७ वैशाख २०८१ शुक्रबार
अन्य

बाबाको सपना अर्थात् कथा जारी छ

कथाकारको दिमागमा एउटा टपिक फुर्याैं। टपिक माने शीर्षक, ‘बाबाको सपना’। अपरिपक्व अवस्थामै उसले त्यो टपिकको कथा कागजमा उतार्न खोज्यो। त्यो उचित थिएन। कथालाई सिजेरियन गरेर बलजफ्ती जन्माएजस्तो हुन सक्थ्यो। बलजफ्ती नभनौँ, तर अप्राकृतिक भने त मिल्छ। 

तर प्रस्तुत कथाको कथाकार त्यस्तैत्यस्तै कथा लेख्नमा व्यस्त रहन्थे। अप्राकृतिक कथा ? होइन अपरिपक्व अवस्थाको कथा। कट्मिरो। कथाकारको दिमागमा धेरै टपिक आउँथे। ऊ तिनलाई अपरिपक्व अवस्थामै कागजमा उतार्न खोज्थ्यो। ती कथाले अकालमै मृत्यु प्राप्त गर्थे। कथाकारको सफल हुने सम्भावना पनि साथसाथै तुहिन्थ्यो। 

यस्तो एउटा क्रम थियो जुन चलिरहेको थियो। कथाकार सफल हुन चाहन्थ्यो। कथाका टपिक उसको दिमागमा आइरहन्थे। तर तिनलाई हतारमा जन्माउने चेष्टामा कथा तुहिन्थे। कथाकार पुनः असफल हुन्थ्यो। तर यसपटक कथाको शीर्षक जुन थियो ‘बाबाको सपना’ त्यसलाई उसले धैर्यसाथ लेख्ने सङ्कल्प लियो। कथाकारको सङ्कल्प कति टिकाउ थियो त्यो हेर्नु नै छ। कथा कतै स्फित भएर फितलो नहोस्। यसतिर कथाकार सतर्क छ। यो कथा जुन ‘बाबाको सपना’ भनेर कथाकार लेख्न गइरहेछ त्यो एक अत्यन्त पुरानो भए पनि सधैँ नयाँ भइरहने विषय थियो। तर सतर्कता यो कि कथाकार पत्नीलाई ‘बाबा’ भनेर बोलाउँथ्यो। अरू धेरै पतिपत्नीले एकअर्कालाई ‘बाबा’ भनेर बोलाउँदा हुन्। साना छोराछोरीलाई पनि बाबा भन्छन्। 

बाबा भन्नुको सट्टा शीर्षक ‘बाउको सपना’ वा ‘उसको बुबाको सपना’ वा यस्तैयस्तै अरू केही भनेको भए सपना कसको रहेछ जुन पूरा गर्न हजारौँ युवा खाडीका देशतिर जान्छन् भन्ने अत्यन्त स्पष्ट हुने थियो।

हजारौँ युवाहरू दैनिक खाडी देशतिर गइरहन्थे। उनीहरू त्यसरी खाडी देशमा श्रम गर्न जानुको कारणमध्ये एक बाबाको सपना पूरा गर्न जाँदैछौँ पनि भन्थे। ती युवा श्रमिक अत्यन्त गरम मरुभूमिमा जोतिन्थे। अग्लाअग्ला भवन बनाउँथे, पुल बनाउँथे, सडक मर्मत गर्थे, खेल मैदान निर्माण गर्थे। त्यस्तो कर्रा श्रमपूर्ण काम गरेर पनि कहिलेकाहीँ तिनको पारिश्रमिक मारिन्थ्यो। म्यान पावर कम्पनीले वा फेक एजेन्टहरूले ठगेर बिचल्लीमा पार्थे। कहिले ती युवा श्रमिक दूतावासको शरणमा जान्थे। देश फर्कने टिकटको व्यवस्था गरिमाग्न। कहिले ती बाकसमा हालिएर फर्काइन्थे। निचोडमा स्थिति उत्साहजनक थिएन।    

