२ आश्विन २०७७ शुक्रबार
अन्य

जीवनका ‘मनौषधी’

सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन।
तारादेवीको स्वर र नातिकाजीको संगीत तथा दिनेश अधिकारीको रचनामा रहेको कर्णप्रिय यो गीत हामी धेरैले नै सुनेका छौं। किन हुन्न त सोचे/सम्झेजस्तो जीवन ?  कस्तो हुन्छ त जीवन ? जस्तो भोग्यो उस्तै कसरी हुन्छ ? जीवन कसरी वा कस्तो भोग्ने यो हाम्रै रोजाइमा छ। तर, हाम्रो जीवन भोगाइ र रोजाइ कस्तो हुनुपर्छ त ? यसै सम्बन्धमा सामाजिक अभियन्ता तथा लेखक धीर भण्डारीका तीन कृति प्रकाशित छन्। यी कृति जीवनलाई सफल, समृद्ध र सुखद बनाउने सरल सूत्रहरूको एक–अर्काेसँग सम्बन्धित शृंखला हुन्। भण्डारीका यस शृंखलाअन्तर्गतका कृतिहरू हुन्–

‘परिवर्तनकारी जीवनदृष्टि’, ‘परिवर्तनकारी कार्यशैली’ र ‘समृद्धि विज्ञान’

संसारका सबै मानिसको समान ध्येय यही हो– कसरी सफल हुने अर्थात् कसरी सुखी र समृद्ध जीवन यापन गर्ने। तर, यो कसरी र कहाँ प्राप्त गर्न सकिन्छ ? ‘समृद्धि विज्ञान’मा लेखकले समृद्धिका लागि के÷कस्तो योग्यता अर्थात् आँचरण हुनुपर्छ भनेर यसप्रकार उल्लेख गरेका छन्।  

सफलता पनि व्यक्तिले मूल्यका बदलामा पाउने वस्तुजस्तै हो। पहिले मूल्य भुक्तानी अनि वस्तुको प्राप्ति। पसलबाट कुनै वस्तु प्राप्त गर्न त्यसको मूल्य चुक्ता गर्नुपर्छ। कुनै सामान पसलबाट सित्तैमा पाइन्छ र ? अवश्य हुँदैन। त्यसको निर्धारित मूल्य भुक्तान गरेपछि मात्र त्यो वस्तु हात पर्छ। जति मूल्यवान् वस्तु खरिद गर्न चाहन्छौँ, त्यसको मूल्य पनि त्यत्तिकै बढी पर्छ। सफलता पनि जीवनको त्यस्तै बहुमूल्य वस्तु हो। त्यसैले यसलाई पनि त्यत्तिकै चर्को मूल्य भुक्तानी नगरी प्राप्त हुँदैन। तर, यसको मूल्य भने रूपैयाँमा नभएर हामीले प्राप्त गरेका आन्तरिक सम्पदाका आधारमा सुनिश्चित हुन्छ।

आफूलाई नबदलेसम्म अरुलाई वा समाजलाई बदल्न सकिन्न। यो सबैले, धेरैले सधैं भन्दै आएको भनाइ हो। यही भनाइको पुष्टिका लागि पंक्तिकारको पनि थप एउटा टिप्पणी छ– जो असल गर्नुछ, आफैंबाट सुरु गरौं। जीवनको मूल्य कति महँगो वा सस्तो हुने भन्ने कुराका सम्बन्धमा लेखकको निचोड हो– आफ्नो आन्तरिक सम्पदालाई कसरी प्रयोग गर्न सकिन्छ, त्यसैमा निर्भर हुन्छ।

जीवनलाई कसरी बदल्ने वा कसरी कति सफल बनाउने भन्ने सम्बन्धमा लेखक भण्डारीले यस्तो उदाहरण दिएका छन्– कुनै गाउँमा केही बालकहरू एउटा चौरमा जम्मा भएर रंगीचंगी बेलुनहरू उडाइरहेका थिए। ती केही बेलुनहरू आकाशमा सजिलैसँग माथिसम्म पुग्थे। तर, अरु केही बेलुनहरू भने भुइँमा नै पछारिन्थे। देख्दा एकै खालका लाग्ने ती बेलुनहरूमध्ये केही बेलुन बेच्ने मानिसले मेसिनले हावा भरेर दिएको थियो भने केही बेलुन उनीहरू आफूले नै मुखले सकिनसकी फुकेर ठूलो बनाएका थिए।

