coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

हिमालको काखमूनि ओखरेनी

यो चिटिक्क गाउँ सिन्धुपाल्चोकको लेकाली क्षेत्रको ओखरेनी हो। पाँचपोखरी थाङपाल गाउँपालिकाको लागार्चेमा पर्ने गाउँ झण्डै साढे २ हजार मिटर उचाइमा छ। करिब ४० परिवार बस्ने यो सानो गाउँको शिरानमा बुद्धको बिशाल मूर्ति छ। पश्चिमतिर जुगल हिमशृंखला टलक्क टल्किन्छ। हिमाल र बुद्धमूर्तिले गाउँको शोभा बढाएका छन्।

राता, साना आकारका घर चिटिक्क छन्। बस्तीको बीचमा छ जोडी बौद्धस्तुप। हिमाल र स्तुप दुबैको रंग सेतो छ। हिमाल र स्तुप आपसमा भलाकुसारीमा व्यस्त भए झैँ लाग्छ। ती शान्तिका कुरा गरिरहेका भान हुन्छ। सेतो रंग शान्तिको प्रतिक। बुद्धमूर्ति र बौद्ध स्तुप हेरेरै भन्न सकिन्छ, गाउँमा बौद्धमार्गी बस्छन्। उनीहरु शान्तिप्रेमी हुन्, त्यसैले सेतो रंग मन पराउँछन्।

गुराँस फूल्दा गाउँ दुलही झैँ सिंगारिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको चासोमा पर्न थालेको गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन्।

टाँगिएका ध्वजापतकाले गाउँको सौन्र्दयमा निखारता ल्याएको छ। बाह्रैमास सिरिरी चल्ने सिरेटोमा फहराइरहने ध्वजापताकाले आगन्तुकलाई स्वागत गरिहन्छन्। हिमालको काखमा बुद्धमूर्ति, बौद्धस्तुप, फहराइरहने झण्डा बीचमा राता घरहरुले गाउँको शृंगार अझ खुलाएको छ।

यो गाउँ विनासकारी भूकम्पले तहसनहस बनायो। घर ढाल्यो, बौद्धस्तुप पनि भत्कायो। भूकम्प अघि पनि यो गाउँ सुन्दर थियो तर अहिलेको जति होइन्। बुद्धको मूर्ति एक स्थानीयले व्यक्तिगत लगानीमा बनाएका हुन्। तर सबैले पूजापाठ गर्न पाउँछन्। घरैपिच्छे चन्दा उठाएर गाउँलेले बौद्धस्तुप पुनर्निर्माण गरे। बौद्धमार्गी समुदायमा मिलेर बस्न रुचाउँछन्। पहिले ढुंगामाटाका घर थिए। बदलामा बलिया घर ठडिएका छन्, त्यो पनि उस्तै आकार, शैली र रंगमा।

‘भुकम्पले गाउँको चमकै फेरिदियो,’ सुन्दर गाउँ नियाल्दै स्थानीय दावा लामाले भने। तत्कालीन ज्यामिरे, सिम्पालकाभ्रे, भोटेनाम्लाङ गाविसको बीचमा पर्ने यो गाउँलाई सदरमुकाम चौतारा र पश्चिमी मुकाम मेलम्चीबाट सडकमा जोडिएको छ। नियमित बस चल्छन्। यहाँबाट छिमेकी जिल्ला रसुवाको लाङटाङ हिमाल पनि देखिन्छ। गाउँमा गुराँश फूल्न थालेको छ। गुराँस फूल्दा गाउँ दुलही झैँ सिंगारिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको चासोमा पर्न थालेको गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन्।

दुइटा रुट प्रयोग गरी ओखरेनी पुग्न सकिन्छ। एउटा सदरमुकाम चौतारा हुँदै अर्को पश्चिमी मुकाम मेलम्ची हुँदै। जुन रुट प्रयोग गरे पनि प्राकृतिक छटामा रमाउने अवसर छ। चौताराबाट स्याउले, सानो ओखरेनी लामीडाँडा फुस्रे, गोब्र्रे हुँदै झण्डै १० किमी दुरी मोटरबाटो छिचोलेर यहाँ पुग्न सकिन्छ। बाटैभरि लोठ सल्ला, गोब्रे सल्लाका पात सुसाइ रहन्छन्। हिमाल मुस्कुराएकै हुन्छन्।

मेलम्चीबाट ज्यामिरेको गुफाडाँडा हुँदै अघि बढ्दा ओखरेनी आइपुग्छ। गुफाडाँडा त्यो स्थान हो जहाँ गत पुस दोस्रो साता देशैभरका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उपस्थितिमा राष्ट्रिय जलवायु सम्मेलन भएको थियो। यहाँबाट नब्बे डिग्रीको कोणमा हिमाल देखिन्छ। मेलम्ची–ओखरेनी १० किमी नै मोटरबाटोले जोड्छ। यो सिजन बाटोमा जमेका हिउँ खेल्दै रम्न सकिन्छ। जलवायु सम्मेलनपछि गुफाडाँडा, ओखरेनी क्षेत्र चर्चामा छ। पछिल्लो समय आन्तरिक पर्यटकको जमघट बढ्न थालेको छ।

चौताराबाट चर्चित तथा धार्मिक पर्यटकीय क्षेत्र पाँचपोखरी जाने रुटमै पर्छ ओखरेनी। यहाँ मृग, बदेँल, कालिज लगायत जंगली जनावर दिउँसै देख्न पाइन्छ। स्थानीय जातका कुखुरा, कोदो रक्सी र लेकाली डल्ले मुलाका अचार परिकारको स्वाद सस्तोमै चाख्न सकिन्छ। राजधानीबाट यात्रुबस चढेर पाँच घण्टामै ओखरेनी आइपुग्न सकिन्छ। आफ्नै सवारी साधन हुने घुमेर एकै दिनमा फर्कँन भ्याउँछन्। हिमाल, गुराँस, सम्पदा र स्थानीय सहनसहन अवलोकन गर्न माघ–फागुनको सिजन पुग्नै पर्ने नजिकको गन्तव्य हो ओखरेनी।

प्रकाशित: ११ फाल्गुन २०७५ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App