३० वैशाख २०७८ बिहीबार
अन्य

हाते लेन्सको करामत

जीवनमा कतिकति गुरुहरू भोगिए, देखिए र सुनिए। यस्ता लहरमा देखा पर्ने कतिपयलाई सम्झिँदा लाग्छ, न ती मेरा चाहनाले मेरा गुरु बन्न आइपुगेका थिए न उनीहरूले चाहेर नै म उनीहरूका शिष्य। स्थान, काल, परिवेशअनुसारका आ–आफ्ना अभिनय थिए जीवनका रंगमञ्चमा।

विद्यालय टेकेको पहिलो दिनकै कुरा, मेरा गुरु बनेर देखा परेका अवतारहरूमध्ये पहिलो चोटि प्रभाव पार्ने एक थिए त्यो पनि पढाएर हो र ? चुरोटको धुवाँ उडाएर।

‘अलि परपर हट है, घाम नछेक।’ अनौठोलाग्दो कार्य हेर्न नजिकिएका स–साना विद्यार्थीसँगै म पनि झस्किएको थिएँ अपरिचित आवाजको त्यस झोक्काले। विद्यालयको आँगनमा चुरोट सल्काएको हेर्न एकत्रित हाम्रो सानो हुल पर स-यो। तै हेर्न चाहिँ पायौँ, त्यही ठूलो कुरा। ती गुरु बडो तन्मयसाथ चुरोट सल्काउन सुरु गर्दै थिए।

एक हातमा सानो लेन्स, अर्को हातमा चुरोट। के चाहियो अब, सकिएन ? गुरु ठुलै प्राप्तिमा जुटेझैँ ध्यानस्थ देखिन थाले। घामको प्रकाशमा लेन्सको तल चुरोटको एक छेउ पारे। चुरोटको छेउपट्टि एउटा चम्किलो घेरो देखा प-यो, अझ उज्यालिँदै गएको चहकको। त्यो चहकको घेरा एकदम सानो बनाइयो। लाग्थ्यो त्यहाँभन्दा सानो हुन सक्दैन त्यो घेरा अथवा न्यूनतम विन्दुमा स्थिर भइसक्यो। थोरै पनि तलमाथि, दायाँबायाँ नभई एकैछिनको स्थिरतामा अडियो चुरोटमाथिको लेन्स।

विद्यालय टेकेको पहिलो प्रहर, निकै उत्सुक बने हाम्रा नजरहरू। चामत्कारिक परिदृश्य नाच्न थाले आँखाअघि। त्यो लेन्स र चुरोटको सम्बन्ध कस्तो हो ? बुझ्ने आतुरी ह्वात्तै बढेको अवस्था। तर, नबुझ्दा वाल्लै परियो त ! गर्नु के ? सहपाठी समूहको अनुहार हेर्छु उस्तै आतुरी, उस्तै उत्सुकता र वाल्लपनको रङ गाढा भएर पोतिएको पाउँछु। ध्यान फेरि चुरोटतिरै खिचियो।

लेन्सबाट गएको त्यो चहकको बिन्दुले एकै छिनमा चुरोटको टुप्पो पोलेर धुवाँ निकाल्यो, पुतुतु। धुवाँ निस्के लगत्तै दायाँ हो कि बायाँ हातको चोरी र माझी औंलाको बीचमा च्याप्प चेपेर चुरोट स्वाटस्वाट् तान्न थाले ओठले। कताकता टाढाटाढा दृष्टि फैलाएझैँ गर्दै सर्को तान्थे उनी। बेलाबेला चुरोटको टुप्पाबाट खरानीको अंश पनि खसाल्न छोड्दैनथे। यो क्रम चलिरहन्थ्यो एकनासले, चुरोटको रूप धुवाँमा अनुवाद भएर नसकिउन्जेल।

