९ असार २०७८ बुधबार
अन्य

सम्बन्धको ब्रेकिङ प्वाइन्ट

मध्यरातको समय फेसबुक म्यासेन्जरमा घण्टी बज्यो। निद्रामै फोनतिर लम्किएर हेरेँ। युकेबाट चुलबुल पाण्डे दिदीको फोन रहेछ। उहाँलाई जिस्काउने मनसायले होइन कि प्रेम व्यक्त गर्ने हिसाबले चुलबुल पाण्डे भन्थ्यौँ हामी। नाम राख्ने म आफैँ हुँ। यसमा उहाँको कुनै आपत्ति थिएन। कारण? एकअर्कामा घनिष्ठता, प्रेम र सद्भभाव। उहाँको फोन देख्दा ह्या, यो दिदी काम पाउँदिन, यसबेला के सोध्न फोन ग-या होला! केही महत्वपूर्ण भए भोलि कुरा गरौँला भन्ने लाग्यो। फोन रिसिभ गर्नु आवश्यक ठानिनँ। त्यसैले इग्नोर गरिदिएँ।

त्यो फोन आएको हप्ता दिनपछि चुलबुल दिदी नेपाल आएकी छन् भन्ने खबर आयो। युके गएको वर्ष दिन नबित्दै नेपाल फर्किएको खबरले ममा जिज्ञासा बढायो। एक मनले सोचेँ, केही काम विशेष होला तर वास्तविकता त अर्कै रहेछ। चुलबुल दिदी परपुरुषसँग रमाइलो गर्दै हिँडेकी छन् भन्ने अर्को खबर आयो। यो कुनै ब्रेकिङ न्युज भन्दा कम थिएन। म आश्चर्यमा परेँ। नेपालमा म स्तब्ध, युकेमा भिनाजु स्तब्ध। मगर जातिमा आफूभन्दा जेठा रहेको फुपूको छोरालाई भिनाजु भनिन्छ। भिनाजु र दिदीको भेट युकेमै भएको हो। भेटले प्रेम सम्बन्ध सुरुवात गरायो। यस सम्बन्धलाई लिएर परिवार खुसी थिएनन्। मुख्य कारण दिदीको खराब विगत थियो। भिनाजुले त्यतिबेला त्यस कुरालाई उति चासो दिएनन्। अन्ततः उनले परिवारको इच्छाविपरीत प्रेम विवाह गरे। र, छोरी पनि जन्माए।

५/६ वर्षे छोरीकी आमा भइसकेकी महिला कसरी परपुरुषसँग सम्बन्धका लागि तयार हुन सक्छे? के कारण हुन सक्छन्? छोरीको भविष्यप्रति चिन्तित छैनन्? परिवारको इज्जत ख्याल गरिनन्? के कुराको अपुग रहन गयो? मागी विवाह भएको भए एउटा कुरा थियो तर उहाँहरुको त प्रेम विवाह नै भएको हो। बलजफ्ती पनि होइन। भिनाजू युकेको लाहुरे। आम्दानी राम्रो हुनुको साथै सुनिश्चित भविष्य थियो। काठमाडौंमा आलिसान महल छँदै थियो। हैसियत नभएको त भन्नै मिल्दैन। तर पनि सम्बन्धमा दरार आयो। भिनाजूले चुलबुल दिदीको सब गतिविधि ट्र्याक गरे। भाइबरमा परपुरुषसँग गरिएको फोन सम्वाद रेकर्ड गरे। दिदी त्यसबेला नेपाल आउँदा एक महिनासम्म बसेकी थिइन्। यस अवधिभर उनी कुन होटलमा बसिन्, कहाँ घुम्न गइन्, सबै रेकर्ड सङ्कलन गरेछन्। फेसबुक गतिविधिले पनि त्यही सङ्केत गथ्र्यो। आफ्नो श्रीमती अरुसँग रात बिताउँछे भने कुन पुरुषलाई सह्य हुन्छ? उहाँलाई पनि भएन। त्यसकारण डिभोर्स एक मात्र विकल्प रह्यो। एकसाथ जीवन जिउने सङ्कल्प एक दशक हुन नपाउँदै टुङ्गियो। डिभोर्सपछि अनेकन अड्कलबाजी भए। अधिकांशले दिदीलाई दोषी ठह-याए। उनको चरित्रमाथि प्रश्न गरियो। के भिनाजूको कुनै गल्ती थिएन? छोडपत्र गर्नु भनेको दुवै श्रीमान् र श्रीमती असफल हुनु हो। एउटै व्यक्तिमाथि मात्र दोष थोपर्नु गलत हुन आउँछ। दिदीको कुरा सुन्दा भिनाजू गलत, भिनाजूको कुरा सुन्दा दिदी गलत देखिन्छ। त्यसैले यहाँ कमजोरी दुवैको छ।

