९ आश्विन २०७८ शनिबार
अन्य

साहसी मुटुलाई साइकल

‘साइकल’ नाम एक, किसिम र प्रयोग अनेक। खेलकुद, कामकाज, मनोरञ्जन, व्यायाम, घुमफिर, साहसिक यात्रा, रोमाञ्चक यात्रा, वातावरण संरक्षण, जनचेतना, पर्यटन प्रवद्र्धन आदि विविध कृयाकलापका लागि साइकल। निकै उपयोगी साधन सावित भएको छ साइकल।

बर्षाद सकिए पछिका सफेद बिहानी। पाटन कृष्ण मन्दिर क्षेत्रको सुन्दर प्रांगण। रोचक र चाखलाग्दो बिहानी वातावरण। सबेरै मन्दिर प्राङ्गणमा पुग्दा शरिरमा अर्कै किसिमको ऊर्जा संचार हुन्छ। मन्दिरमा भक्तजनले गर्ने पुजा अर्चना, भजन किर्तन। प्राङ्गण वरिपरिका पेटिमा आनन्दित मनले सुस्ताई रहेका अग्रज पुस्ता। फराकिलो चोकमा रमाइरहेका केटाकेटी। परेवालाई हत्केलामै राखेर चारा खुवाउँदै गरेका वटुवा। सबै दृष्य परिदृष्यले जीवन्त देखिन्छ। ०७५ असोज १३ गते अर्को रौनक थपिएको छ। छातीमा ढ््याप्प सेता रंगले मन्दिरको तस्विर कोरिएको, बायाँ पट्टि मुटुको चिन्ह अंकित राता गन्जि लगाएका साइकल यात्री नियमित गतिविधिलाई चिर्दै मन्दिर परिसरमा प्रवेश गरे।   

दधिकोटबाट छोटो दूरीको यात्रा गर्न वा विहानी व्यायामका लागि गरिने साइक्लिङका लागि धेरै रुटहरु छन्। यहाँसम्म आइसके पछि पुरातात्विक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर जानु बेश हुन्छ।

कृष्ण मन्दिर पारीपट्टि साइकलेलाई बिहानको खाजा धमाधम बाँड्दै थिए स्वयंसेवी महिला। करिव ७ः३० बजे एक स्वयं सेवक हतारिँदै आए। ‘बा पूजा गर्दै हुनु हुन्छ’  उनलाई समयको निक्कै चटारो छ। बा आफ्नो नित्य पूजा सकाएर निर्धारित समयमै आइपुग्नेमा हामी विश्वस्त थियौं।

कालो भादगाँउले टोपी, पेस्ता रंगको मयलपोस पहिरिन ‘बा’ अर्थात् संस्कृतिविद् सत्यमोहन जोशी आउनु भयो। प्रमुख अतिथि बालाई संयोजक इश्वर श्रेष्ठले स्वागत गरे। सम्बोधनका क्रममा बाले नालाका दुई शक्ति स्वरुप– उग्रचण्डि भगवती र करुणामय अवलोकेश्वरको महत्व वर्णन गर्नु भयो। साथै शक्ति महिमाको पनि वर्णन गर्नु भयो। मान्ने नमान्ने आ–आफ्नो ठाउँमा छ। तर यो ब्रम्हाण्डमा अदृश्य शक्ति जसले ऊर्जा सिर्जना गर्छ। त्यही उर्जाले जगतलाई चलायमान बनाएको प्रसंग उल्लेख गर्नु भयो। करुणामय लोकेश्वरको भजनमा आफ्नो मात्र नभएर जगतकै उद्धार होस भन्ने उक्ति रहेकाले विश्व मुटु दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमले मुटु रोगबाट पीडित सम्पूर्ण रोगीको उद्धार होस भन्ने कामना गर्नु भयो। यस पछि बाले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा हस्तान्तरण गरेर -याली शुभारम्भ गर्नु भयो।

