भगवानलाई कुन नामले पुकार्ने ? कसरी परिभाषित गर्ने ? विभिन्न धर्म, संस्कृति र आध्यात्मिक अभ्यासमा उच्चारण हुने केही नाम लिउँ। गड, गड हेड, एन्लाइटमेन्ट (ज्ञानोद्दीप्ति), अवेकनिङ (जागरण), वननेस (अखण्डता), इन्फिनिटी (अनन्तता), रियालिटी (वास्तविकता), शून्यता, शिव, ओम, कृष्ण, येशू, अल्लाह, मोक्ष, मुक्ति, बुद्ध, सत्य, ननडुआलिटी (अद्वैतता), समाधि, योग, पुनर्जन्म, दि अक्स आदि। यी सबै शब्दहरुको एउटै अर्थ हो, भगवान्। जेन बुद्ध धर्ममा भगवान्लाई ‘दि अक्स’ भनिन्छ। सिधा कुरा गर्ने हो भने हरेक धर्म, संस्कृति र आध्यात्मिक अभ्यासको मूल उद्देश्य हरेक पीडितलाई मुक्ति दिलाउनु, भगवान् बन्न वा प्राप्त गर्नलाई अथवा बुद्धको मार्गमा लाग्न प्रेरित गर्नु हो। के सजिलै समाधि÷ मोक्ष प्राप्त हुन सक्छ ? त्यसो हुँदो हो त हरेक व्यक्ति बुद्ध हुने थिए। हरेक देशमा जेन मास्टरको बाहुल्य हुने थियो। जेन बुद्ध धर्ममा भगवान् प्राप्तिको लागि एउटा मोडेल उपलब्ध छ। यो मोडेल हजार वर्ष अगाडि चीनमा विकसित भएको हो। यसमा अक्स (वृषभ÷साँढे) उपमाको रुपमा प्रस्तुत गरिएको छ।
जेन मास्टर यामाडा मुमोनले आफ्ना विद्यार्थीलाई दिएको प्रवचनका आधारमा ‘लेक्चर्स अन दि टेन अक्स हर्डिङ्ग पिक्चर्स’ पुस्तक प्रकाशित छ। पुस्तकमा त्यही मोडेलमाथि प्रकाश पारिएको छ। ‘दि अक्स’ अर्थात् बुद्ध बन्नका लागि दश चरणबारे बृहत् वर्णन गरिएको छ। यी चरणहरु ज्ञानोद्दीप्ति प्राप्तिका लागि म्याप हो। कोही व्यक्ति एन्लाइटेन्ड (प्रबुद्ध) भए पनि ज्ञानोद्दीप्तिका अरु धेरै चरणहरु पार गर्न बाँकी रहेको र विनम्र रहन मार्गनिर्देशन दिलाउँछ। यिनै चरणहरु एकएक गरेर संक्षेपमा व्याख्या गरौँ।
अक्सको खोजी
अधिकांश मानिस यस चरणमा हुन्छन्। जीवनमा के भइरहेको छ ? किन भइरहेको छ ? यसबारे उनीहरु अनभिज्ञ हुन्छन्। जीवनको उद्देश्य के हो त्यो पनि थाहा हुँदैन। यसप्रति उनीहरुको आकर्षण पनि हुँदैन। भविष्य निर्माणका लागि उत्साहित हुँदैनन्। अरु कसैले प्रेरित गरिदिने र जीवनको लक्ष्य बताइदिने मात्र नभएर त्यो लक्ष्य हासिल गर्न सहयोग गरिदिने आशामा हुन्छन्। त्यसैगरी उनीहरु पीडित मानसिकता र भ्रममा बाँचिरहेका हुन्छन्। समाज र संस्कृतिको शर्तमा जीवन अगाडि बढाइरहेका हुन्छन्। अनगिन्ती लतमा पनि फँस्न पुगेका हुन्छन्। यस्तो अवस्थामा कतिपयले भने जीवन बुझ्ने कोसिस गरिरहेका हुन्छन्। पुस्तक पढ्ने, गुरूसँग परामर्श लिने, आध्यात्मिक भिडियोहरू हेर्ने जस्ता गतिविधिमा उनीहरु संलग्न हुन्छन् र पनि कुनै संकेत भेट्न सकेका हुँदैनन्। वास्तविकता/सत्य/अक्स बुझ्न