गाउँघरतिर सलाई बालेर र आगोको कोइलाको सहायताले चुरोट सल्काएको त देखको थिएँ त्यसअघि पनि। तमाखुको लागि त चिलिममा आगोको कोइला नै नराखी हुने थिएन। चुरोट हातका औंलाले नै च्यापेर तान्थे सबै। त्यसमा एकप्रकारको वर्गीय समानता झल्किन्थ्यो। तर तमाखु तान्नेहरूबीच भने असमानता अनुमान गर्न सकिन्थ्यो। कमजोर आर्थिक पृष्ठभूमिका मान्छे सानो बाँसलाई काटेर सोते बनाउथे र त्यसको टुटोमा चिलिम अड्याएर धुवाँ तान्थे। आर्थिक रूपमा अलि सबल मान्छेहरू चाहिँ यस्ता होइन, सानदार पित्तले हुक्कामाथि ठूलोखाले बुट्टे चिलिम जोडेर नलीबाट धुवाँ तान्थे, तनतनी। हुक्का तान्दा त्यसमा राखिएको पानीको आवाज पनि आउथ्यो, गुडुडुगुडुडु। धूमपानबारे यो भन्दा बढी देखेको थिइनँ त्यसअघि। अनि त हाते लेन्सले चुरोट सल्काएको देख्दा तीन छक परियो, विद्यालय टेकेकै दिन।

एक हातमा सानो लेन्स, अर्को हातमा चुरोट। ‘खौराल सर’ ठूलै प्राप्तिमा जुटेझैँ ध्यानस्थ देखिन थाले। घामको प्रकाशमा लेन्सको तल चुरोटको एक छेउ पारे। एकैछिनमा चुरोट पुत्पुताउँथ्यो। हामी चकित परेर हेथ्र्यौं।
 

खकुराल या खकुरेल सायद केही थियो होला तिनको थर। निकै वर्षअघिको कुरा एकिन गर्न पनि गाह्रो। उनलाई चिन्नेहरूले भन्थे ‘खौराल सर’। चिनारीसूचक त्यही शब्दले चिनिए वा चिनाइए हामीमाझ पनि उनी। हुन त लामो समय पढ्न पाएनौं उनीसँग। मैले विद्यालयीय शिक्षा लिन सुरु गरेको एक–डेढ वर्षजतिमै उनी सरुवा भई हाले टाढा, तराईतिरको कुनै जिल्लामा। त्यसपछि फर्केनन्। समयान्तरमा उनलाई देख्नेभेट्ने त निकै परको कुरा, उनको हालखबर बोकेर कुनै बतासले समेत छुन आइपुगेको छैन आजसम्म।

कस्तो विडम्बना चेतनायात्राको प्रारम्भमा कलम समाउन सिकाउने त्यो एउटा आकृतिको न त मलाई वास्तविक नाम नै थाहा भयो, न उनको थरसम्म कसैले शुद्ध उच्चारण गरेको सुन्ने मौका मिल्यो। केबल एउटा धूमिल बिम्ब र थोरै याद बाहेक केही छैन। तिनलाई सम्झिँदा तिनीसँगै जोडिएर आउँछन् त्यतिबेला चामत्कारिक लागेको त्यही हाते लेन्स, पातलो चेहराको उनको अग्लो शरीर र दुई औंलाको कापबाट फुरुरु उडिरहने चुरोटको धुवाँ।

पछि बुझेँ, चुरोट सल्काउने प्रयोजनका लागि मात्र पक्कै किनिएको थिएन त्यो हाते लेन्स। हाते लेन्ससँगै, सूक्ष्मदर्शक यन्त्र र अन्य केही सामान्य उपकरण पनि रहेछन् विद्यालयमा। विज्ञान विषय पढाउँदा प्रसंग अनुसार प्रयोग गर्न, गराउन मिल्ने। तर, प्रयोग गरेर देखाउने कसले ? म सातौं श्रेणीसम्म पढेको धादिङको बेनिघाट रोराङस्थित पीपलभञ्ज्याङ विद्यालयमा त्यो बेला शिक्षक भन्नु नाम मात्रका जस्ता। विषयगत दक्षता हासिल गरेका भेटिनु त निकै दुरुह, निकै असम्भव। पृथ्वी राजमार्गबाट करिब १२ किलोमिटर टाढाको बस्तीको त गति यस्तो, अझ दुर्गमका विद्यालय त कसरी चलेका थिए होलान् त्यति बेला ? उज्यालो भइसकेको तर बादल आकाशबाट फाटेर छ्याङ्ग हुन नसकेको जस्तो परिवेश।

