१० माघ २०७७ शनिबार
अन्य

महाकवि उपेक्षा

मैले अहिलेसम्म चार पटक यात्रा गरेँ त्यस घरको। पहिलो र दोस्रो पटक मैले गरेको त्यस घरको अवलोकन–यात्राकाल र गत महिना केही दिनमै दुई पटक पुगेका समयका बीच २८ वर्षको अन्तराल भइसकेछ। त्यसो त यसबीचमा एक–दुई पटक डा. पदमप्रसाद देवकोटालाई भेट्न जाँदा त्यस घरलाई नजिकै कम्पाउण्ड बाहिरबाट नदेखेको होइन। कम्पाउण्डभित्रै गएर हेरेको र घरभित्रै पसेकोचाँहि तेस्रो र चौथो पटक हो यसपाली। २०७५ सालको लक्ष्मीपूजा अर्थात् देवकोटा जयन्तीका दिन र त्यसको पाँच दिनपछि अर्कोपटक। दोस्रो पटक त्यहाँ पुग्ने उद्देश्य महाकविकी सुपुत्री अम्बिका रिमाललाई भेट्नु थियो। त्यसक्रममा उहाँको घर पुग्दा पुनः महाकवि देवकोटा निवास पुगेको थिएँ म।

२०४७ सालमा भर्खरभर्खर मैले नेपाल टेलिभिजनबाट अभिव्यक्ति कार्यक्रम सञ्चालन गर्न थालेको थिएँ। त्यसै सालको देवकोटा जयन्तिका अवसरमा उनको एउटा वृत्तचित्र बनाउने निधो गरी म सोध्दैखोज्दै त्यस घरमा पुगेको थिएँ पहिलोपटक। त्यसबेला महाकवि देवकोटाकी धर्मपत्नी मनदेवी देवकोटासँग भेट गरी म त्यहाँ पुग्नुको उद्देश्य बताएँ। उनीसँगको कुराकानीपछि भोलिपल्ट त्यस घरका बाहिरी र भित्री दृश्यहरू खिँच्न प्राविधिक साथीहरूका साथ म त्यहाँ गएको थिएँ। मनदेवी देवकोटासँग पनि अन्तर्वार्ता लिई मैले त्यस वर्ष देवकोटाको स्मृतिमा वृत्तचित्र बनाएँ।

त्यो वृत्तचित्र निकै वर्षसम्म देवकोटा जयन्तीका दिन प्रशारण पनि हुँदै आयो। त्यस वृत्तचित्रमा डिल्लीबजार, धोविधारास्थित देवकोटाको जन्मघर, उहाँका लुगाफाटो सहितका सामग्री, केही साहित्यकारहरूका अन्तर्वार्ताहरू, देवकोटा स्वयंद्वारा वाचित अंग्रेजी कविता आदि प्रस्तुत गरिएका थिए। म पछिल्लोपटक देवकोटाको निवासस्थलमा पुगेका बेला उतिखेर मैले कार्यक्रममा देखाउन खिँचिएका देवकोटाका कविताका हस्तलिखित पाण्डुलिपिहरू सम्झेँ, देवकोटाका ती हस्ताक्षरहरू कहाँ पुगे होलान् ! नासिए, हराए वा सुरक्षितै छन् ! ती त्यसबेला एउटा टिनको बाकसमा सुरक्षित थिए। म त्यहाँ घरनजिकै पुगेको बेला देवकोटाका अक्षरहरू मेरा स्मृतिमा नाचिरहे निकैबेर। ती अक्षरहरूमा देवकोटाका हात दौडिरहेको मैले उतिखेर महसुस गरेको थिएँ।

यो वर्षको लक्ष्मीपूजाका दिन जब म देवकोटा निवासको आँगनमा पुगेँ। त्यो दिन २८ वर्ष पहिलेका शारदीय दिनहरू सम्झेँ– लक्ष्मीपूजा भन्दा केही दिन पहिलेका। म त्यसबेला त्यहाँ पुगेको दिन त्यस घर वरिपरि ढकमक्क सयपत्री फूलहरू मगमगाइरहेथे। तर, यसपालीको लक्ष्मी जयन्तिका दिन ती केही थिएनन्। सायद त्यस घरको आँगनमा यसपाली सयपत्री रोप्ने कोही भएन। आँगन उराठ–उराठ थियो। झार र स–साना बुटाबुटी र सुकेका घाँसपात छेउछाउमा। तर, एक छेउमा खासै स्याहार नचाहिने रातो फूल भने फुलेकै थियो। त्यसमा सयपत्रीझँै कुनै बासना मैले महसुस गरिनँ। घरका पछाडिपट्टि तरकारीको लहरामा भने अलिकति हरियाली देखिन्थ्यो। घर वरिपरि काठपात, दाउरा असरल्ल। एउटा सन्नाटा मडारिइरहेजस्तो, एउटा एकान्त सुक्सुकाइरहेजस्तो र एउटा

