ओरालेर राजाको शिरबाट
जनताको आँगनसम्म पुर्याए पनि
निर्धक्क चम्किरहेको छ श्रीपेच
आज पनि उसै गरी
जसरी चम्कन्छ देउताको शिरमा मुकुट
जसरी गर्जन्छ सम्राटको शिरमा ताज
हर कोही मान्छे लगाईरहेछन श्रीपेच
शायद लाउन चाहन्छ यो कवि पनि
भन्थे मान्छेहरु !
झर्नेछ, श्रीपेच यूनियन ज्याकको झन्डा भएर
अनि फुल्नेछ स्वतन्त्रताको फूल गाउँगाउँमा
तर ढलेन, हटेन निरङ्कुश श्रीपेच
बेठेगान लेखिएको इतिहास जस्तो
बेसक !
श्रीपेच कलमको टुप्पोमा बस्छ र
रोब जमाउँछ विचारमा
क्रूर शिक्षा भएर
कलीला नानीको आँखामा बस्छ र
तिलमिल्याउन खोज्छ चमक पनि
व्यभिचारी डाक्टर भएर डिग्रीहरुमा बस्छ र
रोगग्रस्त नियम तर्जुमा गर्छ।
प्रत्येक कार्यालयमा प्रमुख बनेर उभिन्छ
घुरहू थारुको खमारमा धान थुपारी नसक्दै
तलसिंह भएर उभिन्छ श्रीपेच
जल्लादहरुको मुखपत्र भएर बस्छ र
उठ्छ राष्ट्रघातको नारा भएर
खै कहाँ ढल्यो र ?
श्रीपेच लाउनेहरु बाज बने र
ठुँगीरहे साना चल्लाहरुलाई
जौहरी बने र दाम लगाईरहे मान्छेको मनको
शासक बने र डोरी चुँडाए जस्तो
चटक्क चुँडाए एकता र बिस्वास
मस्तिष्क भित्र पसे र शुन्य बनाए सोच
इतिहास हेर..
दशकोेै दूरी पार गरेर ढल्दो रहेछ श्रीपेच
तर
कहाँ समय लाग्दो रहेछ र
तानाशाह बनेर फेरि उभिन ?
ए ! शासक !
यो देशमा नयाँ कानूनहरुको झेल गरेर
तिमी तानाशाह हुन खोज्दैछौ भने,
तिमी हिड्ने पदचापमा अझै जङ्गबहादुरका
डोबहरु बाँकि छन् भने,
खबरदार !
बस्ती बस्तीबाट
नानीलाई दूध चुसाउँदै गरेका आमाहरू
नानी छोडेर निस्किए र
दुधको छिर्का तिम्रो अनुहारमा पर्यो भने,
हलो जोत्दा जोत्दै खेत छोडेर किसानहरु
तिम्रो मुखमा हिलो छयाप्न निस्किए भने,
साना नानीहरु लेख्दा लेख्दै कपि कलम छोडेर
तिम्रो मुखमा मसी छर्किंन निस्किए भने,
गुमनाम शहीदका बाबुहरुले औला काटेर
तिम्रो मुखमा रगत छर्किंदिए भने,
ए शासक !
त्यसबेला,
तिम्रो अनुहारमा लागेको कुन कुन दाग मेटाउने छौ?
तिम्रै रक्षार्थ खटीएका कैयौ बन्दुकहरुले
तिम्रै शिरमा निशाना ताके भने
ए शासक!
तिमी त्यो श्रीपेच कुन शिरमा लगाउने छौ?
प्रकाशित: ४ फाल्गुन २०७५ ०४:१७ शनिबार