६ वैशाख २०८१ बिहीबार
अन्य

मिसेलको प्रेमकथा

कुनै–कुनै आत्मकथा पढ्दा कता–कता आफ्नै पीडा र संघर्ष पढेझैँ लाग्छ। हजारौँ कोश पर अर्कै देश, परिवेशमा पढे हुर्केर अमेरिकाको ४४औँ राष्ट्रपति बनेका बाराक ओबामाकी पत्नी मिसेलको कथा हो, बिकमिङ। उनको आत्मकथासँगै बग्दा कैयौँ सुन्दर प्रसंगले लोभ्याउँछन्, अनायसै त्यसमा घोत्लिन पार्छन्। बिकमिङको हरेक पानामा मिसेलको संघर्ष, सफलता र परिवारको मायाप्र्रेम छताछुल्ल देखिन्छ। देशभित्रका ठूला र जनताका स–साना समस्याका बारेमा ओबामा र मिसेलले कैयन्पटक निद्रा टुटाएका छन् र जनताका पीडामा सँगै रोएका पनि छन्।

सन् २०१२ को नोभेम्बरमा राष्ट्रपतिका लागि पुनः चार वर्ष निर्वाचित भएको करिब पाँच हप्तापछि कनेक्टटिकट राज्यको स्यान्डिहुड प्राथमिक विद्यालयमा २० वर्षको ठिटोले २० जना ६ र ७ वर्षका बालबालिका र ६ जना कर्मचारीको गोली हानी निर्मम हत्या गर्छ। यो घटनाको केही मिनेटमै मिसेललाई ओबामाले तुरुन्त ओभल अफिस (अमेरिकी राष्ट्रपतिको कार्यकक्ष) मा आउन खबर पठाउँछन्। दुईजना लामो समय अंकमाल गर्छन् र मिसेल भन्छिन्, ‘आठ वर्षको कार्यकालमा ओबामाले मलाई ओभल अफिसमा बोलाएको त्यो पहिलो तथा अन्तिम घटना थियो।’

देशलाई नै स्तब्ध बनाउने यस्ता घटना र पीडामा जनतासँगै रुने र पीडा महसुस गर्ने मिसेल र उनको परिवारको अत्यन्तै सरल र सहृदयीभाव उनको हुर्काइबढाइ र पढाइमा देखिन्छ। काला जातिले समान अधिकार र सम्मान पाउनुपर्ने माग गर्दै सुरु भएको अहिंसात्मक आन्दोलनको उत्कर्षमा सिकागोको साउथ साइडमा सन् १९६४ मा मिसेल रबिन्सन जन्मिएकी थिइन्। मल्टिपल स्क्लेरोसिस (एमएस) रोगले पीडित मिसेलका बुवा फ्रेजरले लगातार २६ वर्षसम्म एक दिन पनि काममा गयल नभई सहरको फिल्ट्रेसन प्लान्टमा काम गरे, आमा मेरियानले घरको कामका साथै बैंकको सहयोगीको काम गरिन्। त्यतिबेलाको निम्न मध्यम वर्गीय रबिन्सन परिवारले मिसेलको शिक्षामा कुनै सम्झौता गरेन। मिसेल अमेरिकाको प्रतिष्ठित प्रिन्स्टन र हावर्ड विश्वविद्यालयमा अध्ययन गरिन्, वकिल बनिन्।

ओबामा परिवार सिकागोको ग्र्यान्ट पार्कतर्फ जाँदै गर्दा गाडीभित्र जेठी छोरी मालियाले सोध्छिन्, ‘बाबा, तपाईंको यो खुसी मनाउन कोही आउलान् जस्तो छैन। सडकमा कोही छैनन् त !’ जब कि निर्वाचित राष्ट्रपतिको सवारीका लागि सडक पूरै खाली गरिएको थियो र पार्कमा लगभग साढे दुई लाख मानिस जम्मा भइसकेका थिए।