सकेका हुँदैनन्। यसका लागि सर्वप्रथम गम्भीर हुन सक्नुपर्छ। अक्स सबै पीडाको औषधि हो। हरेक आध्यात्मिक प्रश्नको जवाफ हो। यसको खोजीबाट मात्र बुद्ध बन्ने यात्रा सुरु हुन्छ। आध्यात्मिक क्षेत्रमा भर्खरै लागेका मानिसहरु भन्ने गर्छन्, कुनै पनि कुराको खोजीमा लाग्नु गलत हो। एउटा सादृश्य परिकल्पना गरौँ। मानौँ तपाईं यात्रा गर्ने योजनामा हुनुहुन्छ तर हिँड्नुअघि आफ्नो गाडी पूर्ण रुपमा क्षति गराउनुभयो भने ? गन्तव्यमा पुग्न सकिँदैन। अक्स खोजी नगर्नु भनेको यात्रा गर्नुभन्दा अगाडि आफ्नो साधन नष्ट गरेजस्तै हो। यसको अभावमा आध्यात्मिक उचाइमा पुग्न सकिँदैन।
आध्यात्मिक यात्रा सुरु गर्नुअघि कसैको तर्क के हुन्छ भने, ‘मेरो जीवन त्यति खराब छैन। के नै समस्या आइपरेको छ र ! त्यसैले अक्स खोज्नु आवश्यक छैन। पर्याप्त पीडा भोगिनसकेको व्यक्तिले यस्तो विचार राख्छन्। पीडा भोगेपछि व्यक्तिले पुनर्विचार गर्नेमा कुनै शंका छैन। शून्यता किन चाहियो ? भन्नेहरु पनि छन्। शून्यताले कसरी जीवन परिवर्तन गर्न सक्छ ? म कुनै पनि हालतमा अहं त्याग्न चाहन्नँ। कुनै पनि आशक्तिको पछि लाग्नुमा के गल्ती छ ? यस्तो विचार राख्नु भनेको त्यो व्यक्तिको आन्तरिक राक्षस/इगो/अहं सक्रिय छ भन्ने बझ्नुपर्छ। यसका लागि यात्रा सुरु गर्नु वा अक्स खोज्नुको विकल्प हुँदैन। जेन मास्टरहरु भन्छन्, ‘अद्वितीय प्रतिभा र चरित्र भएका व्यक्तिको विकास ढिलो हुन्छ। यसैक्रममा उनीहरुले अनेकन् दुःख र पीडा भोगेका हुन्छन्।’ अक्स चान्सले पाइँदैन। निरन्तर कठोर मिहिनेत गर्नुपर्छ। एउटा लामो एवं कष्टकर बाटोमा हिँड्न तयार रहनुपर्छ।
पदचिह्नहरु देखा पर्नु
यस चरणमा ध्यान, जागरण, आध्यात्मिकता बारेमा सुनिन्छ। हर कोही यो चरणमा उत्साहित हुन्छन्। आध्यात्मिक भिडियोहरू हेर्ने, पुस्तक पढ्ने, १५ देखि २० मिनेट सेल्फ इन्क्वायरी गर्ने, साइकेडेलिक्स ट्रिप लिनेजस्ता गतिविधि गर्छन्। यसो गर्दा छोटो झलक देखा पर्न सक्छ। यसलाई पदचिह्नहरु देखा पर्नु पनि भनिन्छ। अक्स कुनै काल्पनिक गफ नभएर वास्तविकता हो भन्ने पहिलो पटक अनुभूत हुन्छ। शंका र तर्कवितर्क गर्नेहरु, आधुनिक विज्ञानमा आस्था राख्नेहरू भन्न सक्छन्, यसमा किन विश्वास गरूँ? यो सत्य नै हो भने सबै वैज्ञानिकहरुले यसबारे बोलिहाल्थे नि ! जेन मास्टर भन्छन्, ‘जहाँतहीँ अक्सको निशान रहे पनि तिमीले अझैसम्म अक्स देखेका छैनौ। यही कारणले हामी आत्म भ्रममा पर्छौं। गलत बौद्धिक सोचको नशामा हुञ्जेल चाहे जतिसुकै प्रयत्न र खोजी गरे पनि तिमीले अक्स भेट्नु असम्भव छ।’