यता मुलुकका नेतालगायत अर्थविद् वा उद्योगपति तथा मन्त्री–प्रधानमन्त्रीहरू चिच्च्याईचिच्च्याई क्लेम गर्थे ‘हाम्रा युवाले कतार बनाए। साउदीमा खटिएर अनेक कठिन कार्य सम्पन्न गरे। उनीहरू विदेश नगए यो मुलुक नेपाल नेपाल बन्ने थियो।’ कथाकारले सोच्यो, ए त्यसो भए विदेश गएर पसिना बगाउनुभन्दा ती युवा स्वदेशमै बसेर किन पसिना बगाउँदैनन् ?’ 

कथाकारले यो कुरामाथि विचार ग¥यो। नेपाल बनाउने कुरामा प्वाइन्ट छ। यति भन्दाभन्दै पनि युवाहरू खाडीकै देशतिर ओइरिरहेकै छन्। किन ? कथाकारले बुझ्न सकेन।

कथाकार असफल हुन चाहन्नथ्यो। कथा सिजेरियन विधिबाट जन्मेको नहोस्। त्यो सङ्कल्प त कथाकारले गरेकै थियो। सङ्कल्पलाई साकार पार्न कथालाई सफल बनाउनु पनि थियो। त्यसैले कथाकार आपैmँ खाडीका कुनै एक देशतिर जाने विचार गर्याे। विचार त गर्याे तर त्यो कदापि सम्भव थिएन। सम्भव हुनै सक्तैनथ्यो। कथाकार श्रमिक थिएन। सुविधाभोगी प्राणी थियो। साथै ऊ बूढो पनि भइसकेको छ।

कथाकार कथाको यो बीचखण्डमा आइपुगेको थियो। कथा लम्ब्याउने एउटा तरिका। यो तरिका कथाकारले धेरै पटक प्रयोग गरिसकेको छ। कथाकारलाई शंका लाग्थ्यो, यै प्रविधिको प्रयोगले उसका कथा असफल हुने गरेका त होइनन् ? कथा सफल वा असफल हुनुको यो एउटा मापदण्ड हुन सक्थ्यो। सक्तैनथ्यो पनि। त्यो अर्को पाटो। यो ‘अर्को पाटो’ भो शब्दावली पनि कथाकारले राजनीतिका नेता÷मन्त्रीहरूको इन्टरभ्यु हेर्दाहेर्दा प्रयोग गर्न सिकेको थियो। उनीहरू यो शब्दावली तब प्रयोग गर्थे जब उनीहरूले जटिल प्रश्नको सामना गर्दा अनुत्तरित हुनु पथ्र्यो। त्यसरी अनुत्तरित हुनबाट तर्किनलाई पनि यो शब्दावली निर्मित गरिएजस्तो लाग्यो कथाकारलाई।    

तर यहाँ कथाकारले ‘अर्को पाटो’ शब्दावलीलाई कथाको गतिरोध लुकाउन प्रयोग गर्दै थियो। कथाकारलाई जानु थियो खाडीको देश। त्यो असम्भव भएपछि ऊ ‘अर्को पाटो’ तिर फर्केको हो। अर्को पाटोतिर फर्के पनि कथाकार यो जुन कथाको टपिक छ ‘बाबाको सपना’ बाट उन्मुक्ति पाउन सक्तैनथ्यो। 

अर्को कारण यो पनि थियो। त्यो हो कथाकार स्वयंको ‘बाबाको सपना’। त्यो सपनाले कथाकारलाई बेलाबेला ठुङ्ने गर्छ। उसको बाबाको सपना के थियो ? त्यो सपना कथाकारले आजीवन उल्लेख गरेन। सपना उल्लेख्य थियो तर उल्लेख गरेन। लाजले वा बाध्यताले वा एउटा रहस्य जुन कथाकारले आफ्नो चितासँगै भस्म पार्न चाहन्थ्यो ? प्रश्न अनेक थिए। तर अनुत्तरित। 

