२७ असार २०७७ शनिबार
अन्य

तीन गन्तव्य

मुक्तिनाथ     
मुस्ताङको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तीर्थ हो। मन्दिरभित्रको मूल मूर्तिलाई हिन्दुले बिष्णु मान्छन् भने बौद्धमार्गिले लुवाङ ग्याल्बो। हिन्दुका बाहुनले पूजा गर्छन भने बौद्ध समुदायका झुमा (आनी)ले। मुक्तिनाथ दर्शन गरेर १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिने दुबै धर्माबलम्बिको विश्वास छ। 

हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए। त्यसबाट उनले सृष्टि गर्न शक्ति प्राप्त गरेका थिए। त्यसरी यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए। पछि तिनै देवता त्यहिँ बिराजमान भएको कथा छ।

त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ। बौद्धमार्गीको भनाई फरक छ। उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए। फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए। त्यो जल मुक्तिनाथमा सञ्चय गरे। त्यसबाटै १०८ धारा बनाइयो।

मुक्तिनाथमा नरसिंह गुम्बा छ जहाँ गुरु पद्धमसंभवको मूर्ति छ। त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन्। रानीपौवा माथि डाँडामा शाक्य मुनि बुद्ध र गुरु पदमसंभवका ठूल–ठूला मूर्ति बनाइएको छ। मुक्तिनाथ वेस क्याम्प रानीपौवामा होटल, लज र रेस्टुँरा छन्। वर्षैभरि मुक्तिनाथ दर्शन गर्न सकिन्छ।  कसरी पुग्ने: काठमाडौं–बेनी २८२ किमि। बसमा ९ घन्टा। बेनी–जोमसोम ७५ किमि। जोमसोम–मुक्तिनाथ २२ किमि।

सिन्धुलीगढी
नेपालीले अंग्रेजी फौजलाई परास्त गरेको इतिहास बोकेको छ सिन्धुलीगढीले। विसं १८२४ मा अंग्रेजी साम्राज्य विस्तार क्रममा क्याप्टेन किनलकको नेतृत्वमा अंग्रेजी फौज काठमाडौं पस्न लागेको पत्तो पाएपछि पृथ्वीनारायण शाहले ११ सय गोर्खाली जवान गढीमा राखेका थिए। आधुनिक हतियारले सुसज्जित अंग्रेजसँग भरुवा बन्दुक, भाला, ढुँगा मुढाका भरमा लडे नेपाली। कात्तिकमा लडाईँ भयो। अँग्रेजतर्फ १६ सय जना मारिए। नेपाली कमाण्डर वंशु गुरुङको फौजले बाँकीलाई भगायो। त्यो विजयको दिन थियो कात्तिक २४ गते।  

त्यहाँ दुइटा गढी छन्। मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्यले १७६२ तिर गढी निर्माण गराएका थिए। जुन सन् १८१९ मा गोर्खाली सेनाले कब्जा ग¥यो। दुई गढी वीचमा पृथ्वीनारायणले युद्ध पछि सेना बस्न घर बनाएका थिए। विसं १९७५ मा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो भएको दुई तले दरबार बनाइएको थियो। दरबारको भग्नावशेष बाँकी  छ। 

शीतल हुन्छ गढीमा। तर त्यहाँ होटल सुविधा छैन। तल सोला भञ्ज्याङमा सामान्य खाजा घर छन्। बास बस्न २० किमि पर सिन्धुलीमाढि वा १८ किमि वर्तिर खुर्कोट आइपुग्नु पर्छ।   कसरी पुग्ने: काठमाडौं वनेपा–बर्दिवास सडक हुँदै सोला भञ्ज्याङ १३० किमि। भञ्ज्याङबाट १५ सय मिटरमा सिन्धुलीगढी। सिन्धुली चल्ने बस वा जिपमा जाँदा ४ घन्टा।

बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किमि छ। यसको मध्यवर्ती क्षेत्र ५०७ वर्ग किमि छ। विसं २०२६ मा सिकार सुरक्षित वन घोषणा गरिएकामा ०४५ सालमा  निकुञ्ज बनाइयो। निकुञ्जमा ८७ वयस्क बाघ छन्। फागुनदेखि जेठ दोस्रो सातासम्म बाघ हेर्ने सिजन। गर्मीमा नदीमा पानी खान आएका बाघ हेर्न पाइन्छ।

बर्दियामा बाघसँगै चित्तल, भालु, बँदेल, नीलगाई र थरिथरिका चरा पाइन्छ। निकुञ्जमा जंगल सफारी, जिप सफारी, जंगल वाक, बर्ड वाचिङ, राफ्टिङ, फिसिङ, क्याम्पिङ, गोही प्रजनन केन्द्र भ्रमण, होमस्टेको अनुभव, थारु संग्रहालय घुमफिर लगायत गतिविधि गर्न सकिन्छ।  

हेडक्वार्टर हातामा थारु संग्रहालय छ। त्यहाँ थारुको जन्मदेखि मृत्यू संस्कार झल्काउने सामान, चित्र र कथा छन्। ठाकुरद्वारामा ठाकुर बाबा मन्दिर छ। तिनको दर्शन गरे मनोकामना पुरा हुने विश्वास छ। 

ठाकुरद्वारामा २६ होटल तथा रिसोर्ट छन्। केही होमस्टे पनि छन्। नयाँ नाकाहरूमा पनि होटल खुलिरहेका छन्। पर्या–पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरीका अनुसार ०७६ साललाई बर्दिया भ्रमण वर्षका रुपमा मनाइँदै छ।
कसरी पुग्ने: पूर्वपश्चिम राजमार्गको अम्बासाबाट दक्षिणपश्चिम १३ किमिमा  ठाकुरद्वारा। ठाकुरद्वाराबाट अपरान्ह ४ बजे छुट्ने गाडिले बिहान ८ बजे काठमाडौं पु¥याउँछ। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर।

प्रकाशित: १४ वैशाख २०७६ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App