आइकम पढेका तराईतिरका युवा पुगेका थिए जागिर खोज्दै गाउँ। ‘अड्कोपड्को तेलको धुप’ भनेझैँ उनैलाई अघि सारिएको थियो विज्ञान र अंग्रेजी पढाउन। अर्का आइएल पढेकाले पढाउँथे नेपाली। प्राथमिक तहका शिक्षकले पनि पढाउँथे माथिल्लो तहसम्म। जसोतसो विद्यालयीय क्षिक्षा सक्नेबित्तिकै यताउता मिलाएर विद्यालयमा घुसेका हुन्थे जागिर खान धेरैजसो। कुन विषयको विशिष्टीकरण भन्ने टुंगै थिएन। केवल पढाउँथे, पढाउनकै लागि।

यस्तो पृष्ठभूमिमा विज्ञान विषय पढाउँदा कामयाबी हुने दुई–चार वटा प्रयोगात्मक उपकरण विद्यालयमा भए पनि त्यसको सार्थक प्रयोग हुन सक्ने कुुरै थिएन। ती त वर्षौंदेखि कैद थिए विद्यालयको पुरानो काठे दराजमा।

प्रयोजन अलग तर भरपुर प्रयोगचाहिँ त्यही हाते लेन्सको भएको देखियो, ‘खौराल सर’ विद्यालयमा रहुन्जेल। उनलाई धुवाँ तानिरहनुपर्ने। एकप्रकारले भन्दा सलाई किन्नुपर्ने वा आगो खोज्नुपर्ने झन्झटबाट मुक्ति मिलेको थियो उनलाई। अरूले जे ठानून्, उनलाई मितव्ययी हुनुको थोरै तृप्ति पनि थपिन्थ्यो चुरोटको धुवाँबाट मिल्ने नशादार प्राप्तिको भ्रमसँगै।

उनी विद्यालयको आँगन र भ-याङछेउमै पनि सल्काइरहन्थे चुरोट त्यही हाते लेन्सबाट। अन्य बालबालिकालाई जस्तै अनौठो र रहस्यमयी वस्तु बनिदिन्थ्यो मलाई पनि त्यो लेन्स। ६/७ वर्षको जिज्ञासु उमेर न हो, ‘कसले बनाएको होला यस्तो लेन्स, त्यसले कसरी आगो निकाल्न सकेको होला, कहाँ किन्न पाइएला, त्यसलाई छुन र प्रयोग गर्न पाए कति मज्जा आउँदो हो ?’ यस्तैयस्तै प्रश्नहरूको तुवाँलोले ढाक्थ्यो मेरो मानसपटल। एकटकले घोत्लिएर हेर्थें लेन्सले चुरोट सल्काएको दृश्य।

आफूसँग भएका पाठ्यपुस्तक, कापी र पेन्सिलभन्दा कैयौँ गुना बढी महत्वको, अझ भन्नुपर्दा ठूलै चामत्कारिक चीज बन्न पुगेको थियो त्यो सानो हाते लेन्स। आफ्ना साथीहरूलाई सोध्थेँ पनि, त्यो कहाँ किन्न पाइएला र कति मूल्य पर्ला भनेर। सबै उस्तै, कसले दिनु सही जानकारी ? ठोस उत्तर पाउनु त मरुभूमिमा कुवा भेट्नुजस्तै मुस्किल।

