सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा अहिले सांसद र संस्थापन पक्षबीच चरम गुटबन्दी देखिएको छ।
चरम गुटबन्दीका कारण जिल्लादेखि पालिकास्तरसम्मका भेलामा सांसद पक्ष र संस्थापन पक्षका कार्यकर्ताबीच कुटाकुट भएका घटना सार्वजनिक भइरहेका छन्।
आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने र बन्ने विषयलाई लिएर संस्थापन पक्षले आफूअनुकूल समिति चयन गर्न खोजेको छ भने सांसदहरूले आफूअनुकूल स्थानीय तहमा समिति चयन गर्न खोज्दा झडप हुने गरेको रास्वपाका कार्यकर्ताहरूले बताएका छन्।
जेठ १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको पचरौता नगरपालिकास्तरीय तदर्थ समिति गठन गर्न बोलाएको कार्यकर्ता भेलामै विवाद हुँदा संस्थापन र सांसद पक्षका कार्यकर्ताबीच कुटाकुट भएको छ।
संस्थापन पक्षले तदर्थ समितिको सभापति धनश्याम चौधरीलाई बनाउने प्रस्ताव गरेको थियो भने सांसद पक्षले इन्दु यादवलाई तदर्थ समितिको सभापति बनाउन प्रस्ताव गरेपछि विवाद सुरु भएको थियो।
संस्थापन तथा जगेजी समूहले चौधरीलाई सभापतिमा चयन गर्न दबाब दिन थालेपछि केन्द्र, प्रदेश र सांसदबाट भेलाका लागि खटाइएका प्रतिनिधिले त्यसलाई अस्वीकार गरेपछि दुई समूहबीच कुटाकुट सुरु भएको कार्यकर्ताहरूले बताएका छन्।
पालिकास्तरीय भेला कार्यविधिअनुसार भेलामा उपस्थितहरूलाई निर्वाचनमा सहभागी गराएर मात्रै सभापति चयन गर्नुपर्ने व्यवस्था गरिए पनि पचरौता नगरपालिकामा संस्थापन पक्षलाई बाहिर राखी भेलाबाट नभई लुकेर सभापति चयन गरिएको आरोप लगाइएको छ।
भेलामा सांसद चन्दन सिंहका तर्फबाट प्रतिनिधिमा श्याम गुप्ता, प्रभु पटेल, केन्द्रीय प्रतिनिधिका रूपमा केदार साह तेली तथा प्रदेश समितिबाट विनोद यादव खटिएका थिए।
सांसदका प्रतिनिधि, केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि मिलेर कार्यकर्ताहरूको भावनाविपरीत कार्यक्रम स्थलबाट भागेर रातिको समयमा इन्दु देवी यादवको नेतृत्वमा तदर्थ समिति बनाएको आरोप संस्थापन पक्षका धनश्याम चौधरीले लगाएका छन्।
विवादबीच तदर्थ समितिको सभापतिमा चयन भएकी इन्दु देवी यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा मधेसवादी दलबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन्।
रास्वपाको मधेस प्रदेश समितिबाट प्रतिनिधिमा खटाइएका विनोद यादव उनका श्रीमान् भएकाले समेत पुराना कार्यकर्तालाई पाखा लगाएर गोप्य रूपमा तदर्थ समितिको सभापति बनाइएको आरोप चौधरीले लगाएका छन्।
जेठ १३ गते नै कलैया उपमहानगरपालिकास्तरीय तदर्थ समिति बनाउन कलैयामा भएको भेला पनि संस्थापन र सांसद पक्षका कार्यकर्ताबीच विवाद भएपछि सभापति चयन हुन नसकेको अवस्था छ।
भेलामा संस्थापन पक्षबाट उमाशंकर रौनियार र सांसद पक्षबाट बब्लु गिरीलाई तदर्थ समितिको सभापति बनाउन प्रयास गरिएको थियो।
