विक्रमभक्त जोशी
प्याँल गाउँको हर्के भनेपछि जो कोहीले चिन्छन्। यिनको गान्टे अनि सुकेको ज्यानमा बडेमानको टाउको अनौठो देखिने भएर एकपल्ट देख्नेले पनि याद गरिहाल्छन्। दौंतरीहरू यिनलाई ‘घनटाउके’ भनेर जिस्काउँछन्। शिर ठूला भएकाहरूको बुद्धि धेरै हुन्छ भन्ने भनाइ हर्केमा लागू हुँदैन। चाहिने जति बुद्धि त जसको पनि हुन्छ। यिनको पनि छ। तर, टाठोबाठो कहलाउनलायक छैन। गाउँघरमा यिनीभन्दा कान्छो उमेरका गनेसे, बिर्खेहरूले राम्रै प्रगति गरिसकेका थिए।
गनेसेको माथ्लो गाउँका बुद्धिजीवीसँग राम्रै उठबस छ। गाउँका थोरै भए पनि पढ्या–लेख्या भन्नु यिनै त हुन्। बोल्नमा माहिर। राजनीतितिर लाग्ने यिनको धोको छ। साम्यवाद र समाजवादको हल्काफुल्का ज्ञानदेखि लिएर प्रतिवाद र मुर्दावादसम्मको जीवनोपयोगी ज्ञान यिनले हासिल गरिसकेका थिए। प्रसंग मिलोस् नमिलोस् कसैसँग गफ–सफ चल्दै गर्दा माक्र्स र एंगेल्सका नाम आफ्ना कुरामा घुसाउने गर्थे। ‘इम्प्रेसन’का लागि रे !
गाउँका पौडेल बाजे भने मनमनै मुर्मुरिन्थे यिनीसँग, ‘कहीँ नभा’का पढेलेख्या, बज्या !’
बिर्खेले भने सदरमुकामतिर ‘जद’ अर्थात् जग्गा दलालीको काममा लागेर दरिलो कमाइ गरिसक्या कुरो गाउँमा धेरैलाई थाहा थियो। यिनी सूर्य घटी चुरोटै खाँदैनन्। महँगो न महँगो चुरोटका बट्टाको बट्टा उडाउँदै गर्दा एक किलो चिनी किन्न पनि धौधौ पर्ने। कैयन् गाउँलेका लागि यिनी आरिसको विषय बन्ने नै भए। यिनले त उता जग्गै जोडिसक्या छन् भन्छन्।
प्याँलगाउँको खास नाउँ ‘पहेँलो गाउँ’ हो। पहिला–पहिला गाउँको विशाल फाँटदेखि माथि डाँडाको आधाआधीसम्मै तोरी फूल फुल्ने मौसममा गाउँ वरिपरि परपरसम्म पूरै पहेँलो र मनमोहक देखिन्थ्यो। त्यही भएकाले यसलाई पहेँलो गाउँ भनिएछ। जुन पछि पहेँल गाउँ हुँदै प्याँलगाउँ बनेछ। हुन त अहिले तोरी खेती गर्ने निकै कम भैसके। तर, गाउँको नाम भने उही रह्यो।
हर्केको घर प्याँलगाउँको पुछारैमा पर्छ। घोर्लेडाँडाको फेदैमा। यही डाँडाको माथिल्लो भागमा लेकको थोरै मुन्तिर माथ्लो गाउँ छ। गाउँको पश्चिमतिरबाट बग्दै आएको हल्सारे खोल्सो हर्केको घरछेउ हुँदै बग्दैबग्दै प्याँलगाउँको छेवैछेउ हुँदै स्याल खोलामा गएर मिसिन्छ।
स्याल खोला–हर्केको जवानी यही खोला सेरोफेरो बित्यो। माझी न परे। खोलापारिको भुजेल गाउँ जानेहरूलाई खोला तार्दिनु, फुर्सद्मा खोलाको डिलमा बसेर माछा मार्नु, यिनको दिनचर्या थियो। भन्ने नै हो भने यो खोलासँग हर्केको भावनात्मक सम्बन्ध पनि छ। किनभने यहीँ त हो हर्केले दिलमायालाई भेटेको।
‘माछी मार न हो दाइ हो... खाजालाई चटनी !’