जुन बेलुनहरूमा मेसिनले हावा भरिएको थियो, तिनमा बेलुनलाई उचालेर माथि पु¥याउन सक्ने हलुका ग्याँस अर्थात् हेलियम र हाइट्रोजन थियो। मुखले सकिनसकी फुकेर ठूलो बनाएका बेलुनहरूमा भने गहुग्रो ग्याँस अर्थात् कार्बनडाइअक्साइड थियो। देख्दा उस्तै लागे पनि बेलुनभित्र भएको ऊर्जा अर्थात् ग्याँसले जस्तै मानिसलाई पनि आफूभित्रको ऊर्जा अर्थात् विचारले सफल÷असफल बनाउन सहयोग गर्छ। हामीले विचार र व्यवहारमा सकारात्मक सोच तथा असल बाटो लिएर हिँडेनौं भने सुख समृद्धि र सफलता हात पार्न सक्दैनौं। मानिसले आफूभित्र जस्तो ऊर्जा अर्थात् उद्देश्य वा विचार लिएर हिँड्छ, त्यहीअनुसारको परिणाम सफल वा असफल हात पार्छ। महाकवि देवकोटाका यी भनाइ यहाँ वास्तविक लाग्छन्– उद्देश्य लिनु के,उडी छुनु चन्द्र एक।  

लेख्नु यस्तो कार्य हो जसले आफ्नो निजी सम्पत्ति समाजको लागि निःशुल्क अर्पण ग¥यो। आफूसँग जे छ, त्यो न दिने हो समाजलाई। दिनेले जे दिन्छ, त्यो आँखा चिम्लेर ग्रहण गर्ने कि त्यसको असर वा प्रभावबारे विचार गरेर ग्रहण गर्ने ? यो प्रश्न र चुनौती हो।

भण्डारीद्वारा लेखिएको ‘परिवर्तनकारी जीवनदृष्टि’ कृतिको प्राथमिकता अर्थात् नारा हो– मानवीय सामथ्र्य र बुद्धिमताको उत्खनन् प्रयोग र नवीकरणका ६ कदम।  यो कविता, कथा, निबन्ध, उपन्यास, संस्मरण र जीवनी पनि होइन। तर, पनि यो सबै हो।

भनिन्छ– मृग मरिचिका अर्थात् मृगलाई थाहा हुँदैन के छ आफैभित्र र त्यो कहाँ छ ? त्यसैले मृग भौतारिरहन्छ कस्तुरीको बास्ना खोज्न, आफ्नै पेटमा भएको बास्ना कहाँ  पाइएला भनेर। मानिसको जीवनभित्रको ऊर्जा अर्थात् कस्तुरी के हो ? यो कहाँ छ र यसको उपयोग कसरी गर्नेबारे भण्डारीले तीन कृति लेखेका छन्।

लेखकले आफूभित्रको सम्पूर्ण सकारात्मक ऊर्जा यी कृतिहरूमार्फत् समाजलाई अर्पण गरेका छन्।

आफूसँग के छ वा आफ्नो वरिपरि के छ, कसलाई के थाहा ? त्यसैले भनिन्छ, नजिकको तीर्थ हेला। आफ्नै वरिपरि र आफैंले चिने जानेकाहरूबाट प्राप्त सुगन्ध हरेकका लागि खुसी र गर्वकै कुरा हो। यी कृतिमा विज्ञान दुष्टि लगाउँदा पंक्तिकार त्यस्तै अनुभूति भइरहेको छ।

समग्रमा यी कृति सबैका लागि उपयोगी छन्, बालकदेखि वृद्धसम्म। ‘आफ्ना कुरा’मा कृतिबारे लेखक भन्छन्, ‘ज्यादै थोरै मानिसहरूको जीवनमा चाहेको र पाएको कुराबीच तालमेल मिलेको पाइन्छ। ...आफ्नै अनुभवबाट जीवन बुझ्दा समय श्रम निकै खर्च हुन्छ। थोरै समयमा अरुको अनुभवमा सिकेर समय र श्रमलाई बचाउन सकिन्छ।’

यसबाट कुनै सस्तो वा क्षणिक मनोरञ्जन नहुन पनि सक्छ। तर, स्वभाविक रूपमा मानिसभित्र, आफूभित्र भएको ऊर्जा उपयोगका लागि बल पु-याउँछ। आ–आफ्ना कमी कमजोरीका लागि उत्खनन् गराउन र दीर्घकालीनरूपमा सफल समृद्ध र सुखी जीवन जिउन सहयोग गर्छ।

पाठकलाई लाग्न सक्छ– कृतिमा मलाई नै लागेको जस्तो शब्द, शैली वा उदाहरण भइदिएको भए ? यो आग्रह कसैले पनि राख्नु हुँदैन। किताब लामो छ। साइज बेढंगको छ, शीर्षकहरू अनुसारको विषयवस्तु छैन। आफ्ना भन्दा अरुका धेरै कुरा सारेको छ आदि।

यसो भन्न सकिन्छ– मदौरेले माड खाए न लाग्छ ओखतीको गुन। ओखती नै मात्रको खोजी गर्ने तर नखाने हो भने  कसले भन्न सक्छ भोलि के हुन्छ कसको ज्यान ?

