७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

माइती सम्झँदै तिहार

प्रिय भाइ,
मुटुभरी सम्झना।
तिहार नजिकिँदै छ र तिम्रो झझल्कोले सताइरहेछ । यसपल्ट पनि नेपालीको दोस्रो ठूलो चाड तिहारमा तिमीसँग भेट भएन । त्यसैले मन खल्लो भइरहेको छ । पढाइ, लेखाइ, बिहे अनि वैदेशिक रोजगारको सिलसिलामा जो जता पुगे पनि केही वर्षअघिसम्म हामी जन्मथलोमै फर्केर तिहार मनाउँथ्यौं । यसपल्ट त तिमी विदेशी भूमिमा, म यता कर्मघरमा । हाम्रो अनुपस्थितिको कारण पूर्वी पहाडको घर तिहारको रौनकले झिलिमिली हुन त परै जाओस्, चकमन्न हुन पुग्यो । मनले चाहेर पनि परिस्थिति अनुकूल नभएपछि घर पुग्न नपाउँदाको पीडा अर्कै हुँदोरहेछ।

तिमीले जस्तै मैले पनि धेरैपल्ट भयो, आफ्नो जन्मघर बाहिर तिहार मनाएको । कर्मघरका फूलमालाले हुने तामझाम र चमकदमकले तिहारको झल्को आए पनि जन्मघरमा मनाएजस्तो रमाइलो अनुभूति गर्न सकिनँ । बारीभरि ढकमक्क फूल फुलाएकी छु । तर, तिमीलाई माला लगाउन पाउँदिनँ । त्यही भएर तिम्रो न्यास्रोे लागिरहेछ । यी सयपत्रीका थुँगाथुँगाले तिम्रो सम्झना लिएर आएका छन्।

तिहार सुरु हुनासाथ हामी घरमाथिको फूलबारीबाट डालोमा सयपत्री र मखमली फूल टिपेर माला उन्न थाल्थ्यौं । त्यसरी आफैं उनेका मालाले हेर्दाहेर्दै घर, दलिन, चोटा र कोठाहरू सिंगारिन्थे । पानी राख्ने तामाका गाग्रीदेखि भोजमा खाना पकाउने खड्कुलाका घाँटीसमेत फूलका मालामय हुन्थे । नानाथरि फूल मिसाएर उनेको मालाले सिंगारपटार पारिएको घर धेरै दिनसम्म हेरौं–हेरौं लाग्दो हुन्थ्यो । गाउँमा हुँदा हामी आफ्नो घर अरुको भन्दा चिटिक्क पार्न मरिहत्ते गथ्र्यौं । सबैमा ‘कोभन्दा को कम’भन्ने भावना जाग्थ्यो र आफ्नो घरलाई सजाउन लाग्थ्यौं।

यो परिवेश दीपावलीमा उज्यालो हुन तरखर गरिरहेको बेला मेरो मनचाहिँ गाउँघरकै सम्झनामा रुमल्लिइरह्यो । तिमी र मैले बाल्यकालका तिहारमा बिताएका सुमधुर दिनहरूको झल्झली याद आयो । म फूलको शौखिन भएकाले बारीभरि धेरै सयपत्री रोप्थें । सिमसिमे पानी परिरहँदा असार पहिलो सातामै बिरुवा राख्थें । बिरुवा बारीमा रोपेको दिनदेखि गोडमेलमा तम्तयार हुनु मेरो दैनिकी बन्थ्यो । पछि त्यही सयपत्री फूलको माला उनेर भाइटीकामा तिमीलाई गलाभरी लगाइदिँदा कस्तो रमाइलो हुन्थ्यो । फूलबारीको भित्ताभरि लालुपाते मौलाएर राताम्मे भई फुल्दा झन् कस्तो आनन्द लाग्थ्यो । सयपत्री, ढुंग्री, गोदावरी र लालुपातेले हाम्रो घरको फूलबारीलाई रंगीचंगी बनाउँथे । यसले घरको शोभा बढ्थ्यो।

