२९ असार २०७७ सोमबार
अन्य

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ। कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो। संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता। यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ। कविता अक्षरहरूमा, शब्दहरूमा, व्याकरणको परिधिबाट मुक्त वाक्यांश र वाक्यहरूमा भाव गुम्फित हुन्छ। यसमा बौद्धिकता कम र हार्दिकता अधिक हुन्छ। साहित्यका प्रमुख चार विधा मानिएका छन्। तीमध्ये सबैभन्दा जेठो–पुरानो, समृद्ध र महत्वपूर्ण विधाका रूपमा कवितालाई स्थान दिइएको छ। नाटक, आख्यान र निबन्ध कविताभन्दा पछिका विधा हुन्। फुटकर कविताअन्तर्गत नै गीत, गजल, भजन, मुक्तक, सनेट, हाइकु लगायतका साना अर्थात् लघुतम र लघु आकृतिका रचनाहरू पर्छन्। यसको मध्यम आकारलाई खण्डकाव्य वा लामो कविता र बृहत् वा बृहत्तर आकारलाई महाकाव्य भनिन्छ। गीत र कवितालाई दिदी र बहिनी पनि भनिन्छ। वस्तुतः कविताको जन्म गीतपछि भएको हो। मानवजातिले भाषाको उद्भव नहुँदैदेखि लयको खोजी गरिसकेको तथा गुनगुनाउन सिकिसकेको थियो। बिस्तारै मनोरञ्जनका लागि गाउने÷नाच्ने क्रममा गीतको जन्म भएको हो। मानवसभ्यता र ज्ञानको विकासपछि मात्र कविता सिर्जन आरम्भ भएको हो। 

कविले कवितामा समाहित गर्ने कथ्य वा विषयवस्तुको प्रारम्भिक सामग्री नै यसको कच्चा पदार्थ हो। श्रुति, दृष्टि, अनुभूति, पठन, अनुभव, भावना, कल्पना, विचार, तर्क, सङ्गत मनका आवेग र संवेग आदि कविबाट रचना गरिने कविताका कच्चा पदार्थ हुन्। 

कविताको स्रष्टा हो कवि, जसलाई काव्यसंसारको प्रजापति पनि भनिएको छ। त्यसैले कवितालाई कविको कर्मका रूपमा व्याख्या गरिएको पाइन्छ। कवि प्रतिभाशील हुन्छ। उसभित्रको प्रतिभा जन्मजात वा प्रकृतिप्रदत्त पनि हुनसक्छ, तीव्र रुचिसहितको अध्ययन र अभ्यासबाट पछि निर्मित पनि हुनसक्छ। कविप्रतिभालाई अत्युच्च मानवीय क्षमता वा खुबी मानिएको छ। बडेबडे विद्वान् र दार्शनिकहरूमा पनि कवित्व क्षमता हुँदैन। उनीहरू कविताका अध्येता पारखी र व्याख्याता भने हुनसक्छन्। यसर्थ विद्वान् र दार्शनिकहरूको उचाइँसँग कविको उचाइलाई दाँज्न मिल्दैन। राम्रो कवि सर्वोच्च हिमशिखर सगरमाथा हो भने विद्वान् र दार्शनिकहरू अन्नपूर्ण, धौलागिरी हुन्। कविको उच्चकोटिको सिर्जनात्मक अभिव्यञ्जनामा पाठक, भावक वा स्रोताहरूको मनलाई तान्ने गजबको जादूमय क्षमता अन्तर्निहित हुन्छ। रहरले मात्रै कवि बनिँदैन अर्थात् बन्न सकिँदैन। यसका लागि कवि बन्ने आन्तरिक रहरलाई अथक साधनाका माध्यमबाट समाधिसम्म पु-याउन सक्ने अद्भूत समर्पण अपेक्षित हुन्छ। वस्तुतः कवित्वलाई दुर्लभ मानवीय गुण मानिन्छ। कविता स्रष्टाको अन्तश्चेतनासँग सम्बन्धित हुन्छ। सिद्धान्त बुझेर होस् वा नबुझीकन पनि कविता लेखिएको हुन्छ कविहरूबाट। तर, जसरी लेखिएको भए पनि त्यसमा नवीन भावनाको लालित्यमय आवेग मुखरित भएको हुनुपर्छ। कवि कवितामा र कवितामा कविको विम्ब हुनुपर्छ। पारसमणि प्रधानका बहुचर्चित यी पङ्क्तिमा कविताको अन्तर्य भेटिन्छ – कवि कविता होस् कविता कवि होस् तब पो कविता हुन्छ , शब्द थुपारीकन के हुन्छ भाव भए पो हुन्छ। त्यसो त शब्दबिना कविताको कल्पना हुनै सक्दैन, कवितामा शब्द र अर्थको मञ्जुल संयोजन हुनुपर्छ। 

