राको प्रचलन भएको पाइन्छ। आहत मुद्रापछि मौर्यकाल र सुंगकालका मुद्रा प्राप्त भएका छन्। यवन शासक सिकन्दरले भारतमा आक्रमण गरेपछि भारतीय संस्कृति र सभ्यतामा युनानी प्रभाव परेको यवन लेखक जस्टिनले उल्लेख गरेका छन्। अफगानिस्तान आसपासको ब्याक्ट्रिया क्षेत्रमा सैनिक आधिपत्य कायम गरेका डियोडोटस, युथिडिमस,, डेमेट्रिस, युक्रिटाइड्स, अगथाकल्स, हेलियोक्लिज, एपोलोडोटस लगायत यवन शासकको सिक्कामा हिन्दू संस्कृतिको प्रभाव देखिन्छ। विजित क्षेत्रमा आफ्नो शासन टिकाइराख्न यस प्रकारको सांस्कृतिक प्रभावलाई स्वीकार गर्नु राजानीतिक बाध्यता पनि एउटा कारण हुन सक्छ। ब्याक्ट्रिया क्षेत्रमा यवन शासकका मुद्राको समग्र विशेषताको विश्लेषण गर्दा मुद्राको अग्र भागमा युनानी भाषा र लिपिमा विभिन्न उपाधि सहितका तस्बिर अंकित गरिएको देखिन्छ भने पृष्ठभागमा खरोष्ठी लिपिमा विभिन्न चित्रसहित विरुदावली अंकित गरेको देखिन्छ। तिब्बतको उत्तरी पठार क्षेत्रका शकपल्लभले उत्तरपश्चिम चीनका युची जातिलाई परास्त गर्दै ब्याक्ट्रियाको बाटो भएर भारत प्रवेश गरेपछि यहाँको सांस्कृतिक, राजनीतिक क्षेत्रमा हलचल भयो। विशेषगरी भारतीय मुद्राको इतिहासमा शकपल्लभ जातिको प्रभाव देखिन्छ। शक राजा मोअ, अयस र पल्लभ राजाका मुद्राको अग्रलेखमा युनानी लिपि तथा भाषा र पृष्ठ भागमा खरोष्ठी लिपिलाई नै मान्यता दिएको देखिन्छ। भारतीय इतिहासमा कुषाण संस्कृतिको विशिष्ट देन छ। कुषाणहरू युची जातिकै एक प्रशाखा हुन्, जो मध्यएसिया हँुदै भारत प्रवेश गरेका थिए। कुषाण राजा कनिष्कले ईश्वीको ७८ मा प्रचलनमा ल्याएको संवत्लाई शक संवत् भनिन्छ। नेपालको लिच्छवि र शाहकालमा शक संवत्, मल्लकालमा नेपाल संवत्को प्रयोग गरिएको छ, वर्तमान ज्योतिष पञ्चांगमा पनि शक संवत्ले निरन्तरता पाएको देखिन्छ।

कुषाण राजा कुजुल क्याडफिसस, विम क्याडफिसस्, कनिष्क, हुविष्क र वासुदेवका मुद्राहरू पनि प्राप्त भएका छन्। यी मुद्राको अग्रभागमा युनानी भाषाको लेख र उपाधिसहित पृष्ठभागमा खरोष्ठी लिपिको प्रयोग भएको छ। मुद्रामा इरानी, हिन्दू, बौद्ध र यवन देवतालाई विशेष स्थान दिएर अंकित गरिएको छ।

