४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्य

बाथटब

माघ १२ गते शनिवारको दिन साँझपख काठमाडौंको आकाश धुम्मिएको थियो। पहिलो पटक सातवर्षिया विपष्वी श्रेष्ठ बत्तिसपुतलीको शिल्पी थिएटर (गोठाले नाटकघर) मा छिरेकी छन्। चिसो मौसममा नाटकघरको सानो आँगनमा ठूलठूला मान्छे खचाखच देखेर विपष्वी बाउको मुखमा पुलुक्क हेरेर सोध्छे–बाबा हामी यहाँ किन आएको ? 
विजयले जवाफ दियो, ‘बाथटब नाटक हेर्न। ए ! अस्तिन हामीले पोखरामा खेलेको बाथटब ?’
‘हो त्यही बाथटब।’ 

घडीमा साँढे चार बजेको छ। टिनिःनिः घण्टी बज्यो, नाटकघरको ढोका खुल्यो। लामबद्ध भएर दर्शकहरु भित्र छिरे। बाहिर पानी पर्न शुरु भयो। मधुरो प्रकाशमा कालो पर्दाकै अगाडि शिटमा मसँगै विपष्वी बसिन् त्यसपछि बिजय। बत्ती निभ्यो। सुनसान अन्धकार छाउने बित्तिकै बिस्तारै कालो पर्दा खुल्यो। स्टेजमा सुनौला रंगका  जन्जिरले हातखुट्टा बेरिएकी एक सुन्दरी आफ्नो प्रेमीको सम्झनामा ईसाराले यौवन प्रस्तुतिका साथ घुम्दै थिईन्। अर्थात् मध्य रातमा उनी सपनाको कल्पना गर्थिन्। किनकि उनले निद्रा र कपाल आफ्ना प्रेमीलाई धेरै अघि दान गरिसकेकी रहिछिन्। त्यसैले उनको नाम अनिद्रा थियो।

एक्कासी बाथटबका लेखक निःशब्द शमशेर राणा अनिद्रा बोलाउँदै आए। अनिद्रा झल्याँस्स ब्युझिन्। अनिद्रा लेखक राणाको टाइपिष्ट हुन्। लेखकले कथा भन्दै गए उनले टाइप गर्दै गईन् र कथाका पात्रबारे छलफल पनि हुँदै गयो। बाथटबमा निदाई रहेका थिए। कथाका मूख्य पात्र सिरियल किलर बाथटबबाट निस्किएर कथाले मागेको भूमिका भन्दा बेग्लै भूमिकामा प्रस्तुत भएर पात्र अनुसारको कथा हुनुपर्ने जिकिर गर्दै लेखकसँग आक्रामक रुपमा प्रस्तुत भए। ती दुबैलाई सम्झाउने काम अनिद्राले गर्दै गईन्। 
बाथटबमा बसेर टाइपिष्ट अनिद्राले सिरियल किलरलाई शब्दको अर्थ सम्झाउँदै युनिक शब्द उच्चारण गर्न सिकाउँदै थिइन् तर सिरियल किलरले पटकपटक यौनिक उच्चारण गरेकाले सही शब्द रटाउँदा भने विपष्वी खित्का छोडेर हाँसिन्। त्यो बाल मनस्थितिले शब्दको अर्थ नबुझे पनि विपष्वी सायद पोखरा नै पुगिन् झैं लाग्थ्यो।  

चिहानमा बसेर अघोरीको सँगत गरेका नगरकोटी अघोरीकै (कालो) पोशाक लाउँछन्। सागपात पशुको आहार जस्तो लाग्छ उनलाई, त्यसैले मासु खान मन पराउँछन्। चुरोट तान्नु र ब्ल्याक कफी पिउनु उनको आदत हो।

