१९ असार २०७७ शुक्रबार
अन्य

साहित्य, साहित्यकार र भाषिक शुद्धताको प्रश्न

साहित्य भनेको सिर्जनात्मक अभिव्यक्ति हो। यसको सिर्जना प्रतिभाशाली व्यक्तिबाट हुन्छ। यो गद्यात्मक र पद्यात्मक गरी शैलीगत दृष्टिले दुई प्रकारको हुन्छ। प्रमुख विधागत दृष्टिले यसका कविता, आख्यान, नाटक र निबन्ध गरी चार भेद छन्। साहित्य शास्त्र, सौन्दर्य शास्त्र, समालोचना, सिर्जना विषयकेन्द्री शोध–अनुसन्धान आदिको पनि साहित्यसँग निकटतम सम्बन्ध रहेको हुन्छ, यद्यपि यी साहित्यका प्रमुख विधा इतर मानिन्छन्।

साहित्य संस्कृत शब्द हो र आधुनिक आर्यभाषाका शब्दकोशहरूमा पनि मौलिक स्रोत अन्तर्गतको तत्सम शब्दका रूपमा यसलाई स्थान दिइएको पाइन्छ। यस शब्दबाट सहित हुनुको भाव तथा हितकारी तत्व भन्ने अर्थ द्योतन हुन्छ। कुनै पनि व्यक्तिले धनसम्पत्तिको लगानी, बुद्धिविवेक, ज्ञान, विद्वता, रहर आदिले मात्र साहित्य सिर्जना गर्न सक्दैन। जुन व्यक्तिमा साहित्यकार बन्ने क्षमता अन्तर्निहित छ, उसभित्र पृथक् शक्ति रहेको हुन्छ, जसलाई प्रतिभा भनिन्छ।

प्रतिभालाई हरेक स्रष्टाको आन्तरिक गुण मानिन्छ। यसलाई व्यक्तिभित्र रहेको कलाजन्य उर्वरताका रूपमा लिन सकिन्छ। आफूभित्रको उर्वतालाई मलजल गर्ने काम साहित्यकारहरूले निरन्तर अध्ययन, साधना र अभ्यासबाट गर्छन्। अध्ययन र अभ्यासको अभावमा व्यक्तिभित्र रहेको कलाजन्य उर्वरताको धरातलमा सिर्जनात्मक मूल्यको अन्नबाली उत्पादन हुनुको सट्टा मूल्यहीन झारपात मात्र उम्रिन्छन् र यस्ता झारपातले प्रातिभिक उर्वरताको रसलाई चुसेर नष्ट गरिदिन्छन्। उपयुक्त वातावरण उपलब्ध हुन नसके प्रतिभावान् व्यक्तिले पनि सुन्दर साहित्य सिर्जना गर्न सक्दैनन्। त्यसैले साहित्यकारलाई प्रातिभिक क्षमता प्रस्तुतिका लागि उचित परिवेशको खाँचो पर्छ।

मान्छे प्राणीहरूमा सर्वश्रेष्ठ मानिन्छ। प्रकृतिले मानव जातिलाई अन्य प्राणीहरूभन्दा धेरै पृथक् गुणहरू दिएको छ। र, तीन क्षमता पनि दिएको छ– विवेक, कर्मण्यता र वाक्शक्ति। यसका अतिरिक्त केही मात्र मान्छेले पाउने अति विशिष्ट क्षमता हो– प्रतिभा। प्रतिभाले गर्दा नै मान्छेले कलाकारको हैसियत पाउँछ। मान्छे विवेकी प्राणी हो, अर्थात् उसमा बुद्धि र चेतना हुन्छ। असल–खराब, लाभदायी–हानिकारक, मित्र–सत्रु, न्याय–अन्याय छुट्याउन मान्छेले विवेक प्रयोग हुन्छ।