मानवीय आवश्यकता धेरै छन्। शारीरिक, सामाजिक, मनोवैज्ञानिक, भावनात्मक आदि। यी आवश्यकता पूर्तिका लागि मानिसले विभिन्न बाटो रोज्ने गर्छ। यसका लागि कोही एक व्यक्तिसँग सम्बन्धमा रहनु, बिहे गर्नु सजिलो र प्रभावकारी मानिन्छ। सबैको वैवाहिक जीवन सफल हुन्छ भन्ने छैन। सफल प्रेमी/प्रेमिका भए पनि सफल श्रीमान्–श्रीमती हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन। दिदी भिनाजूको हकमा यही लागू हुन गयो। बिहे भयो तर श्रीमान्–श्रीमतीबीच हुनुपर्ने कुनै व्यवहार भएन। दुईतीन वर्षमा मुस्किलले तीनचार पटक भेटे होलान्। भेट नभए पनि भावनात्मक संवाद हुनुपर्ने हो। त्यो पनि हुन सकेन। त्यसमाथि दिदीको शङ्कालु स्वभाव। कतै अर्को केटीसँग कुरा गर्छ कि! कसैसँग अनैतिक सम्बन्धमा पो छ कि! लाहुरे न हो, के भर! यस्तै खाले भ्रम उहाँमा थियो। भिनाजू भ्रम चिर्न कहिल्यै अग्रसर भएनन्। श्रीमान्–श्रीमतीबीच कहिल्यै समानुभूति भाव विकास भएन। भावनात्मक कसिलोपन दह्रो बनाउने वातावरण नै सिर्जना भएन। यस्तो परिस्थितिमा प्रेम हुने सम्भावनै रहेन। एउटी महिला श्रीमान्को प्रेम पाउँदिन, परिवारमा घुलमिल हुन, व्यवहारिक हुन सकेकी छैन, विगतको छाप मेटाउन सकेकी छैन र श्रीमान्को पनि सहयोग पाएकी छैन भने उसले के गर्छे? स्वभाविक रुपमा जता खेलाडी छन्, त्यतै जान्छे। यहाँ खेलाडीको कुनै कमी छैन। आखिर चुलबुल दिदीको के नै गल्ती छ र ! जे जानेकी थिइन्, त्यही गरिन्! भनेजस्तो खेलाडी पाइन् अनि त्यतै गइन्। यो उदाहरणले कुनै पनि सम्बन्ध कसरी डिभोर्सको दोबाटोमा पुग्छ भन्ने बताउँछ।

यस्तै प्रवृत्तिका थुप्रै घटनाक्रम समाजमा चलिरहन्छन्। डिभोर्स अध्ययनबाट आएको केही तथ्यः ५० प्रतिशत विवाहित जोडी कि स्थायी रुपमा अलग हुने कि डिभोर्स गर्ने अनुमान गरिएको छ। यदि सिब्लिङ्गको (भाइबहिनी) डिभोर्स भएको छ भने चार वर्षभित्र तपाईंको पनि डिभोर्स हुने सम्भावना २२ प्रतिशत रहन्छ। मानौँ, तपाईं एउटा सानो संस्थामा कार्यरत हुनुहुन्छ। सहकर्मीको डिभोर्स भयो भने? आउँदो चार वर्षभित्र तपाईंको पनि डिभोर्स हुने सम्भावना ५५ प्रतिशत रहन्छ। बिहे पछिको समयमा ख्याल गरिएन भने सम्बन्ध टुट्न जान्छ। डिभोर्स सामान्य हुन्छ। यो बाजा बजाएर आउँदैन। यसका कारणहरू कसरी पहिल्याउने? सम्भाव्यता कसरी नाप्ने?