नेपालमा मुद्राको विकासक्रम
नेपालमा लिच्छविहरू कहिले प्रवेश गरे भन्ने विषयमा मतभेद छ। यद्यपि, लिच्छवि राजा मानदेवको शक संवत् ३८६ को अभिलेख प्राप्तिसँगै नेपालको ऐतिहासिक शासन व्यवस्थाको सुरुवात भएको मानिन्छ। राजा मानदेवको नामबाट जारी गरिएको ‘श्रीमानांक’ मुद्रा नेपालको मौद्रिक इतिहासको प्रथम मुद्रा हो। राजा मानदेवभन्दा पहिलेका मुद्रा प्राप्त भएको छैन। यद्यपि, इसापूर्व चौथो शताब्दीदेखि नेपाल–भारतबीच व्यापारिक सम्बन्ध भएको संकेत कौटिल्यको अर्थशास्त्रमा पाइन्छ। बौद्ध तथा जैन साहित्यमा पनि यस कुराको संकेत पाउन सकिन्छ। सम्भवतः लिच्छविपूर्वको कालमा विनिमय प्रणाली अनुरूप व्यापार हुन्थ्यो। लिच्छविपूर्व प्रकाशित मुद्रा प्राप्त हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन, लिच्छविकाल पूर्वका केही विदेशी मुद्रा काठमाडौंमा प्राप्त भएको विद्वान्ले बताएका छन्। भारतीय कुषाण राजाहरूसँग नेपालको आर्थिक सम्बन्ध भएको मुद्राविद् ढुंगेलले उल्लेख गरेका छन्। इ एच वाल्सका अनुसार, व्यापारिक सम्बन्ध र तीर्थयात्रीका कारण काठमाडौंमा कुषाण मुद्रा प्राप्त भएको तर्क गर्न सकिन्छ। प्रारम्भिक लिच्छविकालका मूर्तिहरूमा कुषाण कलाको प्रभाव परेको आधारमा नेपालमा कुषाण प्रभावलाई अझ प्रमाणित गर्न सकिने लैनसिंह वाङ्देलको पुस्तक ‘प्राचीन नेपाली मूर्तिकला’मा उल्लेख छ।

मुद्राको अध्ययनबाट तत्कालीन आर्थिक प्रणालीको ज्ञान मात्र हुँदैन, मुद्रामा अंकित गरिएका चिह्न र प्रतीकको व्याख्याबाट धर्म, दर्शन, कला, साहित्य र भाषा संस्कृतिको संकेत मिल्छ। जगदीशचन्द्र रेग्मीको पुस्तक ‘लिच्छवि संस्कृति’का अनुसार, मानांक मुद्रामा अंकित सिंहले राजा मानदेवको सौर्यता र वीरता अर्थात् राजकीय चिह्नलाई बोधार्थ गरेको छ।

बाबुकृष्ण रिजालको पुस्तक ‘लुम्बिनी कपिलवस्तु देवदह’मा कपिलवस्तु तिलौराकोटको पुराताŒिवक उत्खननबाट कुषाणशैली (विम क्याडफिसस्, कनिष्क र हुविष्क) का ब्राह्मी लिपिमा ‘स–क–न–स्या’, ‘नेगम’, ‘नेगमय’ नामका मुद्रा प्राप्त भएको उल्लेख छ।

मानदेव, अंशुवर्मा र जिष्णुगुप्तबाट जारी गरिएका श्रीमानांक, वैश्रवण, श्री जिष्णुगुप्तस्य, श्री गुणांक, वृष, पशुपति लगायत सात प्रकारका मुद्राले लिच्छविकालीन सांस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक पक्षमाथि प्रकाश पारेका छन्। लिपि, भाषा र अलंकारसहित प्रयुक्त विरुदावलीले शासकको मनोवृत्ति र पदीय विकासक्रम, राजनीतिक शक्तिलाई अभिव्यक्त गरेका छन्। शिवदेव तृतीयद्वारा जारी गरिएको ‘शिवका’ र ‘द्रम्म’ मुद्राले पूर्वमल्लकालीन इतिहासलाई प्रकाशित गरेका छन्। मुद्राको विकास क्रममा मल्लकाललाई स्वर्णिमकाल मान्न सकिन्छ। काठमाडौं उपत्यका तीनवटा राज्यमा विभाजित भइसकेपछि स्वतन्त्र राज्यका रूपमा मुद्रा जारी गर्ने परम्परा बस्यो। कान्तिपुरका १५ राजा, भक्तपुरका पाँच राजा र पाटनका १८ राजाहरूबाट जारी गरिएका मुद्राले मुद्राको आर्थिक मूल्यको साथै कला, संस्कृति, धर्मदर्शन लगायत संकेत गरेका छन्।