कथाकारले स्वयं आफ्नै बाबाको सपनाको उल्लेख गर्न नचाहनुको एउटा मुख्य कारण यो पनि हुन सक्थ्यो, त्यो सपना कथाकारले कहिल्यै पूरा गर्न सकेन। यो शीर्षक ‘बाबाको सपना’ ले कथाकारको मस्तिष्कमा मेटाउन नसकिने गरी अङ्कित÷टङ्कित जे भनौँ भएर बसेको थियो। ढुङ्गामा कुँदिएको शिलालेख जस्तो। 

अरू थप केही भन्न पनि सकिन्थ्यो होला। कथाकारले थप बयान बिसायो। बयान यस्तो हुन सक्थ्यो अदालतमा पुर्याइएपछि अपराधीले भन्ने गरेजस्तो प्रहरीले लिएको बयान मलाई यातना दिएर बकाइएको हो। तर कथाकार आफ्नै बाबाको सपनाबारे बयान दिनबाट रोकियो। उसकै बाबाको सपनाले फुटेज खाइदियो भने अरूका ‘बाबाको सपना’ बारे के लेख्ने ?
जहाँ कथाकार पुगेको थियो कथालेखनमा, त्यस प्वाइन्टबाट उठान गर्दा कथाकारले अगाडि लेख्यो, स्वदेशका युवाहरू आ–आफ्ना बाबाका सपना पूरा गर्न खाडी देशतिर जान्छन्। यो सत्य हो। के ती सबै युवाका बाबाले आ–आफ्ना छोरा वा छोरी विदेशतिर पलायन गरेर दुःख पाऊन् ? दुःखले कमाएको धेरथोर रकम घर पठाऊन् भन्ने सपना देख्ने गरेका छन् ? के त्यसरी पठाएको रकमले बाबाहरूले देखेको सपना पूरा हुन्छ ?

कथाकारले यहीँनिर सोच्यो, पहिले त बाबाहरूले कस्ता सपना देख्छन् ? त्यसको कुनै रेकर्ड गरिएको तथ्याङ्क धेरैसँग थिएन। के बाबाहरू सुखले एक छाक खानलाउन र एउटा बर्सातको पानी नचुहिने ओतमुनि बस्ने सपना मात्र देख्थे ? कथाकारलाई फेरि लाग्यो, यसमा प्वाइन्ट छ। उसले सोच्यो ‘यो प्वाइन्ट छ’ भन्ने उल्लेख माथि एक ठाउँ पनि भइसकेको छ। दुदुई ठाउँ उल्लेख गर्दा कथाको संरचनामा फरक त पर्दैनथ्यो तर आलोचकहरूले भन्न सक्थे कि कथाकारले ‘यस कुरामा प्वाइन्ट छ’ भन्ने वाक्यांशबाट प्रेरित भएर यो कथा लेखेको हो तसर्थ यो कथा एक कमजोर कथा बन्न पुगेको छ। 

कथा त कमजोरै छ। कारण यो थियो, हाम्रा युवाहरू किन खाडी देशतिर हुइँकिन्छन् ? स्पष्टतः आर्थिक कमजोरीका कारण। आर्थिक कमजोरीको उल्लेख गर्न उद्यत कथा कसरी सबल र सफल हुन सक्छ ? कथाकार यो बुझ्दैन। भन्नेहरू भन्दै गर्छन्। गाउँलेहरूको कामै गाउनु हो। यो पनि सही हो, खाडी देशतिर जाने बढी युवा गाउँघरकै छन्। दुरदराज वा नजिकका गाउँका।

कथाकारले सोच्यो, खाडीतिर जाने युवाहरूको जमातसँग अन्तर्वार्ता लिनुपर्याे। बाबाको सपना पूरा गर्न विदेशतिर श्रम गर्न जानेहरूले के भन्छन् ? केही त भन्छन्। ती सबैको निचोड निकाल्नु पर्ला। कथाकार यो सोचेपछि अर्को दिन लाग्यो विदेश जाने जमातहरू भएतिर। विदेश जाने कामदारलाई अनुमति दिने विभागको अगाडि हजार–बार सयको लामो लर्को थियो।

