१६ चैत्र २०८० शुक्रबार
अन्य

गर्मीमा छालाको विशेष स्याहार

हाम्रो छालाको हेरचाहका लागि अन्य समयमा भन्दा गर्मी समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। टन्टलापुर घाम अनि तातो हावाले छालालाई बिगार गर्छ। बिना शाक्य स्कार्फले अनुहार ढाकेर मात्र बाहिर निस्किन्छिन्। पातलो स्कार्फले अनुहार छोपेर बाहिर जानु उनको दैनिकी नै भैसक्यो।

‘यस्तो घाम छ, अनुहारमा डाइरेक्ट घाम पर्छ त्यसैले स्कार्फ प्रयोग गर्छु,’ उनले भनिन्। स्कार्फ किन्दा छालालाई नपोल्ने खालको पातलो सुतीको प्रयोग गर्ने उनले बताइन्। स्कार्फ, चस्माबिना हेर्नसमेत नसकिने उनी बताउँछिन्।

गर्मी मौसममा छालालाई सफा बनाइराख्नु पर्छ। चिसो अनि सफा पानीले समयसमयमा मुहार सफा गर्ने, दैनिक रुपमा शरीरलाई आवश्यक पर्ने जति पानी पिउनुपर्छ। हरियो सागपात, पहेँलो फलफूल आदि शरीरलाई आवश्यक स्वास्थ्यबद्र्धक खानामा जोड दिए छालाको भित्रैदेखि स्याहार हुन्छ।  छालालाई स्वस्थ बनाई राख्न दैनिकीमा विशेष ध्यान दिनु आवश्यक भएजस्तै बाहिरी शरीरको भाग छालाको स्यहार गर्न पनि विभिन्न माध्यमहरुको प्रयोग गर्न सकिन्छ। बाहिर हिँड्दा आवश्यक सरसामानको विशेष ख्याल राख्नुपर्ने हुन्छ। घाममा प्रत्यक्ष छालामा असर नपरोस् भन्नका लागि छाता र पानीको बोटल हमेसा साथमा राख्नुपर्छ। इच्छा र रुचिअनुसार टाउकोमा ह्याट वा क्याप लगाउने। यस्तै विभिन्न माध्यमको प्रयोग गरी गर्मीको मौसममा छालाको स्याहार गर्न सकिन्छ।

गर्मी मौसमको सूर्यको तापक्रमसँगै वहने तातो हावाबाट पनि छालालाई बचाउनु पर्छ। हाम्रो छालाको प्राकृतिक सुन्दरतामा कमी ल्याई छालालाई कुरुप बनाएले विभिन्न छालासम्बन्धी समस्यासमेत आउने हुनाले विशेष ध्यान दिनु आवश्यक छ। गर्मीले छालाको प्राकृतिक सुन्दरतालाई मारी बेजान अनि फुस्रो बनाउने भएकाले विशेष ध्यान दिनुपर्छ।

मानिसअनुसार छालाको प्रकृति पनि फरक–फरक हुन्छ। छालाको प्रकृतिअनुसार स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन्। गर्मी मौसममा चिल्लो छालालाई विशेष मोस्चराइजर, सनब्लक क्रिम, फेसवासलगायत विभिन्न प्रोडक्टमा ध्यान दिनुपर्ने बताउँछिन् मञ्जु बुढाथोकी। न्यू चाहाना ब्युटिपार्लरकी सञ्चालिकासमेत रहेकी उनी भन्छिन्, ‘गर्मी मौसममा फुस्रो छालालाई विशेष ध्यान दिनुपर्छ, सेन्सेटिभ स्किन भएकाले विशेष ध्यान दिनुपर्छ।’ छालालाई विशेषगरी तीन प्रकारमा विभाजन गरिने उनी बताउँछिन्।

पुल्चोकीकी सपना मालीको सामान्य छाला रहेको उनले बताइन्। बजारमा पाइने विभिन्न प्रोडक्टभन्दा घरमै बनाउन सकिने लेप लगाउने उनी बताउँछिन्। ‘मेरो सामान्य छाला भएकाले अन्य छालाजस्तो दुःख गर्नु भने पर्दैन, मौसमअनुसार घरेलु पेस्ट लगाउने गर्छु’ उनले भनिन्। घाममा निस्कँदा मैले सनब्लक क्रिम प्रयोग गर्छु। सामान्य छाला भएकाले मोस्चराइजर पनि लगाउने उनी बताउँछिन्। उनी भन्छिन, ‘खासमा छाला सफा र स्वस्थ हुन मौसमअनुसारको तरकारी, फलफूल र शरीरलाई आवश्यक मात्रामा पानी पिउनुपर्छ।’  प्रायः दिनभरि बाहिर डुलेर आएपछि सफा, चिसो पानीले अनुहार धुने उनी बताउँछिन्। ‘घरबाट निस्कँदा गरिएको मेकपसँगै दिनभरिको धुलोले अनुहार नै थाक्ने हुनाले सुत्नु अघि नियमित धुन्छु,’ उनले भनिन्। राति सुत्नुभन्दा अगाडि सफा पानीले अनुहारलाई धुँदा छालामा अक्सिजनको रिकभर हुने उनी बताउँछिन्।