स्यामुअल टेलर कलरिजले भनेजस्तै उत्तम शब्दहरूको उत्तम क्रम विन्यास नै कविता हो। पूर्वीय विशेषतः संस्कृतका विद्वान्हरूले कवितामा कला पक्षलाई अर्थात् बाह्य सजावटलाई बढी महत्व दिएका छन् भने पाश्चात्य विद्वान्हरूले आन्तरिक सौन्दर्य वा भावलाई प्राथमिकता दिएका छन्। कविताका सन्दर्भमा छन्द, रस, अलङ्कार, ध्वनि, रीति, वक्रोक्ति, गुण आदि पूर्वीय आचार्यहरूका सिद्धान्त हुन्। पाश्चात्यहरूले पनि लय वा छन्द, अनुकरण, भाव, दर्शन, बिम्ब, प्रतीक, अनुभूति, कल्पना आदिलाई महत्व दिएका छन्। यसरी हेर्दा पूर्वीय विद्वान्हरू शिल्पगत सौन्दर्यका उपासक र पाश्चात्य विद्वान्हरू भावगत सौन्दर्यका पक्षपोषक देखिन्छन्। 

रहरले मात्रै कवि बनिँदैन अर्थात् बन्न सकिँदैन। यसका लागि कवि बन्ने आन्तरिक रहरलाई अथक साधनाका माध्यमबाट समाधिसम्म पु-याउन सक्ने अद्भूत समर्पण अपेक्षित हुन्छ।  

कुनै पनि चिज वा वस्तुको निर्माणका लागि कच्चा पदार्थ अपरिहार्य हुन्छ। जसरी एउटा भवन निर्माणका लागि विभिन्न सामानहरू चाहिन्छन्, त्यसरी नै वाङ्मयिक संसार तथा कला क्षेत्रका अनेकानेक विधा र तिनका उपविधा वा भेद, प्रभेदहरूको निर्मितिका लागि पनि सुरुमा नै केही वस्तुहरू चाहिन्छन्, यस्ता जुन वस्तुहरू हुन् ती नै कच्चा पदार्थ मानिन्छन्। मूर्तिकारले जब मूर्ति बनाउने उद्देश्य लिन्छ, सर्वप्रथम उसले आफूले कल्पना गरेअनुसारको मूर्तिका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्छ। चित्रकारले पनि यसरी नै पूर्व व्यवस्थापन गरेको हुन्छ . गायक, नर्तक लगायत कला क्षेत्रका सबैले आफ्नो कला निर्माण वा प्रस्तुतिका लागि पहिले कच्चापदार्थको जोहो गरेकै हुन्छन्। कच्चा पदार्थको कमी भएमा निर्माण वा प्रस्तुति उपभोक्ताका लागि प्रभावकारी हुन सक्दैन। कविताका स्रष्टाहरूले आफ्नो कवितामा कच्चा पदार्थको खोजी कसरी र कहाँबाट गर्छन् त भन्ने बारेमा एउटा प्रशिक्षणमा मैले व्यक्त गरेको कुरा यस आलेमा राख्न चाहेको छु। हुन त यो एकालाप हो। तर, पनि यसलाई पाठकहरूसँगको वार्तालाप वा अन्तक्रिया बनाउने मेरो प्रयास छ। 

