२६ असार २०७७ शुक्रबार
अन्य

‘समस्यासँग जुधिन्छ, हरेस खाइन्न’

कोही आँगनमा हाते झोला बुन्दै छन् त कोही घाममा बसेर गफिँदै। उनीहरूको हाउभाउ र गफ गर्ने शैली सामान्य मानिसभन्दा कम छैन। सामान्य मानिसभन्दा बढी आत्मविश्वास भएका यी अपांगता (फरक क्षमता) भएका व्यक्तिहरू हुन्।

ह्विल चियर गुडाएरै भए पनि उनीहरूले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्।

गएको शुक्रबार तारकेश्वर नगरपालिका–६ पैयुँटार पुग्दा त्यस्तै फरक क्षमता भएका धेरै व्यक्ति भेटिए।

तिनै मध्येकी एक हुन्, स्याङ्जाकी २३ वर्षीय गीता भुसाल। अपांगता भएका व्यक्तिले मौका पाए जस्तोसुकै काम गर्न सक्ने बताइन्। ‘म हातेझोला र मनीब्याग बनाउँछु, पोते बुन्छु,’ उनले भनिन्, ‘चलचित्रमा अभिनय पनि गरेकी छु, मनमा आँट हुने हो भने जसरी पनि गर्न सकिँदोरहेछ।’

उनले अपांगहरूको कथालाई लिएर बनाएको ‘लुरी’ चलचित्रमा अभिनय गरेको सुनाइन्।

उनले २०७४ सालमा खगेन्द्र नवजीवन माध्यमिक विद्यालयबाट एसइर्ई पास गरेकी थिइन्। आर्थिक समस्या र ह्विलचियरबाट कलेज जान नसकेपछि उनले त्योभन्दा माथिल्लो तह पढ्न पाइनन्। तर, पनि हार नखाएको उनी बताउँछिन्।

राज्यले अपांगता भएका व्यक्तिहरूलाई उचित अवसर नदिएको उनको गुनासो छ। ‘अपांगता भएका व्यक्तिलाई अवसर दिनु त कता हो कता, उल्टै निरास बनाउने गरेको छ,’ उनले सुनाइन्। फुथपाथमा सामान बेच्दा नगरपालिकाका कर्मचारीले हप्काउने गरेको उनले दुखेसो पोखिन्।

नुवाकोटकी पूर्णकुमारी श्रेष्ठ ‘पूmलमाया’को पनि व्यथा पनि उस्तै छ। उनले अपाङ्ग सेवा केन्द्रमा आएपछि शारीरिक अवस्थामा सुधार आएको बताइन्। ‘सुरुमा आउँदा हातखुट्टा टेकेर मात्रै हिँड्न सक्थें। अहिले नियमित हेरचाहले अलिअलि हिँड्न सक्ने भएकी छु,’ उनले भनिन्।

जन्मिँदै खुट्टा नचल्ने भएको र सानोमा सौतेनी आमाले कुटपिट गर्ने गरेको उनले सुनाइन्। बहिनीको बिहे भएपछि एक दिदीको सहयोगमा २०७३ सालमा अपाङ्ग सेवा केन्द्रमा आएको उनले बताइन्। ‘अहिले यहाँ बसेर आफूले सकेको काम गर्दैछु,’ उनले भनिन्।

संघर्षका अर्का पात्र हुन्, मकवानपुरका ३४ वर्षीय बुद्घिबहादुर तामाङ। उनी सीप भए जीवन चलाउन निकै सहज हुने उनले बताए। उनी गुलाफको फूल, टिम्याट, मनी ब्याग, बिरालो बस्ने घर, हाते झोला, टोपी र मैनबत्ती बनाउँछन्। ‘यसैबाट महिनामा ६/७ हजार कमाइ हुन्छ,’ उनले भने, ‘सीप भए जसरी भए पनि बाँच्न सकिने रहेछ।’

आफू १० वर्षको हुँदा बाबा बितेको र त्यसपछि आमा पोइल गएको उनले सुनाए। त्यसपछि जीवनयापनका लागि काठमाडौंमा आएको र रङ लगाउने काम थालेको उनले बताए। ‘घरमा रङ लाउँदा लडेर देब्रे खुट्टा भाँचियो। आर्थिक समस्याले राम्रोसँग उपचार गराउन नसकेपछि नसामा समस्या आयो,’ उनले भने, ‘अहिले कम्मरभन्दामुनिको भाग चल्दैन।’
काभ्रेपलान्चोकका ६५ वर्षीय रणबहादुर खड्काले अपांगता भएका व्यक्तिलाई राज्यले नहेरेको गुनासो गरे। उनी २१ वर्षको छँदा रुखबाट लडेर अपांग बनेका हुन्। त्यसपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको घुँडाको नसा जाम भएको थियो। त्यतिबेला ६ महिना उपचार गर्दा पनि सन्चो नभएको उनी बताउँछन्। उनी चाबहिल, नयाँ बानेश्वर र सुनधारामा सामान बेच्ने गरेका छन्।

स्वयंसेवकको रूपमा काम गर्दै आएका दोलखाको रविन जिरेलले उचित अवसर पाए अपांगता भएका व्यक्तिहरूले पनि राज्यका लागि योगदान गर्न सक्ने बताए।

अपांग सेवा केन्द्रका अध्यक्ष चन्द्रबहादुर खत्रीले आफूले भोगेको दुःख सम्झेर संस्था खोलेको बताए।

सीप सिकेर कमाएको रकमबाट २०७० सालमा मैले यो संस्थाको स्थापना गरें। ‘सामान बेचेर मुस्किलले जीवन धानिरहेका छौं, उनले भने, ‘अपांगहरूलाई माग्दै गरेको भेटिन्छ भने कतै बाँधेर राखिएको अवस्थामा भेटिन्छ। आफू अपांग भई अपांगहरूकै संस्था खोलेर मैले राज्यलाई गरेर देखाएको छु। राज्यले अपांगहरूप्रतिको दायित्व कहिले पूरा गर्ला ?’

प्रकाशित: २४ मंसिर २०७५ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App