दि फोर हर्समेन
विजय, युद्ध, भोक र मृत्यु सर्वनाशको चार वटा घोडचढी (दि फोर हर्समेन) भनेर बुझिन्छ। रिलेशनसिप एक्सपर्ट जोन गटम्यानका अनुसार सम्बन्धलाई असफल बनाउने चार सङ्केतक हुन्ः आलोचना, रक्षात्मक, घृणा र अवरोध। यो सङ्केतकले डिभोर्सको भविष्यवाणी गर्छ। यसैलाई सम्बन्ध अन्त्य गराउने ‘दि फोर हर्समेन’ भनिन्छ।

आलोचना
सम्बन्धमा सधैं हनिमुन चरण चलिरहन्छ भन्ने हुन्न। गुनासो गर्नुपर्ने अवस्था आउँछ। अधिकांश जोडीलाई गुनासो र आलोचनाको भिन्नता थाहा हुँदैन। त्यसैले गुनासोको साटो आलोचना गर्न पुग्छन्। आफ्नो पार्टनरको व्यक्तित्व र आचरणमाथि तिनले प्रश्न गर्छन्। प्रायः परिवारमा श्रीमान् घर ढिलो आउँदा श्रीमतीको गुनासो हुने गर्छ। यस परिस्थितिमा गुनासो र आलोचना यस प्रकारले प्रकट गर्न सकिन्छः

गुनासोः तपाईं अबेरसम्म घर आउनु भएन। फोन पनि अफ थियो। एक कल गर्नु भएन। मनमा अनेकौँ कुरा खेल्न थाले। निकै डराएँ। हामीमध्ये कुनै एक घर आउन ढिलो हुँदा खबर गर्नुपर्ने सहमति भएको थियो, हो कि होइन?

आलोचनाः तपाईंको यस्तो हर्कतले अरुलाई कस्तो असर पार्छ भन्ने कहिल्यै सोच्नुभएको छ? तपाईं यति धेरै भुलक्कड र गैरजिम्मेवार हुनुहुन्छ भनेर विश्वास गर्न सक्दिनँ। तपाईं स्वार्थी हुनुहुन्छ। अरुको बारेमा त सोच्नु पनि हुन्न! मेरो बारेमा झन् सोच्ने कुरै भएन। सम्बन्धमा रहेका जोडीबीच गुनासोभन्दा आलोचना बढी हुने गर्छ। यसैले  सम्बन्ध धमिलो पार्दै जान्छ।

रक्षात्मक
आलोचना कसैलाई पच्दैन। यसविरुद्ध प्रतिक्रिया दिँदा रक्षात्मक हुनु पर्छ। रक्षात्मक हुनु आफ्नो पार्टनरलाई आरोप लगाउने एउटा तरिका हो। समस्या आफूमा नभएर अरुमा देख्नु हो। पारिवारिक भोजमा सरिक हुनको लागि महिलालाई तयार हुन अलि बढी समय लाग्छ। यस्तो अवस्थामा श्रीमती आफ्नो श्रीमान्लाई भन्छिन्, ‘सुन्नुस् न, तपाईंले उहाँहरुलाई हामी भोजको लागि ढिला हुने कुरा फोन गरेर भन्नुभयो?’ श्रीमान् रक्षात्मक प्रतिक्रिया दिँदै भन्छन्, ‘हामी ढिलो हुनुमा मेरो कुनै गल्ती छैन, गल्ती त तिम्रो हो। तिमीलाई जहिल्यै अन्तिम समयमा मेकअप गर्नुपर्छ। तिमी आफैँ फोन किन गर्दिनौ?’

यहाँ श्रीमान् जिम्मेवार हुन र श्रीमतीको धारणा बुझ्न सकिरहेका छैनन् भन्ने प्रस्ट हुन्छ । नत्र उनको प्रतिक्रिया अर्कै हुन्थ्यो, ‘लौ जा ! मैले त भुसुक्कै बिर्सेछु। तिमीले बिहानै भनेकी थियौ। कामको व्यस्तताले यादै भएन। मेरै गल्ती हो। ल म अहिल्यै फोन गर्छु है त!’

