१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

६ लघुकथा

आडम्बर
उसले केही चिरपरिचित अनुहारको जमघट देखी। ‘केही कार्यक्रम रहेछ कि क्या हो ?’ एउटा मित्रलाई सोधी।

‘कस्तो कथा वाचन गरिँदो रहेछ...?’ उसको मनमा उत्सुकता उठ््यो। केही मित्रहरूको कथा सुनेपछि ऊ बाहिरिन लाग्दै थिई, त्यसैवखत ‘समानता’ शीर्षकको लघुकथा वाचन गरेको एक मित्रले भन्यो,  ‘आजको कार्यक्रम सोचेजस्तो भएन।’

‘किन र ?’ उसले बुझ्न खोजी।

‘कार्यक्रममा भिआइपीको पनि उपस्थिति होला भन्ने सोचेको थिएँ, तर...।’
०००

विस्मात
ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई। सँगै अर्को व्यक्ति पनि थियो। उनीहरू दुवै मिलेर काम गर्नुपथ्र्यो। सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी। साखै पल्टिनेहरूले सँगै रहेको त्यसका बारेमा भन्ने गर्थे, ‘यो कोढी छ, हेर न हामीजस्तो खुलेर कुरा गर्दैन।’

एक दिन ठूलो हुरी चल्यो। ऊ लडी। शिर र पाउमा गहिरो चोट लाग्यो। साखै पल्टिनेहरू भाग्न नसकेकोमा ऊमाथि थुप्रिए। एउटाले भन्यो– ‘यो सँगै उभिनाले हामीलाई पनि चोट लाग्यो।’

अर्कोले भन्यो– ‘तेरो साडीको फेरले अल्झायो।’

अर्कोले भन्यो– ‘यसले क्षतिपूर्ति दिनुपर्छ।’

त्यो कोढी भनिएको व्यक्ति भन्दै थियो– ‘इन्तु न चिन्तु भएको मान्छेलाई के कराइरहेको अस्पताल नलगेर।’

उसले देखि बिराला ब्वाँसा, ब्वाँसा बिराला...!

मपाइँत्व
प्रगति धोबीखोला छेउको सुकुम्बासी टोल पुग्दा त्यहाँको वातावरणले अनेकौँ प्रश्न उठाएका थिए। चार–पाँच तलाको घर बनाउन सक्नेले सेफ्टी ट्याङ्कीको व्यवस्था गरेको भए सायद यस्तो दुर्गन्धले प्रभुत्व जमाउने थिएन होला।

प्रगति त्यहाँबाट उत्तर–पश्चिम हुँदै अगाडि गइरहेकी थिई। उसले ठूला–ठूला एकनासे घर देखी। ऊ केही आश्वासन बोकेर अघि बढ्दै थिई अझ दुईमान्छे अग्ला पर्खाल र त्यहाँभित्र रङ्गी–बिरङ्गी फूल, चिल्ला कुकुर, साधन–स्रोतले सम्पन्न घर देखी।

मालिक्नी भन्दै थिइन्, ‘ए कान्छा, ताजा मासु छानेर ल्याउनू ! पिङ्कु र जम्बुलाई घुमाउन लैजानू !’ कान्छाले भन्यो– ‘बाहिर धूवाँ–धूलो छ। गेट खोलेर बाहिरको रमिता देखाउँदै छु।’

प्रगति उनीहरूका कुरा सुनेर अचम्ममा परी। यहाँ मान्छेलाई प्राण धान्न धौ–धौ परेका बेला यिनीहरू ताजा मासुको कुरा गर्छन्।

बगैँचा नजिकै सवारी साधनहरू लहरै राखिएका छन्। एउटा घरमा यति बिघ्न साधन ? अघिसम्म प्लास्टिकको छाप्रोमा गडेका आँखा टल्केको मार्बल देखेर ऊ मुस्कुराई, ‘हाम्रो देश गरिब भनेको त कहाँ

हो रहेछ र ! यी सम्पन्नहरूले उद्योग व्यवसाय खोले भने त देशले मुहार फेर्न कतिबेर लाग्छ र !’