‘कस्ता छिल्लिएका हुन् नि !’ हर्केले जाल फिँजाउँदै आँखा त¥यो। खोलाको डिलमा बसेर मुख छोपेर खित्खिताउँदै गरेका केटीहरूलाई हर्केले धारे हात लगायो। एक त आज खोलो तर्ने एकै जना पनि नभएको। फेरि एउटै माछो पनि जालमा नपरेको।
त्यसमाथि यी कहाँका नखरमाउली केटीहरूले गाना गाएर पो जिस्काउँछन् त ए। कस्तो जमाना आएछ। लौ न !
‘ओ दाजु। खाजा खाइन्छ ?’ एउटीले सोधी। अर्कीले यिनलाई चिमोटी।
‘प-या छैन, तिम्रा खाजा साजा।’
‘लिनु न लिनु। बिखै त हैन नि।’ गोरीचाहिँले भनी। जाल हान्दै गरेका हर्केले टाउको उचालेर हे¥यो। दुवैको आँखा–आँखा जुधे। हर्केको मनको कुनोमा सानो घण्टी बज्यो– टिङ्ङ।
गोरो अनुहार, बान्की परेका आँखा। झन् चरीले सुसेलेझैं मधुर आवाजले मन्द मुस्कानसहित गरेको आग्रह कुनचाहिँ मर्दले नाइँ भन्न सक्ला ? यिनी फत्तक्कै गले। नाइँ–नास्ती गर्न सकेनन्। सँगै खाजा खाए। चिनापर्ची गरे। खोलापारिका भुजेल गाउँका रैछन् भन्ने थाहा पाए। हर्केलाई धेरै अघिदेखि चिनेको र मनमनै मन पराको कुरा उसले लजाईलजाई सुनाई । हर्केको मुटुको चाल बढ्यो। मनमा लड्डुहरू फुट्न थाले। मुसुमुसु हाँस्दै घनजत्रो टाउको कन्यायो। अप्ठेरो मान्दै घाँसको त्यान्द्रो बटार्न थाल्यो। अनि स्वप्नतुल्य अवस्थामा सहर्ष स्वीका-योे।
नाम उतिखेरै थाहा पाएका थिए– दिलमाया।
हर्केले बसको सिसाबाट धमिलो–धमिलो पाराले देख्यो। उसले आँगनमा खैरो पाइन्ट लगाएका ऊ आफैं आत्तिँदै मास्तिर हेर्दैछ। अनि देख्यो कि हरियो सारीको सप्कोले निधार पुछ्दै घरबाट निस्केकी दिलमाया पनि आत्तिएर जडवत् मास्तिर नै हेर्दै छिन्। त्यसपश्चात् ठूलो आवाजसहित जब गाडी आँगनमा उनै दुई जनामाथि बजारियो, तब हर्केलाई अचानक सारा डरत्रासबाट मुक्ति प्राप्त भएको महसुस भयो।
हर्के पुरानो प्रेम कथा सम्झेर बारीमा गोडेमेल गर्दै गरेकी आफ्नी बूढीलाई हेरेर मुसुक्क हाँस्यो। दिलमायाले पनि मुस्कान फर्काई।
दिलमायाको माइती भुजेल गाउँसम्म त उहिल्यै मोटरबाटो आइसकेको थियो। पोहोर साल खोलामाथि पक्की पुल बनेपछि प्याँलगाउँकाहरूको दिन फिरेझैं भो। गाडी गुड्ने बाटो अब गाउँदेखि टाढा रहेन। पुल बनेपछि हर्केको भने नदी तार्ने इलम खोसियो। वर्षौं पुरानो डुंगा बेचेर गाउँमै सानोतिनो किराना पसल खोल्यो। इलमको बाटो बदलियो।
