९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

पूर्वराजदूतहरूको अनुभव

प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण दलमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विसं २०६६ तिर डेनमार्कको कोपनहेगन सहरमा पुग्यौँ। त्यसअगावै जलवायु परिवर्तनका क्षेत्रमा हाम्रो तयारीको तामझाम निकै थियो जस्तो हामीलाई लागेको थियो। किनभने हामीले सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद् बैठक गरेका थियौँ। विश्वका मिडियाले समाचार पनि सम्प्रेषण गरेका थिए। त्यो सन्देश विश्वमै पुगेको छ भन्ने हाम्रो अनुमान थियो। 

हामी कोपनहेगन पुगेपछि भने एउटा सानो घटनाले निराश बनाइदियो। अमेरिकीदेखि विश्वका सय भन्दा बढी देशका राष्ट्रपति, प्रधानमन्त्री समेतको उपस्थिति हुने भएकाले त्यस सम्मेलनको निकै ठूलो तयारी र प्रचारप्रसार थियो। सम्मेलनको अलग्गै वेभसाइट बनाइएको थियो। तर, त्यो वेभसाइट खुल्नासाथ आउने एउटा सूचना भने हाम्रो कालापत्थर बैठकको थिएन, मालदिभ्सको समुद्रमुनिको मन्त्रिपरिषद् बैठकको थियो। त्यो सम्मेलनको केहीअघि अर्थात् हाम्रो कालापत्थर बैठकपछि उनीहरुले सबैभन्दा होचो भूभागमा अर्थात् समुद्रमुनि बैठक गरेका थिए। यी दुवै बैठकको विश्व सन्देश थियो– जलवायु परिवर्तनले विश्वमा पारेको र पार्न सक्ने असर। 

त्यो कुरा देखेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजाललाई भन्यौँ र उनले प्रधानमन्त्रीलाई रिपोर्टिङ गरे। प्रधानमन्त्रीले त्यसमा संलग्न हुनुपर्ने नेपाली कूटनीतिक अधिकारीलाई सोधपुछ गरे। के कुरा बुझियो भने हामीले गरेको मन्त्रिपरिषद्को ऐतिहासिक बैठकको प्रचार जुन रूपमा हुनुपथ्र्याे, जुन निकाय र जहाँ पुग्नुपथ्र्याे त्यहाँ पु-याउन हाम्रो कूटनीतिले सकेको रहेनछ।
त्यसबेला पनि रिजालले सरकारका कामहरूलाई पछि रहने गरी र देखिने गरी दस्तावेजीकरण गर्नुपर्छ भन्ने मनन् गरेका थिए। पछि प्रधानमन्त्रीका महत्वपूर्ण भाषणको संगालो प्रकाशन गरे। यसले कतिपय रिफरेन्सका लागि यस क्षेत्रका जानकार, अनुसन्धानकर्ता र शोधार्थीका लागि पनि सजिलो बनाउँछ। अनि मुलुकको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा के कुरालाई उठाएका थिए भन्ने बारेमा थाहा पाउन पनि सजिलो बनाउँछ। सार्कको १८ औँ शिखर सम्मेलनका सहभागीलाई वितरण गर्ने गरी प्रकाशन गरिएको ‘सार्क’ पुस्तकको सम्पादकको जम्मेवारी मैले पाएको थिएँ। त्यसमा सार्कको पहिलो शिखर सम्मेलनमा सहभागी संस्थापक नेताको  सम्बोधन राख्न पाए राम्रो हुन्छ जस्तो लाग्यो। यो दस्ताबेज धेरै खोजेँ, सहजै भेटिएन। पछि सार्क सचिवालयको लाइब्रेरीमा पनि कैयौँ दिनको खोजपछि दुःख गरी भेटिएको थियो, जुन एउटा ऐतिहासिक दस्ताबेज थियो। यसरी हामीकहाँ महत्वपूर्ण दस्ताबेज भेट्न कठिन छ। 

लेखिनुपर्ने तर नलेखिएका कुराका केही दृष्टान्त हुन् यी। हामीकहाँ लिखितभन्दा मौखिकै इतिहास बढी छ। ती मौखिक महत्वपूर्ण तथ्यहरूलाई स्मृतिमा छँदै उतार्न पाए सधैँका लागि सम्पत्ति नै हुन्छ। कसैको अनुभवलाई पुस्तकमा सुरक्षित गर्नु भनेको अर्काे महत्वपूर्ण तर दुर्लभ कुरा हो। कुनै व्यक्तिका अनुभव ऊ बिदा भएसँगै जान्छन्। त्यसैले तिनलाई संरक्षित गरिराख्नु अति महत्वपूर्ण हुन्छ। यस्तै महत्वपूर्ण काम गरेका छन्– पत्रकार विष्णु रिजालले। उनले सम्पादन गरीे ‘नेपालको कूटनीतिक अभ्यास राजदूतहरूको अनुभव’ पुस्तक पाठकलाई अर्पण गरेका छन्।   