लिच्छविकालमा तामाको मुद्रा जारी गरिन्थ्यो, तर मल्लकालमा चाँदीका मुद्रा ढालिएको पाइन्छ। लिच्छविकालीन मुद्रामा तिथिमिति र प्रसारणकर्ताको नाम उल्लेख हुँदैनथ्यो, तर मल्लकालमा तिथिमितियुक्त मुद्रा जारी गरेको पाइन्छ। राजाका साथै चौतारा र परिवारका सदस्यको नामबाट समेत मुद्रा प्रसारण गर्ने परम्पराको सुरु भयो। मल्लकालीन मुद्रामा प्रयोग गरिएका शैली, ढाँचा, बुट्टा आदिले एकातिर मल्लकालीन धातुकलाको संकेत गरेका छन् भने, अर्कोतिर राजाहरूले धारण गर्ने उपाधि, मुद्रामा प्रयोग गरिएका धार्मिक, सांस्कृतिक र प्रतीकात्मक चिह्नले सांस्कृतिक तथा दार्शनिक चिन्तन दर्शाउँछ। पृथ्वीनारायण शाहसँगै राजनीतिक संरचनामा फेरबदल भए पनि काठमाडौं उपत्यकाको सांस्कृतिक संरचनाले यथावत रूपमै निरन्तरता पाएको देखिन्छ। मल्ल राजाहरूले आफ्ना मुद्रामा नेवारी लिपिका साथै नेपाल संवत्को प्रयोग गर्थे। शाह राजाहरूले जारी गरेका मुद्रामा देवनागिरी लिपि र शक संवत्को प्रयोग पाइन्छ। सत्यमोहन जोशीको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ अनुसार, पृथ्वीवीरविक्रम शाहको पालादेखि मुद्रामा शक संवत् प्रयोगको परम्परालाई त्याग गरी विक्रम संवतको प्रयोग गरियो। यसपछिका दैनिक व्यवहार र सरकारी लिखतहरूमा विक्रम संवत्को प्रयोग गर्ने परम्परा बस्यो।

मुद्रा निर्माण विधि
मौर्यकालीन मुद्रा निर्माणको प्रविधि र शैलीलाई प्राचीन नेपाली शासकले अपनाएको देखिन्छ। धातुको पातालाई पिटेर बनाइएको मुद्रालाई आहत मुद्राको नाम दिइएको थियो, तर पछिल्लो कालमा साँचोमा ढालेर मुद्रा बनाउने प्रविधिको विकास भयो। लिच्छविकालमा साँचोमा ढालेर मुद्रा निर्माण गर्ने पद्धतिको उल्लेख सत्यमोहन जोशी र रमेश ढुंगेलले गरेका छन्। मुद्राको आकार–प्रकार, ढाँचाशैली आदिको रूपरेखा तयार गरी साँचो बनाइन्थ्यो। त्यसै साँचोबाट आवश्यक साजसज्जासहित मुद्रा तयार गर्ने प्रविधिले लिच्छवि, मल्ल र शाहकालसम्म निरन्तरता पाएको थियो। पृथ्वीविक्रम शाहको पालादेखि ‘पानीढिकी’ नामक यन्त्रबाट मुद्रा ढाल्ने चलन आयो। नख्खु, धनकुटा र पाल्पामा पनि पानीढिकीबाट मुद्रा ढालिन्थ्यो। चन्द्रशमशेरले कोइला र बिजुलीबाट चल्ने यन्त्रबाट मुद्रा ढाल्थे। आज पनि पहाडमा टक्सार नामक गाउँ छन्, जहाँ पैसा ढाल्ने चलन रहेको बुढापाकाहरू सम्झना गर्छन्।
२००२ सालबाट भने कागजी नोटको सुरुवात भयो।