विवेकमा नै मानवीय तर्क गर्ने खुबी अन्तर्निहित हुन्छ। विवेकले गर्दा मान्छे अन्य प्राणीहरूभन्दा विशेष फरक छ। त्यसो त आत्मरक्षाका लागि अन्य प्राणीहरूलाई पनि प्रकृतिले चेतना दिएको छ। तिनले जन्मजातरूपमा जे–जस्तो गुण पाएका छन्, त्यति मात्र प्रयोग गर्न सक्छन्। मान्छेले झैँ सोचेर, विचार गरेर वा तर्कपूर्ण ढंगले निर्णयमा पुग्ने क्षमता अन्य प्राणीहरूमा हुँदैन, यस्तो पाइए पनि अपवादका रूपमा मात्रै पाइन्छ। संसारलाई ज्ञान, विज्ञान र प्रविधिका माध्यमबाट अगाडि बढाउने दिशामा मान्छेको विवेककै मुख्य भूमिका हुन्छ। कर्मण्यता अर्को खुबी हो मानवजातिले पाएको। मान्छे त्यस्तो प्राणी हो, जसले शरीरले सकेको तथा सीप र बुद्धिले भ्याउने काम गर्छ।

वाक्शक्तिले मानवीय  भाषाको खुबीलाई बुझाउँछ। बोल्न सक्ने क्षमता हो, वाक्शक्ति। अर्थात् भाषा मूलतः विचार विनिमय गर्ने सशक्त माध्यम हो। यो मानवजातिको शाश्वत सम्पत्ति हो। यी क्षमता नभएको भए मानव पनि अन्य पशुपंक्षी र कीटपतंगसरह नै हुन्थ्यो। यी क्षमतामध्ये पनि भाषा सर्वाधिक महत्वपूर्ण मानिन्छ। भाषाले गर्दा नै मान्छेले आफ्ना विचार र ज्ञानलाई मौखिकरूपमा सम्प्रेषण गर्न वा लिखितरूपमा लिपिबद्ध गर्न सकेको हो। भाषाको मौखिक सम्प्रेषण रेकर्ड नभएको अवस्थामा तात्कालिक र तत्स्थानिक मात्र हुन्छ भने लिखित सम्प्रेषण लिपिबद्धताका कारण युगयुगान्तरसम्म जीवित रहन्छ। हामीले अर्वाचीन मात्र होइन, प्राचीन वाङ्मयका अनेकौँ ग्रन्थ तथा शिलालेख, ताम्रपत्र, कनकपत्र, भोजपत्र आदिमा लिपिबद्ध भएका सामग्रीहरू अहिले पनि अध्ययन गर्न पाइरहेका हुन्छौँ। यसरी नै ग्रन्थ वा पुस्तकहरूमा लिपिबद्ध भएका आजका कृतिहरूको अस्तित्व पनि भविष्यको हजारौँ वर्षसम्म रहन्छ।

परिवर्तनशीलता भाषाको विशेषता हो। अध्ययनका क्रममा हामीले पुरानो भाषा र समसामयिक भाषामा व्यापक भिन्नता पाउँछौँ। स्पष्ट व्याकरण र साहित्यका दृष्टिले समृद्ध हुन नसकेका कतिपय भाषा कालान्तरमा लोप भएका उदाहरणहरू भेटिन्छन्। हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यको प्रथम सर्गको एउटा श्लोकमा यस्तो भनेका छन्– भाषा भासिन जान्छ, भासहरूमा दौडेर चाँडो अलि। भाषालाई बचाउने, जगेर्ना गर्ने, विस्तार गर्ने र समृद्ध तुल्याउने दायित्व सम्बन्धित भाषाभाषीहरूको हो र त्यसमा पनि भाषाशास्त्री, वैयाकरण र साहित्यकारहरूको विशेष भूमिका रहन्छ। वास्तवमा व्याकरण र साहित्यमा लिपिबद्ध भएको अवस्थामा भाषा मातृभाषाबाट च्यूत भइसक्दा पनि जीवन्त रहन्छ। संस्कृत भाषालाई यस भनाइको उदाहरणका रूपमा लिन सकिन्छ। व्याकरण र साहित्य दुवै दृष्टिले संस्कृत भाषा अति समृद्ध छ। आज पनि संसारका धेरै विश्वविद्यालयहरूमा यस भाषाको व्याकरण र साहित्यको अध्ययन भइरहेको पाइन्छ।