तीमध्ये कसलाई अन्तर्वार्ताका लागि छान्ने भन्ने समस्या थिएन। सबै उस्तै समस्याले ग्रस्त थिए। कुनै चार छ जनालाई र्यान्डम छानेर सोध्दा हुने मसला थियो। मुद्दा खासै जटिल थिएन। आर्थिक अभावले अर्थात् गरिबी निवारणका लागि जाँदै थिए विदेश। मरुभूमिका देशहरूमा जहाँ रूखपात थिएनन्। त्यसमाथि म्यान पावरकाले छल गरेर मरुभूमिको कुन कुनामा ऊँट वा भेडा वा दुवै चराउन कैद गरिन्थे। जे भए पनि अकल्पित कष्ट खेप्नु पथ्र्यो। 

सरकार त्यसमाथि चिच्च्याउँथ्यो, युवा रोजगार सिर्जना गरेरै छाड्छौँ। विदेश जान नपर्ने बनाएरै छाड्छौँ। तर अर्बौंको घोटालाका समाचार आइरहन्थे। समाचार पत्रमाथि नियन्त्रण गर्ने विधेयक पास गरिन्थे। घोटाला–भ्रष्टाचार लुकाउनुपर्नेमा छापा र दृश्य माध्यममा त्यस्ताको छताछुल्ल पार्ने भण्डाफोर निरन्तर आइरहन्थे। भ्रष्टाचार पनि रोकिँदैनथ्यो र युवाहरू पनि खाडी देश जार्नै पर्ने भइरहन्थ्यो। 

घोटाला र भ्रष्टाचार गर्ने मन्त्री÷पदधारी कर्मचारीको पहिचान खास गर्नुपर्ने थिएन। सबै उस्तै थिए। सरकार फेरिन्थे, मन्त्रीका अनुहार फेरिन्थे। दल फेरिन्थे। झण्डा, सिद्धान्त र चुनाव चिह्न, घोषणापत्र फेरिन्थे। तर बोलीवचन र प्रतिज्ञाहरू उस्तै हुन्थे। देशविकासका नारा केही फेरफार गरिए पनि भन्ने तरिका तिनै हुन्थे। कुनै एक मन्त्री÷सरकारी उच्च पदधारीको नाम लिएमा फरक पर्दैनथ्यो। नाम फरक–फरक थिए, अनुहार फरक–फरक थिए। भए पनि कार्यशैली उस्तैउस्तै थियो।

विदेश जाने युवा कामदारको लर्कोछेउमा कथाकार उभिएको छ। कुनै एक युवकलाई छान्नु थियो। त्यो पनि जरुरी थिएन। टिभी र पेपरमा तिनका व्यथाहरू, वेदनाहरू, भनाइहरू आइरहन्थे। तिनैलाई कोट गरे पनि पुग्ने थियो। ती मिडियामा लेखिएका सुनिएका वेदना, व्यथा र विवशता नै यहाँ पनि दोहोरिने कथाकारलाई थाहा छ। तैपनि मनले मानेन र सोधिहेर्याे।
‘भाइ, तपाईंको नाम ?’ 
‘हामी सबै एउटै नामका हौँ।’ लर्कोमा उभिएको एक युवकले हातको कागज लहराएर भन्यो, ‘हाम्रो कुनै नाम छैन।’
‘तैपनि। बिना नामको त को हुन्छ र ?’ कथाकारको मनमा डर पैदा भयो। कतै लप्पड त लगाउने होइन। व्यथा एकातिर छ, नाम सोध्ने फुर्सद लिएर यो ट्वाँट आएको छ ! 

