४ वैशाख २०८१ मंगलबार
अन्य

झङ्कट

एउटा झङ्कटे कथा थियो। लेखिराखेको पनि छ महिना बितिसक्यो। धेरैले कथा मागिसक्दा पनि कथाकार वर्तुलले त्यो कथा दिएको थिएन। तर के गरेर फालेको काठ पनि एक दिन त काम लाग्छ भन्ने उखानझैं भयो। त्यो कथा आज पुनर्पठन गरेर, विनिर्माण गरेर  दिने विचार गरेको छ। कथाको शीर्षक दिइएको थिएन। पहिलेपहिले त पाठकलाई पजल दिन कुनैकुनै पत्रिकाले शीर्षकहीन कथाहरू छाप्थे। अचेल त्यो चलन हराएर गयो। समाजमा पठन संस्कृति नै घटेको छ।

वर्तुलको त्यो कथा कम्प्युटरमा सुरक्षित थियो। त्यसैले त्यो पुनर्पठन गर्न सजिलो भयो। फाइल खोलेपछि मनिटरमा कथा आयो। आफ्नै कथा त हो के पढ्नु जस्तो भइराखेको बेला कथामा छ के त भन्ने विनिर्माणवादी जिज्ञासा जाग्यो वर्तुलमा। बटुलबाटुल गरी झिँजाभुmँजीको कथाधरि लेख्ने जाँगर थियो उसमा। अधुरा कथाहरू पनि थिए कम्प्युटरमा जस्तै निवेदन, सडकछाप, माया भुल्ने मान्छे र अरूअरू शीर्षक कथा। वर्तुलको एउटा सङ्ग्रह पनि निस्क्यो— रूपलाल र अरू कथाहरू।

एक वरिष्ठ थिए जो दिवङ्गत भए। उनको आत्माले शान्ति पाओस्। वरिष्ठ हुनाको कारण दिवङ्गत भएका होइनन् तर पूरै उमेर बिताएर गए। उमेर छिप्पिएपछि वरिष्ठ पनि भइँदो रहेछ। तिनले भन्थे, ‘सङ्ग्रहको नाम रूपलाल र अरू कथाहरू किन राखेको? रूपलाल मात्र राखे भइहाल्थ्यो। मलाई सङ्ग्रहको त्यो नाम परेन।’ वरिष्ठलाई मन नपरे पनि सङ्ग्रह बजारमा आइसकेको थियो। वर्तुलको बायोडाटामा त्यसको नाम पनि उल्लेख हुन्थ्यो। कसैले मन नपराउँदैमा त्यस नामलाई ड्रप गर्ने कुरै भएन। बल्लतल्ल एउटा सङ्ग्रह छापिएको छ, त्यसैलाई ड्रप गर्ने हो भने बाँकी केही रहने थिएन।

हुन त के गरे हुँदैनथ्यो र? रूपलाल नामको कथा छापिएको सङ्ग्रहमा अरू कथा पनि छन् भन्ने जनाउ दिन ‘रूपलाल र अरू कथाहरू’ भन्ने नाम राखिएको हो। बिराइएको केही छैन। त्यो सङ्ग्रहको नाम ‘रूपलाल र अरू कथाहरू’ राख्दैमा के नै भइहालेको थियो र वर्तुलको जीवनमा? उसले कुनै उच्च पुरस्कार पाइहालेको थिएन। पाउने सम्भावना पनि थिएन। वरिष्ठले सङ्ग्रहको नाममा यसरी आपत्ति गरे, त्यो आपत्ति सार्वजनिक भयो र अन्ततः सङ्ग्रह पुरस्कारको सर्ट लिस्टमा पनि आएन। तर नामैले साहित्यमा भूकम्प पनि गइहालेको थिएन। दिवङ्गत नहुँदैदेखि वरिष्ठ थिए त्यस कारण मुखमुख लागेर ओठे जवाफ दिनु उचित ठानेन कथाकार वर्तुलले। मर्यादा भन्ने पनि एउटा केही हुन्छ। दिवङ्गत वरिष्ठले मर्यादा राखेका थिएनन्।