यो आलेख मूलतः साहित्यमा भाषिक शुद्धताको प्रश्नसँग जोडेर लेखिँदैछ। साहित्यका बारेमा कक्षामा व्याख्यान दिँदा, साहित्यकार मित्रहरूसँग विमर्श हुँदा वा साहित्यिक कार्यक्रमहरूमा मन्तव्य व्यक्त गर्दाका सन्दर्भमा पटकपटक यस विषयमा उठ्ने गरेका प्रश्नहरूका बारेमा बोल्नुपरेका अनुभवहरूका साथै विषयगत अध्ययनबाट प्राप्त भएको ज्ञानलाई संकलन गरी यो आलेख तयार गरिएको हो। कलाका अनैकौँ प्रकार छन्,  यस्ता प्रकारहरूमध्ये भाषिक कला पनि एक हो। अरिस्टोटलले आफ्नो काव्यशास्त्रमा एक ठाउँमा कलाको चर्चा गर्दा यस्तो भनेका छन् – अर्को पनि एउटा कला छ, जुन भाषाका माध्यमबाट व्यक्त गरिन्छ। भाषिक कलाका पनि अनेकौँ भेद, प्रभेद वा विधा, उपविधाहरू छन्। सौन्दर्यमय भाषिक कलाको अभिव्यक्ति नै साहित्य हो। साहित्यलाई समाजको दर्पण पनि भनिएको छ। साहित्य भाषाको जीवन र राष्ट्रको सम्पत्ति पनि हो। भारतीय कवि दिनकरको अभिव्यक्तिका यी हरफले साहित्यको महत्वमाथि यसरी प्रकाश पारेका छन्– अन्धकार है वहाँ जहाँ आदित्य नहीँ है, मूर्दा है वह देश जहाँ साहित्य नहीँ है।  

सिर्जनाका दुई प्रकार छन्– उपयोगी र ललित। उपयोगीले उपभोग वा उपयोगका लागि उचित उत्पादित चिजलाई बुझाउँछ भने ललितले कलात्मक उत्पादन वा प्रस्तुतिलाई संकेत गर्छ। चित्रकला, मूर्तिकला, नृत्यकला, अभिनयकला, संगीत, वाङ्मय आदि ललितकलाका प्रमुख भेद हुन्। भाषाका माध्यमबाट अभिव्यञ्जित हुने साहित्य ललितकला अन्तर्गत पर्ने वाङ्मयको एउटा प्रकार हो। भाषाबिनाको साहित्यको कल्पना हुन सक्दैन। यसर्थ, साहित्य र भाषाको सम्बन्ध नङ र मासुको जस्तै अन्योन्याश्रित हुन्छ। भाषा भूमि हो भने साहित्य त्यसै भूमिमा उब्जेको कलात्मक उत्पादन हो। भाषालाई व्यवस्थित गर्ने साधन व्याकरण हो। व्याकरणले नै भाषालाई अराजक र विकृत हुनबाट जोगाउने काम गरेको हुन्छ। भाषिक अनुशासनका लागि नै प्राचीन कालदेखि व्याकरणलाई महत्व दिइँदै आएको पाइन्छ। यद्यपि भाषा बुझ्नका लागि हो, शुद्ध वा अशुद्धको कुनै मतलब हुँदैन भन्नेहरू पनि प्रशस्त भेटिन्छन्। तर, संसारका सबै समृद्ध भाषाहरू व्याकरणनिष्ठ छन्। हुन त यथार्थमा भाषा वक्ताको विचार, धारणा वा भावना सम्प्रेषणका लागि हो। वक्ताले बोलेको स्रोताले वा लेखकले भनेको पाठकले बुभ्mन सके भाषाको उद्देश्य पूरा हुन्छ। तर, व्याकरणको अनुपस्थितिमा यसको स्वरूप कुरूप हुन्छ। वास्तवमा अशुद्धता भनेको भाषिक वातावरणको प्रदूषण हो, विकृति हो र अझ यसो भनौँ, फोहोर हो। अशुद्धतारूपी फोहोरले साहित्य रूग्ण हुन पुग्छ। साहित्य भनेको भाषाको विशिष्ट रूप हो। अशुद्धतारूपी विकारबाट साहित्यलाई जोगाउने दायित्व कवि लेखकहरूको नै हो।

