१७ आश्विन २०७९ सोमबार
अन्य

बुदीको गीत, दाइको चिन्ता

कञ्चनपुरको महेन्द्रनगरस्थित घाँसे मौदानमा परिणत भएको एयरपोर्ट। एयरपोर्ट छेउबाट पश्चिमतिर लागेपछि एकान्त ठाउँमा देखिन्छ चिटिक्क परेको सेतो घर। जहाँ पुराना दिनलाई सम्झिँदै बसिरहेका भेटिन्छन् प्राध्यापक श्रीधर पन्त। उनी प्राध्यापक मात्रै नभएर कुशल समीक्षक पनि हुन्। राम्रा कवि हुन्। अझै भन्नु पर्दा कुनै समयका चर्चित डेउडा गायक हुन्। उनले स्वर दिएको ‘हेरदन्त बसिरऽ गोसी मेरी नन्द’ बोलको गीत एकताका निकै चर्चित थियो। हिजोआज अल्जाइमरले छोइसकेको छ उनलाई। बेलाबेलामा बिर्सिन्छन्। एकान्तमा आफ्नै सुरमा टोलाइरहन्छन्।

संस्कृतमा एउटा श्लोक छ– अरसिकजनसंम्भषणतो वरमिह रसिकेन समं कलह’ अर्थात् पाषाण हृदयसँग कुरा गर्नुभन्दा रसिक जनसँगै झगडा गर्नु वेश। यही श्लोक सम्झिन्थे उनी जब कसैसँग गीत, संगीत र साहित्यका विषयमा बहस सुरु हुन्थ्यो। खुब आनन्द आउँथ्यो रे साहित्यसम्बन्धी छलफल गर्दा। कुनै गायकलाई भेटी भलाकुसारी गर्दा। उनले रसिक ठानेका नयाँ पुस्ताका कयौं कवि लेखकहरूलाई हौसला प्रदान गरिरहे। एकान्तमा गीत गुनगुनाइ रहे।  संघर्षपूर्ण जिन्दगीका गोरेटाहरू नापिरहे। अचेल भक्कानिन्छन् पुराना दिन सम्झिँदा। डाँको छोडेरै रोइदिन्छन् उनले भने जस्ता रसिकहरूसँग भेट हुँदा।

श्रीधर पन्त अढाइ वर्षको छँदा छाडेका हुन् उनका बुबाले यो धर्ती। यो संसारबाट बिदा लिनुअघि वासुदेव पन्तलाई उनको हात दिएर भनेछन् आजदेखि यसलाई पनि साख्खै भाइ ठानेर पाल्नू, हेरविचार गर्नू। वासुदेवले पनि वचन दिएछन्। त्यति बेला श्रीधर अढाइ वर्षका थिए। उसै पनि श्रीधर र वासुदेव धेरै टाढाका थिएनन्। दुवै जना भाइभाइका छोरा। त्यसपछिका दिनमा सबैजना सगोलमै बस्न थाले। वासुदेवले श्रीधरलाई नामले कहिल्यै बोलाएनन्। बोलाउँदा जहिले पनि ‘बुदी’ भने। डोट्याली भाषामा बुदीको अर्थ हो भाइ। श्रीधरले पनि दाइ वासुदेवको साथ र सहयोग पाइरहे। वासुदेवबाट पाएको माया, प्रेम, स्नेह र सहयोगले गर्दा उनलाई कहिल्यै आभास भएन अलग अलग बुबाका छोरा हाैं भन्ने।

डडेलधुराको झिग्नी भन्ने गाउँमा वि.सं. १९९७ मा जन्मेका श्रीधरले ५ कक्षासम्म पहाडमै अध्ययन गरे। १२ वर्षको उमेरमा बिहे भयो। बोझ थपिँदै गयो। जिम्मेवारी बढ्दै गयो। उनकी फुपूका छोरा खगेन्द्र भट्ट भारतको खुर्जामा पढिरहेका थिए। उनले श्रीधरलाई पनि उतै बोलाएर अध्ययन गर्न लगाए। वि.सं.२०१७ मा १९ वर्षको उमेरमा उनले पूर्वमध्यमा पास गरे।  त्यसपछि वि.सं. २०१८ मा राधाकृष्ण संस्कृत महाविद्यालय खुर्जाबाट उत्तरमध्यमा प्रथम वर्ष र वि.सं.२०१९ मा निभवारख महाविद्यालय वृन्दावनबाट द्वितीय वर्ष उत्तीर्ण गरेर डडेलधुरा फर्किए। डडेल्धुराको केदार शिशु सुधारक पाठशालामा मासिक ६० रूपैयाँ तलबमा आठ महिना शिक्षण गरे। अध्ययनको भोक झनझन जाग्न थाल्यो। पुनः उनको यात्रा तय भयो पिलिविततिरको। दुग्धेश्वर महाविद्यालय पिलिवितबाट शास्त्री पहिलो वर्ष उत्तीर्ण गरेका पन्त फेरि हानिए हरिद्वारतिर। जहाँ उनले शास्त्री दोस्रो वर्षको अध्ययन पूरा गरे। इ.सं. १९६५ मा शास्त्री पास भएपछि खुर्जामै फर्किएर अध्यापन गर्न थाले। अध्ययन गर्दा लाग्ने खर्चको जोहो गर्न बीचमा केही महिना काम गर्थे। समय मिलाएर परिवारलाई भेट्न घरतिर आउने गरिरहन्थे। घर फर्किएका बेला परिवारका लागि लत्ता कपडा पनि लग्नु नै प¥यो। हुन त दाजु वासुदेवको परिवारसँगै सगोलमै बसिरहेका थिए आमा र श्रीमती। दाइले सबै व्यवस्था गरेकै थिए। तै पनि रित्तो हात नै त कसरी जानु र घरमा। उसै पनि भारतबाट गाउँ फर्किदा लाहुरे आयो भन्थे।

