८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

बलिराजा

हिन्दू धर्मग्रन्थ अनुसार भगवान शिवले कैलाशमा बसेर सृष्टिको रचना गरेका थिए। त्यहींबाटै मानव सभ्यता सुरु भएको मानिन्छ। जुन पहिले खस साम्राज्यको उत्तरी आधारखण्डका रुपमा पनि चिनिन्थ्यो। त्यही क्षेत्र कर्णाली प्रदेशमा नूनको आपुर्ति गर्ने क्षेत्र पनि हो।  ‘देवपुरी हुम्ला ब्रह्मपुरी जुम्ला’ भन्ने त भनाई नै छ। देवपुरी भन्नाले देवताहरुको उत्पत्ति स्थान र ब्रह्मपुरी भन्नाले ब्राह्मणहरुको उत्पत्ति भूमि। 

नरहरिनाथको भनाइ अनुसार व्यञ्जन वर्ण, स्वस्तिक चिन्ह अनि ॐ वर्णको उत्पत्ति पनि कैलासबाटै भएको हो। रल्लिङ गुम्बामा नेपाली भाषामा लिखित ताम्रपत्र भेटिएको थियो। यसरी बुझ्दा भन्न सकिन्छ मन्दिर सबै हुम्लामै थिए। तीनमा पूजा गर्दा वाचन गरिने मन्त्र र लेखिने अक्षर यतैबाट प्रयोगमा आएका हुनुपर्छ। त्यतिबेला जुम्लाबाट ब्राम्हण आउँथे। तिनलाई पुजारी बनाइन्थ्यो।  

कैलाशपतिको आज्ञा अनुसार देवताहरु कैलाशबाट हुम्लाको बाटो हुँदै आएका र माजा गाउँको, लेखमाजाको हिल्सा डाँडोमा बसेर काम जिम्मेवारी बाँडफाड गर्दै पुजाभोग लिने गरेको भनाई छ। लवासुर र हिल्सोको धामीमा देवता चढेका बेला उनीहरुका वाणी सुन्न सकिन्छ। लवासुर कान्छा भाइ थिए। भागहाल्दा वा जिम्मेवारी सुम्पिने क्रममा उनको भाग परेनछ। ‘मेरो भाग खोई’ भनी उनले प्रश्न गर्दा समस्या पर्न गएछ। भाग बाँकी केही नरहे पछि उसलाई न्यायाधिशका रुपमा जिम्मेवारी दिइयो। आजका दिनसम्म पनि यिनलाई न्यायकी भनेर पुज्ने गरिन्छ।

बलिराजाले नेपालको झण्डा निर्माण गरेका हुन्। सूर्य बंशी राज्यकालमा सूर्य बिम्ब माथि तथा चन्द्रबंशी राज्यकालमा चन्द्र विम्व माथि स्थापित गर्ने चलन बस्यो। पृथ्वीनारायण शाह चन्द्र बंशी भएकाले झण्डामा चन्द्रमालाई माथि अंकित गरिएको योगी नरहरिनाथले लेखेका छन्।  


हिल्सोलाई त्यो ठाउँ राम्रो लागेछ र भनेछन्, ‘म एक छिन खाँणो खेल्छु, तिमीहरु भागहाल्दै गर।’ उनी खेल्न थालेछन्। खाँडो खेल्ने क्रममा उनले आफ्नो खुट्टा काटेछन्। त्यसपछि ‘तिमीहरु जाऊ म यही बस्छु’ भनेछन्। तत्पश्चात माटी (जमिन) उनको भागमा पर्न गयो। त्यसैले उनलाई मट्टे अर्थात् माटी देवताका रुपमा पूजिन्छ।  

जहाँ राज्यको न्यायभन्दा लवासुरको न्यायमा बिश्वास गर्ने गरियो र आजका दिनसम्म पनि विश्वास कायमै छ। यता काठमाडौं लगायतका स्थानमा राज्यले जमीन रोक्का गरेझैं उता हुम्लामा देवताको मन्दिरमा जमिनको माटो चढाएर जमीन रोक्का गर्ने गरिन्छ। वनमा चर्न छाडिएका बस्तुभाउ र घरलाई सामान्य चुकुलका भरमा छाडेर जाने गरिन्छ। 