यस चरणमा ज्ञानोद्दीप्तिका विषय, अद्वैतताप्रति रुचि निकै बढेर जान्छ। अभ्यास गर्न भन्दा पनि त्यस विषयबारे केही पुस्तक पढ्ने, केही भिडियो हेर्ने, सिद्धान्त संकलन गर्ने र आफ्नो छुट्टै फिलोसफी निर्माण गर्नमा अत्यधिक समय र ऊर्जा लगानी हुन पुग्छ। कतिले यही चरणमा भन्न सक्छन्, ‘ओहो ! म जागरुक भएँ, एन्लाइटेन्ड भएँ। आध्यात्मिक गुरुले भनेका कुरा बल्ल बुझैँ।’
यसरी अन्दाज लगाउनु काल्पनिक अक्स देख्नु हो, वास्तविक अक्स होइन। यो त आफैँलाई मुर्ख बनाउनु वा भ्रमित हुनु हो। भ्रम हटाउन उच्च गुणस्तरीय पुस्तक पढ्न र अभ्यास गर्नु अत्यावश्यक छ। जेन मास्टर भन्छन्, ‘जागृत हुनु वा अक्स भेटिनु सम्भाव्यताको विषय होइन। तिमी यस विषयमा गम्भीर छौ भने अवश्य नै अक्स भेट्ने छौ। तिमी कत्तिको गम्भीर छौ, त्यो महत्त्वपूर्ण हो।’
९५ प्रतिशत मानिस जागृत हुन सक्दैनन्। यसका दुई कारण छन्। पहिलो, यात्रा सुरुवात नगर्नु। जहाँ हो, त्यहीँ रहनु। जे गर्दै आएको हो, त्यही गर्न रमाउनु। रोबोटको जीवनबाट बाहिर आउन नसक्नु।
दोस्रो, आध्यात्मिकताको सम्भावनालाई आत्मसात गर्न नसक्नु। सत्यका लागि इच्छा, संकल्प र प्यास नहुनु। जो कोही सत्यप्रति केन्द्रित रहन्छ, आवश्यक सबै पुस्तक पढेर साधना गर्छ भने उसले शतप्रतिशत समाधि प्राप्त गर्न सक्छ।
अक्स देखा पर्नु
यस चरणमा पहिलो पटक अक्स देखिन्छ। भन्नुको मतलब पहिलो मिस्टिकल (रहस्यमय) अनुभूति यही चरणमा प्राप्त हुन्छ। सेक्स गर्दा प्राप्त हुने चरम आनन्दजस्तो यो चरणमा पनि प्राप्त हुन्छ। अनि मान्छेले सेक्स, रोमान्सप्रति राख्ने आशक्ति स्वाभाविक लाग्न थाल्छ। यस चरणलाई जागरण प्रोसेसको संवेदनशील चरण मानिन्छ। आध्यात्मिक संसारको गेट खुला हुन्छ। अक्स वास्तविक रहेको अनुभूत हुन्छ। अक्स निकै भयानक, कल्पना गरेभन्दा ठीक विपरीत, महिमामय र शानदार लाग्छ। सुरुमा यसलाई समातेर नियन्त्रण गर्ने चाहना बढ्छ। काबुमा राख्न मजबुत डोरी पनि त चाहिन्छ। यत्तिकैमा अहं सक्रिय भइदिन्छ र अक्स हराउँछ। त्यसलाई पुनः हेर्ने उत्कट चाहना भए पनि त्यो क्षण दोहोरिन पुनः अर्को केही वर्ष लाग्न सक्छ। यसले जोकोहीलाई परेशान बनाउँछ। जेन मास्टर भन्छन्, ‘तिमीले अझै अक्स समाएका छैनौ। पछाडिको झलक मात्र देखेका हौ। प्रायः अवस्थामा पुच्छर मात्र देखेका हुन्छौ। अझै सात चरण बाँकी नै छन्। अक्सलाई अँचेट्नु सजिलो काम होइन। त्यसलाई समात्न पहिले पूर्ण रुपमा देख्न सक्नुपर्छ।’ अक्स समात्ने काम अपेक्षा गरेभन्दा चुनौतीपूर्ण छ। त्यो चुनौतीको सामना गर्न के हामी चुनौतीको सामना गर्न योग्य छौँ ? त्यसका लागि आवश्यक तयारी गर्न इच्छाशक्ति छ ?