शुद्धता भाषाको सौन्दर्य हो। जुनसुकै प्रयोजनको लेखनमा पनि भाषिक शुद्धता अपेक्षित हुन्छ भने साहित्यको भाषामा त झनै बढी यो कुरा लागू हुन्छ। अशुद्धताले साहित्यको स्वास्थ्यमा प्रत्यक्षरूपमा असर पु¥याएको हुन्छ। यसर्थ साहित्यको सौन्दर्य र स्वस्थताका लागि भाषिक शुद्धता अपरिहार्य हुन्छ। यस सन्दर्भमा स्रष्टा अर्थात् कवि वा लेखक बन्ने चाहना भएका हरेक व्यक्तिले सर्वप्रथम साहित्य के हो भन्ने कुरा बुझ्नुपर्छ, त्यसपछि जुन विधामा कलम चलाउने हो त्यसबारे यथेष्ट जानकारी हुनुपर्छ। तर, यतिले पुग्दैन। त्यसो त साहित्यकारहरूमा व्याकरणका सम्पूर्ण पक्षको व्यापक ज्ञान हुनैपर्छ भन्ने छैन। कवि लेखकहरू केही उन्मुक्त वा स्वच्छन्द प्रकृतिका हुन्छन्।

व्याकरणको दायराभित्र रहेर लिकमा रेल गुडेझैँ हिँड्ने स्वभाव उनीहरूको हुँदैन। कठोर नियमको घेराभित्रको मैदानमा पसेर खेल्ने खेलाडीजस्ता पनि हुन चाहँदैनन् स्रष्टाहरू। व्याकरणका नियमको अक्षरशः पालना गर्ने कुरामा उनीहरू अराजक देखिन्छन्। यहाँसम्म कि, उनीहरू विधागत सिद्धान्तको समेत उल्लंघन गर्न मन पराउँछन्। यसलाई स्वाभाविकरूपमा लिनु पनि पर्छ। तापनि उनीहरूमा खासगरी सम्बन्धित भाषाको व्याकरणले निर्दिष्ट गरेका पदक्रम, पदसंगति, वाक्यसंरचना जस्ता विषयको सामान्य जानकारी हुनाका साथै हिज्जे अर्थात् वर्णविन्यासका नियमहरूको पर्याप्त ज्ञान, तिनको अभ्यास र प्रयोग क्षमता भने उत्तिकै आवश्यक हुन्छ। शुद्धताको ज्ञान नहुनु साहित्यकारको ठूलो कमजोरी हो। हिज्जेको अशुद्धि साहित्यिक भाषामा हलुवामा मिसिएको बालुवाजस्तै लाग्छ।

वाक्यसंरचनाका सन्दर्भमा साहित्यकारहरूले आलंकारिक पदक्रमको बढी प्रयोग गर्न मन पराउँछन्। यस्तो पदक्रमको प्रयोग प्रभावकारी हुन्छ। निष्कर्षमा भन्नुपर्दा साहित्यमा प्रयुक्त भाषाको हिज्जे शुद्ध हुनैपर्छ र यसका लागि साहित्यकारहरूमा शुद्धाशुद्धिको ज्ञान अपरिहार्य हुन्छ। अतः यसबारे हरेक स्रष्टाहरू सचेत हुन आवश्यक हुन्छ।

(लेखक त्रिवि, विश्वभाषा क्याम्पसका पूर्वीय भाषा विभागका प्रमुख हुन्।)

प्रकाशित: १४ पुस २०७५ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App