घाटामा एकोहोरो शंख बजेजस्तो
भुकिरहेछन् निर्लज्ज मनहरू,
चाँडो चाँडो पुगिरहेछन्
मान्छेहरूको दैलोसम्म
अगस्ति आँखा बोकेर
एक हुल मान्छेहरू।
अँ हँ भाले बासेकै छैन
यो अन्धकार हाँसेको क्रुर समयमा,
अँध्यारोमै छाम्ने गर्छु
म आफ्नो देश।
तिम्रो मृदु ओठमा मुस्कान देखेर म
अचम्मित छु,
तिम्रो अतल आँखामा चमक देखेर म
सशंकित छु,
तिम्रो गालामा लाली देखेर म
झस्किरहेछु,
तिम्रो बडी ल्याङ्वेजमा ऊर्जा देखेर म
भयभीत छु।
हेर त साथी
मेरो ओठमा कलेटीपरेको छ,
आँखामा खै के हो बिझाइरहन्छ हरदम
समय नपुग्दै गाला चाउरिएको छ
र शरीर नै शिथिल भइसकेको छ।
तिमी र म
एउटै भूगोलको मान्छे
त्यही ढुंगेधाराको पानी हौ, जो तिमी पिउँछौ,
म पनि पिउँछु
त्यही गोरेटो हो, जहाँ तिमी हिँड्छौ,
म पनि हिँड्छु
त्यही आकाश हो, जो तिमी ओढ्छौ,
म पनि ओढ्छु।
तर, आज म अति नै द्रवित छु,
भयभीत छु
तिम्रो पार्टीभित्र मेरो देश अटाउनै सकेन
मेरो देशभित्र तिम्रो पार्टी अटाउनै सकेन
झण्डा तिम्रो हातमा पनि छ
झण्डा मेरो हातमा पनि छ
तिम्रो झण्डाभित्र मेरो झण्डा अटाउनै सकेन
मेरो झण्डाभित्र तिम्रो झण्डा अटाउनै सकेन
फलतः
यो माटोमा भोलि
न त तिमी हुनेछौ
न त म नै रहने छु।
प्रकाशित: २२ मंसिर २०७५ ०६:१८ शनिबार