२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

धुलेपाटीमा क, ख, ग !

जीवनाथ धमाला

म पूर्वी नेपालको ओखलढुंगामा २०१६ साल,कात्तिकमा जन्मेको हुँ।  म चारपाँच वर्षको उमेरदेखि स्कुल जाने थालें।  घरकै छेउमा पुण्य माता प्रावि थियो।  कक्षा ५ सम्म त्यहीँ पढें।  अचेल त्यो स्कुल उच्च मावि भएको छ।  पछि मैले सगरमाथा हाइस्कुलबाट २०३२ सालमा प्रवेशिका पास गरें। 

हामी पढ्ने विद्यालयमा राजाको जन्म दिन, प्रजातन्त्र दिवस, संविधान दिवसहरूमा विभिन्न कार्यक्रम भइरहन्थे।  त्यस्तै अवसरमा कक्षा ६ हुँदा मैले कविता लेख्न थालें।   जीवनमा धेरैका कविता पढें।  अचेल मैले लेखेका कविता पनि भाइबहिनीहरू पढ्छन्।  कक्षा ७ को नेपालीमा ‘आह्वान’ भन्ने कविता समावेश छ।   कक्षा ६ को कक्षागत गीत पनि मेरो नै हो।  पाठ्यकम विकास केन्द्रले गीतहरूको आह्वान गरेर मेरा गीत छानेको हो।  यस गीतमा प्रदीप लामा बम्जनले संगीत भरेका छन्। 

कक्षागत गीतमा मैले हाम्रो देश र हाम्रा पुर्खाको गुणगान गाएको छु।  हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल अखण्ड र स्वतन्त्र भएकामा गौरवको कुरा गरेको छु।  सहिदहरूले निर्माण गरेको नेपाल गौरवशाली भएको आत्मबोध गरेको छु।  त्यस्तै गरी गीतमा जाति, भाषा, धर्म र संस्कृति  नेपालीको  पहिचान हो।  हामी सम्पदामा सम्पन्न छौं।  हामी सिर्जना बोल्ने माटोको  सन्तान हौं।  एकता हाम्रो साझा  ढुकढुकी मुटु हो नेपाल हो भनेको छु।

बिहान घाँसपात गरेर स्कुल गइन्थ्यो।  एकदुईओटा किताब पढेर परीक्षा दिनु पथ्र्यो।  बुवाहरूले रामायण, महाभारत, गुणरत्न माला, स्वस्थानी जस्ता किताब पढ्नु हुन्थ्यो।  हामी पनि कहिलेकाहीँ त्यस्ता किताब पढ्थ्यौं।  कक्षा ३ मा हुँदैदेखि म राम्रोसँग स्वस्थानी पढ्न सक्ने भैसकेको थिएँ।  

वारिपारि, उकालीओराली र लेकबेंसीले भरिएको हुन्छ हाम्रो गाउँठाउँ।  त्यस्तै ठाउँमा हुर्किएकाले मलाई त्यो परिवेशले नै लेखनमा प्रेरित गरेको हुनु पर्छ।  स्कुलमा नेपाली गुरुहरूले कविता लेख्न हौस्याउनु हुन्थ्यो।  हामी प्रतियोगितामा पुरस्कृत पनि हुन्थ्यौं।  पुरस्कार र तालीबाट हौसिएँ। 

पाठ्यपु्स्तकमा भएका कविता चाख लिईलिई पढिन्थ्यो।  स्थानीय पुस्तकालयमा गएर पनि पढिन्थ्यो।  काठमाडौंबाट गएको पत्रिका पुरानै भए पनि हाम्रा लागि नयाँ नै हुन्थ्यो।  म ०३५ सालमा कलेज पढ्न विराटनगर गएँ।  अनि  काठमाडौंमा ‘अनुभूित’ शीर्षक कविता पठाएँ।  त्यो कविता ‘राष्ट्र पुकार’ भन्ने पत्रिका छापिएछ।  राष्ट्रिय स्तरमा छापिएको पहिलो कविता हो यो मेरो।  त्यतिबेला हामीलाई बालसाहित्यको सघनताबारे थाहा थिएन।  तैपनि पाठ्यपुस्तकमा भएका माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटाका कविता लय मिलाईमिलाई पढिन्थ्यो। 