काला जातिलाई विभेद र शंकाको दृष्टिले हेरिने अमेरिकी समाजमा उनले सानैदेखि बुझेकी थिइन्– अघि बढ्न गोरा जातिले भन्दा धेरै काम गर्नुपर्छ। प्रिन्स्टनमा अधिकांश गोरा जातिका विद्यार्थी र धनाढ्य परिवारबाट आएकासँग मिसेलको खासै मित्रता बढेन। आफूजस्तै निम्न मध्यम वर्गीय परिवार र संघर्षबाट आएकासँग भने उनको लामो र गहिरो मित्रता भयो।

२५ वर्षको कलिलो उमेरमा मिसेलले सिकागोको प्रतिष्ठित ‘ल फर्म’मा काम सुरु गर्छिन्,योसँगै उनको जीवन सदाका लागि परिवर्तन हुन्छ। हावर्ड ल स्कुलबाट एउटा ठिटो इन्टर्नसिप गर्न आइपुग्छ। मिसेल त्यो ठिटोको सुपरभाइजर हुन्छिन्। त्यो ठिटो पहिलो दिन नै अफिस ढिलो आइपुग्छ। मिसेल अलि अनौठो मान्छिन्। तर, समय क्रमसँगै यी दुई प्रेममा पर्छन्। सुपरभाइजर मिसेललाई प्रेममा पार्ने ठिटोको नाम थियो– बाराक ओबामा।

बिकमिङ पढ्दै गर्दा कताकता यस्तो लाग्छ, मिसेलले ओबामालाई भेटेको दिनदेखि नै आभास गरेकी थिइन्– बाराक कुनै ठूलो कामका लागि यो पृथ्वीमा आएका हुन्। गर्मी महिनाको इन्टर्नसिपपछि ओबामा हावर्ड फर्कन्छन्, तर चिठी र लामो फोन वार्ताले उनीहरूको प्रेम झनै बढ्दै जान्छ।

‘बाराक र म एकदमै फरक स्वभावका मान्छे। मध्यरातमा उनी सिलिङतिर हेरेर टोलाइरहेका हुन्थे। मैले सोध्दा उनी भन्थे– म असमानताबारे सोच्दै छु।

मलाई रुमानी चलचित्र मनपर्ने, ओबामालाई अलि गम्भीर प्रकृतिका मात्र। म एकदमै छिटो हिँड्ने, बाराकलाई कहिल्यै हतार नहुने, अनि ढिलो हिँड्ने।’
यस्ता थुप्रै फरक स्वभावका बाबजुद पनि एकअर्काप्रतिको सम्मान र प्र्रेम पुस्तकभरि झल्किरहन्छ।

बाराक बुवाको मूलथलो केन्याको दुर्गम गाउँमा पर्छ। विवाहपछि बाराकको अन्य परिवारलाई भेट्न मिसेल बाराकसँगै उक्त गाउँ पुग्छिन्। बिजुलीबत्ती नभएको अनकन्टार गाउँ पुग्दा उनलाई भित्र एक किसिमको गर्व महसुस हुन्छ। अमेरिकी जीवनलाई असामान्य रुपमा परिवर्तन गर्न सक्ने क्षमता भएका आफ्ना श्रीमान्का बुवाकोसामान्यभन्दा सामान्य पृष्ठभूमिअर्थात् थातथलोलाईउनले आफ्नै आँखाले देख्न पाएकी थिइन्।

मिसेल लेख्छिन्, ‘मेरो र भाइ क्रेगको सफलता र जीवनलाई राम्रोसँग देख्न नपाउँदै बुवाको ५५ वर्षको उमेरमा निधन भयो र यो घटनाले हाम्रो परिवारलाई झनै नजिक ल्याइदियो।’

विवाहको केही समयपछि मिसेललाई एक्लै छाडेर ओबामा पाँच साताका लागि इन्डोनेसियाको बालीमा आफ्नो पुस्तक ‘ड्रिम्स् फ्रम माई फादर’ लेख्न जान्छन्। यता, परिवारको गाँठो कसिँदै जाँदा बच्चा जन्माउने, हुर्काउने र ओबामाको राजनीतिक उचाइसँगै बढेको व्यस्तताले वैवाहिक जीवनमा केही समस्या आएपछि उनीहरू थेरापिस्ट कहाँ समेत पुग्छन्।