गंगासागर ट्रष्ट विद्यालय खुर्जामा अध्यापन गर्दा मासिक भारू ७५ तलब पाइन्थ्यो। त्यसै वर्ष उनको परिवार डडेलधुरा छाडेर कञ्चनपुरमा बसाइँ सारिसकेको थियो। दाइ वासुदेवले सबै व्यवस्था मिलाएका थिए। करिव आठ महिना अध्यापन गरेपछि आचार्य पढ्ने सोच पलाउन थाल्यो। संस्कृत विश्वविद्यालय वाराणसीमा भर्ना भए। इ.सं. १९६९ मा उनले आचार्य उत्तीर्ण गरे। अध्ययनमा निकै रुचि राख्ने पन्तले इ.सं. १९७२ मा आग्रा विश्वविद्यालयबाट संस्कृतमा एम.ए. गरे। एम.ए. उत्तीर्ण गरेलगत्तै पिलिवितको रामा इन्टर कलेजमा लेक्चर बने। मासिक तलव थियो ३७५ भारू। त्यही वर्ष आमा, श्रीमती, एक छोरा र छोरीलाई आफूसँगै लगे। जन्मभूमि छाडेर लामो समय बिताए, भारतको पिलिवित सहरमा। पिलिवितमै जन्मेका हुन् कान्छो छोरो र छोरी। दुई छोरा दुई छोरी आमा र श्रीमती सबै जना आनन्दले बसेका थिए । जसोतसो चलेकै थियो गुजारा। तर पनि उनको मनमा सन्तोष थिएन। त्यही सन्तुष्टि खोज्न उनी स्टुडियो धाउन थाले। लखनउ गएर एउटा कुमाउनी गीत रेकर्ड गराए। मनमा केही सन्तोष त भयो। तर, केही दिनमै त्यसले गायनको झन बढी भोक जगाइदियो।

वि.सं.२०३४ मा काठमाडौं हानिए। बहाना थियो काठमाडौंमा हुन गइरहेको बृहत् साहित्य भेलामा भाग लिने। मुजफरफुर हुँदै दुई दिन लगाएर पुगे काठमाडौं। त्यतिबेलै गएछन् रेडियो नेपालमा। रेडियो नेपालभित्र नातीकाजी, नारायण गोपाल लगायत गायक तथा संगीतकारसँग भेट्ने मौका पाए। गीतसंगीत भनेपछि हुरुक्क हुन्थे उनी। घरमा छोराछोरी, श्रीमती कसैलाई थाहा थिएन उनको गीत संगीतप्रतिको लगाबका बारेमा। सुदूरपश्चिममा त्यतिखेर बाहुनका छोराले गीत गाएको सुन्दा अप्ठेरो महसुस गर्थे। राम्रो मान्दैनथे यसरी गीत गाएको। सिधै भनिदिन्थे– भाँणखी जसेरी गीत गाउन लाज लाग्दैन।

समीक्षक, डेउडा गायक र शिक्षासेवीको चिनारी बनाएका श्रीधर पन्तले २०६७ मा प्रकाशित गरेका थिए– डोट्याली व्याकरण। स्वास्थ्यले साथ नदिएपछि अचेल लेख्न सकेका छैनन्। गीत र कविताले भरिएका उनका डायरीहरू सिरानीमै छन्।

गीत गाउने काम गन्धर्वको हो भन्ने मान्यता थियो। तर, उनी कुनै क्रान्तिकारीभन्दा कम थिएनन्। मनभरि भावनाका छाल छल्काउँदै  गीत गाए। कविता लेखे। समाजका विकृतिविरुद्ध लेखे। एक अर्थमा मनको धोको मेटाए। उनले रेडियोमा रेकर्ड गराएको पहिलो गीतको बोल थियो– हीरालाल बौराना पकम बम। गीतका पंक्ति निकै विरहपूर्ण थिए।

