२६ श्रावण २०७७ सोमबार
अन्य

बेलायततिर बरालिँदा

बिबिसी नेपाली सेवाका पारखी छविरमण सिलवालले लण्डनस्थित अब्जर्भेटरीको आँगनमा एउटा खुट्टा पूर्वी गोलाद्र्ध र अर्को खुट्टा पश्चिमी गोलार्धमा राख्न पाएर स्वर्गानुभूति गर्न पाएकाले कृतिको नाम ‘ग्रीनविचको साँझ’ राखेका रहेछन्। त्यसो त यस्तो प्राइम मेरिडियन विश्वको परिधिभरि हुँदो हो तर ग्रीनविचले यसलाई क्यास गरी पर्यटनको लागि हब बनाएको चाल पाएका ठमेलका ह्याण्डीक्राफ्ट व्यवसायी नियात्राकारले माल पाएर चाल नपाएका नेपाली पारा मज्जैले व्यंग्य कस्न छाडेका छैनन्।

प्रायः स्रष्टाले तीन तवरबाट नियात्रा उतारेको देखिन्छ। पहिलो, नेपाल बाहिर यात्रामै निस्कनेबित्तिकै त्यहाँको विकास निर्माण एवं व्यवस्थित, शिष्ट नेपाल भित्रको अस्तव्यस्ततासँग दाँजेर नेपालप्रति नकारात्मक धारणा राख्ने गरिन्छ। दोस्रो, नेपाल बाहिर यात्रामा जाँदा मनमा आउने सोच भनेको नेपालमा रहेकै थातथलो, रहनसहन वा खानपानसँग दाँज्ने पनि हो। तेस्रो, अर्को प्रवृत्ति भनेको नेपाल बाहिर नेपाल खोज्ने प्रवृत्ति। यी मामिलामा ग्रीनविचको साँझका छविरमण सिलवाल पनि अछुतो छैनन्। 

नियात्राकार नेपाल छाडेको एकाध दिनमै नेपालको विषयवस्तुसँग नोस्टाल्जिक भएको देखिन्छ, जुन अलि असामान्य नै हो। होम सिक हुनु पृथक हो भने एकाध दिनमै नोस्टाल्जिक हुनु फरक कुरा।

लण्डनको घुमाईमा सिलवाल त्यहाँको विकास एवं व्यवस्थित चालासँग नेपालको ढिलासुस्ती अनि अस्तव्यस्तता दाँज्न पुग्छन्। उनको दिमागमा नेपालको बस यात्रा, पुराना घरको संरक्षण, सार्वजनिक पार्कको हविगत, खोलानालाको बेहालसँग त्यहाँको व्यवस्थित कुरा दाँजेका मात्र नभई अच्चम्मित पनि मानेका छन्। शेक्सपियरको घरसँग देवकोटाको घरको अवस्था दाँजेर मन अमिलो पार्छन् उनी।

त्यहाँको विकास देखेर नियात्राकार कति चोटी न्याँस्रिन पुग्छन् भने उनलाई झक्झकाउनुपर्ने अवस्था पनि आयो। कुनै दिन नेपालको अवस्था सुध्रेला भन्नेमा आशावादी छन् उनी।

सिलवालले वेम्बली रंगशालासँग दशरथ रंगशाला, थेम्ससँग बाग्मती नदी, ग्रीनविच डाँडोसँग स्वयम्भू डाँडा, हाइड पार्क र रेजेन्ट पार्कसँग रत्नपार्क, क्याम्डेन टाउनसँग ठमेल, असन र भृकुटी मण्डप, ग्रोभ फार्मसँग आफ्नै कृषि पेशा, आलु खन्दा आफ्नै खेतबारी, ग्रोभ फार्म पछि घुमेको डाँडोसँग तिमालको डाँडो दाँज्न चुकेका छैनन्।

उनले नेपाल बाहिर नेपाल खोज्न छाडेका छैनन्। धन्न ट्राफलगार स्क्वायरबाट बिगबेनतिर आउँदा खुकुरी र राइफलधारी गोर्खा सैनिकको सालिकमा उनको नजर पुगेनछ। नियात्राकार नेपाल छाडेको एकाध दिनमै नेपालको विषयवस्तुसँग नोस्टाल्जिक भएको देखिन्छ, जुन अलि असामान्य नै हो। होम सिक हुनु पृथक हो भने एकाध दिनमै नोस्टाल्जिक हुनु फरक कुरा।

लण्डनमा ट्राफलगार स्क्वायर, म्युजियम, बकिंघम प्यालेस, थेम्स नदी मुनिको ग्रीनविच फुट टनेल, कटी सार्क जहाजको नजरानाबाट हौसिएका नियात्राकार त्यहाँको हरियाली र साइकल मोहबाट उदासिन हुन पुग्छन्। क्यामडेन नजिकको तबेलामा अवस्थित नेपाली पसलेको व्यवहारबाट खिन्न बन्छन्। कतिपय साथीले भेट्ने वचन दिएर पनि भेट्न नचाहँदा मन दुखाएका छन्। तर, लण्डनमै तीजको आतिथ्यता पाउँदा, गणेश चौथीका दिन लण्डनमा काँक्रो चोरेर खान पाउँदा, शेक्सपियरको घरमा जान पाउँदा भने दंग परेका छन्।

एकै बसाईमा पढी सिध्याउन सकिने यो कृतिले पढुन्जेल तानिराख्छ। यही नै नियात्राकारको सफलता हो। आम नेपाली नियात्राकारले जस्तै यात्रामा  पटकपटक नेपालप्रति नकारात्मक भाव पोखे बाहेक कृति आफैंको खासै दुर्गुण छैन।  

आफू घुमिसकेको ठाउँमा अर्को व्यक्तिले कसरी अनुभूति गर्दोरहेछ भन्ने यो पुस्तक पढेर थाहा पाएँ। कति ठाउँमा आफूले बढी थोक हेर्न पाएकोमा दंग पर्न पाइन्थ्यो भने कति ठाउँमा सिलवालको वर्णन पढेपछि भने थकथकी पनि लाग्दो रहेछ।

प्रकाशित: २३ चैत्र २०७५ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App