हामीले हाम्रो परिवार, परिवेश आफूले देखेका दृश्य र आफूले अनुभूत गरेका विषयवस्तुमै कविता लेख्ने हो।  कविता आफ्नो अनुभूति हो।  हामीले लेखनलाई राम्रो बनाउन अध्ययन र अभ्यासलाई जोड दिँदै जानु पर्छ।  लेखनलाई परिपक्व बनाउँदै अगाडि बढ्न सकिन्छ।  यसरी कविता लेख्नुपर्छ भन्नुभन्दा उनीहरूलाई स्वत स्फूर्त रूपमा आफैले कविता लेख्न प्रेरित गर्नु पर्छ।  उनीहरूले अभ्यास गर्दै गएपछि विस्तारविस्तार उनीहरूको अध्ययनको क्षितिज फराकिलो बन्दै जान्छ।  उनीहरू जतिजति अग्रजहरूको कविता पढ्दै जान्छन् त्यतित्यति आफ्नो विचारलाई पनि परिपक्व बनाउँदै जान्छन्। 

तिनताका हामी घरबाट कालोपाटी लिएर जान्थ्यौं।  भुइँको धुलो उठाएर पाटीमा हाल्यो र पाटीमा चोरी औँलाले लेखिन्थ्यो ‘क ख ग...’ लेखिन्थ्यो।  अक्षर बिग्रियो भन्यो मेट्यो अनि फेरि लेखियो।  बल्ल  राम्रो हुन्थ्यो।  सुरुसुरुमा पेन्सिल हराउँछ भाँच्छ र हराउँछ भनेर दिँदैन थिए।  माथिल्ला कक्षामा पुगेपछि मात्रै पेन्सिल पाइन्थ्यो।

विद्यार्थी जीवन महवपूर्ण काल खण्ड हो।  विद्यार्थीले अध्ययनलाई नै तिखार्नु पर्छ।  अनुशासनमा बाँध्ने र एउटा कक्षाबाट अर्को कक्षामा उत्तीर्ण गर्नका लागि एउटा निर्धारित मापदण्डअनुसार तय भएको पाठ्यपुस्तक हो।  तर, विद्यार्थीले आफ्ना अनुभूति, विचार र सोचाइको क्षितिज उघार्ने खालका पुस्तक पनि पढ्नु पर्छ।  व्यक्तित्व विकासका लागि बाह्य सामग्री उत्तिकै महवपूर्ण हुन्छन्।  बाह्य सामग्री भनेका सिर्जनशील किताब हुन्।  प्रेरणादायी व्यक्तित्वका जीवनी हुन्।  साहित्यका राम्रा पुस्तक हुन्।  

बाल्यकालमा अधिकांश नेपालीले सामान्य दुःख गरेकै हुन्छ।  गाउँमा चाहिँ गाउँबेसी गर्नु पर्ने, सानामा जुत्ताचपल थिएन।  नागै खुटाले गाउँबेसी हाटमेला गरिन्थ्यो।  त्यसलाई दुःख सम्झे दुःखै हो।  त्यस्तो दुःख त सबै नेपालीले  पाएका हुन्छ नै। 

आजका बालबच्चा र त्यो समयमा आकाश जमिनको फरक छ।  सूचना प्रविधिका हिसाबमा होस वा सामाजिक सम्मानमा होस् उनीहरूको दैनिक जीवन शैलीको विषयमा, धेरै फरक पाइन्छ।  अहिलेको समय आधुनिकतातिर बढिरहेको छ।  त्यसले शैक्षिक क्षेत्रमा पनि प्रभाव पारेको छ।  समयअनुसार पाठ्यक्रम  परिवर्तित भएका छन्।  शिक्षा नीति परिवर्तन भएका छन्। 

