सरकारले राजदूत नियुक्ति गर्ने प्रक्रिया खुला प्रतिस्पर्धामार्फत अघि बढाएसँगै तीन हजार जनाले आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म मागेको आवेदनमा ३४ देशका राजदूतका लागि उक्त संख्यामा आवेदन परेको हो।
१७ देशमा राजनीतिक नियुक्तिबाट तथा १७ देशमा परराष्ट्र सेवाका कर्मचारीलाई राजदूतका रूपमा खटाउने अभ्यास रहँदै आएको छ। हाल १७ वटा देशमा राजदूत पद रिक्त रहेको छ।
सरकारले यसपटक १३ देशका लागि आवेदन आह्वान गर्नुका साथै अन्य देशमा समेत इच्छुक उम्मेदवारले आफ्नो प्राथमिकता उल्लेख गर्न सक्ने व्यवस्था गरेको थियो। यसअघि तत्कालीन सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतलाई फिर्ता बोलाएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार कतिपय व्यक्तिको नाम अन्य व्यक्तिहरूले पनि सिफारिस गरेका कारण आवेदन संख्या बढी देखिएको हो। आवेदनहरूको रुजु तथा प्रमाणीकरणपछि वास्तविक संख्या सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै आवेदनको मूल्यांकन र स्क्रिनिङ प्रक्रिया पूरा गरेपछि योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउनेछ। मन्त्रिपरिषद्बाट सिफारिस भएका उम्मेदवारहरूको संसदीय सुनुवाइ सम्पन्न भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गरिने व्यवस्था छ।
नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी सम्हाल्नेछन्। मन्त्रालयले ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ (संशोधनसहित)’ अनुसार आवेदन आह्वान गरेको हो।
प्रकाशित: २३ जेष्ठ २०८३ १२:१९ शनिबार





