भाइबहिनी हो, हामी धेरै नेपालीहरूले मनाउँदै आएको चाड दसैं हाम्रो घरघरमा भित्रिसकेको छ। तपाईंहरूमध्ये कोही सहरमै हुनुहुन्छ होला। कोही गाउँमा जाँदै हुनुहोला। धेरै जना त गाउँमा पुगिसक्नुभयो होला। हजुरबाहजुरआमालाई भेटेर हालखबर सोध्नुभयो होला। बुढाबुढी हजुरबाहजुरआमा घरको काममा कति खट्नुभएको छ हगि ! यो देख्दा तपाईंहरूलाई अचम्म लागेन ?
तपाईहरूको दसैं गाउँघरमा साथीसँग रमाइलो गर्दै बितेको होला। देख्नुभयो होला नि ! अचेल गाउँमा धेरै सुविधा छ। सरर्र इन्टरनेट चल्छ। गाउँमै मोटरबाटो पुगेको छ। घरघरमा टेलिभिजन छ। कतिको त आँगनमै सडक पुगेको होला। तपाईहरू कति सजिलै गाउँ पुग्नुभयो है ! अब त गाउँ जानआउन निकै सजिलो भएको छ। गाउँघरले पनि अनुहार फेरिसकेको छ। गाउँगाउँमा बस चल्छ। तपाईंको आफ्नै सवारीसाधन छ भने आँगनमै पनि पुग्न सक्नुहुन्छ। तपाईंहरूका बाआमा, हजुरबाहजुरआमालाई यति सजिलो थियो होला त ! पक्कै थिएन।
उहाँहरू हप्तौँ दिन हिँडेर सहर पुग्नुहुन्थ्यो रे ! काठमाडौँ आउनजान निकै गाह्रो थियो रे। जागिरमा हुनेहरू निकै दिनअघि बिदा लिएर रातसाँझ हिँड्दै घर पुग्नुहुन्थ्यो रे। वर्ष दिनमा घर जाँदा लुगाकपडा, मरमसला जस्ता अनेक खिच्रीमिच्री सामान झोलामा हुन्थ्यो रे।
जे होस् तपाईहरू सुविधायुक्त युगमा जन्मनुभएको छ। अनेक सुविधा उपभोग गर्न पाउनुभएको छ। यति हुँदाहुँदै पनि तपाईं हामीले धेरै कुरा छाडेका छौँ। छाड्दै गएका छौँ। बचाउनुपर्ने कुरा छाडेका छौँ। छाड्नुपर्ने कुरा समातिराखेका छौँ। हेर्नुस् त, गाउँमा हुर्केका साथीहरू कति दराखरा र व्यावहारिक छन् ! बिहान सबेरै उठ्छन्। घरमा ठूलालाई काममा सघाउँछन्। घाँस काट्न जान्छन्। गोठको धन्दा गर्छन्। उनीहरूले कति काम जानेका छन् ! ‘म सहरको’ ठानेर गाउँका साथीलाई नहेप्नू है ! उनीहरू पनि मोबाइल चलाउन जान्दछन्। तपाईंले जत्तिकै टिभीमा कार्टुन पनि हेरेका छन्। उनीहरूलाई पनि कथा भन्न आउँछ। लेख्न पनि आउँछ।
दसैंमा म तपाईंहरूलाई ‘यो किताब पढ्नू। यसो गर्नू। उसो गर्नू।’ भन्दिनँ। वर्षभरि किताबको भारी बोकेर तपाईं थाक्नुभएको छ। यो चाडको बिदा तपाईले रमाइलो गर्ने समय हो। थकाइ मार्ने समय हो। साथीभाइसित घुम्नुस्। गाउँको चालचलन, रहनसहन बुझ्नुस्। पिङमा जानुस्, खेल्नुस्। चौतारोमा जानुस्, नाच्नुस्। गाउँका साथीसँग राम्रो सम्बन्ध राख्नुस्। सक्नुहुन्छ भने घाँस काट्न सिक्नुस्। ससाना रूख चढ्न सिक्नुस्। रूखबाट घाँस झार्नुस्। भाँडा माझिरहेकी हजुरआमालाई सघाउनुस्।
काम सानोठूलो हुँदैन। गाउँघरको खेतीपाती हेर्नुस्। खेती गर्ने तरिका हामी सबैले जान्नुपर्छ। आपत् पर्दा ससाना सीपको पनि निकै महत्व हुन्छ। २०७२ सालको भूकम्पमा तपाईं कत्रो हुनुहुन्थ्यो ? तपाईंलाई सम्झना छ ? करोडपति, अरबपति सडकमा आएका थिए। बाँसको भाटामा काँटी समेत ठोक्न नजान्दा रातभरि खुल्ला आकाशमुनि बस्नुपरेको थियो। सम्पत्तिले मात्रै काम गर्दो रहेनछ नि हगि !
दसैंमा मात्र हैन, अघिपछि पनि गाउँ जानुस्। तपाईंहरू सबैले गाउँ छाड्नाले अचेल गाउँघर रित्तिएको छ। खेतबारी बाँझो भएको छ। जतिसुकै धनी भए पनि हाम्रो पेटलाई अन्न नै चाहिन्छ। पेटमा पैसा हालेर हुँदैन। पैसा भए पनि किन्ने चिज भएन भने हामी भोकै पर्छौँ।
गाउँको विकास नभए देशको विकास हुँदैन। भाइबहिनी हो ! गाउँको माया मार्नु हुँदैन है ! ठूलो भएपछि एकएक वटा सीप लिएर गाउँ फर्किनुपर्छ। गाउँमै बस्नुपर्छ। तपाईंहरू गाउँमा नबस्नाले गाउँका विद्यालय धमाधम बन्द हुँदैछन्। गाउँका विद्यालय बन्द हुँदा हामीलाई नै घाटा हुन्छ। अब गाउँकै विद्यालयमा पढ्ने हो कि ! अन्त्यमा २०७६ को दसैं, तिहार र छठको अवसरमा सबै नानीहरूलाई हार्दिक शुभकामना !
प्रकाशित: १८ आश्विन २०७६ ०५:५४ शनिबार