उदासी टोलाइरहेजस्तो परिवेश देखेर मन कुँडियो। बाहिरबाट झलक्क देख्दा २०७२ वैशाखको भुइँचालोले त्यति ठूलो क्षति पुर्याएजस्तो लाग्दैन। तर, भित्रपट्टि भने सिरानदेखि भुइँतलासम्मै पूरै भत्किएको छ– देवकोटा साधनास्थल। म डराइडराई भित्र पसेँ र पहिलो तलामा गएँ। त्यहाँ दुई जना टिभी पत्रकार र देवकोटा पुत्री अम्बिका रिमालसँग भेट भयो। एक्लो मान्छे त साहस जुटाएर तलामाथि उक्लनै हम्मे पर्ने, जोखिममा परिने डर जुनसुकै बेला पनि। भित्रपट्टिका दृश्यहरू यति कारुणिक देखिएका छन् कि तिनको जीर्ण अवस्था बोकेर बाहिरी गाह्रो कुन आधारमा प्रायः सग्लै उभिइरहन सकेको छ ! बाहिरी पर्खाल बाक्लो भएकाले त्यो थेगिएको हुनसक्छ, भित्री तलाहरूले कम्पनलाई सहन नसकेका भए पनि। हुन त लाखाैं नेपालीका घरहरू यसरी नै ध्वस्त प्रायः भए, तिनमा कैयाैंले ज्यान गुमाउनुप¥यो। अझै हजाराँै नेपालीले आफ्नो घर बनाउन सकिरहेका छैनन्, हिउँद बर्खाहरू बिचल्लीमै बितिरहेका छन्। भूकम्पपीडितलाई परेको पीडा–व्यथा सबै नेपालीहरूको हो। सरकारी संयन्त्रको सुस्तता, स्वार्थ र संवेदनहीनताका कारण अझै कतिबेर त्यस पीडालाई बोहिरहनुपर्ने हो भूकम्पपीडितहरूले, ठेगान छैन।

महाकवि देवकोटाको घर एउटा विशिष्ट राष्ट्रिय सम्पदा हो। त्यस घरभित्र देवकोटाले प्रयोग गरेका घरायसी वस्तुहरू सबै राष्ट्रिय सम्पदा हुन्। उनले प्रयोग गरेका खाट, कुर्सी, टेबल, दराज, भित्ताका फोटोहरू धेरै चिजबिज छन् त्यहाँ। भित्ताका फोटोहरूबाहेक अरु सबै कोठाको खण्डहरमा पुरिएका, च्यापिएका र भाँचिएका छन्। त्यहिँ पुरिएका हुन सक्छन्, देवकोटाका असंख्य कविता र काव्यका पाण्डुलिपीका मौलिक कापीहरू। यसको संरक्षणको दायित्व राज्यको हुनुपर्ने हो, किन यतिका समयसम्म पनि हुन सकेन ? प्रश्न पेचिलो छ। भित्तामा भएका ८÷९ फोटोहरू सबै ऐतिहासिक छन्, त्यहाँ देवकोटा र उनका सहयात्री वाङ्मय सारथिका फोटोहरू छन्। ती सबै फोटोहरू यस देशका सम्पदा हुन्। तिनलाई झुण्ड्याइएका भित्ताहरू पनि मक्किएका, चर्किएका छन्। भित्ताभरि माकुराको जालैजालो छ।