‘सही नाम मेरो धनबहादुर हो रे ! त्यसले के भयो। यो पूरै लर्कोको नाम धनबहादुर भनेर लेख्दा के हुन्छ ? यहाँ कोही मनबहादुर होला, कोही ज्ञानबहादुर होला। तर फरक पर्दैन। नाम ठेगाना चाहिने ठाउँमा हामीले फारम भरेर बुझाउँछौँ। हातमा अनुमतिपत्र परेपछि हामी एक बिदेसिएको नेपाली युवा श्रमिक हुन्छौँ। पाखुरामा बल छउञ्जेल श्रम गर्छौं, हो ? त्यसपछि हामी बिलाउँछौँ।’ 

नामको कुरा त्यहीँ सकियो। हो, धनबहादुर लेखे पनि, मनबहादुर लेखे पनि, ज्ञानबहादुर लेखे पनि फरक पर्दैनथ्यो। कथाकारले सोचेको थियो, कथामा परिवर्तित भनेर वास्तविकभन्दा अर्कै नाम लेख्नेछ। तर परिवर्तित नाम लेख कि अपरिवर्तित त्यसले अन्तर पर्ने देखिएन। जानेमध्ये सबै थरीथरी नाम र थरका थिए। धनबहादुरलाई मनबहादुर भन्ने नाम परिवर्तन गरेर लेखे पनि ऊ पनि बिदेसिने युवा श्रमिकमध्ये एक हुन्थ्यो। त्यसले गर्दा नाम फेर्नुको अर्थ थिएन।    
‘जानुपर्ने कारण के होला ?’ स्वर कातर थियो। यस्तो थाहा पाएर पनि सोधिरहेछ। आलो घाउमा नुन छर्केजस्तो। 

युवक श्रमिक हाँस्यो। भन्यो, ‘तपाईं भर्खर पत्रकारिताको लाइनमा आउनुभएको हो कि क्या हो ? उमेरले त पाको देखिनुहुन्छ। ढिलो गरी पत्रकारितामा लाग्नुभएछ।’ कसो त्यो युवक श्रमिकले भनेन, घरै बस्नोस् वा पेसा चेन्ज गर्नोस्। उसरी युवक श्रमिकलाई थाहा हुन सक्ने कुरो थिएन, ऊ एक कथाकार हो।
‘तैपनि एउटा हुन्छ नि, बाबाको सपना वा...’ 

‘बाबाको सपना मात्रै किन ? बाबाले पनि त्यही सपना देखे। मैले पनि त्यही सपना देख्छु। मेरो परिवारले पनि त्यही सपना देख्छ। मेरो मुलुकले समेत त्यही सपना देख्छ। बाबाको सपनालाई मात्र यसमा किन तोक्ने ? तर समस्या यो छ सपना बेचेर खानेहरू बढी भइदिए यो मुलुकमा। नेता, मन्त्रीहरू, माफिया, दलाल...’

युवक श्रमिकले बीचैमा कुरा रोक्यो। अगाडि ठाउँ खाली भएकोले पछाडिबाट घचेटाइ आयो। त्यो युवक श्रमिक अगाडि सर्याे। अर्को उसको ठाउँमा उभिन आयो। मानौँ एक युवक श्रमिक गएपछि अर्को युवक श्रमिक स्पेस भर्न आउने एउटा शृङ्खला छ, क्रमबद्धता छ। विदेश जाने युवक श्रमिकको ठाउँ खाली भएपछि गाउँघरमा पर्खिरहेको अर्को युवक सट्टाभर्नामा विदेश जान्छ। अर्को युवक श्रमिक अलि आलो देखियो। पहिलोपटक विदेश जान तयारी गरिरहेजस्तो। 
‘भाइ, पहिलोपटक हो ?’ कथाकारले नयाँ आविष्कार सार्वजनिक गरेझैं सोध्यो। 

त्यो युवक श्रमिक मुसुक्क हाँस्यो। मानौं बालकले हठ गरेर हात्तीलाई सुईको प्वालबाट छिराइदिन रोइकराइ गरिरहेछ। कथाकारलाई यो उदाहरण सच्च्याउन मन लाग्यो। तर उसले पनि हठ गरेर सोच्यो अब लेखियो त लेखियो। कसैले यो भन्ने छैन जा हात्ती लिएर आ र सुई पनि अनि हेरौँ उखान कति सही छ। उसरी ती दुवै चीजको यहाँ प्रासङ्गिकता थिएन।
‘हाम्रो परिवार एउटा पूरै जेनरेसन विदेश गएर श्रम गर्ने परिवार हो। अब यसलाई हेरेर म आपूmलाई नयाँ भनूँ कि परम्परा धान्ने ?’ 