जहाँ सदियौदेखि बौद्ध र हिन्दू धर्मावलम्बीले एउटै मन्दिरमा पुजा गर्छन्। जसका उदाहरण हुन् हुम्लास्थित खार्पूनाथ र रल्लिङ गुम्बा। त्यतिमात्र होइन, सिन्धू नदी अर्थात कर्णाली नदी हुम्लाका प्रत्येक गाँउको जग छोएर बग्ने गरेकी छन्। यसैले देवपुरी हुम्ला भनेको हुनु पर्छ। 

कथा भन्छ– पाँच पाण्डवले जुम्लाको पाण्डव गुफाबाट कैलाश जाने तयारी गरेछन्। त्यसै बखत भीमसेनले कतै आफ्नो शक्ति घट्यो कि भन्ने ठानेर शक्ति नाप्न एउटा ढुंगा उठाएर कैलाशलाई ताकेर हानेछन। त्यो ढुंगा कैलाश पुगेनछ। एक्कासी खार्पुनाथ नजिकैको मारुकोर पहाड बढेर छेकिहाले छ। तैपनि त्यसले पहाडलाई छेडेर अगाडि बढेछ। यो दृश्य देखिनासाथ खार्पुनाथको शक्तिका कारण उक्त ढुंगाको शक्ति सेलाउँदै गएर सिमकोटमा खसेछ। त्यही ठाउँमा अहिले भीमसेन स्कुल र मन्दिर बनाइएको छ। यो रहस्य थाहा पाएपछि पाण्डवहरु खार्पुनाथ आई होमकुण्ड स्थापना गरी कैलाश प्रस्थान गरेछन्।

जहाँ मानव वस्ती हुन्छ त्यही धर्मका कुरा चल्छन्। धर्मसँगै राज्यसत्ता पनि  सञ्चालन हुन जान्छ। त्यसैले कल्यालबंशी बलिराजा र कर्णाली राज्यको कुरा आई रहन्छ। तर यसको गहिरो अध्ययन भैसकेको छैन। त्यस क्षेत्रको इतिहास खोजी गर्नु आवश्यक देखिन्छ। अब लेखिनु पर्छ कल्याल राज्यको इतिहास।  

रवि गोत्रका कल्याल शाहीहरु सूर्यबंशी हुन् भन्ने नरहरिनाथले उल्लेख गरेका छन्। तर यी रवि ऋषीका सन्तान हुन् या सूर्य देवका, कतै उल्लेख छैन। कल्याल वंशीहरु आफूलाई विष्णुका सन्तान ठान्छन्। ‘कालो कल्याल’ भन्ने उखानै छ। कल्यालहरु प्रायः कालो वर्णका हुन्छन्। पुराणमा वलिराजालाई बिष्णुले धर्तीमा बसालेका हुन् पनि भन्ने गरिन्छ। विष्णु कालोवर्णका भएका हुँदा उनका सन्तान पनि कालो वर्णकै भएको एक पक्षको तर्क छ। 

धामी झाँक्रीमा देवता चढ्दा भन्ने गर्छन्, ‘कल्याल र मेरो बीचको साँठगाठ हो भनी जान्नू।’ कालो वर्ण र धामी झाँक्रीले भनेको कुरा मिल्न गए तापनि पुराणमा उल्लेखित बलिराजा फरक हुन। ती बलिराजा निकै दानी भएको र स्वर्ग, पृथ्वी समेत दान गरेको कहावत सुन्नमा आउछ। ती एउटा मिथक मात्र हुन्। 

कल्याल भाइहरु सबै हुम्लाको दार्मा देउली डाँडाबाट छुट्टिएका हुन् भनिन्छ। अर्कोतर्फ मुगुको कालै गाउँ निवासी रवि बंशी उत्तिमका छोरा बलिराज जुम्ला राज्यका संस्थापक मानिन्छन्। कालै गाउँका भएकाले यिनका सन्तालाई कल्याल ठकुरी भनियो भन्ने भनाइ पनि छ।