बिकमिङ पढ्दै गर्दा कताकता यस्तो लाग्छ, मिसेलले ओबामालाई भेटेको दिनदेखि नै आभास गरेकी थिइन्– बाराक कुनै ठूलो कामका लागि यो पृथ्वीमा आएका हुन्। गर्मी महिनाको इन्टर्नसिपपछि ओबामा हावर्ड फर्कन्छन्, तर चिठी र लामो फोन वार्ताले उनीहरूको प्रेम झनै बढ्दै जान्छ।

राजनीतिमा लागेकाहरूको परिवारले गर्नुपर्ने त्याग र एक्लोपनको बयान मिसेलले ‘बिकमिङ’मा प्रशस्त गरेकी छिन्। व्यस्तताले ओबामा प्रायः घरदेखि टाढा हुन्थे,साँझमा पनि फर्कने समयभन्दा निकै ढिला घर फर्कन्थे,त्यसैले उनले बच्चाहरू हुर्केको पनि धेरै समय देखेनन्। अत्यन्तै मायालु श्रीमान् रबुवा हुँदाहुँदै पनि ओबामाले परिवारलाई समय दिन सक्दैनन्। सोको जिम्मा मिसेलमा पर्छ। गर्भाधारण गर्न नसकेर पटकपटक आइभिएफ (इन्भिट्रो फर्टिलाइजेसन) का निम्ति अस्पताल एक्लै चहार्नुपरेको प्रसंगलाई मिसेलले निकै मार्मिक रूपमा वर्णन गरेकी छन्। गर्भ तुहिँदाको पीडाले मिसेललाई निकै सताउँछ, यस्तो लाग्छ कि त्यो उनको व्यक्तिगत असफलता हो। बाराक पनि कामका लागि घरबाट यही समय टाढा हुँदा उनी झन् पीडामा पर्छिन्।

प्रिन्स्टन र हावर्ड पढेर सिकागोको प्रतिष्ठित ‘ल फर्म’मा काम गर्ने मिसेलले विवाहपछि मनमनै एउटा निर्णय गर्छिन्–श्रीमान्को उदाउँदो राजनीतिक ग्राफसँगैआफ्ना सपना र इच्छालाई थाती राख्नुको विकल्प छैन।

साना दुइटी सासा र मालियाको हेरचाह, युनिभर्सिटी अफ सिकागोको पूर्णकालीन काम र ओबामाको राजनीतिक समारोहमा सहभागी हुनुपर्दाको व्यस्ततालाई मिसेलले हरेक मध्यम वर्गीय अमेरिकी परिवारको दैनिकीसँग तुलना गर्छिन्। मिसेलले दुई छोरीहरूलाई सानै उमेरदेखि आफ्नो काम आफैँ गर्न, ठूलालाई सम्मान गर्नर पढाइलाई उच्च प्राथमिकतामा राख्नसिकाइन्। चुनावको दिन समेत बच्चाहरूलाई स्कुल पठाइन्। बेलुका ठीक साढे ६ बजे खाना खाने कडा नियम लगाइन्।यीसँगै आफ्नो ओछ्यान आफैँ मिलाउने नियम उनले ह्वाइट हाउसमा पनि लागू गरिन्।

‘बाबा, तपाईं राष्ट्रपति बन्ने हो ? तर, पहिले उपराष्ट्रपति वा यस्तै बन्नुपर्ला नि ?’ सन् २००५ मा सेनेटको शपथ लिने बेला ओबामालाई साढे ६ वर्षकी मालियाले प्रश्न गर्छिन्। सेनेटर भइसकेपछि ओबामालाई देशभर सन् २००८ को राष्ट्रपति चुनावको बलियो उमेदवारको रुपमा हेरिन थालिएको थियो। यो विषयमा मिसेलले सुरुमा कडा असहमति जनाइन् तर पछि सहमत भइन्, एउटा सर्तमा। सर्त थियो– राष्ट्रपतिको चुनाव हारेमा ओबामाले राजनीति छाड्नुपर्ने र अरु केही काम गर्नुपर्ने।

