८ वैशाख २०८१ शनिबार
अन्य

योजना निर्माणस्थलमै सार्वजनिक सुनुवाइ गर्दै फलेबास नगरपालिका

उपभोक्ता समितिका पदाधिकारीसँग योजनाको विषयमा छलफल गर्दै फलेबास नगरपालिका। तस्बिरः छविलाल/नागरिक

पर्वत–फलेवास नगरपालिकाले उपभोक्ता समितिले गरेको काममा समेत कडाइ गर्ने भएको छ। पारदर्शिता र सुशासनलाई जोड दिँदै नगरपालिकाले योजनाको निर्माणस्थलमै सार्वजनिक सुनुवाइ गर्ने भएको हो।

आगामी २५ जेठसम्म सबै योजना निर्माण गरिसक्नुपर्ने समयावधि तोकेको नगरपालिकाले निर्माणस्थलमै आमउपभोक्तामाझमा सार्वजनिक सुनुवाइ गरेर मात्र अन्तिम किस्ता निकासा गर्ने तयारी गरेको हो।

फलेबास नगरपालिकाले योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई नगरपालिकामा बोलाएर काममा लापरबाही नगर्न, बजेट पारदर्शी राख्न, होर्डिङ बोर्ड अनिवार्य टाँस्न, योजनाको बिल भरपाईसहित आवश्यक कागजात पु-याउन निर्देशन दिएको छ। योजना पुरा नगर्ने, प्रक्रिया नपु-याउने, कागजात नपु-याउनेले भनसुनका आधारमा बजेट निकासा नगर्ने नगरपालिकाले स्पष्ट पारेको छ।

नगर प्रमुख पदमपाणि शर्माले सबै योजनाको सार्वजनिक सुनुवाइ गर्ने बताए। ‘कुन योजनामा कति बजेट हो?, त्यसले कति काम भयो?, उपभोक्ताले कस्तो महसुस गरेका छन् लगायत विषयमा पारदर्शिता र सुशासन कायम गर्नका लागि योजनास्थलमै पुगेर सार्वजनिक सुनुवाइ गर्दै छौं,’ नगर प्रमुख शर्माले भने। उनले नगरपालिकाको कामलाई प्रणालीमा लैजाने प्रयास गरिएको भन्दै नगरपालिकाले विधि, प्रक्रियामा कडाइ गरेको जानकारी दिए।

शर्माले उपभोक्ता समितिका पदाधिकारी योजना निर्माण नहुँदासम्मका लागि जनप्रतिनिधिजस्तै भएको भन्दै अन्य योजनामा पनि त्यही मान्छे चाहिन्छ भन्ने आमरूपमा छाप पार्न पनि उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरेका थिए।

नगर प्रमुख शर्माले वर्षाको कामको कुनै अर्थ नहुने भएकाले फलेबास नगरपालिकाले २५ जेठपछि योजनाको चेक नकाट्ने गरी तयारी गरेको जानकारी दिए। ‘हामीले जेठ २५ भित्र सबै काम सम्पन्न गरी पेस गर्न निर्देशन दिएका छौं, त्योभन्दा अगावै सबै काम सम्पन्न गरिसक्नुपर्छ,’ उनले भने।

फलेबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोती सापकोटाले फलेबास नगरपालिकाले तोकिएको मितिमा, तोकिएको काम र तोकिएको कागजात पूरा नभएमा निकासा नगर्ने गरी तयारी गरेको दाबी गरे। उनले अहिले धेरै योजना निर्माण सम्पन्न भएर आएको र सबै योजनाको सार्वजनिक सुनुवाई गर्ने जानकारी दिए। सापकोटाले पाँच लाखसम्मका योजना वडा अध्यक्ष र त्योभन्दा माथिका योजनामा नगर प्रमुखकै उपस्थितिमा योजनास्थलमै सार्वजनिक सुनुवाइ गरेर मात्र रकम भुक्तानी गर्ने तयारी भएको पनि बताए।

फलेबास नगरपालिकाका लेखा अधिकृत यशोदा सुवेदीले लेखा शाखाले तोकेअनुसारको बिल भरपाईसहितका कागजात अनिवार्य रूपमा पेस गर्न आग्रह गरिन्। वडा नम्बर १ का अध्यक्ष बाबुराम शर्मा, वडा नम्बर ८ का अध्यक्ष मनबहादुर कुँवर, नगरपालिकाका अधिकृत प्रकाश लम्साल, योजना व्यवस्थापक देवी तिमिल्सिनालगायतले वर्षाको विकासको कुनै अर्थ नभएका कारण पनि समयमै योजना सम्पन्न गरेर नगरपालिकाको अभियानमा साथ दिन आग्रह गरेका थिए।

प्रकाशित: २३ वैशाख २०७६ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App