यता हर्केको इलमको बाटो बदलियो, उता गाउँको बाटोको स्वरूप बदलिने भो। पुलवारि प्याँलगाउँतर्फ बाटो बढाउने कुरो भो। गनेसेले यही मौकामा भाषण छाँट्यो– बाटोघाटोले कसरी गाउँको विकास हुन्छ र धनी–गरीब बीचको खाडल कसरी मेटिन्छ भनेर। भन्नै परेन कि उनको भाषणमा माक्र्स र एंगेल्स छुटेका थिएनन्।
बिर्खेले पनि यही मौकामा ठेक्कापट्टामा हात हाल्ने सोच बनायो। माथ्लोगाउँका बुद्धिजीवीसँगको सल्लाहमा प्याँलगाउँ, माथ्लो गाउँ हुँदै सदरमुकामै जोडिने बाटो निर्माण गरिने भयो। बजेट आयो। साथै पहेँला डोजर पनि आए। कसैको पूरै जग्गा प-यो। कसैको आधा। कोही कराए, कोही रमाए। गाउँमा रमितै भो।
स्याल खोलाको पुलदेखि बाटो नागबेली पार्दै प्याँलगाउँ छि-यो र फेरि घुम्रिँदै हर्केको घरलाई आधा फन्को मारेर उकालो चढ्यो। बारीको आधा पाटो बाटोले लगे पनि हर्केले चित्त दुखाएन। सडक बाटोको छेवैमा आफ्नो घर जो प-यो।
डोजरले घोर्लेडाँडाको फेदैमा रहेको हर्केको घरको ठ्याक्कै माथिको डाँडाको पाटो खोतल्न थाल्यो। माथ्लोगाउँ जाने चल्तीको गोरेटोलाई नै चाक्लो बनाएर गाडी गुड्ने बाटो बनाइँदै थियो। ससाना ढुङ्गोमाटो पट्याङ्गपुटुङ्ग गर्दै घरको छानोमा खस्न थालेपछि भने हर्केको हंसले ठाउँ छोड्यो।
‘मेरो घर पुरिन्छ कि क्या हो ?’ पुर्पुरोमा हात हालेर हर्के कुल्र्योे। तर, डोजरको गड्गडाहटमा कसले सुन्ने हर्केको आवाज।
बजेट निकासा हुँदा डाँडा छेवैछेउ रिटेनिङ पर्खाल शीर्षकमा रकम छुट्याइएको त थियो। तर, त्यो कता बेपत्ता भो ठेकेदार बनेका बिर्खेलाई मात्र थाहा छ। र त डोजर चल्न थालेदेखि आजकल बिर्खेको धेरैजसो साँझको समय गाउँको भट्टी साहुनीकोमा बित्न थालेको छ।
धन्न, हर्केको घर पुरिएन। त्यतिबेला त हर्केले चैनको सास फे-यो। तर, घर मास्तिरको बाटोमा डोजर ओहोरदोहोर गर्दा बेलाबेलामा ढुंगाका गेग्रयान उछिट्टिएर आँगनैसम्म खस्थे। त्यतिबेला हर्केको मन चिसो हुन्थ्यो।
आखिर दुई महिनामै सदरमुकाम जोडिने बाटो खुल्यो। प्याँलगाउँ हुँदै भुजेलगाउँ र सदरमुकाम ओहोरदोहोर गर्ने दुइटा बस पनि चालू भयो। जंगबहादुरको पालामा बनेका जस्ता जर्जर बस नै किन नहोस्, गाडी चल्न थालेपछि गाउँले दंगदास परे। सपनामै नसोचेको जस्तो घरआँगन हुँदै बस गुड्न थालेको देख्दा गाउँलेहरूको खुसी बयान गरिसाध्य थिएन।
बर्खा लागेपछि भने बाटो भैंसीको आहालझैं बन्न पुग्यो। माथ्लोगाउँ जानै पनि हिलोमा लडीबुडी खेल्दै पुग्नु पर्ने बाध्यताले गाउँलेलाई पार्नु सकस पा-यो। त्यही भएर हिँडेर एकै घण्टामा पुगिने माथ्लोगाउँ जान पनि घन्टौं कुरेरै भए पनि गाडीमै जान थाले।
