२४ मंसिर २०७९ शनिबार
अन्य

दुःखको सिरानी

तस्बिर : माता र पिताका साथ नरबहादुर साउँद

दाम्लो चुडाल्न खोजेझैं गरिरहेको थियो,आँगनमा बाँधिएको गाईले। पछाडीपट्टी पाइला सारेझैं बिस्तारै ओझेल पर्दै थियो, गोधूलिको घाम। आँगन छेउमा लहरै राखिएका थिए, माहुरीका घार। ह्वीलचियरमा बसेर बारीका पाटातिर चियाइरहेका थिए उनी। छेवैमा टोलाएर टुक्रुक्क बसेकी थिइन् बृद्ध आमा धर्मादेवी। त्यो आँगन थियो कृषिविज्ञ नरबहादुर साउँदको। दिनेश एफएमका पत्रकार भाइ जनक विष्टको सहयोगमा उनीसँग भेट्ने अवसर जुर्‍यो केही महिना अघि।  

नरबहादुरसँग परिचय गर्दैगर्दा सुनिएको थियो, भान्सा भित्रैबाट गीतको एक पङ्क्ती – वर्ष गए जन्जालमा दिन गए दुःखैना। 
त्यो स्वर थियो कृषिविज्ञ साउँदका पिता धनबहादुरको। घर्किदै गयो समय। अग्लिँदै गयो उमेरको पिरामिड। हिजै हो कि झैं लाग्छ अरू साथीहरूलाई पौडी खेलेको देख्दा नरबहदुर पनि महाकालीमा कुदेको। पौडी खेल्न नजान्ने नरबहादुर बेहोसी पारामा नदी किनारतिर दौडेको देख्दा बचाएका थिए सरहरूले। विगत सम्झन्छन् बुवा छोरा दुबै आआफ्नै किसिमले। खोला किनारको घट्ट घुमेझैं घुमिरहन्छन् सम्झनामा विगतका ती दिनहरू। 

एक दिन नछुने भएका बेला नरबहादुरकी आमाले गाउँभन्दा केही परको धारामा कपडा घोइछन्। त्यहाँको ठालु भनिने एक जना बिष्टले देख्नासाथ गाली गर्दै झपारेर भने छन् –‘छुइ भएका बखत क्याखि लेखा धोया है ब धारामाइ कपडा ?’ 

त्यही घटनालाई लिएर ठालुका छोराले धनबहादुरसँग बारम्बार निहुँ खोजिरहे। त्यतिबेला धनबहादुर २७ वर्षका लक्का जवान थिए। एकदिन भनाभन हुने क्रममा हात हालाहालको स्थिति पैदा भएछ।  ठालुका छोराको एउटा हात नै भाँचिएछ। त्यो खवर पाउनासाथ बिष्ट परिवारका सारा मान्छे जम्मा भैहाले। दुइ तीन जनाले धनबहादुरलाई च्यापेर काटी दिएछन् आधी कान। 

ढोग गर भन्थे रे बिष्टले। क्रान्तिकारी स्वभावका नरबहादुरका बुवा टेरपुच्छर लगाउँदैनथे। उल्टै भनिदिन्थे – ‘म मलाया साउँद हुँ। तमुन मलाई आफुभण्णा नाना जातको ठानिबर हेप्दे। औरका चानी (निधारमा) टीको मलाया साउँदका पाखुरा टीको भण्णे उखान नाइ सुण्याथ्या ब ?’ 

मदन पुरस्कार विजेता नरबहादुरसँग भलाकुसारी गरिरहँदा उनी बारम्बार दृष्टि पु¥याइरहेका हुन्थे आमातिर। धेरै ठुलो आशा गरेको छोरो दुर्घटनामा अपाङ्ग बनेपछि निकै रोएकी थिइन उनी। बिस्तारै मन बुझाउँदै गइन। नरबहादुरको स्याहार सुसार गरिरहिन्। एकदिन खवर पाइन–कान्छो छोरो रहेन भन्ने। एउटी आमाका लागि यो भन्दा बज्रपात के नै हुनसक्थ्यो र। दुई वर्ष भयो प्यारालाइसिस भएको, उनी बोल्न सक्दिनन्, मात्र हेरिरहन्छिन् टुलुटुलु।


धनबहादुरले पाखुरा बजाएरै गुजारा चलाए। खान पुग्ने जग्गाजमिन थियो। खेती किसानी गरेरै छोरा छोरी हुर्काए, पढाए। सुख्खका दिनको पर्खाइमा बस्दा उल्टै दुःखका दिनहरूले लपेट्दै गए।