पाटन ढोकाकी सोनी मालाकारले ह्याब्बी मेकप गर्दिनन्। ब्याचलरकी विद्यार्थी उनी बिहान कलेज जाँदा हल्का सनब्लक लगाएर जाने बताउँछिन्। ‘मलाई मेकअप गर्न मन पर्दैन, प्रायः बाहिर जानु प¥योे भने सनब्लक क्रिम र चिपिस्टिक लगाउँछु,’ उनले भनिन्। अनुहारमा चिल्लोपना निकै हुनाले अनुहारको चमक नै चिल्लोले छोप्ने उनी गुनासो गर्छिन्। उनी भन्छिन्, ‘अन्य समयमा भन्दा गर्मी मौसममा निकै पसिना आउँछ, एकछिनमा फ्रेस भयो एक छिनमै पसिनाले थाकेजस्तो, चिल्लो बनाइदिन्छ,’ उनले भनिन्। उनलाई पसिना धेरै आउने भएकाले कतै हिँड्न मन नलाग्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘पसिना आउँछ आएको पसिना पुच्छ्दा पुच्छ्दा रातो हुने, छाला नै फुटेजस्तो हुदाँ निकै पीडा हुन्छ।’ 

उनी यस्ताखालका समस्याबाट बच्न चस्मा, स्कार्फ, छाताको नियमित प्रयोग गर्छिन्। चिल्लोपनाकै कारण नियमित पिम्पल्स आउने उनी बताउँछिन्।

छालाको स्याहारका लागि प्रयोग गरिने विभिन्न प्रोडक्टहरुमा कम्परमाइज गर्न नहुने बताउँछिन् न्यु लुक्स ब्युटिपार्लरकी ब्युटिसियन सञ्जु श्रेष्ठ। विभिन्न प्रोडक्टहरुमा छालालाई बिगार गर्ने किसिमका केमिकल राखिएको हुँदा सामान किन्दा ध्यान दिनुपर्ने उनी सुझाउँछिन्। ‘जुन पायो त्यही प्रोडक्ट लगाउनु हुँदैन, छालालाई सुट गर्ने र नकारात्मक असर नगर्ने प्रोडक्ट प्रयोग गर्नुपर्छ,’ उनले भनिन्। छाला अनुसार स्याहार गर्नुपर्ने उनी बताउँछिन्।

धेरै फुस्रो, धेरै चिल्लो छाला भए छालाअनुसारको टोनरको प्रयोग गर्नु उचित मानिने उनी सुझाउँछिन्। घाममा बाहिर निस्कनै पर्ने भए सन ब्लक क्रिम अनिवार्य प्रयोग गर्नुपर्ने उनी बताउँछिन्। सुत्नुअघि एकपटक सफा पानीले अनुहार, हातखुट्टा सफासँग धोएर मात्र सुत्नु पर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘दिनभरिको थकान हटाएर फ्रेस बनाउन मद्दत गर्ने भएकाले महिला पुरुष दुवैले ध्यान दिनुपर्छ।’

छालाको बाहिरी रुपमा स्याहार गरेर मात्र नहुने, शारीरिक रुपमा पनि ध्यान दिनुपर्ने उनी बताउँछिन्। महिनामा हप्तामा एक वा दुईपटक समय र छालाको प्रकार हेरेर घरेलु फेस प्याकसमेत बनाएर लगाउन सकिने उनी बताउँछिन्। छालाको प्रकृतिअनुसार फेसियल, क्लिजिङ गरेमा अनुहारको छालामा चमक आउने उनी बताउँछिन्। सकारात्मक सोचले अनुहारको सुन्दरतामा निखार ल्याउँछ। त्यसो हुनाले सधैँ मुस्कुराउँदा सुन्दर देखिने उनी बताउँछिन्।

पाटनकी पुष्पा मल्ल एक प्राइभेट कम्पनीमा काम गर्छिन्। छालाको स्याहारमा नियमित ध्यान दिने उनी बताउँछिन्। उनी भन्छिन्, ‘छालाको स्याहार गर्न महँगो सामान किन्नुपर्छ भन्ने छैन। ‘म छालालाई सफा र चम्किलो बनाउन हामीले दैनिक भान्छामा प्रयोग गरिने सामान नै प्रयोग गर्छु,’ उनी भन्छिन्, ‘अनुहारमा लगाउनलाई नै गमलामा घ्यूकुमारी लगाएकी छु।’ फेस प्याक आफँैले बनाएर लगाउँदा केमिकलले जस्तो नकारात्मक असर नगर्ने उनी बताउँछिन्। सामान्यतः कागती, मह, घ्यूकुमारी, मकैको पिठो, दही लगायतका सामग्री प्रयोग गर्ने उनी बताउँछिन्।

प्रकाशित: २१ असार २०७६ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App