नेपालका पूर्व राजदूतहरूमध्ये ८० वर्षे उमेरको हाराहारीकाहरूको  अनुभवलाई उनले पुस्तकमा उतारेका छन्। ‘हामीसँग पुराना कागजात नभएका होइनन्। तर, तिनलाई सार्वजनिक जानकारीमा ल्याउने काम नहुँदा हाम्रा अध्ययन परनिर्भर भएको यथार्थ छ’ भनेर उनले यो काम थालेको देखिन्छ। केही वर्षमात्र पुराना दस्तावेज पनि पाउन अहिले गाह्रै रहेको अवस्थामा यी अनुभवी कूटनीतिज्ञका विचार र अनुभवले नेपालको परराष्ट्र नीतिमा राम्रै सघाउ पुग्नेछ। सम्पादकले भारतीय राजदूत केभी राजनले सम्पादन गरेको त्यहाँका पूर्व राजदूतका अनुभव समेटेर तयार पारेको पुस्तक पढेर त्यसबाट प्रभावित भएको पनि बताएका छन्। 

पत्रकार विष्णु रिजालले नेपालका पूर्व राजदूतहरूमध्ये ८० वर्षे उमेर हाराहारीकाहरूको अनुभवलाई समेटेर पुस्तक बनाएका छन्। यसरी कूटनीतिकजस्तो संवेदनशील क्षेत्रका अनुभवलाई पुस्तकमा दस्तावेजीकरण गर्नु राम्रो काम हो।


त्यसैगरी रिजालले नेपालमा सबैभन्दा धेरै अर्थात् चार पटक राजदूत भएका झरेन्द्रनारायण सिंहको महत्वपूर्ण अनुभव पनि पुस्तकमा राखेका छन्। पुस्तकमा समेटिएका अनुभवहरू महत्वपूर्ण छन्। राजदूत आफ्नो देशलाई विश्वसमक्ष जोड्ने पुल हुन्। उनीहरूसँग कूटनीति सञ्चालनको मात्र नभएर त्यस देशका धेरै पक्षको ज्ञान हुन्छ। तिथि, मिति या अन्य लिखित तथ्य त भेटिएलान्। तर, व्यक्तिका अनुभव उनीहरुसँगै जान्छन्। जिवित छँदै अभिव्यक्त अनुभवमा उनका अर्ति लिन पाइन्छ, जसबाट आगामी दिनमा आइपर्नसक्ने अप्ठेरालाई चिर्न पाइन्छ भन्ने धारणा रिजालको छ।

पुस्तकमा विभिन्न देशमा काम गरेका २० जना राजदूतको अनुभव समेटिएको छ। तर, राजनीतिक नियुक्ति, परराष्ट्रकै सेवाकालीन, न्याय क्षेत्रबाट निवृत्त तथा सुरक्षा सेवाबाट निवृत्त, मन्त्री भइसकेकादेखि नेपालको राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक लगायतका क्षेत्रमा विशिष्ठ पहिचान बनाइसकेका व्यक्तिबाट राजदूत भएकालाई समेटिएको छ। यसले ती क्षेत्रमा ती देशमा पुगेर राजदूतहरूले राष्ट्रका लागि के कस्ता कार्य सम्पादन गर्न सकेका थिए भन्ने महत्वपूर्ण अनुभव उजागर गरिदिएको छ। जस्तो कि डा. भेषबहादुर थापाले आफू राजदूत भएर गएको अमेरिका र भारतमा आर्थिक कूटनीतिका क्षेत्रमा गरेका कार्यबाट स्पष्ट हुन्छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति भइसकेका केदारभक्त माथेमा जापानको राजदूत भएर जाँदा उनलाई त्यहाँका विश्वविद्यालयले गरेको आमन्त्रण र मानसम्मानले अरु देशका राजदूतहरूलाई पनि आश्चर्यमा पारेको थाहा हुन्छ। 

दक्षिण कोरियाका राजदूतका रूपमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयमा कमल कोइरालाले गरेको पहलबाट अहिलेको र अब आउने सिंगो कूटनीतिक जगतले भरपुर सिक्न सक्छ। कुनै एक देशको सारा पाठ्यक्रम नै त्यस देशमा राजदूत भएर गएको व्यक्तिले परिवर्तन गराउन सकेको घटनालाई सानो उदाहरणका रूपमा मात्र लिन मिल्दैन। देश जतिसुकै ठूलो होस् राजदूतहरूसँग यतिसम्म क्षमता हुन्छ भनेर अन्यत्रकाले पनि शिक्षा लिन सक्नुपर्छ। त्यस्तै उनको अनुभवले कूटनीतिको कुशल विस्तारका लागि मिडियाको भूमिका पनि महत्वपूर्ण हुन्छ भन्ने शिक्षा लिन सकिन्छ। जस्तो कि राजदूत कोइरालाले दक्षिण कोरियाका राष्ट्रपतिलाई बुद्ध नेपालमा जन्मेका हुन्, दक्षिण कोरियाका पाठ्यक्रममा भारतमा लेखिएकाले त्यो सच्याइनुप-यो भनेर लेखेको पत्रका विषयमा कान्तिपुरमा समाचार बनेको र त्यो समाचार दक्षिण कोरियाको एक चर्चित अंग्रेजी दैनिकमा आएपछि राष्ट्रपति कार्यालयबाट बढी चासो लिइएको प्रसंग उल्लेख छ।