धोती मैलो टोपी मैलो धोइदिने कोइ छैन
परदेश मरनेको रोइदिने कोइ छैन।

गरिब गुरुवाहरू नै हुन्थे परदेश जाने। तिनै निमुखा असहायहरू भासिन्थे मुग्लानतिर। आफ्नै समाजमा पनि जात, पद, शक्ति र सम्पत्तिको आडमा बाँचेकाहरू उनीहरूको मृत्युमा खसाल्न चाहँदैनथे दुई थोपा आँसु। परदेशमा त कसले कठै भन्थ्यो र। यस्तैयस्तै कुराले डेरा जमाउँथ्यो रे मनमा। र त मानवीय संवेदनालाई मनन् गरेर रचना गरे उनले अधिकांश सिर्जना।

त्यस्तै उनले गाएको अर्को गीतको बोल थियो– हेर दन्त बसिर गोसी मेरी नन्द। यो गीतले पनि एउटा छुट्टै कथा बोकेको छ। उनले चार डेउडा गीत रेकर्ड गराए रेडियो नेपालमा। जसमध्ये एउटा गीत केही दिनअघि मात्रै उनका छोरा हिमांशु पन्तले रेडियो नेपालको लाइब्रेरीमा फेला पारेको सुनाएका थिए। हिमांशु पनि कुशल गायक भएकाले बुवाका अरू गीतहरूको खोजीमा जुटेका छन्।

करिब १२ वर्षसम्म भारतमा अध्यापन गरेर बसेका पन्त बीचमा समय मिल्नासाथ पुग्थे कहिले काठमाडौं त कहिले महेन्द्रनगर। उनलाई निको लागेन छ आफ्नो देश छाडेर परदेशी बन्न। उनले गीत लेखेछन् :

भोलि भन्दा भन्दा जीवन बित्यो सारा
सबै मिलिजुली आजै देश बनाऔं प्यारा

भक्तराज आचार्यलाई गाउन दिएछन्। भक्तराजले केही लाइन हटाउन सुझाव दिँदा उनले मानेनन्। अन्तत्वगत्वा त्यो गीत रेकर्ड नै भएन। वि.सं. २०४० मा जागिर छाडेर परिवारसहित नेपाल फर्किए। जागिर छोड्ने ताकासम्म उनको तलब थियो मासिक १४ सय भारु। नेपाल आएको केही महिनामै मासिक १२६० रूपैयाँ पाउने गरी पिण्डेश्वर क्याम्पस धरानमा उपप्राध्यापकमा नियुक्त भए। वि.सं. २०४७ मा बाल्मिकि विद्यापीठ काठमाडौंमा सरुवा भए। वि.सं.२०४८ मा प्राचार्यका रुपमा शारदा विद्यापीठ महेन्द्रनगर पुगे। वि.सं.२०५७ मा सहप्राध्यापक बने। त्यही वर्ष आमाको निधन भयो। २०६० मा प्रध्यापक बनेका पन्त २०६३ जेठ १९ गते अवकाश पाएपछि लेखनमा तल्लिन रहे। महेन्द्र विद्याभुषण लगायत थुप्रै पदक, सम्मान पाएका पन्तले २०६७ मा प्रकासित गरे डोट्याली व्याकरण। गीत र कविताले भरिएका डायरीहरू सिरानीमै छन्।  हिजोआज स्वास्थ्यले साथ नदिएपछि सकेका छैनन् लेख्न।

चार वर्ष दीपक जंगमसँग शास्त्रीय संगीत सिकेका कान्छा छोरा हिमांशुले दुईवटा गीत रेकर्ड गर्दा उनी निकै हर्षित बनेका थिए। कुन्नि के भएर हो पछि गायन क्षेत्रबाट टाढै रहे छोरा हिमांशु। अचेल पेन्सन वापतको दुई तीन महिनाको रकम जम्मा भएपछि छोरालाई भन्छन् रे– मसँग केही पैसा छ गीत रेकर्ड गर्ने भए दिन्छु। गीतसंगीतप्रतिको उनको मोह यसैबाट झल्किन्छ। उनको यो भनाइले भित्रैसम्म छोएपछि पुनः गायन क्षेत्रमा फर्किने सोच बनाइसकेका छन् हिमांशुले पनि। घरमा बुबाछोरा गीतका कुरा गर्छन्। बेलाबखत छोरालाई गीत गाउन लगाउँछन् उनी। कुनै कुनै गीतको स्थायी मात्रले हल्लाइ सक्छ मनको पाटो। पुगिसकेका हुन्छन् उनका आँखाका डीलसम्म आँसुका थोपा।

प्रकाशित: २३ चैत्र २०७५ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App