कविले कवितामा समाहित गर्ने कथ्य वा विषयवस्तुको प्रारम्भिक सामग्री नै यसको कच्चा पदार्थ हो। श्रुति, दृष्टि, अनुभूति, पठन, अनुभव, भावना, कल्पना, विचार, तर्क, सङ्गत मनका आवेग र संवेग आदि कविबाट रचना गरिने कविताका कच्चा पदार्थ हुन्। श्रुतिले यहाँ सुनेको भन्ने अर्थ द्योतन गरेको छ। जीवनमा आफूले सुनेका धेरै कुरामध्ये आफ्नो मनलाई प्रभावित गरेका खास विषयलाई कविहरूले कविताको कथ्य बनाएका हुन्छन्। जीवनमा कहिल्यै नपुगेको ठाउँ र नदेखेको प्रकृति तथा वस्तुहरू कविका कविताहरूमा सशक्त कथ्य बनेर आएका प्रशस्त उदाहरण भेटिन्छन्। भानुभक्त आचार्यको कान्तिपुरी नगरी कवितामा भोट, चीन, लन्डन, दिल्ली, पटना, मदरासको जसरी उल्लेख छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा  जुन ढङ्गले भोटको बयान छ, यी कुरा श्रुतिका आधारमा लेखेका हुन् कविहरूले। यथार्थमा भन्दा उनीहरू त्यहाँ पुगेका थिएनन्। यसरी नै देखेका र भोगेका कुराहरूबाट पनि कवि मन प्रभावित हुन्छ र तिनकोे प्रतिबिम्ब कवितामा अभिव्यञ्जन हुन्छ। सामान्य समाचार वा लेखदेखि लिएर गहन ग्रन्थहरूको पठनबाट पनि कविले सिर्जनात्मक वस्तु पाएको हुन्छ। यसरी विपठनको प्रभावमा कविहरूबाट धेरै कविता रचिएका छन्। हामी प्राचीन धर्मग्रन्थ तथा आर्ष महाकाव्यहरूभित्रका आख्यानको प्रभावबाट लेखिएका काव्य वा कविता कृति प्रशस्त भेट्छौँ। पूर्वीय जगत्का हिन्दू धर्मग्रन्थ पुराणहरू तथा व्यासको महाभारत र बाल्मीकिको रामायण वा पश्चिमी जगत्का बाइबल र होमरका महाकाव्य इलियट र ओडेसी उत्तरवर्ती काव्य वा कविता रचनाका लागि उपजीव्य ग्रन्थ नै मानिन्छन्। कविका आफ्नै नितान्त निजी भावना, विचार, आवेग, संवेग र तर्कहरूमा पनि उसले लेख्ने कविताका निम्ति चाहिने कच्चा पदार्थको प्रचुरता हुन्छ। जोन क्रो -यान्समका अनुसार रूपविन्यासले युक्त बौद्धिक वा तर्कपूर्ण रचना कविता हो। कवि जो–जोसँग संसर्गमा रहन्छ वा उसले जस–जसको सङ्गत गरेको हुन्छ, तिनका व्यवहार र क्रियाकलापबाट पनि कविताहेतु आवश्यक सामग्री पाएको हुन्छ। यीबाहेक कविहरूले स्वकीय अनुभूति र कल्पनाबाट सशक्त र सुन्दर कविता सिर्जनाका लागि सबैभन्दा बलिया कच्चा पदार्थ पाएका हुन्छन्। कविहरूको प्रतिभा यी दुई कुरा बिना बाँझो उर्वर भूमिजस्तो भइदिन्छ। माथि उल्लेख गरिएका अन्य कच्चा पदार्थहरूलाई चमक दिने चिज पनि कविमा अन्तर्निहित अनुभूति र कल्पना नै हुन्। स्तरीय कविता त्यो हो, जसमा कविको अदभूत अनुभूतिको भाव एवम् कलात्मक कल्पनाको वैचित्र्यका बिम्ब र प्रतीकहरू रहेका हुन्छन्। कवितालाई अनुभूतिको अभिव्यक्ति हो भन्ने पक्षमा धेरैको स्वीकृति रहेको पाइन्छ। जोन स्टुअर्ट मिलले एकान्त क्षणमा आफैले मनन गरेको अनुभूति नै कविता हो भनेका छन्। पर्सी बिसी सेली भन्छन्– कविता व्यापक अर्थमा कल्पनाको अभिव्यक्ति हो। ली हन्टको परिभाषाले कविता कल्पना तथा भावनाले सजिएको हुनुपर्छ भन्ने कुरामा जोड दिएको पाइन्छ। विलियम हेनरी हडसनले पनि कवितालाई कल्पना र भावनाका माध्यमबाट गरिने जीवनको व्याख्या मानेका छन्। वस्तुतः विस्टन हग अडेनले भनेझैँ कविता विशिष्ट अभिव्यक्ति हो। कविताको शक्ति पाठकका मनमस्तिष्कलाई झक्झक्याउन सक्ने हुनुपर्छ। कविता भनेर लेख्दैमा कविता बनिहाल्यो भन्ने ठान्नु अज्ञानता मात्रै हो। कविता त्यो हो जुन कविता हो, जसमा कवि स्वयम् उच्चतम कला, विचार र भावसहित पाठकहरूलाई सम्मोहित गर्दै तादात्म्य भएको हुन्छ। कवि, कविता र पाठकबीच गहिरो सम्बन्ध हुनुपर्छ, यदि हुन सकेन भने त्यस्तो कविताको औचित्यमाथि प्रश्न उठ्छ। 

अन्त्यमा फिलिप सिडनीको यो भनाइ मलाई निकै मन प-यो– प्रकृतिले यस धरातललाई पित्तलको बनाएको थियो, यसलाई सुनको बनाउने काम कविहरूले गरे। 

(लेखक त्रिवि, विश्वभाषा क्याम्पसमा पूर्वीय भाषा विभागका प्रमुख हुन्।) 

प्रकाशित: २९ मंसिर २०७५ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App