घृणा
कोही पनि सानो हैसियतमा रहन चाहँदैन। आफूलाई अरु भन्दा ठूलै देख्छन्।  पाएसम्म हैकम जमाउन चाहन्छन्। आफ्नो पार्टनर मन नपरेको खण्डमा नाम काट्ने, हाउभाउ कपी गर्ने, आँखा पल्टाउने, नक्कली खोकी निकाल्ने, खुट्टा बजार्ने, झ्यालढोका जोडले लगाउने जस्ता गतिविधि गर्छौँ। यसो गर्नाले अरुको उपस्थितिलाई खासै महत्व र चासो नदिएको भन्ने बुझिन्छ। एकअर्कामा घृणा पैदा गराउँछ। सम्मानरहित सम्बन्धको आयु छोटो हुन्छ। घृणाको तहबाट आउने प्रतिक्रिया यस्तो हुन्छ, ‘तपाईंले त्यति पनि भाडा माझ्नु भएन है? उफ! तपाईं जस्तो अल्छी को होला? सबैले मलाई मात्र देखेका छन्।’

यही कुरा यसरी पनि भन्न सकिन्छ– तपाईं आजकल व्यस्त हुनुहुन्छ भन्ने मलाई थाहा छ । तपाईंको समय कति मूल्यवान छ भन्ने पनि बुझ्छु। यद्यपि मैले नभ्याएको बेला त्यति काममा हात लगाइदिनु भए खुसी हुने थिएँ। मलाई काम सक्न सहज हुने थियो।

अवरोध
घृणा विरुद्धको प्रतिक्रिया अवरोध हो। कुनै कुराप्रति चित्त नबुझेको, दुरी कायम राख्न वा अलग हुन चाहेको र अनावश्यक झगडामा मुछिन नचाहेको सन्देश सम्प्रेषण गर्न अवरोध गरिन्छ। अवरोधको भाषा यस प्रकार हुन्छ– मेरो मुड छैन। बिना सित्तैमा दिमाग तताउने काम नगर। कति एउटै कुरा बारम्बार सम्झाउनु?

यही अवरोधको भाषालाई यसरी पनि प्रस्तुत गर्न सकिन्छ, प्रिय, मलाई माफ गरिदेऊ, तिमीलाई एकछिन रोक्न चाहन्छु। म अहिले कुरा गर्ने मनोवैज्ञानिक अवस्थामा छैन। केही समय एक्लै बस्न चाहन्छु। के २० मिनेट समय दिन सक्छौ? त्यसपछि कुरा गरौँला।
अधिकांश जोडी अवरोध जनाउनै जान्दैनन्। त्यही कारणले सम्बन्धमा धमिरा फैलिँदै जान्छ।

दि ब्रेकिङ प्वाइन्ट
स्थापित सम्बन्ध बिगार्ने रहर कसैको हुँदैन। सम्बन्ध अगाडि बढ्ने वा अन्त्य हुने कुरा परिस्थिति र घटनाक्रममा भर पर्छ। हरेक व्यक्तिको जीवन बारेमा आ–आफ्नो आदर्श हुन्छ। बिहेपश्चात् त्यो आदर्श पूर्ति भएन वा हनन् भयो भने सम्बन्धमा समस्या उत्पन्न हुन थाल्छ। यही नै अधिकांश विवाहित जोडीको लागि सम्बन्धको ब्रेकिङ्ग प्वाइन्ट बन्छ। केही जोडीहरुलाई भने एक्स्ट्रा मेरिटल अफेयर, शारीरिक दुव्र्यवहार, मानसिक तनाव, न्यून संवाद सम्बन्धको ब्रेकिङ्ग प्वाइन्ट साबित हुन्छ। एउटा वा दुईवटा एक्स्ट्रामेरिटल अफेयर हुँदासम्म माफी दिन सकिएला तर वारम्बार त्यही गल्ती दोहोरिन्छ भने सधैँ माफी दिन सकिँदैन। आफ्नो पार्टनरले शारीरिक दुव्र्यवहार र मानसिक यातना दिएको केही दिन सहन सकिएला तर सधैँ सहन सकिँदैन। यसर्थ जोडीहरु अलग हुने निर्णय लिन्छन्। त्यसैगरी श्रीमान् र श्रीमतीबीच पर्याप्त भावनात्मक एवं व्यक्तिगत संवाद हुन सकेन भने सम्बन्धको जग भत्किँदै जान्छ। वैदेशिक रोजगारीमा बाहिर हुँदा दुईचार महिना कुराकानी नहुनु सामान्य रुपमा लिन सकिएला तर दुईचार वर्षसम्म कुरा आदानप्रदान हुँदैन भने त्यस सम्बन्धको के अर्थ! त्यसैले जोडीहरु छुट्टिन पुग्छन्।