सङ्ग्रहको नामसरह कथाकारको वर्तुल नाम पनि ती वरिष्ठलाई मन पर्दैनथ्यो। उसको असली नाम के थियो त्यो कसैले सोधखोज गर्ने जमर्को गरेन। वरिष्ठ भन्थे, ‘असली नामैले लेखे पनि हुन्थ्यो। मुद्दा लाग्ने थिएन।’ तर कथाकारहरूको जमातमा यो अनौठै भए पनि एउटा नाम थपिएछ भनेर सबै चुप लागे। तर केहीले जजसले वर्तुललाई चिन्दथे वरिष्ठले झैं तिनले पनि केही भनिछाडे। कथाकारको नाम ‘वर्तुल’? यो कस्तो नाम? मानिसहरू छक्क पर्थे। कुनै ट्रकको पछाडि आँखा नलागोस् भनेर कालो रङमा जिभ्रो काढेको सिङसहितको सैतानको आकृति कोरिएजस्तो नाम— वर्तुल ! भेनोम पिक्चरको पात्रझैं !

कसैले सुझाए, ‘अर्को नाम राख्नोस्, एकदम स्मरणीय। छक्कापञ्जा नझल्किने। चिनैको नाम भए पनि चल्छ।’ वर्तुलले कसरी छक्कापञ्जा झल्कियो भन्ने सोध्न नपाउँदै थप प्रश्न आइहाल्यो, ‘उसरी तपाईंको चिनाको नाम के हो?’ उसको बिहे भइसकेको छ। व्रतबन्ध, विवाहका र दिनदशा ग्रहस्थित हेर्नका लागि चाहिने हो चिनाको नाम। उसलाई अर्को बिहे गर्नु थिएन। चिनाको नाम कहाँकहाँ चाहिन्छ भन्नेबारे उसको यो धारणा थियो। तैपनि ऊ भनिदिन सक्थ्यो, ‘मेरो चिनाको नाम रमेश हो।’ रमेश हुँदैमा वर्तुल उपनाम राख्न नपाइने धार्मिक वा कानुनी निषेध थिएन। तर अचेल कानुन कसले पालन गर्छ र?  

‘रमेश के? रमेशप्रसाद अथवा रमेशबहादुर?’ कथाकार वर्तुल छक्क पथ्र्यो। नाममै पाठकहरु पहिले नै सतर्क हुँदा रहेछन्। उसले लेखेका कथा वर्तुल नाममा छापिए पनि चल्न भने मुस्किल देख्यो। वर्तुल त्यति असुहाउँदिलो नाम थिएन यद्यपि ऊ दुब्लोपातलो सुँखुट्टे थियो, वर्तुल नाम मोटाएर गोलभएको मानिसका लागि सुहाउँछ भन्ने उसको धारणा थियो। तर अर्को नाम छान्न नपाइने थिएन। संस्कृतमा एकभन्दा अर्को अनौठा नाम छन्। संस्कृत विश्वकै सबभन्दा धनी भाषा हो। गरिबको घरमा बाँधिएको हात्तीजस्तो भइगयो र पो? चारो नपाएर खिइयो। तर आश्वस्ति यो थियो, उसले ‘अष्टावक्र’ नाम राखेको थिएन। वर्तुल मात्र राखेको थियो। सह्य हुनुपर्ने हो, पाठकका लागि पनि र उसलाई चिनेजानेकाहरूका लागि पनि।

त्यो छ महिनापहिले लेखेको कथाकार वर्तुलको आफ्नै कथा अहिले कथाकार वर्तुलले नै पुनर्पठन गर्दै छन्। अफसोस मान्नुपर्ने त केही थिएन तर कथाको शीर्षक थिएन। ऊ कतिपय कथाबिना शीर्षक नै लेखिभ्याउँछ अथवा बीचैमा अधुरै छाडिदिन्छ। यसरी कति कथा खुम्चेर बसेका छन्, मनिटरको गर्भमा।