सर्वत्र धमिराले माटो उठाएको छ। फोटोको भित्रपट्टि धमिरा लागिसकेको हुनसक्छ, धमिरा र माहुले खाएर ती मौलिक फोटोहरू सबै नष्ट हुन सक्छन्। के तिनलाई जोगाउनु राज्यको दायित्व होइन ? देवकोटाको साधनास्थलमा सरकारले आएर देखोस् र संरक्षणको पहल गरोस् भन्ने परिवारजनको सोचाई हुनसक्छ, त्यो स्वभाविक पनि हो। देवकोटाको नाम सम्मानपूर्वक लिनसक्ने राज्यले उनकै तपस्या स्थललाई वास्ता नगर्नु राज्य सञ्चालकको चरम उपेक्षा र यस स्थलप्रतिको संवेदनहीनता बाहेक केही होइन। देवकोटाले जीवनभरि प्रयोगमा ल्याएका सामग्रीहरू पूरै नष्ट भएपछिको त्यस भौतिक रिक्ततालाई कहिल्यै पूरा गर्न सकिन्न भन्ने चेत सम्बन्धित निकायलाई हुनुपर्ने हो। देवकोटाका कृतिहरूलाई त घरमा बसेर पढ्न सकिएला। तर, उनले प्रयोग गरेका सामग्रीहरूको अभावमा कुनै संग्रहालयको परिकल्पना हुन सक्ला कि नसक्ला ? सरकारले डिल्लीबजार, धोबिधारास्थित देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने कुरा गर्न थालेको सुनिन्छ, त्यो स्वागतयोग्य कुरा पनि हो। तर, मैतीदेवीस्थित घरका बारेमा सरकारले के गर्न खोज्दैछ भन्ने स्पष्ट छैन।

थाहा भएसम्म देवकोटा २००१ सालदेखि मैतीदेवीस्थित घरमा सरेका थिए। त्यसपछि जति सिर्जना भए, ती सबै त्यहिँबाट भए। उनी प्रवासमा गएर लेखेका कैयौँ रचनाहरू अप्राप्य छन् भनिन्छ। मैले लक्ष्मीपूजाको दिन त्यहाँ पुगेर टेकिरहेको भुँइ त्यहि थियो, जहाँ बसेर देवकोटाले असंख्य कविता, निबन्ध, काव्यहरू रचेथे। श्रीमती मनदेवी देवकोटाले त्यसै कोठाको पूर्वपट्टि भित्तानेरैको होचो खाटमा बसेर अगाडिपट्टि भुँइतिर देखाउँदै ‘उहाँ त्यहाँको खाटमा बसेर घण्टौँ लेखिरहनु हुन्थ्यो’ भनेकी थिइन्, मैले ०४७ सालमा अन्तर्वार्ता लिँदा। यसबेला देवकोटा बस्ने खाट धुलोमाटोले पुरिएको अवस्थामा पर कुनामा अवशेष भइरहेछ।

यसबेला देवकोटाको त्यो काव्य–साधना गर्ने कोठा, कोठाको रूपमा छैन। त्यसको आधाभन्दा बढी भुँइ पूर्ण खण्डहर भएको छ। त्यो र त्यसको उत्तरपट्टिको अर्को कोठा एवं त्यसभन्दा माथिल्लो तलाको भुँइको अधिकांश भाग सबै भुँइतलामा थुप्रिएको छ। दोस्रो तलातिर उक्लिन झन् जोखिमपूर्ण छ।

महाकवि देवकोटाका सिर्जना पढेर आ–आफ्नो चैतन्यलाई उजिल्याएका लाखाैं नेपाली छन्। एउटै मुनामदनका पाठकहरू त करोडाँै भन्दा बढी नै भइसकेका छन्। यस बाहेक फुटकर कविताहरू, अरु खण्डकाव्य र महाकाव्यहरूले दिएका चेतना, काल्पनिकी, दर्शन र काव्यिक अनुभूतिले देश–विदेशका करोडाैं नेपालीहरू, साहित्यकारहरू प्रभावित भएका छन्। सामान्य रूपमा माध्यमिक तहको कक्षा उत्तीर्ण गरेको प्रत्येक नेपालीले देवकोटाका केही न केही रचना पढेकै हुन्छ। ‘मुनामदन’ नेपाली भाषाबाहेक अवधि, मैथिली, अंग्रेजी आदि भाषामा समेत अनुवादित छ। देवकोटा स्वयं बहुभाषाका ज्ञाता थिए। उनका सिर्जनाबाट नेपाली मातृभाषामा बाहेक अरु राष्ट्रिय भाषालाई लेख्य, कथ्य अभिव्यक्तिको माध्यम बनाउने हजारौँ लेखक, साहित्यकारहरू पनि प्रभावित र लाभान्वित छन्। भारतीय विद्वान् राहुल सांस्कृतायनले त यतिसम्म भनेका थिए, ‘भारतका तीन जना महान् साहित्यकार प्रसाद, पन्त र निराला मिलेर एक देवकोटा बनेका छन्।’