तिहारको प्रसंगलाई सम्झँदा एकपल्ट दार्जिलिङमा पनि मैले ‘डायस्पोरिक’ तिहार मनाउने अवसर पाएकी थिएँ । चिसो हावा चलिरहने शीतल मौसम । चियाबारीको हरियालीले भरिपूर्ण पहाडी सहर । चौरस्ता, नाइटिंगेल पार्क, रक गार्डेन, टाइगर हिल आदिको संगम थलो दार्जिलिङ । दीपावलीमा गरिने दीपज्योतिले त झनै सुन्दर देखिने । टोल टोलमा देउसी–भैलोका मीठा धुनहरू गुञ्जायमान । पहेंलपुर फूलका माला पहिरिएका नरनारी यताउता हिँडिरहेका । कस्तो गज्जबको रौनक थियो दार्जिलिङमा तिहारको । शब्दमा बताएर साध्यै नहोला जस्तो लाग्यो।

दार्जिलिङतिर बस्ने नेपाली भाषीले दसैं तिहारलाई भव्यरूपमा मनाएको देख्दा हर्षविभोर भएकी थिएँ । नेपाली संस्कारलाई हामीले बरु कमै प्राथमिकता दिएजस्तो लागेको थियो त्यतिबेला । तिमी त अहिले सात समुद्रपारि विदेशीका हुलमुलमा छांै । भाइटीका लगाउने चाहना भएर पनि यसपल्ट मलाई भेट्न आउन पाएनौं । मैले पनि तिम्रो निधारमा सप्तरंगी टीका लगाइदिन र तिम्रा हातबाट आफ्नो निधार रंग्याउन पाइनँ । यसमा अब पछुतो गरेर पनि केही हुनेवाला छैन।

बरु पहिले तिमीसँग घरमा मनाएका तिहारकै रमाइला क्षणहरू अहिले सम्झँदैछु । तिहार सुरु भएको पहिलो दिन टपरीमा विभिन्न परिकार राखेर कागको पूजा गरेको । भोलिपल्ट, मीठा खानेकुरा दिँदै कुकुरलाई माला लगाइदिएको । तेस्रो दिन, गाईलाई माला लगाइदिएर पूजा गरेको । त्यही बेलुका लक्ष्मीपूजा गरेर वरपरका घर चहार्दै भैलो खेलेको । नजिकै चौरमा लगाएको लिंगेपिङ मच्चाएको । हाटमा गएर थुप्रैबेर अलमलिएर आवश्यक चीजवीज किनेको । डाइस खेल्ने, पटका पट्काउने, छयाङ र रक्सीले मातेर लड्खडाएकाहरूको रमिता हेरेको।

लक्ष्मीपूजाको प्रसंग आउनासाथ मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको याद आइहाल्छ । तिमी र म त्यो दिन महाकविको तस्बिरमा माल्यार्पण गरेर कति श्रद्धासाथ झुक्थ्याैं है । ‘मुनामदन’, ‘शाकुन्तल’, ‘पागल’, ‘भिखारी’, ‘दाडिमको रुखनेर’ आदि पढेर हामीकति रमाउँथ्याैं है । अनि भाका हाली कविता गुनगुनाउँथ्यौं । ‘नटिप्नु हेर कोपिला...’, ‘कुनमन्दिरमा जान्छौ यात्री...’ । ती सुनौला दिन अहिले झल्झली सम्झिरहेछु । ढिकीमा कुटेको धानको पीठोको सेल रोटी, मासको फुरौला, फापरको रोटीलगायत अनेक घरेलु परिकार खाएको भरखरै जस्तो लाग्छ।

तिहारको अन्तिम दिन, भाइटीका लगाइदिएर मैले तिम्रो चिरायुको कामना गर्थें । अनि सयपत्री र मखमलीका माला उनेर पहि-याइदिन्थे । मैले सप्तरंगी टीका लगाइदिएपछि तिमीले मेरो चुल्ठोमा फूलको थुँगा सिउरिदिँदै सयपत्री फूलझैं संसारभरि मगमगाउने शुभकामना दिन्थ्यौ । ओखर फुटाएको, दुबोको माला उनेको, तिम्रो केशमा तेल घसेको क्षण सम्झिरहेछु । चेलीको चिनोस्वरूप मैले तिमीलाई ढाका टोपी, दौरा सरुवाल उपहार दिन्थें । तिमीले पनि ढाकाको गुन्यु चोली र पछयौरी दिन्थ्यौ । तिमीले दिएका ती सबै उपहार मैले अझै जतनसाथ राखिरहेकी छु । बेला–बेला हेरेर भए पनि परदेशी भाइको सम्झना गाढा बनाउने गर्छु।