आज सूचना प्रविधिका माध्यमबाट बालबालिकाको सिकाइमा सरलता आएको छ।  तर, त्यसमा धेरै कुरा छुटे जस्तो लाग्छ।  धेरै मान्छेहरू गाउँबाटै आएका हुन्छन्।  पहिले  र अहिलेको सहर बजार पनि धेरै अन्तर छ।   चाहे सहरका हुन् ,चाहे गाउँका बालबालिका, पहिला उनीहरू प्रकृतिसित नजिक थिए।  उनीहरू गाउँको समाजसित नजिक थिए।  झन्डै पच्चीस वर्ष अघिको हाम्रो समय र अहिलेको समय तुलना गरौं त्यतिबेलाका बालबालिकामा परिवारसित आत्मीयता बढी हुन्थ्यो।  अहिले त्यसमा कमी आएको छ।  सहरी क्षेत्रमा कतिपय आमाबाबुले नानीहरूलाई पनि समय दिन नसकिरहेको स्थिति छ।  त्यसले गर्दा आमाबाबु र छोराछोरी बीचको सम्बन्धमा अवरोध पु¥याएको छ।  यसबाट उनीहरूको मनोविज्ञानमा असर परिरहेको हुन्छ। 

अर्को कुरा अहिलेको सूचना प्रविधिले समाजसित पनि नानीहरू टाढिँदै गएको अवस्था छ।  गाउँभन्दा हरका बच्चा परिवार  र समाजबाट टाढिँदै छन्।  उनीहरूको सांस्कृतिक गतिविधिमा उपस्थिति घट्दै गएको छ।  जसले गर्दा चाडपर्व र मेलामा उनीहरू कम देखिन्छन्।  उनीहरू मोबाइल, युट्युवमै हराउन थालेका छन्।  जति सञ्चार माध्यमको व्यापकता बढ्दै गयो उति उनीहरूको जीवनशैलीमा परिवर्तन आएको छ।  यस्तो अवस्थामा विद्यालयहरूले पनि हाम्रो परम्परा, रीतिरिवाज, चाडपर्व, सांस्कृतिक गतिविधिसित निकट हुने कार्यक्रम गराउनु पर्ने हुन्छ।  उनीहरूलाई सूचनाप्रविधिले ल्याएको कुरामा मात्रै भुलाउनु हुँदैन।   उनीहरू आफ्ना मौलिक परम्परा, आफ्ना सम्पदा आदिबाट विमुख नहुन्।  बढ्दो सहरीकरणले पनि हाम्रो मौलिक परम्परा र संस्कृति लोप हुँदैछ।  हामीले नानीहरूलाई प्रकृतिबाट कसरी नजिक राख्ने यसबारे पनि सोच्नु पर्ने हुन्छ।  

म विराटनगरको पढाइ सकेपछि कीर्तिपुर पढ्न आएको हुँ।  त्यसैबेला २०४५ सालमा नेपाल टेलिभिजनमा प्रवेश गरें।  मैले टिभीमा वर्ष दिन जति बाल कार्यक्रम चलाएँ।  चाडपर्वका समयमा चाडपर्वसम्बन्धी वृत्तचित्र बनाउने, विद्यार्थीलाई पार्कमा लगेर राष्टिय गीत गाउन लगाउने, कविता लेख्ने गराएँ।  कतिपय ठाउँमा बालबालिकालाई लिएर गई त्यो स्थानका बारेमा जानकारी गराउने काम पनि गरियो।  जस्तो कि काठमाडौं दरबार स्कुल, पाटन दरबार स्क्वायर जस्ता ठाउँमा पु-याइयो।  कहिले स्कुलस्कुलमा गएर बालकविता रेकर्ड गराइन्थ्यो त कहिले स्टुडियोमै बोलाएर कविता वाचन गर्न लगाइन्थ्यो। 

एउटा कुरा, विद्यार्थीलाई यातना दिएर पढाउनु हुँदैन।  नराम्रो काम गर्दा या गृहकार्य नगर्दा सजाय दिने चलन पहिले पनि थियो।  अहिले पढाइका विषयमा विविधता छ।  उनीहरूलाई जबर्जस्ती लाद्नुभन्दा स्वस्फूर्त पढ्ने वातावरण  सिर्जना गर्नुपर्छ।  सानो कक्षामा त्यहीअनुसार पढ्न प्रेरित गर्नु पर्ने हुन्छ।  जबर्जस्ती गरियो भने बच्चाले पढ्दैनन्।  उनीहरूमा स्कुलप्रति नकारात्मक धारणा बढ्दै जान्छ। 