सम्बन्ध व्यवस्थापन
वैवाहिक जीवनको बाटो सिधा हुँदैन। यसमा उतारचढाव आउने गर्छन्। गटम्यानको रिसर्चले सम्बन्धमा उत्पन्न हुने ६९ प्रतिशत समस्या हल गर्न नसकिने देखाएको छ। अर्थात् ३१ प्रतिशत समस्या मात्र समाधान गर्न सकिन्छ। सफल सम्बन्धको लागि सबै समस्याको हल निकाल्नु जरुरी छैन, व्यवस्थापन गरिदिए पुग्छ। न्युरोप्लास्टीसिटी अध्ययनले मानवीय मस्तिष्क २५ वर्ष उमेरसम्म विकास हुने देखाएको छ। यसबाट के बुझ्ने? व्यक्तिको २० वर्षको उमेरमा एक खाले व्यक्तित्व हुन्छ र त्यही व्यक्ति ५० वर्षको हुँदा फरक व्यक्तित्व विकास भइसकेको हुन्छ। त्यसैगरी एक व्यक्तिको ३० वर्ष उमेरमा रहने व्यक्तित्व र ५० वर्ष हुँदाको व्यक्तित्वमा खासै भिन्नता पाइँदैन। तपाईंले ३५ वर्षको उमेरमा २४ वर्षे महिलासँग बिहे गर्नुभयो भने के होला? तपाईं ५० वर्ष हुँदा तपाईंको व्यक्तित्व उस्तै रहन्छ तर तपाईंकी श्रीमतीको भने नयाँ व्यक्तित्व विकास भइसकेको हुन्छ। तपाईं र तपाईंको श्रीमतीबीच कुरै मिल्दैन। सानोतिनो झगडा भइरहन्छ। यसैले पछि सम्बन्धविच्छेदको रुप लिन्छ। बिहे गर्दा व्यक्तित्व म्याच नहुन सक्छ, उमेर नमिल्न सक्छ। बिहेपछि विभिन्न उल्झन आइलाग्न सक्छ। सम्बन्ध बचाउन गाह्रो हुनसक्छ। यस्तो परिस्थितिमा निम्न सिद्धान्त अनुसरण गर्न सकिन्छः

लभ म्याप बढाउने
आफ्नो जीवनसाथीको बारेमा सबै कुरा जानकारी राख्न सक्नुपर्छ। अनि मात्र उनलाई खुसी बनाउन सकिन्छ। जसलाई बिहे गरेको हो, उसकै बारेमा ज्ञान छैन भने वैवाहिक जीवन सुमधुर हुन सक्दैन। आफ्नो पार्टनरबारे राम्रोसँग बुझ्नु छ भने प्रश्न गर्नुहोस्। उनको जीवन दर्शन, उद्देश्य, उत्कृष्ट मित्र बारेमा प्रश्न गर्नुहोस्। प्रायः व्यक्तिलाई प्रश्न गरेर उनको बारेमा जान्ने कोसिस गर्नु साटो उनको बारेमा धारणा बनाइन्छ। यसले समस्या बढाउँछ। त्यसैले आफ्नो पार्टनरलाई बुझ्न विस्तृत उत्तरीय प्रश्न गर्नुहोस्। तिमीलाई नयाँ काममा कस्तो अनुभव हुँदैछ? यस घरको कुन विशेषता मन प-यो? आमा बन्नेबारे तिम्रो के धारणा छ? यस्ता प्रश्नले महिलालाई खुल्न मद्दत गर्छ।

(ख) पार्टनरलाई प्रभाव जमाउन अवसर दिने
परिवारमा कि श्रीमान् हावी हुन्छन् कि श्रीमती। सधैँ आफ्नो बोलवाला चलाउने कोसिस नगर्नुहोस्। एउटा व्यक्तिमाथि र अर्को तल रहेर सम्बन्ध लामो जाँदैन। समानता र सम्मान चाहिन्छ। कहिलेकाहीँ आफ्नो पार्टनरलाई पनि मौका दिनुहोस्। महत्वका साथ सुन्ने बानीको विकास गर्नुहोस्। गलत बोलेको भए पनि आलोचना गर्नु, नकारात्मक टीकाटिप्पणी गर्नु फलप्रद हुँदैन। समानुभूति भाव व्यक्त गर्नुहोस्। आलोचना गर्नु परेको अवस्थामा रचनात्मक आलोचना गर्नुहोस्। यसले परिवारमा द्वन्द्व कम गर्छ र सन्तुलन कायम राख्छ।