कथाकारले युवक श्रमिकको उत्तर कठबाँससरी खँदिलो पायो। क्या जेनरेसन छ। जवाफ दिनमा माहिर ! तैपनि विदेशिइरहेछ। के गर्ने ? कसलाई सोध्ने ? त्यो युवक श्रमिक पनि अगाडि बढ्यो। लर्को लामै थियो। ब्याकप्याकसहितको। 
अर्कोलाई कथाकारले प्रश्न तेस्र्यायो, निकै कठिन प्रश्न मानेर, ‘यो विदेश जाने युवाशक्तिलाई स्वदेशमै रोक्छौँ भन्छन् नि ?’ त्यो युवक श्रमिकले मुख बिगार्याे। तिक्त भएर भन्यो, ‘त्यसो भन्ने को हुन् ? नेता ? मन्त्री ?’ कथाकार चुप लाग्यो। गोमा घ्यू थप्नु थिएन। 

‘प्रश्न सलिड छ। तर मैले यो कुरो जन्मेदेखि नै सुन्दै आएको छु। खै आजसम्म कसैले केही ठोस गरेको देखिएन। सुन्दासुन्दा कान पाकिसके। मुलुक झन्झन् उँधो लागेको देखिन्छ। तर एउटा कुरा म यो भन्छु, यो प्रश्नको उत्तर हामीले दिन सक्तैनौँ। हामी त पीडित हौँ। पीडकलाई नै सोध्नोस्। धेरै के भनूँ ?...ऊ मेरो पालो आयो, सरी।’

अर्को युवक श्रमिक त्यो ठाउँमा उभिन आयो। कथाकारले अत्यन्त जनसरोकारको प्रश्न सोध्छु भनेर मुख बायो। तर पहिलो शब्द निकाल्न पाएन। युवक श्रमिकले भन्यो, ‘अब के सोध्नुहुन्छ ? सबै तिनै कुरा हुन्। मभन्दा अगाडिकाले जेजे भने तिनै हुन् हाम्रा उत्तर। हामीले सपना पूरा गर्न चाहे त्यो बाबाको होस् वा हाम्रै सन्तानको वा मुलुकको, विदेश नगई हुँदैन। अरू भन्नु छैन।’ 

कथाकारलाई युवक श्रमिकले अरू केही भनाइ थप्लाजस्तो लागिरह्यो। तर उसले एकाएक भनाइ रोक्यो र पालो छोप्न अघि बढ्यो। कथाकारलाई लाग्यो कता के–के नपुगेजस्तो भइरहेछ। युवक श्रमिकले आक्रोशका केही थप शब्द भनोस्। अनि त कथाको प्रभावकारिता बढ्ने थियो। 

तर त्यसो भएन। तरकारीमा नुन नपुगेजस्तो कथाकारलाई कथामा कतै केही कमी खट्किरह्यो। कथाले पूर्णता पाएन कि भन्ने आशंका पनि कथाकारको मनमा उब्जियो। कथाकार कथाको कुनै एक ठाउँ आर्थिक क्रान्ति भने शब्दावली छिराउने प्रयत्नमा थियो। त्यो पनि हुन सकेन। आर्थिक क्रान्ति भन्ने शब्दावलीविना नेताको भाषण फिक्का भएझैं कथा पनि प्रभावहीन हुने भयो।  

समस्या यो थियो, कथालाई कति लम्ब्याउने ? अन्ततः कथाकार कथा टुंग्याउन बाध्य भयो। कथाकारले कथा टुंग्याए पनि कथा टुंगिएको छैन। कथा जारी छ। यो एउटा अलग्गै टिप्पणी हुन सक्थ्यो।     

प्रकाशित: १९ फाल्गुन २०७५ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App