कहिलेकाहीँ लाग्थ्यो– चुरोट सल्काइरहेका बेला ती सरलाई नै सोध्यौ लेन्सबारे। तर, आँट कहाँ आउनु ? झट्ट भयकारी बिम्ब अगाडि उभिई हाल्थ्यो। उनको लामो हात अनि ठूलो पञ्जा भएको हत्केलाको छायाँ मात्रले पनि सातो जान्थ्यो। त्यसबारे उनलाई सोध्नु र बाघको जुँगा तान्न जानु उस्तै लाग्थ्यो। सोध्ने हिम्मत कसको ?

कहिलेकाहीँ गल्ती गर्दा वा उनको बुझाइको ‘अनुशासनहीन’ कार्य गर्दा अरूलाई लगाएको झप्पु देख्दा नै म हायलकायल भइसककेको थिएँ। जमाना भनूँ कि परिपाटीको दोष ? त्यो बेला त्यस्तै थियो शिक्षकसँग सबैभन्दा डर लाग्ने। झन् उनीसँग त सबै थर्कमान् ! अनि कसरी सोध्न सक्नु अतिरिक्त जिज्ञासा, त्यो पनि चुरोट सल्काएका बेला ? लघुताभासले ग्रसित हुँदा पनि कतिकति प्रश्नहरू तुहिएर खेर जाने रहेछन्।

‘समयसमयको बात’ भनेको यही होला, अहिलेजस्तो भए आफ्नै विद्यार्थीसामु कुन शिक्षकले त्यसरी हाँकाहाँकी देखाउन सक्लान् चुरोटको धुवाँ ? उनी कुन मनोविज्ञान र रुचिले त्यसो गर्थे, त्यो त उनैले जान्ने कुरा। अन्य शिक्षकले पनि धूम्रपान गर्थे कि नाई थाहा भएन। त्यसरी खुलेयाम धुवाँ उडाइबस्ने अर्को अम्मली गुरुचाहिँ कोही भेटिनँ मैले उनीबाहेक। लुकिछिपी गर्नेको अर्कै कुरा। सबैजस्ता शिक्षक र प्रधानाध्यापक नै आफूभन्दा उमेरले कनिष्ठ हुनुको फाइदा पो उनले उठाएका थिए कि !

एक/डेढ वर्ष उनको गुरुत्वको छहारीमा बित्यो मेरो प्रारम्भिक शिष्यकाल। बेलाबेला चुरोटको धुवाँ उड्दा बन्ने अनेक अस्थिर चित्रमय आकृति पनि जोडिएर आउँछन् आँखामा त्यो समयसँग जोडिएर। विद्यालयमा कोठा नै त अपुग थिएन, तैपनि उनको पारा अलि बेग्लै। धेरैजसो समय विद्यालयको प्रांगणमा दुबोको गलैँचामा बसेर पढियो उनीसँग। गर्मीका बेला रूखको छाया, जाडोमा घाम प्यारो। हामीले पनि मज्जा नलिनुपर्ने कारण थिएन।

पढ्नकै लागि भनेजस्तो गरेर, उनका अघि कोर्सका किताब पल्टाएर बसेका हुन्थ्यौं। ‘ज्यान पूजामा मन भुजामा’ भनेजस्तो, पढ्नुमा भन्दा बढी उत्सुकता उनले कति बेला हाते लेन्स निकान्लान् र चुरोटतिर तेसारेर धुवाँ पुतपुताउन थाल्लान् भन्नेमा हुन्थ्यो। मानौँ, त्यो लेन्स एउटा आश्चर्यको वस्तु हो। त्यसबाट आगो निक्लनु सबैभन्दा ठूलो चमत्कार। हामीलाई केही बेरको कक्षाकार्य दिएर उनी चुरोट सल्काउन जब लेन्स सोझ्याउन थाल्थे, हामी लेख्नै बिर्सिएर वाल्ल पर्दै लेन्सतिरै ध्यान केन्द्रित गथ्र्यौं।