जीवनभरि संघर्ष गरे। बुढेशकालमा छोराको आश थियो। छोराहरू पनि मेहनती र आज्ञाकारी थिए। चार छोरी दुइ छोरा अनि बुढाबुढी। जम्मा आठ जनाको परिवार। दुइटा छोरी घरबार गरेर बसेकी छन्। दुइटी माइतिमै बस्छन्। चलेकै थियो दिनचर्या। जिन्दगीको उत्तरार्धतिर आएर बिस्तार बिस्तारै सुम्पिंदै गयो नियतिले दुःखको सिरानी। हातमा चियाको ग्लास थमाएर गम्भीर मुद्रामा भनेका थिए धनबहादुरले–‘मेरा जसा चेला कै का थे रे ? के गद्दु ऐल इसो भयो।’ 

बैतडीको बण्डा गाउँमा २०१९ सालमा जन्मेका नरबहादुर सानैदेखि पढाइमा अब्बल थिए। दुई कक्षाबाट चार कक्षा अनि चारबाट ६ कक्षामा पुगेका उनले २०३६ सालमा पञ्चदेव महानन्द हाइस्कुलबाट एसएलसी पास गरे। त्यसै वर्ष उनका बुवाले महेन्द्रनगरमा जग्गा किनेर बसाइँ सरे। त्यसै वर्ष हो उनको बिहे भएको पनि। बुवाले खाजेकै केटीलाई निसर्त स्वीकारे। बुहारी भित्र्याएपछि मख्ख परे आमा बुवा। बिहे गरेको केही दिनमै उच्च शिक्षा अध्ययनका लागि उनी हिँडे काठमाडौंतिर। घ्यू, मह, अन्न, खसी, बोका बेचेर राम्रै पैसा जम्मा गरिरहेका हुन्थे धनबहादुरले।

सानैदेखिको चाहना थियो डाक्टर बनेर बिरामीको सेवा गर्ने। अपसोच एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण भएपछि पूर्णविराम लाग्यो चाहनामा। काठमाडौं पुगेपछि तानिए कृषि विषयतिर। सरकारी कोटामा अध्ययनार्थ नाम निकाल्न सफल भए। पहिलो वर्ष खुमलटारमा र दोस्रो वर्ष रामपुरमा अध्ययन गरे पश्चात २०३८ सालमा उत्तीर्ण गरेका हुन् आइएस्सी एजी। शिक्षा मन्त्रालयको छात्रवृत्ती कोटामै हिमाञ्चल प्रदेश भारतबाट बि.सं. ०४४ मा बीएस्सीएजी उत्तीर्ण गरे। त्यसै वर्ष नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा च्याउ उत्पादन अधिकृतमा नाम निकाल्न सफल भए। दोस्रो वर्ष प्राविधिक अधिकृतका रुपमा दुग्ध विकास संस्थान बालाजुमा खटिए। लगनशीलता र इमान्दारिताका साथ काममा तल्लिन रहने उनी कामलाई नै बढी महत्व दिन्थे। 

सकेनन् काठमाडौंमा धेरै समय टिक्न। खुरापातीहरूले उनलाई बुटवल सरुवा गराए। ०४७ सालको कुरा हो एक दिन बुटवलबाट कर्मचारीको तालिम सञ्चालन गर्न सुर्खेत जानु पर्ने भयो। गाडीमा चालक र उनी मात्रै थिए। खाना खाने समयमा चालकले मादक पदार्थ सेवन गरेछन्। दोस्रो दिन तलिम संचालन गर्नु पर्ने थियो। राती नहिँडे भोलिपल्ट पुगिनेवाला छैन। उनी चुपचाप गाडीमा बसिरहे। गाडी आफ्नै रप्तारमा दौडिरह्यो। रातको समय एकाएक गाडी पल्टियो। स्पाइनलकर्ड भाँच्चियो। उपचारका लागि ६ महिना दिल्ली बसे। केही सीप चलेन। नाइटो मुनिको भाग नचल्ने भयो। ह्विलचियरमा थन्कियो जिन्दगी। कार्यालयमा हाजिर मात्र गरे पुग्ने खालको व्यवस्था पनि हँुदै थियो। जागिर नछोड्न सल्लाह दिइरहेका थिए हाकिमले। आदर्शका गोरेटा नाप्दै कर्मक्षेत्रमा इमान्दारीतापूर्वक सक्रिए रहेको स्वभिमानी मनले कहाँ मान्थ्यो र काम नै नगरी तलब खान। धेरै दिनसम्म सुने आफ्नै मनको आवाज र लेखे राजिनामा। 