आज तिमी र म सँगै छैनौं । त्यसैले यतिबेला तिम्रो र घरको सम्झना टड्कारो भइरहेछ । हरियो गोबर र रातो माटोले लिपेको हाम्रो घर तिहारका बेला हेरिरहुँलाग्दो हुन्थ्यो । त्यहाँबाट सुन्दरताको क्या सुगन्ध आउथ्यो है । ‘भगवानले गाउँ बनाए अनि मानिसले सहर’ कसैको यो भनाई साँच्चै सान्दर्भिक लागिरहेछ यतिबेला । गाउँ स्वर्गजस्तै हुन्छ है प्यारो भाइ।

तिहारकै बेला ठुल्ठूला टारबारीमा पहेंलै तोरी फुल्ने । भमरा माहुरीहरू रस चुस्न आउने घमाइलो मौसम । सुन्तला, कागती लटरम्म फलेर नुहिएका बोट । पाखाभरि अम्बा पाकेर भुइँभरि छरिने । पाकेका धानका बोट काट्ने बेला हुने । बादल उडेर निख्खर सेताम्मे देखिएका कञ्चनजंघा र कुम्भकर्ण हिमाल । गाउँ जाँदा देखिने तर अहिले मैले पनि देख्न नपाएका यस्ता दृश्यहरू मनको तह–वितहमा बग्रेल्ती जमिरहेछन् । आफ्नो जन्मभूमिको मायाको बारेमा लेख्न थाल्यो भने आत्मसंस्मरण बन्न सक्छ।

त्यो स्वर्गीय गाउँको सुमधुुर अनुभूति तिमीसँग जोडिएको छ । हाल आएर मेरो अटुट जिउने सहारा बनेको छ । तिमी आज मसँग थियौ भने सायद हामी जन्मस्थलमा हुने थियौ । तिम्रो अभावमा एक्लै जान मन लागेन । भूतकालको असरल्ल यादले मलाई तर्साइरहेको छ । अनौठो किसिमले रिक्त भएको छ मन । हरपल तिम्रो खोजीमा छ । तिम्रो यो तीव्र विरहीपनको क्षतिपूर्ति गर्न  विनम्र भातृत्वपूर्ण साथ चाहिएको छ । हाम्रो भौतिक शरीर जति दूर भए पनि मनचाहिँ एकदम नजिक हुँदोरहेछ।

मेरा हरेक तिहारमय संस्मरणहरू तिम्रो ह्दयसँग नजिक भएर पूरा हुन्छन् । तिमीबिनाको तिहार सधैं अधुरो रहन्छ । कसैको अनुपस्थितिले सम्झना अझ गाढा बन्छ रे । ठ्याक्कै यही भनाइ लागू भएको छ मेरो जीवनमा । तिमीप्रतिको अनुराग पलपल छचल्किइरहेछ स्मृतिपटलमा । प्यारो भाइ, फूलहरूका पत्रपत्रमा मेरो माया र आशिर्वाद पठाएकी छु । यही मनोकामना छ, भौतिकताको सिमाना नाघेर तिमीले ग्रहण गर्नेछौ । यो पत्र पढिसकेर अर्को तिहारमा पहिलाजस्तै भाइटीका मनाउन प्रण गर्नेछौ । म तिम्रो लागि अर्को वर्ष पनि सयपत्री र मखमली रोपेर ढकमक्क फुलाउनेछु । अनि विदेशदेखि फर्किएर आउनेछौ र हामीले पहिला जन्मघरमा जस्तै तिहार मनाउन पाउनेछौ भन्ने आशा गर्छु।

मायालु चेली

प्रकाशित: १७ कार्तिक २०७५ ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App