यो जुन शीर्षकहीन कथा छ, यसलाई कताकति थपघट गरी प्रकाशनयोग्य बनाउन सकियो भने अहिले कथा मागेको नव सम्पादकको वा प्रकाशनार्थ अरू कुनै पत्रिकामा पठाउन सकिन्छ। वर्तुलले पत्रिकाका सम्पादकहरू चिनेजानेको छैन नत्र ऊ धाएरै पनि त्यो छपाएरै छाड्ने थियो। तिनका कार्यालय पनि टाढाटाढा छन्। ‘टाढामा टाढा जानु छ साथी’ यो बोलको गीत जस्तै घरबाट पूरै दिन बिदा लिएर निस्कर्नुे हुन्थ्यो। त्यसभन्दा सकस थियो भाडाको। पचाससाठी रुपैयाँमा चुना लाग्थ्यो।

त्यसमाथि पत्रपत्रिकाका सम्पादकहरू आ–आफ्ना डफ्फासहित तैनाथ रहन्छन्। डफ्फालाई उछिनेर नयाँले एउटा मात्रै पनि रचना छिराउन सक्नु चौबीसौँपटक सगरमाथा आरोहण भइसकेकाले सफलतापूर्वक पच्चिसौँ पटक आरोहण गरिएसरह हुने थियो।

अझ त्यसमाथि यो कथा त वर्तुलले झ्याङ्कट मानेर अलपत्र छाडेको प-यो। प्रयोगवादलाई बदनाम गर्नु भएन तर कथाको भाषा मिलाएर छपाएदेखि प्रयोगवादी कथामा दरिन पनि सक्छ नभए उत्तरआधुनिक कथा वा उत्तरउत्तर आधुनिक कथा वा विनिर्माणवादी कथा। केही नकेही निस्कने थियो। पहिलो कुरो त शीर्षकै छैन भने पछाडि यसलाई ‘स्टोरी रिभिजिटेड’ भन्ने पनि स्वतः सकिन्छ। रिभिजिटेड नभनेर रिलोडेड शब्द पनि छ। सम्भावना अथाह छ। साइबरिक भाषाले गर्नुगरेको छ। ठगविद्यामा होइन, साहित्यिक प्राविधिक भाषाको आविष्कारमा।

त्यसमाथि संजोग यस्तो परेको छ, अहिले कथाको डिमान्ड आएको छ। डिमान्ड यही शीर्षकहीन कथाको होइन तर उसले लेखेको कथाको। के फरक पर्छ ? कथा छ महिना पहिले लेखिएको होस् वा छ घण्टापहिले। पुरानो होस् वा नयाँ। कसैले उसमाथि ड्रोन छाडेर जासुसी गरेको छैन। बजारमा स्टोरीको सर्टेज छ, त्यसैले डिमान्ड छ भने आफ्नो मालको सप्लाई गर्नु ठीक छ। फलाम तातेको बेलामा ठटाउनु पर्छ।

यसै तर्कबाट प्रेरित परिणाम जे त आउला भन्दै वर्तुलले कथाको पुनर्पठन ग-यो। उस बेला टपिकै नसोची कसरी यो लेखेछ उसले? वर्डको रिभ्युमा गएर वर्ड काउन्ट हेर्दा दुई हजार+ शब्द रहेछ। पत्रिकाका लागि सामान्यतया उपयुक्त शब्दसंख्याको कथा थियो। तर किन पठाइएनछ? त्यति बेला कथाको पौल थियो होला। नभए कथाकारको मुडमा पनि भर पर्छ। डिप्रेसन चलिरहेको समय परेको पनि हुन सक्छ।

छ महिना पहिले लेखिएको कथाबारे यस मितिमा आएर किन पठाइएन भन्ने प्रश्न अनुत्तरित रह्यो। सोच्दा अत्तोपत्तो केही लाग्न सक्दैनथ्यो। अत्तोपत्तो त यसै पनि लाग्ने भएन, उसै पनि लाग्ने भएन त कथा आद्यन्त पठन गर्दा केही सूत्र हात लाग्छ कि ? वर्तुलले सूत्रकथा पक्कै लेखेको हैन। सूत्रकथा वा लघुकथा उसले लेख्न छाडेको धेरै भयो। कथा लेख्ने कथाकारको एउटा टाँचा उसमाथि लागेको छ। सकी नसकी त्यसैको निर्वाह गरिरहेछ।