सन् २००८ मा ओबामा राष्ट्रपतिमा निर्वाचित भइसकेपछि परिवारको जीवनमा निकै परिवर्तन आउँछ। कडा सुरक्षा घेराभित्रको व्यस्त जीवन। कहिलेकाहीँ ह्वाइट हाउसबाट सुटुक्क बजार पुग्छिन् मिसेल। ह्वाइट हाउसमा सकेसम्म सामान्य मानिस र उदाउँदै गरेका लेखक, कलाकार, खेलाडी र पिछडिएका विद्यार्थी वर्गलाई बोलाएर कार्यक्रम गर्छिन्, सो हाउसलाई साँच्चै जनताको घरको रुपमा प्रस्तुत गर्छिन्।

मिसेलको यो कथा पढ्दै गर्दा मनमनै लाग्छ– हाम्राले किन यत्रो सुरक्षाको घेरो झन्झन् बढाउँदै गएका होलान् ? किन हाम्रा शितल निवास र बालुवाटार निवासले कुनाकाप्चाबाट खेलाडी, कलाकार र स्कुलमा पढ्ने विद्यार्थीलाई बोलाएर उनीहरूको मस्तिष्कमा आशा र सपनाको झिल्को नबालेका होलान् ? किन हाम्रा ‘ठूलाठूला’हरू सामान्य विद्यालयको कक्षा कोठामा जाने र अन्तक्र्रिया गर्ने नगरेका होलान् ? यस्ता थुप्रै सम्भावनाका प्रश्नले पोल्छ, बिकमिङ पढ्दै जाँदा।

मिसेलले प्रथम महिला हुनुको अकल्पनीय शौभाग्य र समयलाई सामाजिक परिवर्तनका निम्ति खर्चने निधो गरिन्। इराक र अफगानिस्तान युद्धबाट घाइते भएर आएका सैनिक र उनीहरूका परिवारका लागि सहयोग जुटाउने, विद्यालयको खानेकुरामा कम नुन र पत्रु खाना हटाउने, पिछडिएका महिला विद्यार्थीका लागि अवसरहरू खोज्ने अभियानमा आफ्नो आठ वर्ष समय अर्पित गरिन्।

सन् २००८ को नोभेम्बरको जाडो रातमा ओबामा परिवार अमेरिकाको ४४ औँ प्रथम परिवार बनेको खबर आउँछ। ओबामा परिवार सिकागोको ग्र्यान्ट पार्कतर्फ जाँदै गर्दा गाडीभित्र जेठी छोरी मालियाले सोध्छिन्, ‘बाबा, तपाईंको यो खुसी मनाउन कोही आउलान् जस्तो छैन। सडकमा कोही छैनन् त !’ जब कि निर्वाचित राष्ट्रपतिको सवारीका लागि सडक पूरै खाली गरिएको थियो र पार्कमा करिब साढे दुई लाख मानिस जम्मा भइसकेका थिए। त्यही रात ओबामा परिवार विश्वभर चर्चित हुन्छन्।

‘बिकमिङ’ पढ्दा कैयन्पटक आँखाभरि आँसु आउँछ। मिसेलको सक्रियता, व्यावहारिकता र बुद्धिमता किताबभरि देखिन्छन्। उनको सरलता र विनम्रता परिवारबाट आउँछन्। संसारकै शक्तिशाली पदमा रहँदासमेत मिसेलले ओबामालाई आफ्नो थातथलो र जीवनको संघर्षलाई नभुल्न सधैँ सम्झाउँछिन्। जनतालाई हरेक विषयमा प्रोत्साहन गर्ने र समाजले आफूलाई एउटा प्रेरणाका लागि लिएकाले आठ वर्ष हरेक दिन सकेको उत्कृष्ट काम गर्ने मिसेलको प्रतिज्ञा पूर्ण लाग्छ। पढ्दा पनि आफू मिसेलसँगै काममा होमिएको अनुभव हुन्छ।

एउटा राजनेता र उसको परिवारले कसरी देशलाई सधैँ आफ्नो उच्च सेवा दिन्छ ?त्यही उम्दा उदाहरण प्रस्तुत गर्ने पुस्तक हो,‘बिकमिङ’। हाम्रा नेता, भविष्यका नेता, तिनका श्रीमान्श्रीमती र परिवारले झनै पढ्नैपर्ने पुस्तक हो।

प्रकाशित: २३ कार्तिक २०७६ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App