यी कृतिले सफल, समृद्ध र सुखी जीवनको गोरेटोमा हिँड्न मार्ग निर्देशन गर्न सक्छन्। यसका लेखकको पृष्ठभूमि र पहुँच, यसका प्रकाशकको बजार व्यवस्थापन र बिक्री वितरण वा आकासिएको बजार माग जस्ता विषय नै हाम्रा लागि कृति अध्ययन र छनोटका विषय बनिरहेको अवस्थामा यी कृतिहरूले त्यस मार्गमा प्रतिस्पर्धा गर्न सक्दैनन्, जान्दैनन् वा खोज्दैनन् पनि होला। तर, मानवीय भावना निराश हुँदै गएको, सामाजिक सम्बन्ध सदाचारमा तुँवालो लाग्दै गरेको अवस्था, व्यक्तिभित्रको असीमित इच्छा आकांक्षा कुण्ठित हुँदै जान थालेको आजको मानिसलाई संजिवन पनि हुनसक्छन् यी कृतिहरू।

हिन्दू धर्मग्रन्थ अनुसार आराध्यदेव ब्रह्माजी संसारका जीवहरूको सृष्टिकर्ता मानिन्छन्। मानिस पनि उनीबाटै सिर्जना भएको मानिन्छ। एक दिन एक जना पत्रकारले ब्रहृमाजीसँग अन्तर्वार्ता लिने अवसर पाएछन्। उनको प्रथम प्रश्न थियो– तपाईंको आफ्नै सृष्टिको मानिस देखेर सबैभन्दा अचम्म लागेको कुरा के हो ?

ब्रह्माजीले पत्रकारतिर हेरेर एकछिन मुस्कुराउँदै जवाफ दिएछन्– मैले सृष्टि गर्दा मानिसले उत्कृष्ट जीवन बाँच्न सकोस् भनेर त्यस्तो जीवन बाँच्नका लागि आवश्यक पर्ने शरीर, मन, भावनाका साथै चेतना पनि जन्मजातै दिएर पठाएको थिएँ। उसले एकैसाथ ती सबै उपहारहरूको प्रयोग गरोस् र सन्तुलित जीवन बाँचोस् भन्ने मेरो इच्छा थियो। तर, मैले दिएका ती उपहारहरूको महत्व उसले बुझेन। सम्झाउन खोज्छु, मेरो अगाडि हुँदा बुझेजस्तो गर्छ फेरि हिँडेपछि बिर्सिन्छ। बालककालदेखि वाक्क हुन्छ, हतारमा बढ्न खोज्छ। फेरि धेरै समय लगाएर बालक नै हुन खोज्छ, परिपक्वता देखाउनै सक्दैन। लामो समय लगाएर धन कमाउँछ। धन कमाउने धुनमा स्वास्थ्य बिगार्छ। फेरि त्यही बिगारेको स्वास्थ्य बनाउन कमाएको धन खर्च गर्छ। भविष्यको चिन्ता गर्छ र वर्तमानलाई बिर्सन्छ। न वर्तमानमा राम्ररी बाँच्छ न भविष्यमा नै भनेजस्तो जीवन बाँच्ने कर्म गर्छ। बाँच्दा कहिल्यै मर्दिनझैं जस्तो गर्छ, मर्दा पनि कहिल्यै नबाँचेको जस्तो। यही हो मानिसको जीवनको विडम्बना र मलाई मानिस देख्दा सबैभन्दा अचम्म लागेको विषय पनि यही हो।

भन्छौं– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड। लाग्छ– बुझक्कीका लागि इशारा काफी। यो प्रशंसा ज्यावसायिक प्रचारका लागि होइन। तर, मृतात्माको डायरी नामको भीमकाय आख्यान अर्थात् उपन्यासका लेखकसमेत रहेका भण्डारीका यी कृति जीवन मार्ग पहिल्याउन सहयोग गर्ने मनौषधी हुन्।

प्रकाशित: ८ मंसिर २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App