त्यही अनिश्चयपूर्ण अवस्थाको कथा लेखनमा होला यो शीर्षकहीन कथा फसेछ। न्वारन पनि भएको छैन। बेवारिस फालिएको छ। यद्यपि कन्टेनरमा नवजात शिशु फालिएसरह होइन। कम्प्युटरको पेटमा ढुसिएर बसेको रहेछ। कसो भाइरसले खाएनछ। कथा एन्टिभाइरस रसायन सम्पन्न थियो कि? भाइरसले करप्ट पारेको भए वर्तुलले यसलाई खोज्ने थिएन।

तर कथाको सौभाग्य नै भन्नुपर्छ। भ्रूण हत्याजस्तो केही भएन। सौभाग्यले एउटा ताकेता आइराख्यो, कथा पठाउनुस्। ताकेता भन्नु के थियो हाइहेलो गर्ने खालका एक अल्प परिचितले साहित्यिक पत्रिका निकाल्दै थिए। दुईचार अङ्क निकालिसकेका पनि हुँदा हुन्। आउँदो अङ्कका लागि एउटा धाँसु कथाको खोजीमा थिएँ। धाँसु नभए काम चलाउन भए पनि पुग्ने थियो। त्यो व्यथा देखेर कसैले वर्तुलको मोबाइल नम्बर दियो होला, यो भनेर, ‘ऊसँग कथा स्टक रहन्छ। तर ऊविना पारिश्रमिक कथा छाप्न दिँदैन। लोभी छ।’ फोकटमा लोभी छ भन्ने विशेषण पायो वर्तुलले।

विनापारिश्रमिक कथा छपाउँदैन भन्ने समाचार नव सम्पादकका लागि चुनौती बन्यो। ऊ उत्सुक भयो, बिना पारिश्रमिक ? सोच्यो, पहिले कथा त फुत्काऊँ। कथा छापिएपछि पारिश्रमिकको बार्गेनिङ गरुँला वा पारिश्रमिकका लागि कति दौडिने रहेछ कथाकार, हेरुँला। जित कसको हुन्छ ? यो पनि भविष्यकै गर्भमा छ।

वर्तुलसँग कथाको स्टक रहन्छ ? खबर दिनेले व्यङ्ग्यमा भन्यो होला, कविपोज झिकेर। हातमा सल्कँदै गरेको चुरोट। उसले भन्यो होला, ‘जतिखेर कथा माग्नुस् उसले दिन्छ।’ ‘एकपटक मागेपछि चाहिएन भने पनि दिइछाड्छ’— मनका थप कुरा ब्राकेटेड गरेर राख्यो होला, संयम गर्दै, प्रकटमा के पनि भनेन होला भने कथा राम्रोनराम्रोको ग्यारेन्टी गर्न सकिने।’

साहित्यवृत्तमा वर्तुल उसै पनि कथाको थोक बिव्रmेता भनेर ख्यातिप्राप्त व्यक्ति थियो। वर्तुल भन्ने नामका कारण पनि। ‘नामै अनौठो छ, कथा पनि अनौठैअनौठै लेख्छ’  भनेर नाम चलेको हुन सक्छ। अनि त्यो साहित्यिक पत्रिका निकाल्ने तर्खर गरिरहेको हाइहेलोको नातावाल सम्पादकले पनि भन्यो होला, ‘ए त्यसो पो। दालचामलको स्टक भन्ने सुनिएको थियो, कथाको स्टकिस्ट भन्ने पहिलोपटक हो। कथा स्टकमा हुन्छ भन्ने पक्का छ, हैन ? उहाँलाई त म चिन्दछु। खासै परिचय त छैन। तैपनि कथा माग्न सकिन्छ।’ अनि स्वागतमा भन्यो होला,  ‘मागेपछि छाप्नै पनि पर्ला। पारिश्रमिक वर्तुल सर कति धाउन सक्नुहुन्छ त्यसमा भर पर्छ।’