देवकोटाका कृतिहरूमाथि कैयौँ विद्वान्हरूले विद्यावारिधी गरिसकेका छन्। कतिले गर्दैछन्। यस्ता काव्य आकाशका गौरव महाकवि देवकोटाको निवासस्थानको यो हालत ! मैले ६÷७ कक्षामा पढ्दा पहिलो पटक ‘सुनको बिहान’ भन्ने कविता पढेको थिएँ, स्कुलनेरैको पुस्तकालयमा। त्यसपछि त्यहि पुस्तकालयमा हुनुपर्छ, ‘मुनामदन’ पहिलोचोटि पढेँथेँ। ९ र १० कथाको पद्य संग्रहमा रहेका‘मार्ग’ र ‘यात्री’ शीर्षकका कविताहरू पढेर कण्ठ पारेको थिएँ। ‘के हो ठूलो जगतमा पसिना विवेक ? उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ जस्ता हरफहरू भएको मार्ग (प्रश्नोत्तर) कविता त सधैं गुनगुनाउने गीतझैँ बनेको थियो। पछिपछि अरु कृतिहरू पनि पढेँ। देश–विदेशका नेपाली साहित्यका महान् लेखक स्रष्टाहरूदेखि कनीकुथी लेखी टोपल्ने मसम्मलाई साहित्यमा कलम चलाउन प्रेरणा दिने ती अन्तहीन, अविश्राम प्रतिभा देवकोटाको साधनाकेन्द्रको यो हालत ! म लज्जाबोधले निःशब्द भएको थिएँ देवकोटा जयन्तिका दिन त्यहाँ पुगेको बेला।

जसले नेपाल र नेपालीको गौरव र अतितदेखिको सांस्कृतिक ज्ञानलाई हर्दम शिरमा, हृदयमा र सिर्जनामा अविरल अपनाइरहे, जसले सम्पूर्ण नेपाली हृदयमा राष्ट्रिय स्वाभिमानलाई ब्युँझाउन शब्द र सिर्जनाको शंखध्वनि बजाइरहे, जस्ले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएर सम्पूर्ण नेपाली सांस्कृतिक जगतको गौरव वृद्धि गरे, जसले सिर्जनामा प्रकृतिवादी, स्वच्छन्दतावादी र मानवतावादी स्वर उराल्दै, समकालीन र भावी पिढीका लागि अन्तहीन काव्यिक ऊर्जामय महासागरको रचना गरे र राष्ट्रको शिरमा सिर्जनाकै मुकुट पहिर्याइदिए, उनको साधनास्थलको यो हविगत ! म त्यस खण्डहरू कोठाहरूको दृश्यले पारेको चोटले भाउन्न भएँ देवकोटा जयन्तिका दिन।

आ–आफ्नो देशको गौरव बढाउने स्तरका प्रतिभाहरूलाई विदेशमा ठूलो सम्मान गरिएको छ। इतिहासका त्यस्ता प्रतिभाहरूको जन्मघर, कर्मघर वा साधनास्थललाई राष्ट्रिय सम्पदाका रूपमा सम्मान दिइएको छ। त्यस्ता प्रतिभाहरूका नाममा संग्रहालयहरू स्थापना गरिएका छन् भन्ने सुनेको छु, कैयौँ नेपाली साहित्यकारहरूले पनि विदेशमा रहँदा वा पुग्दा त्यहाँका स्रष्टा साधकहरूका नाममा स्थापित संग्रहालयहरूमा, संरक्षित घरहरूमा पुगेर, तिनको राम्रो संरक्षण गरिएको कुरा गर्वसाथ लेख्ने गरेका छन्। विदेशका स्रष्टाहरूको त्यत्रो सम्मान देखेर नेपाल फर्केका स्रष्टाहरूलाई महाकवि देवकोटाका घरको यो हालत देख्दा र सुन्दा मन कस्तो हुन्छ होला ?