भेलाका लागि केन्द्रीय प्रतिनिधिमा राधिका न्यौपानेलाई खटाइएको थियो।
दुई पक्षबीच विवाद बढ्दै गएपछि अन्ततः तदर्थ समितिको उपसभापतिमा अजय साहलाई चयन गरेर तदर्थ समिति बनाइएको बताइएको छ।
गत जेठ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठकमै सांसद र संस्थापन पक्षबीच झडप हुँदा दुई पालिका सभापति घाइते भएका थिए।
कलैया स्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा सांसद र पुराना कार्यकर्ताबीच झडप भएको थियो।
झडपमा रास्वपाका महागढीमाई नगरसभापति विक्रम यादव, सिम्रौनगढ नगर सभापति साहेब अन्सारीलगायत तीन जना घाइते भएका थिए।
संस्थापन पक्षका अनुसार उनीहरूको कलैया प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो।
बैठकमा सहभागी भएका सांसदहरूले आफ्ना गुण्डा लिएर आएको र पुराना कार्यकर्तामाथि हातपात गर्न सुरु गरेपछि साथीहरूले प्रतिवादमा उत्रनुपरेको महागढीमाई नगरपालिकाका सभापति विक्रम यादवले आरोप लगाएका थिए।
आगामी स्थानीय तहको निर्वाचनका लागि सांसदहरूले पहिल्यै पार्टीबाट बन्ने उम्मेदवारहरूको टिकट बिक्री गरेको थाहा पाएर त्यसको जवाफ पुराना नेता–कार्यकर्ताले माग्न खोज्दा उल्टै उनीहरूमाथि प्रहरी र गुण्डा लगाएर कुट्न खोजिएको यादवले बताए।
प्रतिनिधि सभा सदस्य निर्वाचनको बेलामा रास्वपा प्रवेश गरेर निर्वाचित बनेका सांसदहरू र संस्थापक जिल्ला सभापतिबीच केही दिनदेखि विवाद चल्दै आएको थियो।
सांसदहरूले बारामा आफ्नो प्रभाव देखाउनका लागि संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गराएपछि रास्वपा बाराका संस्थापक पदाधिकारी र कार्यकर्ताहरू त्यसको विरोध गर्दै ठाउँ–ठाउँमा झडपमा उत्रिएका छन्।
जिल्लामा देखिएको विवाद मिलाउनका लागि रास्वपा पार्टीले केन्द्रीय प्रतिनिधिमा कामनी चौधरीलाई पठाएर विस्तारित बैठक राखेको थियो।
रास्वपा बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का चन्दन सिंह, बारा–३ का अरविन्द साह र बारा–४ का रहबर अन्सारी तथा रास्वपाले बारामा खटाएका केन्द्रीय प्रतिनिधि कामनी चौधरी विस्तारित बैठक छोडेर भाग्नुपरेको थियो।
बैठकबाट भागेका सांसदहरू र रास्वपाका प्रतिनिधि कलैयाको बरेवा दरबार होटलमा पुगेर बसेका थिए।
दरबार होटलमै पत्रकार सम्मेलन गरेर बारा–१ का सांसद गणेश धिमाल, बारा–२ का चन्दन सिंह र बारा–३ का अरविन्द साहले विस्तारित बैठकमा केही नभएको र सञ्चार माध्यमहरूले सांसद कुटिएको कुराको अफवाह फैलाएको आरोप लगाएका थिए।
ठाउँ–ठाउँमा रास्वपाका सांसद पक्ष र संस्थापन पक्षबीच कुटाकुट भइरहे पनि सांसदहरूले कुनै विवाद नभएको भन्दै तर्क गर्दै हिँडिरहेका छन्।
फोटो: कलैयाको विस्तारित बैठकमा कुटिएका कार्यकर्ताको कलैयामा उपचार गराइँदै।
प्रकाशित: १४ जेष्ठ २०८३ १७:५० बिहीबार



-600x400.jpg)