माथेमा राजदूत भएर जापान गएपछि जापानीहरुको नेपालप्रति त्यसताका परेको चिसोपनलाई मेटाउन उनको कूटनीतिक प्रयास कस्तो रह्यो भन्ने अनुभवबाट पनि देशले राम्ररी सिक्न सक्छ। जापान नेपालको ठूलो दाताराष्ट्र, तर पनि सुरक्षा परिषदको सदस्यमा उठेको जापानलाई नेपालले भोट दिन सकेन। त्यस्तो अवस्थामा दुई देशबीचको सम्बन्ध कस्तो भएको थियो भनेर अनुमान जो कोहीले पनि लगाउन सक्छ। यस्तोमा जापानले दुखाएको चित्त टाल्न एकजना कुशल राजदूतको जवाफ कति महत्वको थियो भन्ने विषय बडो संवेदनशील छ, पुस्तकमा त्यो प्रसंग छ।

यस विषयमा जापानीहरुले केही सोधे भने के जवाफ दिने भनेर राजदूत माथेमाले गरेको तयारी पनि प्रसंशनीय छ। उनले यसमा वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनाललाई सोधेका र उनले दिएको जवाफ नै त्यहाँ गएर जापानीलाई दिएका थिए।

खनालले माथेमालाई दिएको सुझाव सबै राजदूतका लागि मनन्योग्य हुनसक्छ। उहाँ भन्नुहुन्छ, ‘जापान जानुअघि म वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनाललाई भेट्न गएको थिएँ। उहाँले मलाई भन्नुभएको थियो, अब तपाईँका तीन ओटा मालिक भएका छन्। पहिलो, जुन सरकारले पठायो, त्यो भइहाल्यो। दोस्रो, जुन सरकारले तपाईँलाई आतिथ्य दिन्छ, त्यो पनि तपाईँको मालिक हो र तेस्रो मालिक नेपाली जनता हुन्। अझ सबैभन्दा ठूला मालिक नै तिनै हुन्। कुनै निर्णय लिनुभन्दा पहिले यसबाट नेपाली जनतालाई के असर पर्छ भन्ने कुरामा ध्यान दिनुहोला।’

यसरी देश र जनतालाई मालिक बनाएर काम गर्नु त्यो कामदारको पहिलो कर्तव्य हो भन्ने सन्देश यसमा छ। यो प्राण वाक्यलाई सबै राजदूतले मनन् गर्न सक्दामात्र हाम्रो देशको राष्ट्रिय स्वार्थ र हितमा हाम्रो देशको परराष्ट्र नीति सञ्चालित हुन सक्छ, गर्न सकिन्छ।

उता राजदूतका रूपमा उबेलै डा. भेषबहादुर थापाले गरेको आर्थिक कूटनीतिको अभ्यासको कुरा गर्ने हो भने अहिले आएर नेपाल दशकौँपछि परेको भान हुन्छ। हिजोआजका सरकारले आर्थिक कूटनीतिलाई नयाँ जस्तो गरेर प्रचार गरिरहेको देखिन्छ। तर, अमेरिकामा पढाइ गर्दा सबैभन्दा अब्बल नेपाली विद्यार्थी हुन सफल उनलाई राजा महेन्द्र अमेरिकामा गएका बेला थाहा पाएर स्वदेश झिकाएका थिए। त्यसताका नै उनलाई अमेरिकामा आर्थिक क्रियाकलापमा कूटनीतिक पहलका केही ‘असाइनमेन्ट’ दिएको देखिन्छ। उनी पछि राजदूत भएपछि पनि आर्थिक कूटनीतिलाई नै बढी बढावा दिएको उनको अनुभवबाट बुझिन्छ। यसले आफ्नो पढाइमा अब्बल भेषबहादुरलाई नेपाल झिकाएर राजाले दिएको यो कामबाट नेपालका अहिलेका शासक– प्रशासकहरूले पनि सक्षमलाई के कसरी स्थान दिनुपर्छ भनेर पनि सिक्न सक्नेछन्।

यस्ता दृष्टान्त, अनुभव र प्रेरणाका कुरा पुस्तकमा धेरै छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको भाग दुई पनि आउनुपर्ने यसै प्रकाशनबाट देखिन्छ। अहिले ८० वर्षे उमेर हाराहारीका राजदूत समेटिएकामा आगामी प्रकाशनमा त्यसपछिको पुस्ताका अनुभव पनि समेट्न पाए राम्रै हुनेछ। जेहोस, यस पुस्तकले नेपालको मौखिक इतिहासलाई संरक्षण र सुरक्षित गर्ने प्रसंशनीय काम गरेको छ।

प्रकाशित: ४ श्रावण २०७६ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App