मोटर साइकलमा सवार स्वयं सेवक झण्डा फहराउँदै अगाडि लागे। साइकलेको कमीले  ताँती पछि लाग्यो। साइकलेको नेतृत्व पङ्तीमा सुदिप पौडेल र म, बीचमा तीरेक मानन्धर र बिजयरत्न शाक्य अनि अन्तिममा रञ्जन राजभण्डारी र कृष्ण गोपाल थिए। डाक्टर साहेबहरुको बिशेष ख्याल राख्न कृपा थापा खटिए। पाटन कृष्ण मन्दिरबाट साइकलका पंैयाले नाप्यो। रिङ्ग रोड १.७५ किमि, बालकोट चोक ५ किमि, चित्रपुर ७ किमि नाप्दै १० किमि तय गरेर दधिकोट अनन्तलिङ्गेश्वर पुग्यो। लह लह धान झुलेका फाँटलाई दुई फ्याक चिरा पारेर तन्किएका धुले बाटो। फाँटका बीच कतै पातला बस्ती, कतै झुरुप्प पुराना बस्ति छिचोल्दै दधिकोट आइपुग्दा सबै साइकलेको ऊर्जा पुनःभरण भयो।  

पाटन कृष्ण मन्दिर लगायतका आसपासका क्षेत्रबाट दधिकोट वा दधिकोटबाट छोटो दूरीको यात्रा गर्न वा विहानी व्यायामका लागि गरिने साइक्लिङका लागि धेरै रुटहरु छन्। यहाँसम्म आइसके पछि पुरातात्विक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर जानु बेश। अनन्तलिङ्गेश्वरवाट विरुवा हुँदै पुनः पाटन फर्कदा करिव २० किमि दूरी तय हुन्छ। हरेक दिन भिन्न रुट छनौट गर्न सकिन्छ। फर्कंदा, सिरुटार हुँदै, लामाटार लुभु हुँदै, टिकाथली, चाँगाथली हुँदै पुनः पाटन कृष्ण मन्दिर फर्कन सकिन्छ। यतातिरका रुटका विशेषता हरीयाली युक्त, प्रदुषण रहित वा न्यून प्रदुषण, न्यून सवारी चाप, थोरै परिश्रममै पुगिने, साइक्लिङ शुरु गर्ने सबै उमेर समूहका लागि मैत्रीपूर्ण वातावरण छ।    

एक दिने लामो दूरी तथा साहसिक यात्रा गर्नेहरुले पनि विभिन्न रुट छनौट गर्न सक्छन्। उदाहरणका लागि दधिकोटबाट लामाटार हुँदै लाँकुरी भञ्ज्याङ्ग वा तर्खगाल (१३७५ मि) बाट गुण्डु हुँदै लाकुरी भञ्ज्याङ्ग (करिव २१५० मी.) उक्लिने। यी दुवै रुट उकालोको चुनौती सामना गर्नेका लागि रोचक हुन सक्छ। ओह्रालो मन पराउनेका लागि रोमाञ्चक। तर्खगाल हुँदै पाइलट बाबा आश्रम (करिव १६०० मि), रानीकोट(करिव २०५० मि) जान सकिन्छ। त्यसै गरी रानीकोट उकालिए पछि डोलेश्वरतर्फ ओर्लन सकिन्छ वा आसापुरी बाट साँगा भञ्ज्याङ्ग निस्कन सकिन्छ। शारिरीक क्षमता अनुसार आसापुरीबाट  माने दोभान हुँदै लाँकुरी पनि आउन सकिन्छ। अनेक गन्तव्य निर्धारण गर्न सकिन्छ।  

आजको गन्तव्य नाला। हामी तर्खगाल हुँदै गुण्डु तर्फ लाग्यौं। भिरालो जमिनमा बान्कि मिलाएर बनाएको खेतमा लहलह झुलेका धान। बारीमा ढकमक्क  असर्फी जस्ता सयपत्री, रुबी जस्ता मखमली देख्दा गंगालाला हृदय रोग केन्द्रका मुटु रोग बिशेषज्ञ डाक्टर साहेबहरु अजय अधिकारी, जगत अधिकारी, विनय गौतम र चिराग बस्नेत रोमञ्चित थिए। यता फुलको व्यवसायिक खेती गरिँदो रहेछ। कहिल्यै नहिंडेको बाटो। अचम्मै रमाइलो। गञ्जागोल शहर नजिकै, कल्पनै गर्न नसकिने रमाइलो ठाँउ।