जिन्दगीको मोडमा बेलाबखत नझुल्किएको हैन खुसी तर धेरै दिन टिक्न सकेन। दुर्घटना हुनु अघिकै कुरा हो बच्चा जन्मियो। घरमा खुसीयाली छायो त्यसले पनि सातौ दिनमै आफ्नो गोरेटो तय ग¥यो कहिल्यै नफर्किने गरी। त्यसपछि बच्चा भएन। श्रीमान श्रीमतीका बीच त्यस्तो मनमुटाव केही थिएन। कुन्नि किन हो दुर्घटनामा परेकै वर्ष साथ छोडेर हिंडिन् श्रीमती पनि माइतिघरतिर। २७ वर्ष भैसक्यो दुइ जनाको भेटघाट, कुराकानी केही नभएको। दिनरात ओछ्यानमा पल्टिरहँदा मनमा खिन्नता पलाइरह्यो। दिन प्रतिदिन उत्साह घट्न थाल्यो। कतिपयले कथा, कविता लेख्न सल्लाह दिन्थे। तर उनी मनमनै भन्थे– अरू कयौंले लेखिरहेकै त छन् कथा, कविता। 

दुइ तीन वर्षसम्म उनले केही गरेनन्, मात्र टोलाइरहे। विगत सम्झिरहे। दुःखको सिरानीमा अडेश लगाउँदै एकान्तमा आँसु चुहाइरहे। तीन वर्षपछि बिस्तारै परिवर्तन आउन थालेछ सोचाइमा पनि। उनले निर्णय गरेछन्– ‘म जुन स्थितिमा छु त्यसैमा रहेर केही गर्नु पर्छ। अब चिन्ता गरेर फाइदा छैन।’ ह्विलचियरमा बसेर बारीका पाटातिर हेरिरहँदा उनको दिमागमा एउटै कुराले झड्का दिइरह्यो– ‘यो देशमा किसानलाई टेक्नोलोजी थाहा छैन। त्यही भएर उत्पादनमा कमी आइरहेको छ।’ तब उनले सुरु गरे कृषि सम्बन्धी पुस्तक लेख्न।

दाजुभाइ बीचमा निकै प्रेम थियो। साह्रै नै मिल्थे दुई जना। भाइ मदनसिंले पुस्तक लेख्न सन्दर्भ सामग्री जुटाइ दिन्थे। उनी पुस्तक लेख्न तल्लीन हुन्थे। काठमाडौं सोल्टी होटेलमा जागिरे भाइले हार्टअट्याकका कारण ०६४ सालमा संसारबाटै बिदा लिए। नरबहादुरलाई एक्लो बनाएर गए। झन पीडा थुपारियो परिवारमा। बाँकी रहेको आशाको दियो पनि निभेपछि नछाएको हैन मनमा अन्धकारले। आमाबुवाको सामु आफुलाई दरिलो बनाउन थाले उनी। सकिंदैन थियो छोडी जानेको पछि लाग्न पनि। 

६ वर्ष लगाएर लेखे नौ सय पचास पेजको पुस्तक ‘नेपालका बालीनाली र तिनको दिगो खेती’। जसभित्र अन्नबाली (घान,मकै,कोदो,गहुँ) दालबाली, तेलबाली, कपास बाली, रेसादार बाली र प्राङ्गारिक खेतीका बारेमा उल्लेख छ। उक्त पुस्तकले ०६७ सालको मदन पुरस्कार प्राप्त गर्‍यो। पत्रकारहरू घरमै पुग्न थाले। चारैतिर चर्चा हुन थाल्यो। पहिला अपाङ्ग भनेर हेप्नेहरू पनि पुरस्कार पाएपछि सम्मानको दृष्टिले हेर्न थाले। 

हिजोआज उनी पुस्तक लेख्नमा सक्रिय छन्। संगम पब्लिकेशनबाट प्रकाशित ‘खेतीपाती’ नामक पुस्तक कतिपय विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीले अध्ययन गरिरहेका छन्। पछिल्लोपल्ट जङ्गली, विषालु र खेती गर्न मिल्ने च्याउबारे लेखिएको ७२५ पेजको ‘च्याउ खेती’ नामक पुस्तक पनि प्रकाशित भयो। आशा र आत्मविश्वासका कुटुरा बोकेर उनले आफुलाई दरिलो बनाइरहेका छन्। फुर्सदका बेला गीता, उपनिषद जस्ता पौराणिक ग्रन्थ अध्ययन गर्छन्। संस्कृत भाषाप्रति छुट्टै लगाव छ। प्राविधिक शब्द निर्माण गर्न संस्कृत भाषा सहयोगी बनेको छ। हाल उनी शारदा विद्यापिठमा दिनको ३ घन्टा संस्कृत भाषा पढिरहेका छन्। 

एसएलसी पास हुने बित्तिकै टेबुलवर्क खोज्नु, पढेकाहरूले खेती गर्नु हुँदैन भन्ने नकरात्मक धारणा हावी हुनु समस्याको विषय बनेको छ। यो सबै हाम्रो शिक्षा प्रणालीको गडबडीका कारण भएको उनको ठम्याइ छ। कुराकानीकै क्रममा भावुक भएर भनेका थिए, ‘माटो आमा हुन्। मागेको कुरा दिन्छिन्। हामी माग्न जान्दैनाैं। हामीले माटो मलिलो बनाउने उपाए छोडि दियौं। माटोलाई माया गर्न जानेना। गाईभैंसी पाल्न छोडिदियाैं। रासायनिक मलको भर पर्‍यौं। राम्रो बीउ पनि छनौट गर्न सकेनौं। अनि कसरी हुन्छ उब्जनी राम्रो ?’  