यो जुन कथा पुनर्पठन भइरहेछ अहिलेसम्म शीर्षकविहीन छ, छापिन्छ वा छापिन्न त्यो भविष्यको गर्भमा छ। कतिपय राष्ट्रिय गौरवका योजना त गर्भबाट निक्लेर सडकबालकभैmँ अलपत्र छन् भने। यो एउटा कथा मेलम्ची भइजाने होइन। कथा पत्रिकाले नछाप्दैमा पृथ्वी फाट्नेवाला थिएन। रामायण त होइन कि सीता मइयाका लागि धर्तीले स्वतः स्पेस सिर्जना गरिदेओस्। यद्यपि पोखरातिर बेलाबेला जमिनमा धाँजा फाटेर मानिसहरूको बिजोग र भागाभाग भएको समाचार त छ। मुलुक संवेदनशील छ।

त्यो व्यथाको पनि कथा छ तर यहाँ अर्कै कुरा भइरहेछ। वर्तुलको कथाकारिताको कौशलमा यो पनि पर्छ। सय थरीका कुरा एक ठाउँ मिसाएर ‘हो कि हो कि’ भन्ने पार्ने। क्षमतावान् कथाकारले कथामा रोचकता दिन त्यसो गर्नु जरुरी छ भन्ने कथाकार वर्तुलको धारणा छ। बाघ वा स्याल मार्ने अनुमति छैन, निषिद्ध छ। तैपनि उखान त छ। संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउन मिल्दै मिल्दैन।

वर्तुल भन्थ्यो पनि, ‘स्यालको सिकार गर्न निस्कँदा बाघ मार्ने सामल लिएर हिँड्नुपर्छ।’ तर यस प्रसङ्गमा सोच्न सकिन्थ्यो, त्यो अप्रकाशित शीर्षकहीन कथा बाघ थियो वा स्याल। तर केही हुनु पथ्र्यो। एउटा छ नि म्याजिकल रियलिजम्। त्यस्तैत्यस्तै।
वर्तुललाई मोबाइल कल आयो। नव सम्पादकले विनम्रतासाथ भन्यो, ‘सर नमस्कार।’ यताबाट पनि नमस्कार गयो, मिठै स्वरमा।

‘को बोल्नुभो? कति कामले?’ वर्तुलको मनमा शङ्का त जागिसकेको थियो। धेरैले अरू बेला उसलाई फोन सम्पर्क गर्दैनथे। मानिस औँलो दिँदा डुँडुल्को निल्ने खालको भनेर हो वा केले हो? अथवा ऊसँग कामै पर्दैनथ्यो। काम भनेको कथा माग्ने। आफ्नै वृत्तका मानिसको कथा छाप्दैमा हैरान छ। क्यु छ।

वर्तुलले नमागी कथा पठाइदिन्थ्यो कहिलेकाहीँ। कसैले खोजी गर्दैनथ्यो, बिर्सिन्थे। छापिन्छ वा छापिन्न त्योधरि सूचना दिने झमेला गर्दैनथे। चित्त दुख्ने कुरो त थियो। तर वर्तुल अघाउञ्जेल खाना खाएपछि सुत्न पाए पुग्ने प्राणी थियो। दिउँसो पनि दुई घण्टा नियमित सुत्थ्यो। त्यसैले चित्त दुखाउनतिर प्रवृत्त थिएन, फुर्सद पनि थिएन। पत्रिका थरीथरीका, सम्पादक थरीथरीका।  

अर्कोमा कथा स्टकिस्ट भए पनि उसको खासै सोधखोज थिएन। जतिखेर पनि कथै दिइराख्छ भन्ने आक्षेप आइलाग्थ्यो उल्टै।
‘हजुर भन्नुस् न भन्नुस् म के सहयोग गर्न सक्छु। परिचय पनि पाऊँन त।’ मोबाइलमा आग्रहसहित उत्तर आउन ढिलो भएपछि वर्तुल आपैmँ अगि स-यो। मोही माग्नु ढुङ्रो लुकाएर।