गुण्डुबाट कटुञ्जे मोडियौं। सूर्यविनायकमा पानी बिश्राम पश्चात जगाते हुँदै च्यामसिंबाट साइकले टोली नालातर्फ लाग्यो। च्यामासिंबाट गन्तब्य पुग्न करिब ९ किमि बाँकी। तेजिला सूर्य नारायणले साइकलेलाई अलि अफ्टेरोमा पारे। हरीया डाँडाका फेदिमा झुलेका पहेलपुर धानका फाँट हेर्दै नाला गुम्बा पुगेको पत्तै पाएनन साइकल यात्रीले। टण्टलापुर घाममा उकालोसँग पौंठे जोरी खेल्दै नाला भञ्ज्याङ्ग पुगेका निस्तेज साइकलेहरुलाई मनग्गे दही खुवाएर पुनर्ताजकी दिलाए स्थानीयले। नौं बर्षीय सुयोगमान सिंह बस्न्यात अघिल्लो टोलीसँग सँगै उकालो उक्लिए। तर सांकेतिक भाषा प्रयोग गर्ने कतिपय भाइ बहिनीहरुलाई भने उकालोले निक्कै अत्यायो।

सबैजना नाला भञ्ज्याङ्गमा जम्मा भए। दहीको स्वादले थकाइ मेटे। करुणामयी मन्दिर  प्राङ्गणमा स्थानीय आयोजक समुहको आतिथ्यताले साइकलेलाई निक्कै हर्षित बनायो। करुणामयी मन्दिरबाट कार्यक्रमस्थल उग्रचण्डी भगवती मन्दिरको प्राङ्गणतर्फ लाग्दा धिमे बजा सहित जाँदाको क्षण रोमाञ्चक र उल्लासमय भयो।

नाला, पुरानो नेवार बाहुल्य शहर नियालेर हेर्दा कला, सम्पदा र संस्कृतीले सम्पन्न छ। तर जीर्ण। पुनःनिर्माणको क्रममा सिमेन्टका संरचनाले प्राचीन पहिचानलाई विस्थापित गर्दै छ।  यहाँको मौलिक कला, सम्पदा र संस्कृतीलाई यथावत राख्न संरक्षणका प्रयास भएका होलान। अझै गम्भिर हुनुपर्ने जस्तो लाग्छ। नाला शहर तथा वरिपरिको प्राकृतीक भू बनावट निक्कै सुन्दर छ। मौसमी खेतीपातीले यसको सुन्दरतामा थप जीवन्तता प्रदान गरेक छ। यहाँबाट नगरकोट, धुलिखेल, चण्डेश्वरी जाने धेरै रुट छन्।

केहि क्षणको विश्राम पछि आयोजकले खाना खुवाए। गोकर्णेश्वरको सांगीतिक समुहको सुमधुर धुनले सहभागी र स्थानीयलाई नचाए। डा. अजयले स्वस्थ्य मुटुका लागि नियमित साइकल चढ्न र व्यायाम गर्न सुझाए। सानो उमेर देखि नै मुटु स्वास्थ्यमा ध्यान दिन मधुकर पासाले सतर्क गराए। आयोजकले स्थानीय स्वास्थ्य केन्द्रलाई फर्निचर लगायत सामग्री उपहार दिए।

स्वस्थ्य मुटुका लागि जनचेतना अभिवृद्धि तथा प्राचीन शहर नालाको पर्यटन प्रवद्र्धनका लागि ०७५ असोज १३ गते विश्व मुटु दिवसको सन्दर्भमा ‘राइड टु नाला’ साइकल -याली आयोजना भयो।  जिल्ला साइक्लिङ संघ काभ्रे, कन्सेप्ट नेपाल, नेपाल माउण्टेन बाइक टुर्स, प्यांक बाइकको सहयोगमा काठमाडौंमा व्यवसाय गरी यतै बसोबास गरेता पनि र जन्मथलो नालालाई माया गर्ने युवाहरुको समूह ‘जी व झिगु नाला’ले आयोजना गरेको पाटन मङ्गल बजारवाट शुरु भएको -याली काभ्रेको ऐतिहासिक शहर नालामा पुगेर सम्पन्न भयो।  

अन्त्यमा, आसा गरौं बिहान बाले गर्नु भएको ‘आफ्नो मात्र नभएर जगतकै उद्धार होस, विश्व मुटु दिवसको उपलक्षमा आयोजित यस कार्यक्रमले मुटु रोगबाट पडित सम्पूर्ण रोगीको उद्धार होस’ भन्ने कामना पुरा होस। स्वस्थ्य मुटुका लागि तीन  सुझाव पहिलो–बाल बच्चालाई टन्सिल वा गल्फुलोको समस्या भएमा बाल रोग बिषेशज्ञको परामर्श लिई औषधि सेवन गराउने। दोस्रो, कार्यालय जाँदा साइकल प्रयोग गर्नाले नियमित व्यायाम हुन्छ र तेस्रो धुमपान र मद्यपानबाट टाढा रहने।

