२५ असार २०७७ बिहीबार
अन्य

आहा ! हात नभएको लिंगो

भक्तपुरको बिस्केट जात्रा (बिस्का जात्रा) मा लिंगो उठाउने भनेपछि धेरै बुझछन्, ल्योसिंखलेमा उठाउने हात भएको लिंगो भनेर। तर, योभन्दा कम छैन नजिकै पोटरी स्क्वायरमा उठाउने हात नभएको लिंगो। ल्योसिंखेलमा हात भएको लिगो उठाइन्छ भने पोटरी स्क्वायरमा हात नभएको लिंगो।

हात भएको र नभएको लिगो दुवै एकै दिन उठाइन्छ। तर, हात नभएको लिंगो प्रत्येक वर्ष चैतको अन्तिम दिन बिहान उठाइन्छ भने हात भएको लिंगो त्यही दिन बेलुका उठाइन्छ। एउटै दिनमा उठाए पनि ढाल्ने दिन भने फरकफरक छ। हात भएको लिंगोलाई उठाएको भोलिपल्टै अर्थात् प्रत्येक वर्ष वैशाख १ गते ढालिन्छ भने हात नभएको लिंगो प्रत्येक वर्ष वैशाख ५ गते मात्रै ढाल्ने परम्परा रहेको छ।

हात भएको लिंगो सरकारी सहयोगमै व्यवस्थापन भए पनि हात नभएको लिंगो स्थानीयको विशेष पहलमा उठाइन्छ। टोलका स्थानीयले नै उठाउनेदेखि लिएर व्यवस्थापनको काम पनि उनीहरूले नै गर्छन्। सरकारले उनीहरूका लागि थोरै मात्र सहयोग गरेको पाइन्छ।

ज्याठा गणेश द्यो गुठी (व्यवस्थपान गर्ने समितिको नाम) का अध्यक्ष रामबहादुर प्रजापतिले पहिलादेखि नै स्थानीय मिलेर जात्रा चलाइरहेको बताए। हात नभएको लिंगोको लागि खासै गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले आर्थिक सहयोग नभएको उनले दुखेसो पोखे। सहयोगको नाममा लिंगो, च्वाला (कैची), र डोरी मात्र दिने गरेको उनले जानकारी गराए। उनले भने, ‘लिंगो एउटा लिन जानको लागि मात्र यो वर्ष एक लाख २० हजार खर्च लाग्यो। तर, गुठी संस्थानले भने यो वर्ष १५ हजार रूपैयाँ दिएर पठाएको थियो।’ उनका अनुसार सबैभन्दा बढी पैसा दिएको भनेको यो वर्ष हो।  उनले भने, ‘पहिला कुनै बेला दुई हजार त कुनै बेला पाँच हजार रूपैयाँ दिने गरिन्थ्यो।’

लिंगो उठाउने ठाउँका ३५–४० घरमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि प्रति घर दुई सय रूपैयाँ उठाएको प्रजापतिले जानकारी गराए। पहिलाको वर्ष  च्वाला (कैची) को लागि सूर्यविनायक जंगलबाट काठ दिने गरेको उनले सुनाए। त्यस्तै उनले गत वर्ष गोदाबरीको जंगलबाट काठ ल्याएको र यो वर्ष भने तेलकोटको जंगलमा लिन जानुपर्ने बताए। त्यसको लागि पनि सबै खर्च स्थानीयले नै गर्नुपर्ने उनले व्यक्त गरे। ‘हात भएको लिंगो लागि चारदेखि पाँच लाख रूपैयाँसम्मको बजेट हुन्छ। तर, हात नभएको लिंगोलाई बजेट नै छैन,’ उनले दुखेसो पोखे।

स्थानीय राम प्रजापतिले हात भएको लिंगोभन्दा हात नभएको लिंगोको जात्रा वर्षेनी राम्ररी चलाउँदै आएको बताए। उनका अनुसार यहाँको लिंगो स्थानीयले मात्रै उठाउने भएकाले जात्रामा झगडा हुँदैन। अरु बाहिरका टोलबासी तथा बाहिरका जात्रालुले लिंगो तान्न नपाउने उनले जानकारी गराए।

‘पोटरी स्क्वायरमा धेरै ठाउँ छैनन्, त्यसैले यहाँको हात नभएको लिंगो बलको प्रयोगले नभई दिमाग लगाएर लिंगो उठाइन्छ,’ न्हुछेमाया सुजखु भन्छिन्। उनले यो लिंगोको बारेमा धेरैलाई थाहा नभएको सुनाउँछिन्। यो लिंगो टोलका स्थानीयवासी मिलेर च्वाला (कैची)को सहयोगबाट उठाउने उनले सुनाइन्। उनी भन्छिन्, ‘हात भएको लिंगो भन्दा हात नभइको लिंगोको जात्रा हेर्ने नै मज्जा लाग्छ।’ हात भएको लिंगो उठाउने बेलुका हुने, त्यसमाथि वर्षेनी घाइते हुने भएकाले खासै हात भएको लिंगो हेर्न नजाउने उनी बताउँछिन्।

संस्कृतिविद् ओम धौभडेलका अनुसार हात भएको लिंगो पनि छुट्टै किम्बदन्ती रहेको छ। उनले हात नभएको लिंगोको हात नहुनुको कारण लिंगोले मासु चोरेर खाएको बेला चोरी समाएको र त्यही बेला लिंगोको हात काटिदिएको भन्ने किम्बदन्ती रहेको बताए। साथै हात भएको लिंगोको नाक नभएको हात भएको उनले बताए। किनभने हात नभएको लिंगोलाई एक रातको लागि एक जना पुरुष चाहिने भएकाले इज्जत नभएको लिंगो अर्थात् नाक नभएको लिंगो भनिने किम्बदन्ती रहेको उनले जानकारी गराए। धौभडेलका अनुसार हात नभएको लिंगोलाई शक्ति नभएको लिंगो र हात भएको लिंगोलाई इज्जत नभएको लिंगो भनिन्छ।

प्रकाशित: २२ चैत्र २०७५ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App