मौद्रिक इकाई
लिच्छविकालका मुद्रामा मौद्रिक मूल्यको मापन गरिएको देखिँदैन। लिच्छविकालका अभिलेखमा अभिव्यक्त भएका मौद्रिक इकाइका संकेतबाट त्यस बेलाको मौद्रिक इकाइको अध्ययन गर्न सकिन्छ। अभिलेखहरूमा मौद्रिक इकाइ बुझाउने पण, पणपुराण, कार्षापण पुराण शब्द पाइएका छन्। ताम्रपण, ताम्रिकपण जस्ता शब्दले तामाबाट बनेका मुद्रा बुझिने धनव्रज बज्राचार्यको पुस्तक लिच्छविकालका अभिलेखमा उल्लेख छ।

पणलाई सबैभन्दा सानो इकाइ मानिन्छ। अभिलेखहरूमा पणपछि द्विपणको उल्लेख पाइन्छ। द्विपणको अलग्गै मौद्रिक इकाई नभई दुईवटा पण बुझ्नुपर्छ। वैदिक साहित्यमा कार्षापणको उल्लेख पाइन्छ। ३२ ग्रेन बराबर एक कार्षापण हुने प्रसंग कौटिल्यको अर्थशास्त्रमा छ। भीमार्जुनदेव र जिष्णुगुप्त (संवत् १५७) को थानकोट अभिलेखमा कार्षापणको उल्लेख छ। मौद्रिक इकाइको विभिन्न प्रकारमध्ये पुराणको उल्लेख पनि अभिलेखहरूमा पाइन्छ। ६४ पण (६४ पैसा) बराबर एक पुराण (एक रुपैयाँ) हुने बुझिएको छ।

प्रतीक तथा विरुदावलीको विश्लेषण
मुद्राको अध्ययनबाट तत्कालीन आर्थिक प्रणालीको ज्ञान मात्र हुँदैन, मुद्रामा अंकित गरिएका चिह्न र प्रतीकको व्याख्याबाट धर्म, दर्शन, कला, साहित्य र भाषा संस्कृतिको संकेत मिल्छ। जगदीशचन्द्र रेग्मीको पुस्तक ‘लिच्छवि संस्कृति’का अनुसार, मानांक मुद्रामा अंकित सिंहले राजा मानदेवको सौर्यता र वीरता अर्थात् राजकीय चिह्नलाई बोधार्थ गरेको छ। त्यस्तै, हरिराम जोशीको पुस्तक ‘उत्तर प्राचीनकालीन मुद्रा’ अनुसार, मानांकमा रहेको नारी आकृतिले धनकी देवी लक्ष्मीलाई दर्शाउँछ। अंशुवर्माले जारी गरेको ‘वैश्रवण’ र उनका अरु मुद्रामा अंकित कामदोही (बाच्छोले गाईको दूध चुसिरहेको चित्र)ले राज्यको श्री, ऐश्वर्य, वैभव र समृद्धितर्फ संकेत गरेको बुझ्न सकिन्छ।