मलै बमले जीवनकालमै छोराछोरीका लागि राज्य टुक्राटुक्रा पारेर अंशबण्डा गरे। र बृहत जुम्ला राज्य कल्याल वंशी ज्वाई बलिराजको भागमा पर्न गयो भन्ने एकथरिको मत छ। जुन कुरालाई पुष्टि गर्ने आधारहरु केही पनि भेटिंदैनन्।

नरहरिनाथका अनुसार बलिराजा सिंजा साम्राज्यका अन्तिम शासक अभय मल्लका धर्मपुत्रका रुपमा चिनिन्छन्। अभयकै समयमा मलै बमले कालीकोट मान्माको खाँडाचक्रमा स्वतन्त्र राज्य खडा गरिसकेका थिए। उता जुम्ला क्षेत्रमा पनि दख्खल गर्ने उद्देश्यले बमले माइला छोरा मेदनीलाई विसं १४५०मा जुम्लाको मुख्तियार बनाई पठाए। यता मलैको षड्यन्त्रबाट जुम्ला राज्यको सुरक्षा गर्न अभयले बलिराजालाई खटाए। बलिराजा जुम्ला नपुग्दै उता मलैको आक्रमणका कारण अभय सिंजाबाट भागेर पलायन भइसकेका थिए। मलैले निकै प्रयास गर्दा पनि बलिराजलाई जुम्लाबाट हटाउन सकेनन्। बिसं १४५५ सम्म पुग्दा परिस्थितिजन्य कारणले बलिराजा स्वयं जुम्लाका राजा बन्न पुगे। 

बलिराजा चतुर खेलाडी थिए। उनले मेदिनीकी छोरी माल्लासँग विवाह गरे। बलिराजालाई सफल तुल्याउन रानी मल्लादेवीको ठूलो भूमिका रह्यो। अन्तमा मेदिनीको सहयोग र दुवैको आदर्श पालना गर्दै राज्य स्थापना हुने भयो। तिनै बलिराजाले चन्द्र बंशी र सूर्यबंशी झण्डालाई जोडेर एउटै झण्डा वनाए।  

अरु राज्यलाई लडेर अधिनमा ल्याउनु भन्दा संरक्षणको भूमिका बहन गरेपछि अरु बाइसे चैविसे राज्यले तिरो तिर्न थाले। तिरो उठाउन बाइसे–चैविसे राज्यमा जुम्ला राज्यको झण्डा गाडेर सानो टुकुटी बस्न थाल्यो। अन्तमा त्यो नै नेपालको झण्डा हुन पुग्यो। 

सूर्य बंशी राज्यकालमा सूर्य बिम्ब माथि तथा चन्द्रबंशी राज्यकालमा चन्द्र विम्व माथि स्थापित गर्ने चलन बस्यो। पृथ्वीनारायण शाह चन्द्र बंशी भएकाले झण्डामा चन्द्रमालाई माथि अंकित गरिएको कुरा नरहरिनाथले आफ्नो पुस्तक ‘हाम्रो मौलिकता हाम्रो टोपी’मा लेखेका छन्।  

बलिराजाले नेपालको झण्डा निर्माण मात्र गरेनन्, राज्य विशाल बनाउने अभियान पनि चलाए। कयौं ठाउँ जिते पनि। त्यही बेला राज्यका पहरेदार सेनालाई खुसीयाली मनाउन विदा दिइयो। सेनाहरु रमाइलो गर्नलाई खाद्यान्न जुटाउन घरघरमा पुग्न थाले। र भन्न थाले– हामी त्यसै आएका हैनांै, बलिराजाले पठाएका। यति सुनेपछि सबैले दिन थाले छन्। तिहारका बेला देउसी खेल्नेहरुले हामी त्यसै आएनौं, बलिराजाले पठाए भन्ने गरेका हुन्। 

बलिराजाले नेपाली भाषा, संस्कृति, राष्ट्रिय झण्डा मात्र छाडेनन्। कल्याली शब्द पनि छाडेर गए। कल्यालीको अर्थ हुन्छ मोज, सुख, शयल, कसैको डर त्रास नहुनु। अचेल पनि कर्णाली प्रदेशमा कसैलाई निडर भएर मस्तिका साथ हिँडेको देख्दा भन्ने गरिन्छ– तेरो त कल्याली छ है।

प्रकाशित: १२ माघ २०७५ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App