(ग) प्रेमको भाषा बुझ्ने
लेखक गेरी च्यापम्यानका अनुसार प्रेमको पाँच भाषा हुन्छन्ः उपहार, गुणवत्ता समय, प्रशंसा, सेवा प्रेरित र शारीरिक स्पर्श। हरेक व्यक्तिको फरक–फरक प्राथमिक प्रेम भाषा हुन्छ। आफ्नो जीवन साथीको प्राथमिक प्रेम भाषा पहिल्याउन सके र त्यहीअनुसार व्यवहार गरियो भने सम्बन्ध कहिल्यै कमजोर हुँदैन। आफ्नो पार्टनरको प्राथमिक प्रेम भाषा प्रशंसा रहेकाले अवसर मिलेसम्म पार्टनरको प्रशंसा गर्नुहोस्। प्रशंसामा कोही व्यक्ति अडिटरी टाइप (सुन्न मन पराउने) हुन्छन्। कोही भिजुअल टाइप (दृश्य हेर्ने मन पराउने) हुन्छन् भने कोही क्रियात्मक। भिजुअल व्यक्तिलाई भौतिक चिज वस्तु उपहार दिएर प्रशंसा गर्नुपर्ने हुन्छ। उपहारको रुपमा पुस्तक, घडी, मोबाइल आदि दिन सकिन्छ। उपहार महँगो हुनुपर्छ भन्ने छैन। अनि मात्र प्रेम अनुभूत हुन्छ। मौखिक प्रशंसा उसका लागि उपयुक्त हुँदैन। सुन्न मन पराउनेलाई फोन गरेर मीठो लवजमा मौखिक प्रशंसा गरिदिए पुग्छ। प्राथमिक प्रेम भाषा गुणवत्ता समय रहेको पार्टनरलाई नयाँ रेस्टुरेन्टमा डिनर डेट लान सकिन्छ वा चलचित्र हेराउन सकिन्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँमा पनि घुमाउन सकिन्छ। सेवा प्रेरित प्राथमिक प्रेम भाषा भएको पार्टनरलाई अत्यधिक छुने र सेक्सका लागि आग्रह गरियो भने के होला? आत्मिय सम्बन्ध स्थापित हुन सक्दैन। सेवा प्रेरित प्राथमिक प्रेम भाषा भएकालाई घरायसी काममा सघाउन सकिन्छ।

शारीरिक स्पर्श प्राथमिक प्रेम भाषा भएको पार्टनरलाई उपयुक्त समय पाउँदा छुने, कपाल सुम्सुम्याउने, अँगालो मार्ने गर्नुपर्छ। अर्को पटक चलचित्र हेर्दा, कहीँ घुम्न जाँदा पार्टनरको हात समाएर हेर्नुहोस्। सेक्स गर्ने तरिकामा विविधता ल्याउनुहोस्, नयाँ प्रयोग गर्नुहोस्। यसले विश्वासको तह बढाउँछ। सम्बन्ध रोमान्टिक बन्छ।

बिहे संवेदनशील विषय हो। ख्यालठट्टा गर्नु घातक सिद्ध हुन्छ। वैवाहिक जीवन र सम्बन्धलाई गम्भीर रुपमा लिनुहोस्। एउटा गए अर्को आउँछ भन्ने मानसिकता पाल्नु मुर्खता हो। सम्बन्ध फेर्दाफेर्दै जीवन सकिन्छ। सम्बन्ध परिवर्तन गर्दै जानु जीवनको उद्देश्य हो र! सम्बन्ध विच्छेद गर्नुको विकल्प नरहे के गर्ने भन्ने मनमा परेको होला। दुवै जित्ने प्रणालीमा जानुहोस्। आफूले जित्ने, अरुलाई हराउने खेलबाट मुक्त रहनुहोस्। दुवैको लागि जीत–जीतको अवस्था सिर्जना गर्नुहोस्।

प्रकाशित: २८ चैत्र २०७५ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App