साइकल चढौं
डा. अजय अधिकारी
गंगालाल हृदय रोग केन्द्र
स्वस्थ्य जीवन जीउन सन्तुलित आहारको जति आवश्यकता छ त्यति नै जरुरी हुन्छ नियमित व्यायामको। व्यायाम व्यक्तिको रुचि अनुसार गर्न सकिन्छ। व्यायामले रक्त सञ्चार गरी शरिरमा स्फूर्ती प्रदान गर्छ। स्वस्थ्य र निरोगी बनाउँछ। जुनसुकै व्यायाम गर्नु शरिरका लागि हितकर छ। साइक्लिङ गर्नु अरु व्यायामको दाँजोमा दोब्बर लाभदायक छ। आधा घण्टा साइकल चढ्दा मुटुलाई अरु व्यायाम एक घण्टा गरे बराबरको फाइदा  पुग्छ।

उमेर बढ्दै जाँदा जटिल व्यायामले घुँडाका जोर्नी, दिमाग, मुटु तथा अन्य अंगमा असर पर्न सक्छ। साइकल यात्रा गर्नाले यी अंगमा कम परिश्रम पर्ने हुनाले नकारात्मक असरका जोखिम कम हुन्छ। साइकलले शरिरमात्र होइन आर्थिक, सामाजिक तथा वातावरण पनि स्वास्थ्य बनाउँछ।   

मधुकर महर्जन  
मलाई साइकलमा लामो दुरीको यात्रा गर्न मन पर्छ। ०६९ सालमा पहिलो पटक काठमाडौंबाट लुम्बिनी गयौं। बैशाख–जेठको धूप। तराइको बाटो। लगातार तीन दिन पाउदान मार्नु पर्ने। कम उमेरका तन्नेरी जोस्सिएर साइकल कुदाउँथे। म पुराना हिन्दी गाना सुन्दै बिस्तारै पछि पछि लाग्थें। पछि पर्दै जाँदा ठिटाहरु म सँग हैरान भए। मैले सुन्दै गरेको किशोर कुमार, मोहम्मद रफीको गाना फेर्न लगाए। आधुनिक पप गीत सुनेर हिँडाए। पप गीतले त अलि उत्तेजित बनायो। रफ्तार बढायो। दुम्किबासबाट दाउन्नेको उकालो शुरु भयो। अगाडि बढ्दै जाँदा साइकल, शरिर, गाना सब सिथिल भयो। हरेक बर्ष लुम्बिनी जाँदा दाउन्नेको उकालोले ज्यानै लैजाला जस्तो हुन्छ।  

एक रात आकस्मिक रुपमा अस्पताल जानु प-यो। गंगालाल हृदय रोग केन्द्रमा मुटुरोग विषेशज्ञले जाँचे। मुटुमा समस्या भएको पत्ता लाग्यो। यत्तिका साइकल चढे पनि कसरी मुटुको समस्या भयो। मलाई अचम्म लाग्यो। तर समस्या चाहिं मेरो बाल्यकाल देखिकै भएको पत्ता लाग्यो। बाल्यकालमा  घाँटिमा गल्फुलो आएर वा टन्सिल बढेको बेला प्राय घरेलु उपचार गर्ने चलन थियो। चिकित्सकसँग परामर्श गरी समयमै एन्टिवायोटिक्स सेवन गर्नु पर्ने रहेछ। समयमै उचित उपचार नगर्दा मुख वा घाँटिको संक्रामक किटाणु मुटुको रक्त नलिमा फैलिएर दिर्घकालीन असर गर्ने रहेछ। यो कुरा थाहा भएन।

आफन्तहरुले भने धेरै साइकल चढेकाले छातीको समस्या आएको अनुमान लगाएका थिए। वास्तविकता भने अर्कै रहेछ। यदि मैले नियमित साइकल नचढेको भए समस्या अझ निकै गम्भिर हुने रहेछ। आज तपाईहरु समक्ष यो अनुभव सुनाउने अवसर यहि साइकलले नै जुराई दिएको हो।

म नियमित काममा जाँदा अहिले पनि साइकलमै जाने गर्छु। चिकित्सकको सल्लाह अनुसार ठाडो उकालो बाहेक सबै ठाँउमा चलाउँछु। उनले यति भनिरहँदा निकै चाख दिएर सुनिरहेका उपस्थित स्थानीयले ताली पिटिरहे।

प्रकाशित: ८ मंसिर २०७५ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App