गाई भैंसीबारे कुरा गर्दा जर्सी र होलेस्टिेन गाईको दूध स्वास्थ्यका लागि हानिकारक रहेको बताए उनले। नेदरलेण्डले २५ वर्ष अघि ती गाईहरूको दूध परीक्षण गरेर सतर्कता अपनाइ सक्यो। भारतमै पनि यस विषयमा जागरण आइसक्यो। हामीलाई अझै थाहा छैन। जर्सी होलिस्टेन गाईको दूधमा अत्याधिक मात्रामा ग्लोबिल हुन्छ। सानो बच्चा र बिमारीको आन्द्रा छिद्रमय हुन्छ। पखाला लाग्दा वा पेट खराब हुँदा पनि आन्द्रा छिद्रमय नै हुन्छ। यस्तो अवस्थामा ग्लोबिल आन्द्राबाट भित्र छिर्छ र मधुमेय, क्यान्सर जस्ता दीर्घकालिन रोग निम्त्याउँछ। बच्चाको दिमाग कमजोर बनाउछ। अटिजम हुन्छ। हाम्रा स्थानीय गाई भैंसीको  दूधमा ग्लोबिलको मात्रा निकै कम हुन्छ। त्यसैले तिनको दूध स्वस्थ्यको लागि लाभदायक हुन्छ भन्ने सुनाए उनले। 

एनजिओ, आइएनजिओका कार्यक्रम हुन वा नेपाल सरकारका। हरेक क्षेत्रमा पैसाको दुरुपयोग भैरहेको छ। एकदुइ जनाको हातमा कार्यक्रम जान्छन्। जनतालाई समावेश गराउने, कन्भेन्स गर्ने, किसानसँग अन्तक्र्रिया गर्ने काम हुनसकेको छैन्। अनभिज्ञ छन् किसान। किसानको दैलोमा पुग्ने राज्यको नीति नै छैन। कृषकलाई प्रविधि सिकाउन सकिएको छैन। नरबहादुरहरूको विज्ञताको फाइदा लिन सकेको छैन राज्यले। कुनै निकायबाट खोजनीति छैन यस्ता प्रतिभाहरूको।

कम्मरमुनिको भाग नचल्ने भएपछि दिशापिशाब कन्ट्रोल हुँदैन उनको। पटकपटक शौचालय गइरहनु पर्छ। आँगनमा घाम ताप्दै गर्दा बारीका पाटातिर नजर घुमाउँछन् बेलाबखत। लाग्छ खनजोत कार्यदेखि गोडमेलसम्म आफैले गरेर अरूलाई सिकाइदिन पाए हुन्थ्यो। कहाँ हुन्थ्यो र सोचेजस्तो जिन्दगी।  

नरबहादुरसँग भलाकुसारी गरिरहँदा उनी बारम्बार दृष्टि पुर्‍याइरहेका हुन्थे आमातिर। आमाको स्वास्थ्यप्रति निकै नै चिन्तित देखिन्थे। धेरै ठुलो आशा गरेको छोरो दुर्घटनामा परेर अपाङ्ग बनेपछि निकै रोएकी थिइन आमा। बिस्तारै मन बुझाउँदै गइन। नरबहादुरको स्याहार सुसार गरिरहिन्। एकदिन खवर पाइन–कान्छो छोरो रहेन भन्ने। एउटी आमाका लागि योभन्दा बज्रपात अरू के नै हुनसक्थ्यो र ! २ वर्ष भयो प्यारालाइसिस भएर होस गुमाएकी छन्। बोल्न नि सक्दिनन्। मात्र हेरिरहन्छिन् टुलुटुलु। उनको बोली सुन्न नपाउँदा खिन्नता छाइरहन्छ घनबहादुरमा। नरबहादुरले आमाका बारेमा कुरा गरिरहँदा छेउमै रहेका बुवा धनबहादुरले भावुक भएर सुनाएका थिए डेउडा गीतका पङ्ंक्ती :  

धारा पानी सुकी गयो पानीखि खोलीझा 
तेरै बोली निको लाग्थ्यो एकफेरा बोलीझा।

 

प्रकाशित: १२ माघ २०७५ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App