मैले टेलिभिजनमा २०४६ देखि करिब ५ वर्ष साहित्यकारका टेलिभिजनमा ‘अभिव्यक्ति’ कार्यक्रम पनि चलाए।  मैले धेरै स्रष्टाको वृत्तचित्र पनि तयार पारें।  यसै अवधिमा कविता वाचन कार्यक्रम पनि गरें।  त्यसपछि मैले ऐतिहासिक सम्पदा, जनजाति र चाडपर्वसम्बन्धी वृत्तचित्र बनाएँ।  मान्छेको अस्मिता (कविता संग्रह) नेपाल प्रज्ञाप्रतिष्ठान,२०४९, उध्र्वमुखी महायात्रा (कविता संग्रह) नेपाल प्रज्ञाप्रतिष्ठान,२०५५,व्यक्ति–व्यक्तित्व –जीवनी संग्रह) साझा प्रकाशन,२०४९, बर्लिनतिरकाझझल्काहरू (नियात्रा संग्रह),पुण्यमाता प्रकाशन,२०६२, गिरिजाप्रसाद कोइरालाः संकल्प र नेतृत्व (जीवनी –व्यक्तित्व), पुण्यमाता प्रकाशन,२०६६, लौहपुरुष गणेशमान सिंह, जीवन, संघर्ष  र  राजनीति (जीवनी–व्यक्तित्व),प्यासिफिक पब्लिकेसन प्रालि,२०७४, सम्झनाका प्रतिबिम्ब (नियात्रा संग्रह), प्यासिफिक पब्लिेकसन प्रालि,२०७४, उज्यालोतिरका पाइलाहरू (जीवनी संग्रह) ,साझा प्रकाशन,२०७४ गरी एक दर्जन जति मेरा कृतिहरू प्रकाशित छन्।  मैले कविता महोत्सव पदक २०४५, षडानन्द प्रतिभा पुरस्कार,२०५५ र युवा मोती पुरस्कार,२०५५ प्राप्त गरेको छु।

अब हिजो र आजकै कुरा गरौं।  समयअनुसार पहिले र अहिलेका बच्चामा धेरै भिन्नता भए जस्तो लाग्छ।  हामी स्कुल जाँदाखेरि  छुट्टै टिफिन अथवा खाजा बोकेर जाने भन्ने कुरै थिएन।  मेरोचाहिँ घर र स्कुल टाढा पनि थिएन।  यद्यपि गाउँमा सिरानदेखि पुछारसम्म बच्चा त्यहाँ आउँथे।  उनीहरूको पनि खाजा बोकेर आउने चलन थिएन।  छुट्टी भयो दिउँसोको छुट्टीमा खेल्न जाने र बेलुकी छुट्टी भएर घर गएपछि खाजा खाने चलन थियो। 

अहिले जस्तो पढ्ने वातावरण थिएन।  बिहान घाँसपात गरेर स्कुल गइन्थ्यो।  अहिलेका जस्ता किताब थिएनन्।  एकदुईओटा किताब पढेर परीक्षा दिनु पथ्र्यो।  अहिलको जस्तो सन्दर्भ सामग्रीहरू पाइँदैन थिए।  बुवाहरूले रामायण, महाभारत, गुणरत्न माला, स्वस्थानी जस्ता किताब पढ्नु हुन्थ्यो।  हामी पनि कहिलेकाहीँ त्यस्ता  किताब पढ्थ्यौं।  मैले ३ कक्षादेखि नै राम्ररी स्वस्थानी पढ्न थालें।  आमाले स्वस्थानी लिनुहुन्थ्यो। 

उहाँले यसले स्वस्थानी राम्रो पढ्छ भनेर मलाई पढ्न ल्याउनु हुन्थ्यो।  म पनि फुरुङ्ङ हुँदै बिहानबेलुकी  स्वस्थानी पढ्थें।  हामी आमाका अगाडि सधैं बच्चा जस्तै हुन्छौं।  महाभारत, रामयण, स्वस्थानी जस्ता पुस्तकले केही न केही रूपमा सिर्जनशील हुन सहयोग पु¥याइरहेको हुन्छ।  स्वस्थानी पढ्दा पढाइको अभ्यास पनि हुन्थ्यो र उसले सिर्जनशील हुन मद्दत पनि पु-याउँथ्यो।  
प्रस्तुति: श्रीराम राई

प्रकाशित: १४ भाद्र २०७६ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App