४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

१० मुक्तक

नेपालहरि रानाभाट

किसानहरूलाई बाली मौसम, कामैकामको चटारो
व्यापारीलाई नाफा नोक्सान हिसाबकिताबको लठारो।
पढ्यो, लेख्यो जागिर खायो जीवन धान्नै मुस्किल पर्ने,
कति सजिलो राजनीतिमा, आए आँप गए झटारो।
...
हत्याहिंसा ढाकछोप गर्दै अपराधीलाई पल्काउँदै छन्,
बाँसुरीको धुन बजाउँदै देशमा आगो सल्काउँदैछन्।
सतीदेवी रिसाएर सरापेको मुलुक भन्थे,
बधशालाको जग हालेर न्यायालय भत्काउँदैछन्।
...
चित्त बुझ्ने ठाउँ नै छैन जताततै खोट लाग्ने,
अन्धभक्ति देखाउँ भने स्वाभिमानमा चोट लाग्ने।
फेरि कहिले आउँछन् कुन्नि जनताका गीत गाउँदै,
पाँच वर्षलाई झुक्याएर जनतासँग भोट माग्ने।
...
दलाली र तस्करीमा छिनाझम्टी जत्थाको हुने,
प्रशासनिक निर्णयमा छिनाझम्टी भत्ताको हुने।
गलत चिन्तन हावी भयो कमाउने र रमाउनेको,
दलहरूको छिनाझम्टी शासन अनि सत्ताको हुने।
...
नाइनाइ भोभो भन्दा पनि मरिहत्तै गर्छयौं किन?
आङैभरि मग्मगाउने केके जाति छर्छयौ किन?
कडा आछ कानुन भन्छन, जेलमा बस्नु छैन मलाई
रातिराति भ¥याङ्बाट लुसुलुसु झर्छयौं किन?
...
फोन उठ्थेन बेलाबखत पराईसँग मस्त रहिछ,
कस्ती थिई मेरी बुढी हिजोआज कस्ती भइछ।
तातो बाफमा कमाएको धनसम्पति पोको पारी,
हतार गर्दै हिजो आएँ, अर्कैसित अस्ति गइछ।
...
विषको बोटमा कतै अमृत फलेको देखेँ,
समुन्द्रको छालमा कतै आगो बलेको देखेँ।
सेतो छाला हुनेको मन सेतै नहुन सक्छ भन्थे,
फलाम बाहिर पनि सुनको जल दलेको देखें।
...
दशा लागे पर हैन घरमै खुट्टा मर्किन्छ रे,
गोली पनि निशानामा नलागेरै फर्किन्छ रे।
हैसियतलाई नबुझेर धेरै फूर्ति गर्नुहुन्न,
दूध धेरै उम्ल्यो भने भाँडा बाहिरै तर्किन्छ रे।
...
अर्को जुनीमा मलाई पनि आमा बन्ने रहर छ,
आमाभित्र मायाको कुलो हैन ठूलो नहरै छ।
मन्दिरभित्र मानव निर्मित भगवतीका प्रतीक मात्रै
साक्षात् देवी आमा नै हुन् भन्ने मेरो ठहर छ।
...
संसार सिंगै नाट्यशाला मानव फगत पात्र रैछ,
सुख दुःख कहीँ नभाको हाँडीगाउँको जात्रा रैछ।
तेरो, मेरो तँछाडमछाड चुरीफुरी गर्छौ किन,
जिन्दगानी गर्भबाट चिहानसम्मको यात्रा रैछ।

प्रकाशित: १४ वैशाख २०७६ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App