यस्तैमा झरी परेको एक दिन।
गाउँमा हल्लीखल्ली भो। माथ्लो गाउँनिर गाडी झ-यो भनेर। गाउँले हत्त न पत्त उकालो लागे। हर्के पनि दिलमायालाई घर रुँगन लगाएर पछि लाग्यो । गाउँ पुग्न एक किलोमिटर जति तल बस उत्तानो परेको टाढैबाट देखियो। माथ्लो गाउँकाहरू घाइतेहरूलाई उद्धार गर्दै थिए। रगतपच्छे परेका बग्रेल्ती गाउँले ऐया न उइया गर्दै थिए। धेरैजसो भुजेल गाउँकै थिए भन्ने लख काटे। घाइतेका भिडमा सर्सर्ती हेरे हर्केले– ससुराली खलकका कोही पो परेका छन् कि भनेर। धन्न, कोही रहेनछन्।
घाँटीमा रुमाल बाँधेका ड्राइभर आफ्नो फुटेको टाउको समाएर ढुंगामा टुक्रुक्क बसेका थिए। ३० जना अट्नेमा ४० कोचेर हिँडाएको बस झरीले सिनित्त पारेको ओरालोमा चिप्लेछ। भिरालो परेको मोडको छेउतिर सानोतिनो नै भए पनि पर्खाल बनेको भए पो गाडी खस्दैनथ्यो। दस तला जति तल गुल्टिँदैगुल्टिँदै गएर कान्लामा पुगेर उत्तानो पल्टेछ।
हर्के पनि सघाउनतिर लाग्यो। भाग्यवश, दुर्घटनामा कोही हताहत भने भएनन्। तर, त्यस ठाउँको रोदन, कोलाहल र अत्यासिलो वातावरणले हर्केको दिमागलाई भने राम्रै खजमज्यायो।
भन्दाभन्दै दसैं पनि आइपुग्यो। हर्के र दिलमायालाई पनि दसैंको चटारोले छोयो। बाटो बनेदेखि प्याँलगाउँको रंगरूप नै फेरिएको थियो। बजार पनि हलक्कै बढिसकेको थियो। लुगाफाटो किन्न सदरमुकाम पुग्नै नपर्ने भो। हर्केले दिलमायाका लागि रातोमा पहेँलो फूलबुट्टे सारी रोजे। दुई–चार दर्जन चुरा अनि पोते पनि किनिदिए। दिलमायाले भने बूढोलाई नीलो रंगको कमिज रोजिन्। पाइन्ट कपडा परारकै बाँकी थियो। त्यही सिलाउन दिने कुरो भो।
नयाँ पाइन्ट सिलाउने भएपछि पोहोरको खैरो पाइन्ट घर बस्न लाउनु पर्ला। आ...एकबारको जिन्दगीमा कति लोभ गर्नु ! यस्तै सोचेर हर्के खैरो पाइन्ट फेरफार गरेर आँगनमा सुस्ताउन बसे।
साँझ झमक्कै परिसकेको थियो। ५ बज्न लाग्दो हो। चरा आ–आफ्ना बास फर्किंदै थिए। गाउँतिर कुकुर भुक्न थाल्यो। कुनचाहिँले ठटाएछ क्यारे, कुकुर क्वाइँक्वाइँ गर्न थाल्यो।
‘चिया खाने हो ?’ दिलमायाले सुस्ताउँदै गरेका बूढालाई सोधिन्।
‘ल्या न ल्या। खाइदिम्।’ चिया भनेपछि हर्के हुरुक्कै हुन्थे। यिनी हुरुक्क हुने यिनै दुई कुरामा न हुन्। कि चिया कि दिलमाया। एउटै कुरोले भने मन पिरोल्थ्यो यिनको। बिहे गरेको दस वर्ष बितिसक्दा पनि सन्तानको मुख देख्न पाएका छैनन्। अनेक दबाई, ओखती, झारफुक र वैद्य गराइसके। अहँ, कुनै मेसो चलेन। ‘सदरमुकाममा नयाँ डाक्टर आका छन् रे भन्ने सुन्या थिए। केही पो होला कि ? नभए राजधानी नै जानुपर्ला,’ यिनले सोचे।