‘हजुर एउटा कथा चाहिएको थियो। सरले दिनुहुन्छ भन्ने विनम्रतापूर्वक आस गरेको छु। के गर्नु सर, अचेल कथा लेख्नेहरू कम छन्। राम्रा कथा पनि पाउँदै पाइन्न। बरु पारिश्रमिक...।’ नव सम्पादकको बोलीमा मिठास थियो र विनम्रता पनि। एउटा व्यङ्ग्यको छनक पनि थियो— ‘थाहा पाइहाल्नुभो होला मैले किन फोन सम्पर्क गरेको भनेर’ भन्ने भावको। तर चाप्लुसीको ट्याग पनि थियो, ‘तपाईं जस्तो राम्रो र बढिया कथा लेख्नेहरू कम हुँदै गए।’

पारिश्रमिकको कुरै नसुनेर बीचैमा कुरा काटेर वर्तुलले हर्षित हुँदै भन्यो, ‘हुन्छ। इमेलको ठेगाना यही नम्बरमा एसएमएस गर्नुस् न हुन्छ ?’ भन्नुपर्ने थिएन, एसएमएस उसैको मोबाइलमा नगरे अन्यत्र कता गर्ने ? 

वर्तुल मानिसको भावनाको खुफियागिरी गर्ने खालको व्यक्ति थिएन। अथवा नव सम्पादकको त्यो भनाइमा मिश्रित व्यङ्ग्यको मसिनो भाव बिझाए पनि ‘होस्, कथैमा हात हालिएको छ त, अनि? हलेदो भनेर जानेपछि कोट्ट्याइरहने मानिसहरूको बानी हुन्छ, जिज्ञासा नि,’ भन्ने सोचेर आपूmलाई थुमथुम्यायो। कटुता पोख्नु थिएन।

कथाको उसले पुनर्पठन ग-यो। पुनर्पठन के पुनर्लेखन नै ग-यो। जति पढ्यो उति अर्थान्तर हुने कथा रहेछ। जता सोचे पनि हुने। डेरिडाले यो भनेको थियो वा थिएन? त्यतातिर वर्तुलले धेरै दिमाग खियाएन। मनिषीहरूको मजाक उडाउनु छैन। आफ्नै कथा अर्थ नलाग्ने गरी जटिल छ। 

कथा पठाउन पनि सजिलै थियो। पहिलेजस्तो फुलस्केपमा एकातिर प्रशस्त ठाउँ छाडेर बुझिने अक्षरमा साफी गरेर हुलाकबाट पठाउने झ्याउलो थिएन। हुलाक त अचेल सुकेर गयो। अब त लेख्यो सेभ ग-यो। मनिटरमै करेक्सन ग-यो। फेरि सेभ ग-यो। फाइनल गरेपछि इमेलबाट पठाइदियो। क्या सजिलो गराइदिएको छ नेटले। प्रिन्ट निकाल्ने झ्याउलो पनि हटेको छ।

कथा पठाउनुअघि ऊ साँझ एकछिन डुल्न निस्क्यो। पेटीहरू साँघुरा भइगएका थिए। मानिसहरू पसलअगाडि टाङ फट्ट्याएर गफमा मस्त हुन्थे। महिलाहरू छेउमा बच्चालाई ताते गराउँदै पेटी नै ढाकेर मुलुकको विकासको गतिभैmँ हिँडिरहेका हुन्थे। उसले बाटाभरि कथाको शीर्षक सोचिरह्यो। पेटीमा बाटो नपाएझैं कथाको शीर्षक उसको दिमागमा आउनै सकेन। दिमाग त्यसविधि जाम पनि थिएन। स्पष्ट थियो, वर्तुल मुलुकको योजनाकार थिएन जसको दिमाग उटपटाङ योजना ल्याउने गरी जाम होस्।  

अहिले त सिजन छैन तर दक्षिणतिरका साधुसंन्यासीहरू आएको बेला पेटीमा उसलाई फेला पारेपछि रोकेर भन्थे, ‘क्या ललाट छ बच्चा तिम्रो। बहुतै भाग्यमानी छौ। विद्वान्।’ यद्यपि संन्यासी नै उसको भतिज भन्न लायकको उमेरको हुन्थ्यो र उसले चरणस्पर्श गर्दै यो सुखदायी कुरा भनेको पनि हुँदैनथ्यो। विद्वान् र भाग्यमानी पुरुषका चरणहरू स्पर्शयोग्य मानिन सक्छन्।


