२४ श्रावण २०७७ शनिबार
अन्य

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

सम्झौता अनुसार महानगरले सुविधासम्पन्न काठमाडौं भ्यू टावरको निर्माण गर्ने भन्दै बसपार्कलाई  २०७३ वैशाखमा दुई वर्षको लागि खुलामञ्चमा सारेको थियो। दुवै पक्षबीच भएको सम्झौतामा खुलामञ्चमा निर्माण गरिने अस्थायी बसपार्कमा तीन वटा बस काउन्टर, तीन वटा यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय र एउटा क्यान्टिन निर्माण गर्ने उल्लेख थियो। तर, निर्माण कम्पनीले भने सम्झौताको धज्जी उठाउँदै अहिले ४४ भन्दा धेरै व्यापारिक सटर बनाएर धमाधम भाडामा लगाएको छ।

कम्पनीले अहिले तीन लाखदेखि १२ लाख रूपैयाँ अग्रिम लिएर प्रति सटर १२ हजार रूपैयाँमा भाडामा लगाएको छ। ‘यहाँ व्यापार हुने देखेर ३ लाखदेखि १२ लाख रूपैयाँसम्म अग्रिम बुझाएर सटर भाडामा लिएका हौं,’ भर्खरै सटर किनेका एक व्यापारीले भने, ‘प्रतिसटर न्यूनतम १२ हजार रूपैयाँ तोकिएको छ।’ उनका अनुसार  नयाँ वर्षदेखि सटर धमाधम भाडामा लगाइएको हो। अहिलेसम्म खुलामञ्च एरिया भाडामा लिएका व्यापारीले आवश्यक तयारी गरेर धमाधम पसल सञ्चालन गरिरहेका छन्।

बागदरबारमा रहेको काठमाडौं  महानगरपालिकाको कार्यालयदेखि खुलामञ्चको दूरी करिब ५ सय मिटरको दूरीमा अवस्थित छ। महानगरपालिका नगर प्रहरी दिनहुँ खटिएका हुन्छन्। तर, व्यापारिक सटर निर्माण गरेको देखेको नदेख्यै गरेका हुन्। ‘कम्पनीले राजनीति पहुँचकै आधारमा व्यापारिक सटर निर्माण गरेको हो,’ महानगर एक उच्च अधिकारीले भने, ‘सम्झौताविपरीत धमाधम व्यापारिक सटर बनाउँदा समेत महानगर मौन बस्यो। जसको कारणले निर्माण कम्पनीको मनोबल बढेर सटर भाडामा लगाएको हो।’

निर्माण कम्पनीले अहिले खुलामञ्चको उत्तरतर्फ र दक्षिणतर्फ व्यापारिक सटर बनाएर धमाधम सटर भाडामा लगाएको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको सार्वजनिक निजी साझेदारी (पिपिपी कार्यालयका प्रमुख ध्रुव काफ्लेले महानगरपालिका र निर्माण कम्पनीबीच भएको पहिलो सम्झौता पत्रमा व्यापारिक सटर निर्माण गर्ने निर्णय नभएको बताउँछन्। ‘पहिलाको सम्झौतामा तीन यात्रु प्रतिक्षालय, तीन बस काउन्टर, एउटा सार्वजनिक शौचालय, क्यान्टिन र मेडिकल पसल खोल्ने उल्लेख थियो,’ उनले भने, ‘अहिले निर्माण कम्पनीले कुन आधारमा व्यापारिक सटर निर्माण ग-यो। सोबारे पिपिपी कार्यालयलाई जानकारी छैन।’

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले सम्झौताविपरीत व्यापारिक स्टल बनाएर भाडामा लगाएको बताए। ‘कम्पनीले सम्झौताविपरीत व्यापार सटर निर्माण गरेर भाडामा लगाएको भेटाएका छौं,’ उनले भने, ‘यो दुई पक्षबीच भएको सम्झौताविपरीतको काम हो। त्यसैले महानगरपालिकामा छलफल भइरहेको छ।’ उनका अनुसार सम्झौताविपरीत निर्माण भएको व्यापारिक सटरलाई डोजर लगाएर भए पनि भत्काउनेछौं। ‘मैले सम्झौताविपरीत निर्माण भएको विषयमा मेयरसा’बलाई जानकारी गराइसके,’ उनले भने,‘ मेयरसा’बले छानबिन गरेर आवश्यक निर्णय लिनुहुनेछ।’

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौता लत्याउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ।

महानगरका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्यकालमा पुरानो बसपार्कको पार्किङ स्थललाई २०७३ वैशाखमा खुलामञ्चमा सारिएको हो। महानगरले सुविधासम्पन्न काठमाडौं भ्यू टावरको निर्माण गर्ने भन्दै बसपार्कलाई सारिएको हो। महानगरले दुई वर्षमा भ्यू टावरमा व्यवस्थित पार्किङ बनाएर सार्ने बताए पनि अहिले टावर निर्माणमा देखिएको विवादले खुलामञ्चको बसपार्क कहिले सार्ने अन्योल देखिएको छ। अहिले खुलामञ्चमा बसपार्क मात्रै छैन,  खुलामञ्चमा वीर अस्पतालले तीन प्रिफ्याकका भवन बनाएर गोदाम बनाएको छ। दरबार हाइस्कुलले निर्माण सामग्री राखेर ठाउँ ओगटेको छ। यी दुईले ओगटेर बाँकी रहेको ठाउँ अव्यवस्थित पार्किङले भरिएको हुन्छ। ओगटिए बचेको ठाउँचाहिँ झाडीले कुरूप बनाएको छ। त्यही झाडीलाई सहरवासीले शौचालयको रूपमा प्रयोग गर्छन्, जसले गर्दा खुलामञ्च अव्यवस्थित मात्रै होइन, फोहोर डम्पिङको ठाउँ जस्तो बनेको छ।  खुलामञ्चमा खुट्टा टेक्ने ठाउँ समेत छैन। यी दुवैलाई ६ महिनाको लागि मात्रै जग्गा उपलब्ध गराएता पनि अहिलेसम्म खुलामञ्च खाली गर्ने सुरसारै गरिएको छैन। पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने योजना अघि बढाएर खुलामञ्चमा बसपार्क स्थानान्तरण गरिएपछि वीर अस्पतालमा भर्ना भएका बिरामीले आनन्दले आराम गर्न पाएका छैनन्।

काठमाडौं महानगरपालिका नगरप्रहरी प्रमुख धनपति सापकोटाले व्यापारिक सटर निर्माणबारे आफू बेखबर रहेको बताए। ‘हामी त महानगरबाट जे निर्णय आउँछ। त्यही कार्यान्वयन गर्दै जाने हो,’ उनले भने, ‘अहिलेसम्म खुलामञ्चमा निर्माण गरिएको सटर हटाउने निर्देशन आएको छैन।’

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीका प्रमुख मनोज भेटवाललाई बारम्बार टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्।

 

प्रकाशित: ६ वैशाख २०७६ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App