गाडीको हर्नको आवाजले यिनको सोचाइ बिथोलियो। सदरमुकामबाट छुटेको अन्तिम गाडी हल्लिँदै, ढल्किँदै हर्केको घरको मास्तिरको ओरालोमा आइपुगेको थियो। सधैंझैं फेरि पनि गाडीको पाङ्ग्राबाट उछिट्टिएका ढुंगा र माटो हर्केको घरमाथि छरियो। यसपटक भने लगातार माटो खस्न थाल्यो। रोकिएन। गाडीको ब्रेकको आवाजसँगै मानिसको कोलाहलले हर्केको सात्तो उडायो। हत्त न पत्त आँगनको डिलमा पुगेर मास्तिर फर्केर हे-योे। हेरेको हे-यौ भयो। गाडी सडकको डिलबाट झरिसकेको थियो। गुल्टिँदै एक फन्को मारेर हर्केको घरको ठिक माथि पहरामा रहेको ढुंगामा बजारियो। गाडी भित्रबाट आएको चिच्च्याहट साँझको सुनसानमा अझ भयावह सुनियो।
‘के भो’ भन्दै हरियो सारीको सप्कोले निधार पुछ्दै घरबाट निस्केकी दिलमाया जडवत् भइन्। गाडीले दुई फन्को मारेर हर्केको घरलाई नाघ्यो। गाडीभित्र चेपिएकामध्ये एक जोडी गाडीको सिसैमा टाँसिएका थिए। नीलो रंगको कमिज लगाएका ती मान्छे हर्केलाई आफैं जस्तो लाग्यो, अनि रातोमा पहेँलो फूलबुट्टे सारी लगाएकी महिला दिलमाया नै हो जस्तो लाग्यो। मृत्युको भयले आत्तिएका आँखाहरू, चिच्याउँदै गर्दा बाएका मुखहरू र जीवनदानका लागि याचना गर्दै गरेका जस्ता मुद्रामा हातहरू। हेर्दाहेर्दै गाडी हर्के र दिलमायामाथि बजारियो।
अनि हर्के चिच्यायो। लामो भय मिश्रित क्रन्दन।
चिया बोकेर निस्केकी दिलमाया हर्केको चिच्याइले आत्तिइन्, ‘के भो ? के भो ?’
अलमल परेका हर्केलाई देखेर दिलमायालाई भेउ पाउन गाह्रो परेन कि सुस्ताउन बसेका हर्केले सपना देखेछन्। केही दिनअघिको दुर्घटनाको दृश्यले हर्केलाई पिरोल्न छाडेको थिएन। त्यस दिनदेखि बारम्बार यस्तै सपना देख्थे र प्रत्येक पटक आफूहरूलाई नै देख्थे। हर्के यो कुराले चिन्तित थियो।
दसैं पनि सकियो। दिलमायासँग साउती गरी सदरमुकाममा नयाँ डाक्टरसँग जँचाउन जाने कुरो भो।
घरको आँगनैबाट गाडी गुड्न थालेपछि सजिलो भने भाकै हो। ऊबेला भए काममा सदरमुकाम जान झन्डै दिनभर लाग्थ्यो। उतै बास नबसी हुन्नथ्यो। अब त्यस्तो रहेन। बिहान गएर काम सकाएर अन्तिम गाडीमा उही दिन आरामले फर्कन सकिन्थ्यो।
पूर्णेको पर्सिपल्ट पति–पत्नी दसैंका लुगामा ठाँटिएर पहिलो गाडीमा सदरमुकामतिर लागे। नीलो रंगको कमिजमा हर्के अनि रातोमा पहेँलो फूलबुट्टे सारीमा दिलमाया खुब खुलेका थिए।