अक्स समात्नु
यस चरणमा पुगिसकेको मान्छे अक्स समात्न र आफ्नो बनाउन तल्लिन रहन्छ। यहाँसम्म आइपुग्नु भनेको पहिलो झलकभन्दा निकै पर जानु हो। अक्स समात्नु सोचेभन्दा गाह्रो रहेको महसुस हुन्छ। जागृति हरेक दिन आत्मसात गरिन्छ। इगोको मृत्यु भइसकेको हुँदैन। अक्स समात्ने र अधिनमा राख्ने बेला इगो तगारो बन्न पुग्छ। इगो भएका मानिस यस्तो भन्न सक्छन्, अक्स समातेर आफ्नो बनाउने छु। एकाधिकार जमाउनेछु। अक्स बेचेर टन्नै पैसा कमाउने छु। यश हासिल गर्नेछु। यसको प्रयोगबाट मान सम्मान बढाउने छु। आफ्नो नाममा धर्म निर्माण गर्नेछु। कल्ट विकास गर्नेछु। अफसोच यो सम्भव हुन सक्दैन। अक्स सँगै यस्तो अहं कायम गर्न मिल्दैन। दुईमध्ये एक रोज्नु पर्छ।
अक्स समात्ने नै हो भने आत्मसमर्पण गर्न सक्नुपर्छ। आफूलाई खाली बनाउन जान्नुपर्छ। अनि मात्र अक्सले एप्रोच गर्न अनुमति दिन्छ।
अक्स अधिनमा लिने
यो चरणमा अक्स अधिनमा राख्ने कुरामा गम्भीर भइन्छ। आफूले ग्यारेज सफा गर्ने जिम्मेवारी पाएको र कति फोहोर छ भनेर ग्यारेजको ढोका खोलेसरह हो यो चरण। यो चरणमा अत्यधिक आन्तरिक कार्य गरिन्छ। आध्यात्मिक शुद्धीकरण यही चरणमा हुन्छ। यसैलाई जागृतिपछि गरिने अभ्यास भनिन्छ। जागृतिपछि कुनै फलोअप अभ्यास गरिँदैन भने अक्स अधिनमा राख्न सकिँदैन। यो सबैभन्दा महत्त्वपूर्ण चरण हो। अक्स अधिनमा राख्नु भनेको खाली मस्तिष्कको अवस्थामा जानु वा मास्टर बन्ने मार्गमा जानु हो।
अक्स घरसम्म डो-याउने
यो चरणमा ज्ञानोद्दीप्ति सामान्य जीवनशैली बन्न पुग्छ। कुनै पनि व्यक्ति यो चरणसम्म आइपुग्नु भनेको ऊ मास्टर बन्ने पथमा छ। यो चरणमा ज्ञानोद्दीप्ति विषयबारे खासै बोलिरहन आवश्यकता महसुस हुँदैन। यस्तो विषय बोल्ने होइन, अनुभूत गर्ने हो। जेन मास्टर भन्छन्, ‘तिमीले मुक्ति पाएपछि पहिलेकै संसारमा फर्कनु पर्ने हुन्छ। जुन व्यक्ति जागृत हुन्छ, ऊ पहिलेकै संसारमा प्रवेश गर्छ। अब त्यही संसार वास्तविकतामा परिणत हुन्छ।’
यो चरणमा निरपेक्ष र अद्वैतता क्रमशः सापेक्षता र द्वैतताको संसारमा एकीकृत हुन पुग्छन्।
अक्स ट्रान्सेन्डेड
यो चरणमा ज्ञानोद्दीप्ति खोजी गर्न छाडिन्छ। यसपछि त केही व्यक्ति ज्ञानोद्दीप्ति भनेको केही होइन भन्न थाल्छन्। यसलाई अपव्याख्या नगरौँ। यस्तो भन्ने भनेको यो तहसम्म आइपुगेकाले मात्र हो। जेन मास्टर भन्छन्, ‘खरायो समाउन, जाल चाहिन्छ। लक्ष्य खरायो समाउनु हो, जाल होइन। खरायो समाएपछि जालको आवश्यकता पर्दैन। यो मोडलमा बुद्ध प्रवृत्ति हासिल गर्नका लागि अक्स जालको रुपमा प्रयोग गरिएको हो। बुद्ध प्रवृत्ति बुझेपछि अक्स आवश्यक पर्दैन।’
यो चरणमा हरेक कुरा राम्रो लाग्छन्। शर्तहीन खुसी प्राप्त हुन्छ। यहाँसम्म आइपुग्दा लगभग पूरै जीवन सकिन्छ।
अक्स एन्ड सेल्फ ट्रान्सेन्डेड
