पछिल्लो समयमा नेपाली पाठकका लागि थुप्रै संस्मरणका कृति प्रकाशन भएका छन्। अहिले संस्मरण पढ्ने संस्कार विकास भएको देखिन्छ। प्रकाशनको तुलना गर्दा पनि यी कुराहरु स्पष्ट देखिन्छ। तर संस्मरणका कृतिहरु प्रकाशनसंगै केही चुनौति पनि देखिएका छन्। जीवनभर सरकारी जागीर खाएर निवृत्त भएपछि त्यही अनुभबलाई उल्टो सुल्टो लेखेर सरकारलाई गाली गरेका केही पुस्तक हामीले पढेका छौं। यानी आफ्ना गल्ति ढाकछोप गरेर अरुका गल्ति देखाउँने परम्परा पनि शुरु भएको देखिन्छ। यो सही हो या गलत ? आफ्नो ठाउँमा छ, तर हामी जस्ता साधारण मान्छेका नजरमा त्यो गलत नै हो ठानिए तापनि सरकारले उनीहरुलाई नै पेन्सन दिएर पालेको छ। सायद सरकारमा बस्नेहरुको पोल खुल्छ भनेर हो कि ? जे जस्तो भए पनि यस बारेमा अवस्य कुरा उठला नै ?
अहिलेलाई भने संस्मरणको एउटा फरक कृति बारेमा चर्चा गर्दैछु। जनयुद्धकालमा हेलिकप्टरका माध्यमबाट मानविय उद्धारमा खटिँदा आफूले देखेका भोगेका कुराहरुलाई पुस्तकका रुपमा ल्याएका छन्, क्याप्टेन रामेश्वर थापाले। व्यवसायिक हेलिकप्टर पाइलट क्याप्टेन थापाले सशस्त्र द्धन्दको एउटा अलग्गै आँखाबाट देखेको र भोगेको यथार्थतालाई सुन्दर शैलीमा व्यक्त गरेका छन् ‘बारुदमाथि उड्दा’ पुस्तकमार्फत।
उनलाई राज्य पक्षका व्यक्तिहरुलाई उद्धार नगर्न धेरै पटक चेतावनी आए पनि पछि हटेनन्, आफ्नो ज्यानै जोखिममा पारेर परिवारलाई विदेश पठाएर पनि उनी उद्धारमा लागिरहें।
जनयुद्धकालमा लेखिएका भोगाईहरुका पुस्तक धेरै प्रकाशित छन्। विद्रोहीका भोगाईमा लेखिएका संस्मरण र सेना या पुलिसका उपल्ला व्यक्तिले लेखेका पुस्तक आ–आफ्नै शैलीका छन् र उनीहरुको त्यसबेलाको संस्मरण एकतर्फि पक्कै हुन्छन्। भएका पनि त्यस्तै हुन्। तर यस कृतिमा भने थापा व्यवसायिक दौरानमा राज्य पक्षकै तर्फबाट पुलिस र सैनिकका सरसामान र फोर्स ओसारे पनि उनी भित्रको मानवियता जागृत भएको पुस्तकमा देखिन्छ।
उनको प्रत्येक उडान प्रति घण्टाको समय सिमामा बाँधिए पनि त्यहाँ देखिएका दृश्यले उनको मन अमिलो भएका घटना पुस्तकका मजबुत पक्ष हुन्। उनी ठान्छन्, जो मरे पनि नेपाली नै मरेका हुन्, यो मर्ने र मार्ने क्रम कहिले अन्त होला ? उनी एउटा कुशल चालकमात्र नभएर, जस्तो सुकै परिस्थिति र परिवेशमा पनि उडान भर्न सक्ने शाहसी पाइलटका रुपमा उभिएको प्रमाण पुस्तकमा छन्।
एउटा सामान्य परिवारमा जन्मेर पनि इच्छा शक्ति भएमा नसक्ने कुरा केही रहेनछ भन्ने उदाहरण पुस्तकले देखाएको छ। उनी ठान्छन् दृढ इच्छा शक्तिका साथै काम प्रतिको निष्ठा भएमा जस्तो परिस्थितिमा पनि आफूलाई प्रस्तुत गर्न सकिन्छ।
उनी लेख्छन् : ‘हेलिकप्टर उडानको करिअर बढ्दै जाँदा मैले चाहे र सोचेभन्दा धेरै नै बढि देखें, भोगेँ। गाउँले जनजीवनका अभाव र जटिलतामात्रै देखिनँ, गाउँहरु बारुदमा रङमङिएको र रगतमा लतपतिएको देखें। बम र बारुदको मुस्लोमा छोपिएका बस्तीहरु अनि एउटा नेपालीले अर्काे नेपालीलाई संहार गरेको आन्तरिक युद्ध देखें। त्यसले बनाएका घाउ। पीडा प्रत्यक्ष अनभूत गरें, जुन आज पर्यन्त पनि बल्झिरहेको छ।’