आखिर नवीन कुरा जान्न र व्यावहारिक अर्थमा बुझ्न किताबी पाठलाई मात्र आँखा चिम्याइएर घोकाइनुपर्छ भन्ने कहाँ छ र ? तर, त्यति बेलाको पढाइ परम्परावादी ढर्राको। घोक्नु र घोकाउनुको सीमालाई नाघ्नै नसकेको अवस्था। गुरुको मनसिकतामा जमेर बसेको कर्मकाण्डी हिउँ पग्लिएकै थिएन। अनि बेकारको कुरा भएन बालमनोविज्ञानमा आधारित सिकाइको अपेक्षा ? शिक्षणपद्दति वैज्ञानिक र व्यावहारिक बनाउन आ–आफ्ना भूमिकामा कतिका प्रस्ट छन् कुन्नि अहिलेका सरोकारवाला ? नदीमा पानी मात्र धेरै बगेर केही हुन्न, सोचको काई नपखालिए।

बालकका नांगा आँखाअघि देखिने र पाइलापाइलामा भोगिने सबै सन्दर्भ सिकाइका खुल्ला मैदान हुन्। व्यावहारिक ढाँचामा लिइने शिक्षा सन्तुलित हुन्छ, स्वाभाविक र सिर्जनात्मक बन्छ। वैज्ञानिक अभ्यासबिनाको सिकाइ आंशिक सिकाइ मात्र हो। पर्याप्त छैन यस्तो शिक्षा जीवन बुझ्न।

बाल्यकाल आफैँमा जिज्ञासामय उमेर। जगतप्रतिको उत्सुकताले नै त उघार्छ सम्भावनाको क्षितिज। पढाइका नाममा कृत्रिमताको भारी बोकाउने होइन, सिर्जनाको संसारमा आनन्दपूर्वक रम्न दिनुपर्छ।

परिवेश त्यस्तै थियो, सानो छँदा पढाइका नाममा म आफैले पनि निकै बोक्नुप¥यो कृत्रिमताका भारी। सिर्जनात्मक बन्न सिकाएन विद्यालयको चौघेराले। त्यो समय सम्झँदा मनभित्र उड्ने प्रश्नको भुइँकुहिरो अझै बाँकी छन्, मनभित्र कतिकति।

शिक्षकको भूमिका केवल मार्गदर्शक र सहयोगीको पो हो त। अचम्म, किन अभिनय गर्नु सर्वज्ञजस्तो ? बालबालिका स्वयंभित्र नै हुन्छ सम्भावना। त्यसलाई उजागर गर्ने वातावरण बनाइदिए पुग्छ, शैक्षिक गतिशीलताले। आफ्नै बाल्यकालीन सन्दर्भको समीक्षा गर्दा यतिचाहिँ निष्कर्ष निकाल्न सकेको छु। आखिर सिकाइ र बुझाइको यात्रा कहिले पो सकिन्छ र ? जीवनका जिज्ञासामय लहर र छालहरूले नै त ल्याउँछन् नवीन दृष्टि र नूतन आविष्कार।

विद्यालय टेकेको पहिलो प्रहरमै छूँछूँ लागेर छुन नपाएको, चलाऊँचलाऊँ लागेर चलाउन नसकेको त्यही लेन्सबाट अहिले हेर्दा जे देख्छु, त्यो बेला देखिने कुरा सायद देख्न सक्दिनँ म। भौतिकताका दृष्टिले वस्तु उही, त्यसबाट देखिने कुरा र त्यसको प्रयोग पनि उस्तै। यी सब हुँदाहुँदै पनि त्यो बेला देख्न चाहेको कुराचाहिँ किन देख्न सकिँदैन त अहिले त्यही वस्तुबाट ? प्रश्न बाँकी छ आफैंसित, प्रश्न बाँकी छ समयसित।

प्रकाशित: ४ श्रावण २०७६ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?