मान्छेको चिना आकारमा बेरिएको बाथटब कथाको निचोड हो–प्रत्येक व्यक्ति बाथटब यानिकी आमाको पाठेघरमा निदाई रहेको हुन्छ र शुन्य आकारको योनिद्धारबाट बाहिर निस्कन्छ।

कथामा लेखिए अनुसार मान्छे एउटा छालाको झोला हो र त्यो झोलाभित्र करुणा, लोभ र मोह रहेको हुन्छ। मान्छे सपना देख्नमै व्यस्त हुन्छ। जब सपनाबाट ब्युँझन्छ, उसको अन्त्य त्यही हुन्छ र शुन्यमै बिलाउँछ। कथाका पात्र सिरियल किलर अनिद्रालाई भन्छ, ‘तिम्रो शिरमाथि शुल्यवादको चिहान छ। तिम्रो पैतालामुनि अस्तित्ववादको चिहान छ। बिस्तारै पाइला चाल, त्यहाँ साम्यवादको चिहान छ। यहाँ अधिनायकवादको चिहान छ। पर्खालपारी पुँजीवादको चिहान छ। पर्खालवारि समाजवादको चिहान छ, पछिल्तिर उपनिवेशवादको चिहान छ। आँखा खोल र हेर तिम्रो वरिपरि कति धेरै चिहान छन्। गन्दै र गुन्दै जाऊ, हामीले कति धेरै चिहान खनेका छौं। तिमीले आफ्नो  मुक्तिको बाटो आफैले खोज्नु पर्छ। अनिद्राले सिरियल किलरको कुरामा सहमति जनाउँदै लेखक निःशब्द शमशेर राणाको हत्या गरेर मुक्तिको बाटो समात्छे। 

नाटककार कुमार नगरकोटीका शब्दलाई जिवन्तता दिने काम गरेका छन्, लेखकको भूमिकामा नीर शाह, सिरियल किलरको भूमिकामा ब्रजेश खनाल र अनिद्राको भूमिकामा भूषिता वशिष्ठले। नीर शाह र ब्रजेश टेलिभिजन र सिनेमाका पर्दाहरुमा अभिनयका कारण स्थापित भैसकेकाले उहाँहरुको अभिनयमा शंका गर्ने ठाउँ नरहे पनि नयाँ अनुहारकी भूषिताको बेजोड प्रस्तुतीले दर्शकको मनलाई वाह वाह बनाउँछ। 

घिमिरे युवराजले निर्देशन गरेको नाटक दर्शकदिर्घामा बसेर लेखक नगरकोटी आफ्नै आँखा सामुन्ने आफैले सिर्जना गरेका पात्र मार्फत बाँचिरहेको महसुश गर्छन्। आफुले कोरेका शब्द पात्रको मुखबाट जीवन्त भएर आउँदा अपूर्वको आनन्द महसुश गर्छन्। साहित्य फाँटमा छुट्टै पहिचान बनाउँन सफल नगरकोटी हरेक दृष्टिकोणले फरक छन्। चिहानमा बसेर अघोरीको सँगत गरेका नगरकोटी अघोरीकै (कालो) पोशाक लाउँछन्। सागपात पशुको आहार जस्तो लाग्ने उनी मासु खान मन पराउँछन्। चुरोट तान्नु र ब्ल्याक कफी पिउनु उनको आदत हो। मानवीय संवेदनामा कोरिने साहित्यको हुलमा नगरकोटी मानवको उत्पत्ति र अन्त्यको खोजीमा लागिरहन्छन् र निचोडमा पुग्छन् मानिसको सिर्जना शुन्यमा हुन्छ र शुन्यमै विलाउँछ। 

बाथटब नाटक मार्फत लेखक नगरकोटीले दिन खोजेको सन्देशलाई कलाकारहरुले जिवन्तता दिने काम गरेका छन्। त्यसैले नाटक हेर्दा एक घण्टा २० मिनेट बितेको पत्तै भएन। 

प्रकाशित: ४ फाल्गुन २०७५ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App