१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अवैध गर्भपतन आरोपमा चिकित्सक पक्राउ

मिर्चैैयास्थित मिर्चैया नर्सिङ होम। तस्बिरः मिथिलेश यादव/नागरिक

सिरहा– अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आइतबार नै उनलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। गत असार १८ गते जाँचका लागि मिर्चैया नर्सिङ होम पुगेकी सिरहा नगरपालिका–१० गुलरियाकी एक महिलासँग १२ हजार रुपैयाँ लिएर २३ गते लिंग परीक्षणपछि गर्भपतन गराएको आरोप यादवमाथि छ। गर्भपतनपछि महिलाको रक्तश्राव नरोकिएपछि घटना बाहिर आएको थियो। त्यसपछि प्रहरीले घटना अनुसन्धानका लागि डा.यादवलाई नियन्त्रणमा लिएको हो।

गैरकानुनी रुपमा लिंग पहिचान गर्दै गर्भपतन गराउने घटना यस क्षेत्रमा बढ्दै जानुमा प्रहरीको उदासीनता कारण भएको स्थानीय बताउँछन्। पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रासाउण्ड सेन्टर(भिडियो एक्सरे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूणहत्या गर्ने क्रम बढेको छ। निजी क्लिनिकका डाक्टर र उनका सहयोगीहरू क्लिनिक आसपासको क्षेत्रमा घर भाडा लिएर भ्रूणहत्या गराउन संलग्न भएको पाइएको छ।

वैशाख २१ गते लहान नगरपालिका–३ अस्पतालचोकस्थित खेतमा एक नालसहित शिशुको मृत शरीर फेला पर्यो। खेतमा फालिएको नवजात शिशुको(छोरा) शव स्थानीयको सूचनाको आधारमा प्रहरीले फेला पार्योे। प्रहरीले यस घटनामा संलग्न रहेको शंकामा एक जना युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले गर्भपतन गराएको केन्द्रको नाम खुलाइन्। तर, प्रहरीले त्यो स्वास्थ्य केन्द्र र ती स्वास्थ्यकर्मीलाई पक्राउ गर्न सकेन।

छोराको आकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूणहत्या गराउँछन्। कतिपय अवैध सम्बन्धबाट गर्भधारण गरेपछि गर्भपतन गराउँछन्। लहानको अस्पतालचोक, गणेशचोक, नयाँबजार, सहिदचोकको तरकारी बजार आसपासका स्थानमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मीहरू सक्रिय रहेको स्थानीय बताउँछन्। कानुन मिचेर सञ्चालनमा रहेको स्वास्थ्य संस्थाहरू, औषधि पसलहरू पछिल्लो समय अवैध गर्भपतन गराउने अखडा बनेको एक स्वास्थ्यकर्मीले बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’को घोषणा गरेका बेला लहान, मिर्चैया, गोलबजार, सिरहालगायतका सहर र गाउँघरमा सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी भ्रूणहत्या फस्टाएको हो । गैरकानुनी धन्दा सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रुपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको लहानका सरोज यादवले बताए।

लिंग पहिचान गर्न सिरहाको मिर्चैयाको नाम प्रदेश २ मै नामी छ। यहाँ दुईदेखि तीन हजारमा छोराछोरी छुट्याउने गरिएको एक स्थानीयले बताए। इलाका प्रहरी कार्यालय मिर्चैया वरपर रहेको क्लिनिकमा अवैध रुपमा लिंग पहिचान हुँदै आएको छ । एक स्वास्थ्यकर्मीले नागरिकसँग भने, ‘मिर्चैयामा अदक्ष स्वास्थ्यकर्मीले(रेडियोलोजी नपढेका डाक्टर)वर्षौंदेखि अनुभवको भरमा रेडियोलोजिस्टको काम गर्दै आएका छन् । लिंग पहिचान गर्न मिर्चैयामा पर्सादेखि सप्तरी जिल्लासम्मका गर्भवती आउने गरेको एक स्थानीयले बताए। लिंग पहिचान गरिदिए पनि डाक्टरले रिपोर्ट भने दिने गरेका छैनन्।

शुल्कको रसिद र लिंग पहिचानको रिपोर्ट नदिए पनि लिंग पहिचान गराउन पछिल्लो समय मिर्चैयामा भीड लाग्ने गरेको छ। गर्भपतन भने अदक्ष स्वास्थ्यकर्मी र तालिम नै नलिएका सहयोगीले गर्छन्। क्लिनिक आसपासमा गोप्य स्थानमा औषधि सेवन र माइनर अप्रेसनसमेत गरी असुरक्षित गर्भपतन हुँदै आएको छ।

१२ हप्तासम्मको गर्भपतन गर्भवतीको इच्छाअनुसार सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले निःशुल्क गर्छ। तर, यसका लागि स्वास्थ्यकर्मी तथा डाक्टरले एमभिए(म्यानुअल भ्याकुम एसपिरेसन) तालिम लिएकै हुनुपर्छ। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका गर्भवती मात्र गर्भपतन गराउन अस्पतालमा आउँछन्। अन्य गर्भपतन अवैध रुपमै हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। इच्छाविपरीत र भूलवश गर्भवती भएको खण्डमा पहिला घरमै औषधि सेवन गरी गर्भ तुहाउने प्रयास हुन्छ।

प्रकाशित: ७ श्रावण २०७६ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App