महाकवि देवकोटाको घर कुनै पनि राष्ट्रिय सम्पदा भन्दा कम महत्वपूर्ण होइन। अन्य भौतिक सम्पदाहरूमा आम नेपालीहरूका आस्था, विश्वास र सांस्कृतिक परम्पराहरू गाँसिएका छन्। ती धरोहरहरूले स्थान विशेष र राष्ट्रिय पहिचानलाई प्रतिकात्मकरूपमा प्रवद्र्धन गरिरहेका हुन्छन्। तिनको संरक्षण, पुनर्निर्माण र प्रवद्र्धन गर्नु राष्ट्रिय जिम्मेवारीको विषय हो। देवकोटाको घर त्यस्तै राष्ट्रिय धरोहरमध्यको एक हो। आम नेपाली जनताबीच भावनात्मक र सिर्जनात्मक सामथ्र्य प्रदान गर्ने, नेपाली भाषा, साहित्य जगतलाई स्वच्छन्दतावादी, प्रकृतिवादी एवं मानवतावादी भावधाराले अविश्राम सिंचन गर्दै यसको उद्यानलाई हराभरा एवं सौन्दर्यशाली बनाउँदै राष्ट्रको सांस्कृतिक गरिमालाई अन्तरदेशीय आकाशमा सम्मानित गराउन सर्वाधिक योगदान दिने महाकवि देवकोटाको घर कुनै पनि भौतिक मानव निर्मित धरोहरभन्दा कम महत्वको होइन।

प्राकृतिक सम्पदाका हिसाबले सगरमाथाको देश भनेर गर्व गर्ने हामी नेपाली तथा आध्यात्मिक आस्थाका हिसाबले गौतम बुद्धको देश भनेर शिर ठाडो पार्ने हामी नेपालीलाई काव्य पुरुष देवकोटाको देशका मानिस भनेर गर्व गर्नका लागि उनले पर्याप्त सिर्जना दिएर गएका छन्। तिनको वासस्थानलाई सबै भाषाभाषीका स्रष्टा–साधकहरूका लागि पनि एउटा पवित्र आस्था केन्द्र बनाएर संरक्षण गर्नु त परै जाओस्, देवकोटाको निधन भएको पनि झण्डै ६० वर्षसम्म पनि राज्यले चिनेर पनि नचिनेझैँ गरेको प्रतीत हुन्छ। देवकोटाको साधनास्थललाई उहिल्यै सरकारले आफ्नो जिम्मामा लिई पूर्ण संरक्षण गरेर राष्ट्रिय सम्पदाका रूपमा स्थापित गरिसक्नुपथ्र्यो। तर, अहिलेसम्म पनि उनको घरलाई परिवारजनको व्यक्तिगत सम्पत्ति मात्र ठानिरहेको बुझिन्छ।

देवकोटा राष्ट्रिय मानव सम्पदा हुन् भने देवकोटाको परिवारलाई चित्त बुझ्ने गरी मुआब्जा दिएर उनको घरलाई राष्ट्रको जिम्मामा लिई संरक्षण गर्नु राज्यकै दायित्व हो। यसमा राज्य चुकिरहेको छ। सरकारको नेतृत्वमा र सरकारमा रहेका नेताहरू कहिलेकाहिँ आफूलाई साहित्यानुरागी भएको कुरा पनि गर्छन्। देवकोटाका कृतिहरू केही न केही अधिकांशले पक्कै पनि पढेका छन्। देवकोटाका घरको सय मिटरजति पूर्वतिरको सडकमा झण्डा हल्लाएर सयाँैचोटि हिँडे पनि होलान्, चुनावका बेला त्यतै छेउछाउमा भाषण गर्दै भोट माग्दै हिँडे पनि होलान्।

तर, ती पत्थर मनधारीहरूले देवकोटाको घरलाई सम्झे कि सम्झेनन् ? तिनले देवकोटाले यस राष्ट्रलाई पुर्याएको योगदानलाई केहीबेर सम्झने धृष्टता गरे कि गरेनन् ? देवकोटाको जीर्ण भग्नावशेषमा परिणत भइसकेको घरका विषयमा सदनमा वा मन्त्रिपरिषद् बैठकमा वा संस्कृति मन्त्रालयको नियमित बैठकमा त्यसलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा एक फेरा गम्भीर भएर कुराकानी गरे कि गरेनन् ? देवकोटा मात्रै होइन, अरु राष्ट्रिय भाषा साहित्यका पथप्रदर्शक, स्रष्टाहरूका बारेमा पनि तिनले सम्बन्धित भाषा साहित्यका विद्वानहरूलाई बोलाएर तिनको कृतित्व र कर्तृत्वलाई चीरस्मरणीय बनाउन कुनै दिन विचार विमर्श गर्ने सोच बनाए कि बनाएनन् ? सबै राष्ट्रिय भाषा, साहित्य एवं संस्कृतिका पथप्रदर्शकहरू यस राष्ट्रका गौरवशाली मानवसम्पदा हुन् भन्ने कुराको हेक्का उनीहरूमा हुनुपर्ने हो।