प्रगति मुस्कुराएको देखेर भित्रबाट ठिटो करायो– ‘को हो यता हेर्ने ? गइहाल, त्यहाँ उभिने होइन।’

प्रगति अलमल्लमा परी– ठिटोले गेट ड््याम्म लगायो।
०००

बहुरूपी
घरबेटी बा भ-याङ ओर्लदै भन्छन्, ‘मन कत्ति चाँडै पाहुना आएका..., सेफ्टी ट्याङ्की भरिएला। सुरूमा आमा छोरी मात्र भन्ने..., अनि कोठामा जुत्ताको ताँती।’

मनले हात जोड्दै भनी, ‘आज मेरी छोरी सारै बिरामी छे घरबेटी बा त्यसैले उसका साथीहरू भेट्न आएका।’

‘बिरामीलाई कहाँ मेरो घरमा राखेकी त झट्ट निकालिहाल !’  

छोरीका साथीले सोधे, ‘यी घरबेटी बा यति सबेरै कहाँ हिँडेका आन्टी ?’

मनले भनिन्– ‘यिनी मन्दिरका पुजारी हुन्,...।’

बच्चाहरूले भने– ‘आन्टी ‘मुखमा राम राम बगली छुरा’ भने को यही हो ?’

उनले छोरीको अनुहारतिर हेरिन्।

०००

अतिक्रमण
आकाश उघ्रिएको थियो, नीलो र सेतो रंगमा। चराहरू पूmलहरूसँग लुकामारीमा खेल्दै गीत गाइरहेका थिए। बालबालिका विद्यालय जाँदै थिए। युवाहरू बाटोघाटो, पुल–कुलेसा सफा गर्दै, माटो हेरी नयाँ बेर्ना लगाउनुपर्छ भन्थै थिए। छाप्राहरू जस्ता लगाएर चिटिक्क थिए। वृद्ध–वृद्धा भलाकुसारी गर्दै पिढीमा बस्दा अझ घरको रौनक बढेको देखेर कीर्तिका खुसीले नाँच्दै थिई। अचानक भालेको आवाजले ऊ झल्याँस्स भई।

उसलाई त्यो पलबाट बाहिरिन पटक्क मन थिएन। तर, बाध्यता, त्यो सपनाले उसलाई छोडेर गइसकेको थियो। कीर्तिकाले ती दृश्यलाई आँखामा राख्न खोजी– तर भष्टचारी, ब्यभिचारी, दुराचारी पो एक, दुई गर्दै नाँच्न थाले...!
०००
संयम
निकै समयपछि देवसँग भेट भएको थियो। हामी बरन्डाको छेवैमा उभिएर कुराकानी गर्दै थियौँ। उसले भन्यो, ‘के हो ? आजकल त पहँेलो ड्रेस निकै जमेजस्तो छ नि ! कि आध्यात्मिक चिन्तनले समातेको हो ?’

‘त्यस्तो होइन, पहेँलो रंग मनपर्छ। कहिलेकाहीँ चिन्तन पनि गर्छु, जसले केही संयमित बनाउँदो रहेछ।’  
‘त्यसैले त आजकल निकै भावुक देख्छु।’ देवले भन्यो।

हामीहरू दुवै गलल्ल हाँस्दै थियौँ, सडकतिर फर्केर। त्यति नै बेला कोही नजिकबाट बाहिरियो, जसले मुटुमा छोएर गयो। के भनौँ ? मन नीलो–कालो हुँदै थियो। केही क्षणअघिको आत्मसंयमको कुरा, त्यो पनि उसले खजमजाएर गयो।

किन हो कुन्नि ! म फेरि देवको कुरामा हाँ मा हाँ मिलाउन सकिरहेकी थिइनँ।
०००

प्रकाशित: ८ मंसिर २०७५ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App