लिच्छवि, मल्ल र शाहकालमा जारी भएका मुद्रामा अंकित विभिन्न चित्रले विशेषतः हिन्दू र बौद्ध धर्म–संस्कृतिको दर्शन र चिन्तनलाई अभिव्यक्त गरेका छन्। लिच्छवि मुद्रामा अंकित सिंह, कुवेर, सूर्य, चन्द्र, घोडा, हात्ती, लक्ष्मीले वैभवतालाई दर्शाउँछ। मल्लकालीन मुद्राहरूमा अंकित श्रीवत्स, ऐना, कमल, कलश, खड्ग, डमरु, त्रिशूल छत्र, चमर, ध्वज, झन्डा, वृत्त, षट्कोण, त्रिकोण, स्वस्तिक, शंख, चक्र, गदा, पद्म लगायत संस्कृति र प्रकृतिपरक चिह्नले आध्यात्मिकता, दार्शनिकता, तान्त्रिकता, भावुकता, राष्ट्रियता, धार्मिकतालाई प्रतिविम्बित गरेका छन्। शाहकालीन मुद्रामा अंकित चिह्नले पनि यस्तै भावार्थ व्यक्त गरेको बुझ्न सकिन्छ। राजाहरूले धारण गर्ने अलंकार र विरुदावलीले उनीहरूको मनोविज्ञानलाई अभिव्यक्त गर्छ। अंशुवर्माका मुद्रामा अंकित ‘श्र्यंशो’, ‘श्र्यंशुवर्म’, ‘महाराजधिराज’ जस्तो विरुदावलीले उनको बढ्दो शक्तिलाई देखाएको छ। दोलखाधिपति, श्रीमत्काण्ठमण्डपस्याधिपति, श्रीश्री कविन्द्र, नेपालेश्वर, श्री लोकनाथ, श्रीश्रीश्री करुणामय, श्री तुलजामाजु, चूडामणि सम्राट, शानइलाही, महाराज नेपालेन्द्र लगायत उपाधि मल्लकालीन राजाले धारण गरेको देखिन्छ। यी उपाधिले आफ्नो शक्ति प्रदर्शन, देश र जनताप्रतिको अनुराग, धर्म, कला–संस्कृतिप्रतिको समर्पण, आफ्ना इष्टदेवप्रतिको सम्मान जस्ता मानसिक भावना संकेत गरेको छ। शाहकालीन राजाले आफ्ना मुद्रामार्फत तलेजु भवानी र दुर्गामाताप्रति भक्ति दर्शाएका छन्।

नेपाली मुद्रामा विदेशी प्रभाव
नेपाली मुद्राको निर्माण शैली, आकार, प्रकार र संरचनागत आधारमा विदेशी मुद्राको प्रभावबारे विद्वान्बीच विवाद छ। लिच्छविहरूले नेपालमा स्वाभाविक रूपमा आफ्नो भाषा–संस्कृति लिएर आए, जसको प्रभाव स्थानीयमा पर्न गई नवीन संस्कृतिको सिर्जना हुन गयो। ब्राह्मी लिपिको विकास क्रममा आउने गुप्तलिपि लिच्छविहरूसँगै नेपालमा प्रवेश भयो, जुन विकसित हुँदै नेवारी लिपिको आधार बन्न पुग्यो। गुप्त लिपिलाई पछि नेपाली विद्वान्ले ‘लिच्छवि–लिपि’ नामकरण गरेका छन्। यस आधारमा अभिलेखहरूका साथै मुद्रामा पनि लिच्छवि–लिपिले स्थान पाएको छ। लिच्छवि मुद्राको आकार–प्रकार, संरचनागत ढाँचा र निर्माण शैलीमा भारतीय प्रभाव परेको स्वीकार गर्ने एक आधार मिल्छ। लिच्छविहरू नेपाल आएपछि यहाँको परिस्थिति अनुरूप आफ्नो संस्कृतिमा केही परिवर्तन गरेका हुन सक्छन्। अलेक्जेन्डर कनिङ्घमले लिच्छवि मुद्रामा यवन र कुषाण प्रभाव परेको मान्छन्। यद्यपि, यवन मुद्रा र लिच्छवि मुद्रामा संरचनागत ढाँचामा फरक देखिँदा कनिङ्घमको मत कमजोर बन्न पुगेको छ। यता, लिच्छविभन्दा दुई सय वर्षअगाडि यवन–मुद्रा देखापरेकाले यी दुईबीच तुलना हुन सक्दैन भन्ने जगदीशचन्द्र रेग्मीको मत छ। लिच्छवि मुद्रामा कुषाण शैलीको प्रभाव परेको तथ्य ईएच वाल्सले समेत उल्लेख गरेका छन्।