बेलाबखत तिनीहरू नै भनी टोपल्छन्– स्रष्टा, कलाकार वा वाङ्मयसेवीहरू भनेका यस राष्ट्रका गहना हुन्। तर, व्यवहारमा भने ती ‘राष्ट्रका गहना’हरू सधैँ उपेक्षित रहँदै आएका छन्। भूकम्पपछिको नेपाल प्रज्ञा प्रतिष्ठान सिमेन्ट र रंगरोगनले बाहिरबाहिर त लिपपोत गरिएको छ। तर, राजनीतिक चिराले भने त्यो वर्षौँदेखि चिरिएको चिरियै, त्यसलाई कहिले र कसले टाल्ने ? प्रज्ञा प्रतिष्ठानको परिकल्पना महाकवि देवकोटाले गरेका थिए भन्ने विद्वानहरूको भनाइ छ।

यस्ता कैयौँ बेथितिहरूले जीर्ण बनेको साहित्यिक परिवेशका पृष्ठभूमिमा महाकवि देवकोटाको काव्यिक, भौतिक, प्राज्ञिक नासोलाई दिगदिगान्तरसम्मका लागि संरक्षण गर्नु राष्ट्रकै प्रथम दायित्व हो। असल काम गर्ने नेतृत्वलाई नै समाजले चीरकालसम्म स्मरण गर्नेछ। देवकोटालाई त यस देशले शताब्दीआँैसम्म सम्झनेछ; आजका राजनीतिकर्मी र नेताहरूलाई नि ? एकछिन तिनीहरूले सम्झुन त, देवकोटा बिनाको नेपाली साहित्य कुन स्थितिमा हुँदो हो ? भूगोलको सगरमाथा चढ्न केही समयको शारीरिक अभ्यास भए पुग्ला। तर, देवकोटारूपी सिर्जनाको सगरमाथा चढ्न त शारीरिक अभ्यासले हुँदैन नि, सिर्जना र साधना नै चाहिन्छ, देवकोटारूपी सगरमाथाको आरोहण भूगोलको सगरमाथाभन्दा अझ कठिन छ।

नेपालमा कुर्सीको शक्तिले जहिले पनि विवेकलाई क्षति पु¥याउँदै आएको छ इतिहासमा। सत्ताको धरोहरलाई ताकेर हिँड्ने आँखाहरूले सिर्जनाको धरोहरलाई देख्न नसक्नुलाई विवेकहीनताको नमुना मान्नुपर्छ। बेलायतले आफूलाई ‘शेक्सपियरको देश’ भनेर चिनाउँछ, जर्मनीले ‘गेटेको भूमि’ भनेर चिनाउँछ, चीनले ‘कन्फ्युसियसको देश’ भनेर चिनाउन थालेको छ आफूलाई। यस्ता उदाहरणहरू अनेक छन्। नेपाललाई वाङ्मय संस्कृतिको मुकुट पहि¥याइदिने ‘देवकोटाको देश’ भनेर चिनाउँदा सबैको शिर उचो नै हुन्छ होला। गणतान्त्रिक नेपालका सत्तारोहीहरूले केहीबेर मनलाई सिंहदरबारको कुर्सीहरूबाट बाहिर निकाली चिन्तन गरे हुन्थ्यो।

अन्त्यमा, कसैको आग्रह वा निवेदनलाई नपर्खी राष्ट्रिय स्वाभिमान, संस्कृति र भाषा–साहित्यका शीर्ष गायक महाकवि देवकोटाको साधनास्थल मैतीदेवीमा पुगेर जिम्मेवार निकायका पदाधिकारीहरूले यथाशीघ्र एउटा मिटिङ गरुन् र घरका कोठाहरूको भग्नावशेष हेर्दै उपयुक्त निर्णय गरुन्, जुन निर्णयले अर्को वर्षको लक्ष्मीजयन्तीका दिन त्यहाँ पुग्ने स्रष्टाहरूले गर्वका साथ उज्यालो अनुहार पार्दै फर्कने अवसर पाउन्। राष्ट्रिय प्रतिभाहरूको इतिहासलाई उपेक्षा गरेर राष्ट्रिय समृद्धि प्राप्त गर्न सकिन्छ कि सकिँदैन ! सबैलाई चेतना भया।

प्रकाशित: ८ मंसिर २०७५ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App