यो चरणमा कुनै पनि घटनाक्रम नघटेको आभास हुन्छ। सबै कुरा त्याग गरिन्छ। अक्सको कुनै अस्तित्व हुँदैन। ध्यान, तौरतरिका, आफू, प्रयास, ननडुआलिटीबारे आइडिया सबैले त्यति महत्त्व राख्दैन। पूरापूर शून्यता छाउँछ। आफैँ भगवान् भएको आभास हुन्छ। यो विन्दुमा सोर्स अफ ओरिजिन कहाँबाट आयो र कहाँ जाँदैछ, त्यो पनि जानकारी हुन्छ। हरेक आध्यात्मिक प्रश्नको जवाफ प्राप्त हुन्छ। जेन मास्टर भन्छन्, ‘तिमीले सकेको कोसिस गर्नु। जीवनमा एक पटक भए पनि यो चरणसम्म पुगेरै छाड्नू।’
स्रोततिर फर्कने
यस चरणमा सबै रहस्यमय प्रश्नको जवाफ प्राप्त हुन्छ। सबै कुरा एक हुन्छन्। आध्यात्मिक क्षेत्र गम्भीरताका साथ आत्मसात गरिएको हुन्छ। जेन मास्टर भन्छन्, ‘स्रोततर्फ फर्कन अधिकतम शक्ति लगाऊ। सुरुमा गरिएका सबै दुःख निरर्थक लाग्न सक्छन्। तिम्रो लक्ष्य वर्तमान अवस्थामा रहनु थियो भने अक्स खोज्नको लागि यति धेरै परीक्षण गर्नै पर्थेन।’
मानवीय मस्तिष्क शून्य कदम लिनका लागि पूर्ण छैन। जब एक कदम अगाडि बढिन्छ, वर्तमान समयबाट त्यति नै टाढा पुगिन्छ। स्रोतमा फर्कनु भनेको चौबीसै घण्टा वर्तमान अवस्थामा रहनु हो। सम्पूर्ण यात्रा पूरा गर्नुहोस् ताकि कुनै कदम चाल्नु नपरोस्। वर्तमान अवस्थामा बस्नेले सबै कुराबीच आन्तरिक सम्बन्ध देख्छ। भूत, वर्तमान र भविष्य र सबै सबैतिक चिजवस्तुबीच समानता देख्छ। एउटा उदाहरण, मानौँ स्याउ खाने मौका जु-यो। यस चरणमा पुगेका व्यक्ति स्याउ, स्याउको रुख, पृथ्वी, सूर्य, वर्र्षा र स्याउ प्राप्त गर्नका लागि महŒवपूर्ण भूमिका खेल्ने हरेक व्यक्ति वा किसानबीच सम्बन्ध देख्छ। र, त्यसको प्रशंसा गर्छ।
बजारमा पुनः प्रवेश गर्ने
यो चरणमा पूर्ण ज्ञानोद्दीप्ति प्राप्त हुन्छ। एक रत्ति पनि ईष्र्या र अहं हुँदैन। यो चरणमा आइपुगेको व्यक्तिले पहिले बुद्ध हिँड्ने बाटो रोजेको पनि भुल्छ। सामान्य जीवनयापन गर्छ। अनन्तताबारे बोल्न बन्द गरिदिन्छ। कहिल्यै जश लिन खोज्दैन। विनम्रता देखिन थाल्छ। जेन मास्टर भन्छन्, ‘उसलाई कुनै पद चाहिँदैन। खाली खुट्टा सडकमा हिँड्न उसलाई कुनै आपत्ति हुँदैन। ज्ञान प्रदर्शनी गर्दैन। मूर्खजस्तो बेपर्वाह हाँस्छ। उसले प्रवचन बिना नै हाँसेर वा मुस्कुराएरै अरुको जीवनमा परिवर्तन ल्याइदिन्छ। उसले चमत्कारिक प्रवचन दिँदैन, केबल हाँस्छ। अरुसँग पिउने र नाच्ने गर्छ। जब तिमीले यो स्तरको आध्यात्मिक उचाइ प्राप्त गर्छौ, त्यतिबेला सटोरी (जागृति) त्यागेर समाजको तल्लो तहसम्म जाऊ अनि सबैलाई जागृत बनाऊ। मुक्ति दिलाऊ।’
जीवनको उद्देश्य भनेको १० औँ चरणसम्म पुग्नु हो। हामी जागरुक हुनका लागि जन्मेका हौँ। यही दश चरण बुद्ध हिँड्ने बाटो हो। यो बाटो हिँड्न कोही कत्तिको खतरा मोल्छ, उही बुद्ध बन्छ।
प्रकाशित: २२ जेष्ठ २०७६ ०६:०८ बुधबार