‘ललाट फराकिलो भएर के हुने?’ वर्तुल सोच्थ्यो तर उसको विचारनिमग्नता देखेर संन्यासीले उछिनेरे भन्थ्यो, ‘तिमी बहुतै सहनशील छौ, अरूको दुःख बुझ्छाैं। दयालु।...एक दिन तिमी बहुतै ठूलो मानिस हुनेछौ।’ त्यति बेरसम्म वर्तुल अगाडि निस्किसकेको हुन्थ्यो। ऊ पनि कथाकार हो। कुराको बिस्कुन ओछ्याएर जालमा पार्न जानेको छ। तर ‘एक दिन तिमी ठूलो मान्छे हुन्छौ’ भन्ने मिल्क केकजस्तो ठोकुवाले उसलाई निकै टाढासम्म पछ्याइरहन्थ्यो।

‘संन्यासीको हातमा पाँच दस हालिदिनु पर्ने रहेछ। ठूलो मान्छे हुन्छौ भनिरहेछ। आफूले ठूलो मान्छेको आचरणव्यवहार देखाइएन। नेताले जितेपछि दिएका सबै बाचा–आश्वासन बिर्सेर मतदातातिर पिठिउँ फर्काउँदै एक शब्द नबोली प्लेन चढेर राजधानीतिर लागेजस्तो गरियो। तर जे भए पनि ठूलो मान्छे हुने संजोग रहेछ।’ गजबको तृप्ति दिन्थ्यो ठूलो मान्छेको आसले।
साँझ फर्केपछि पहिलो कामका रूपमा कथाको शीर्षक दिनतिर सचेष्ट भयो। शीर्षक के राख्ने? सोच्दासोच्दा निकै समय बित्यो। अन्तिममा सोच्यो, सुरुको ‘झङ्कटे’ शब्दलाई ‘झङ्कट’ मा रूपान्तर गरेर त्यसैलाई नै कथाको शीर्षकमा प्रयुक्त गर्ने। शब्द उपयुक्त पनि छ। शीर्षकमा पावर पनि आउँछ। झङ्कट ! शीर्षक भेदक पनि छ। समसामयिक मुलुकको अवस्थालाई झकझकाउने खालको छ। तर यो पक्का गर्न सकिरहेको थिएन, झङ्कट शब्दले कसरी मुलुकको वर्तमान अवस्थालाई झकझकाउन सक्छ?

वर्तुलले स्वगत भन्यो, ‘मुलुकलाई छाडिदे वर्तुल। कथा नव सम्पादकले पढेपछि छापोस् यो प्रयासतिर लाग्। तर कथा नछापेर के गर्ला? के नव सम्पादकले कथा रिजेक्ट गर्ला? जसरी विनम्र भएर कथा मागेको छ त्यो हेर्दा त कथा पहिले नै स्वीकृत भइसकेको छ। यति धेरै सङ्ख्यामा पत्रपत्रिका छन्, सबैले समयमा एकेकवटा कथा पाउन गाह्रै छ यार वर्तुल। पठा, तेरो कथा पठा। नत्र शीर्षकहीन राखेर नै पठा।’ वर्तुलले आपूmलाई झुट्टा आश्वासन दिँदै निर्णय लियो।

‘सम्पादकलाई इमेलमा लेखिदे, कथाको शीर्षक अर्को पाइएन तर सम्पादकीय स्वतन्त्रताको प्रयोग गरेर कथाको शीर्षक फेरिदिन सक्नुहुन्छ।’ सम्पादकीय स्वतन्त्रता भन्नु पनि त केही हो। यद्यपि सरकार बेलाबेला यो स्वतन्त्रता नियन्त्रित गर्न उद्यत रहन्छ। त्यसबाट भयभित हुनु छैन।

‘नभए झङ्कट शीर्षक त राखेकै छस्। कथा पनि त्यो शीर्षककै लायकको छ।’
तर यो लायक नालायकको निर्णय पाठकको हातमा होइन कि पठनमा छ।

प्रकाशित: १२ असार २०७६ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App