थापाले करिब आठ वर्ष अदालतमा जागिर खाएको अनुभब पनि रोचक छ, अदालतबाट एक्कासी पाइलट बनेका तितामिठा सबै पक्षलाई सुन्दर ढंगमा समेटेका छन्। धेरै पटक उनी मरेर पनि बाँचेका प्रसंगहरुले मनै अमिलो पार्छ। एकपटक सगरमाथा आधार शिविरमा उद्धारका क्रममा उनको हेलिकप्टर दुर्घटनामा पर्यो, दुई जनाको घटनास्थलमै मृत्यु भयो तर उनी सहित चार जना भने बाँच्न सफल भए। यति हुँदा पनि उनले आफ्नो काम छोड्नन्, झन दत्तचिक्त भएर लागे, हो उनको यस्तै शाहसलाई सलाम गर्नै पर्छ। त्यस कारण पनि यो पुस्तकले इच्छा शक्तिलाई मजवुद बनाउन सहयोग गर्छ।
जनयुद्धका दौरानमा उनी जस्ता थुप्रै एयरलाइन्सका हेलिकप्टरहरु उडेका थिए होलान्। सैनिक हेलिकप्टरका पाइलट पनि उडेका थिए। तर क्याप्टेन थापाले मैले सस्मरण लेख्छु नै भनेर उडान भरेका त होइनन नै, समय परिस्थतिले उनले लेखे, एउटा फरक कोणबाट। यस पुस्तकमार्फत उनले कसैलाई गालीगलोज गरेका छैनन्, गरेका छन् त केवल जनयुद्धका कहाली लाग्दा दिनहरुको सम्झना। त्यो समय हामी सबैले भोगेको समय थियो फरक यति हो उनले व्यवसायमार्फत राज्यपक्षलाई सघाएका थिए। उनले जीवनका दुई पाटाका बारेमा प्रस्तुत गरेका छन्, पहिलो संघर्षपूर्ण विगत र दोश्रो आफ्ना साहसिक चरित्र।
यद्यपी अहिले विद्रोही माओवादी मूलधारमा आइसकेको छ, जनयुद्ध इतिहास बनिसकेको छ। तर यो कृति पढ्दा हामीले भोगेको विगत ताजा बन्छ, एक मनले त भन्छु अब यस्ता कृति पढ्नु नपरोस्, तर हामीले भोगेको त्यो सत्य हो, यसका साक्षी हामी छौं, भविष्यमा यो कृति पढ्ेर जनयुद्धका पीडा महशुस सबैलाई हुनेछ।
उनले चलाएको हेलिकप्टरमा धेरै पटक विद्रोहीको गोली लाग्यो, त्यस ताका अरु कोही जान नसकेमा उनकै खोजी हुन्थ्यो, र आफ्नो ज्यान बाजी थापेर अरुलाई यानी नेपाली सेना र पुलिसलाई बचाएको बहादुरीका कुराहरु यसमा भेटिन्छन्, उनीहरुमात्र होइन घाइते विद्रोहीलाई पनि उनले उद्धार गरेको प्रमाण पनि पुस्तक छन्। उनलाई राज्य पक्षका व्यक्तिहरुलाई उद्धार नगर्न धेरै पटक चेतावनी आए पनि पछि हटेनन्, आफ्नो ज्यानै जोखिममा पारेर परिवारलाई विदेश पठाएर पनि उनी उद्धारमा लागिरहें। आफू भूमिगत जस्तै भएर पनि कर्तव्यबाट विमुख नभएका कयौ कुरा उनका पुस्तकमा भेटिन्छन्। उनको साहसको मुल्याङ्कन भएर नै विदेशबाट धेरै अफर आए पनि देश छोडेनन र उनले ठाने अरुको देशमा दोश्रो दर्जाको नागरिक भएर बाँच्नु भन्दा त बरु आफ्नै देशमा शहिद बन्नु बेश। हो यस्तै सुन्दर अभिव्यक्तिले पुस्तकलाई पठनिय बनाएको छ।
उनको यस्तै साहसिक निर्णय नहुदो हो त काभ्रेको सामान्य परिवारमा जन्मेको एउटा मान्छेले आज यस्तो प्रगति कसरी गर्न सक्थ्यो ? उनको मेहनत र संघर्षले धेरैलाई उत्प्रेरित गर्न सक्छ, त्यसैले पनि यो पुस्तक पठनिय लाग्छ।
प्रकाशित: ४ फाल्गुन २०७५ ०१:०६ शनिबार