रेग्मीले भने लिच्छवि मुद्रामा कुषाण मुद्राको प्रभाव परेकै छैन भनेर ठोकुवा गरेका छन्। कुषाण मुद्रामा राजाको नामसहितको तस्बिर अंकित भएको पाइन्छ, तर लिच्छवि मुद्रामा त्यो प्रवृत्ति नपाइने हुँदा रेग्मीको विचार स्वीकारयोग्य छ। लिच्छवि मुद्रामा गुप्तमुद्राको प्रभावबारे प्रश्न उठे पनि दुई देशका मुद्राको संरचनागत भिन्नताले उक्त प्रश्नलाई अस्वीकार गर्ने आधार दिएको छ। मल्लकालीन मुद्रामा आफ्नोपन र पहिचानका आधार त छन्, सँगसँगै प्राचीनकालदेखि भारतीयसँगको लामो सम्बन्धका कारण मुद्राको ढाँचाकाँचा, बुनोट–बनोट, लिपि तथा भाषा र धारण गरिएका विरुदावलीमा केही मात्रामा भारतीय प्रभाव देखिन्छ।

विशेषगरी अरबी–फारसी लिपि तथा भाषालाई महेन्द्र मल्ल, शिवसिंह मल्ल र प्रताप मल्लहरूले आफ्ना मुद्रामा स्थान दिएका छन्। प्रताप मल्लले फारसी शब्द शानइलाही र जहाँगिरलाई आफ्नो मुद्रामा स्थान दिएका छन्। आकार–प्रकारका हिसाबले कुतुबुद्दीन मुबारक खिलजी गियास शाह, नसिर शाह खिलजी र जहाँगिर शाहका मुद्राको संरचनासँग प्रताप मल्लका सिक्काको सामञ्जस्यता देखिने राजकुमार सुवेदीले उल्लेख गरेका छन्। विदेशी प्रभावको निरन्तरता पछिल्ला शाहकालीन सिक्कामा पनि देखिन्छ। महेन्द्र वीरविक्रम शाहका सिक्कामा रोमन लिपिमा अंग्रेजी भाषामा विरुदावली र नारा लेखिएको सत्यमोहन जोशीले उल्लेख गरेका छन्।

निष्कर्ष
नेपाली कला–संस्कृति र इतिहासको अध्ययनमा मुद्राको विशेष भूमिका रहन्छ।  हिन्दू समाजमा मुद्राको महत्वलाई ध्यान दिँदै वैभवकी देवी लक्ष्मी र धनका देवता कुवेरको कल्पना गरिएको छ। सामाजिक रीतिथिति, लोकजीवन र भाषा साहित्यमा पनि मुद्राको भूमिका रोचक देखिन्छ। केही आदिवासी जाति, जनजातिमा सिक्काको माला बनाएर लगाउने चलन छ भने मृत्यु संस्कारमा शव लैजाँदै गर्दा सिक्का छर्ने चलन पनि नेपाली समाजमा छ। परम्परागत उपचार पद्धतिमा सिक्काको प्रयोग गर्ने चलन धामी अभ्यासमा देखिन्छ। यसरी मुद्रा आर्थिक प्रणालीको द्योतक मात्र होइन, सांस्कृतिक जीवनप्रणालीको एउटा अंग हो भन्न सकिन्छ। मुद्रा जाति केन्द्रित अध्ययनका लागि मानवशास्त्रीय प्रयोगशाला पनि हो। मुद्रालाई एउटा सार्वभौमिक राज्यको प्रतीक मानिन्छ। मुद्राको फैलावटसँगै संस्कृतिको समेत प्रचार–प्रसार हुन्छ। राजनीतिक परिवर्तनको संकेत मुद्राबाट समेत जानकारी हुने हुँदा इतिहासको कसीको रूपमा मुद्रालाई लिन सकिन्छ।

प्रकाशित: २३ कार्तिक २०७६ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App