११ बजे अस्पताल पुग्दा निस्किन ठिक परिसकेका रहेछन् डाक्टर। पहिलेका रिपोर्ट हेरेपछि कुरो बुझिहाले। सल्लाह पनि दिइहाले, ‘विभिन्न जाँच गर्नुपर्छ। त्यहीअनुसार उपचार सुरु गर्नुपर्छ। सम्भव छ। तर, यहाँ भने हुन्न। राजधानीमै जानुपर्छ।’
केही आशा र केही निराशाका बीच हर्के र दिलमाया एकाध घण्टा बजारतिरै बरालिएर बिताए। अनि २ बजेतिर घर फर्किन अन्तिम बस चढे।
प्रिय, सिँखे हुँदै बस माथ्लो गाउँ पुग्दा ४ बजिसकेको थियो। अबको एक घण्टामा घर पुगेर थाकेको जिउ तन्काउन पाउने सोचमा रमाउँदै हर्के सिटमा सजिलोसित ढल्क्यो। दिलमाया झ्यालतिर बसेकी थिइन्। गाडीमा बस्ने बानी नभएकाले वाकवाकी लाग्थ्यो।
पश्चिमतिर घाम डुब्न लागिसकेको थियो। तल्तिर प्याँलगाउँ देखियो। आफ्नो घर देखिन्छ कि भनेर दिलमायाले घाँटी तन्काइन्।
‘पुग्न आँट्यो। उठ्नुस्,’ दिलमायाको आवाज सुनेर हर्के बिउँझियो। बसको माथिल्लो भागमा राखेको पोकापुन्तरो झिक्न उठेको हर्के सिटमै थचारियो। अघिल्लो सिटको काँटीमा अल्झेर हर्केको नीलो कमिज झ्यार्रै च्यातियो। के भएको भनेर राम्ररी खुट्याउन नपाउँदै गाडी भीरबाट गुल्टिन थालिसकेको थियो। बसमा बसेकाहरू सबै चिच्याउन थाले। कोही ‘रामराम’ भन्न थाले। कोही आफ्ना बचेरालाई च्यापेर टाउको लुकाउन थाले। ठूलो आवाजसहित बस ढुंगामा बजारियो। हर्केको टाउको बसको समाउने डन्डीमा बेस्सरी ठोक्कियो। पीडाले यिनी रन्थनिए। बिजुली चम्केझैं आँखाअगाडि झिलिकझिलिक गर्न थाल्यो। बसले अर्काे फन्को मार्दा हर्के र दिलमायाको अनुहार बसको सिसामा ढेपिन पुग्यो। बस कावा खाँदै उनको आफ्नै घरमाथिबाट उनकै आँगनमा हुत्तिँदै पुग्यो।
अनि हर्केले बसको सिसाबाट धमिलो–धमिलो पाराले देख्यो। देख्यो कि आँगनमा खैरो पाइन्ट लगाएका ऊ आफै आत्तिँदै मास्तिर हेर्दैछ। अनि देख्यो कि हरियो सारीको सप्कोले निधार पुछ्दै घरबाट निस्केकी दिलमाया पनि आत्तिएर जडवत् मास्तिर नै हेर्दैछिन्।
त्यसपश्चात् ठूलो आवाजसहित जब गाडी आँगनमा उनै दुई जना माथि बजारियो, तब हर्केलाई अचानक सारा डरत्रासबाट मुक्ति प्राप्त भएको महसुस भयो। त्यसपछि न कुनै पीडा बाँकी रह्यो। न कुनै कष्ट नै। चारैतिर उज्यालो नै उज्यालो। न कोलाहल। न चिच्याहट।
अनि कुनै अन्योल पनि रहेन। गाडीभित्र ऊ वा आँगनमा ऊ। नीलो कमिजमा ऊ वा खैरो पाइन्टमा ऊ। जहाँ जस्तो भए पनि अब कुनै फरक रहेन।
प्रकाशित: ११ श्रावण २०७६ ०३:५५ शनिबार





