७ वैशाख २०८१ शुक्रबार
अन्य

कुमारीलाई शक्ति दिने पचली भैरव जात्रा

काठमाडौंको गोफलस्थित पाःलाःको घरमा राखिएको पचली आजु साथै पाःलाःहरू सानु, आशानारायण र हरि महर्जन। तस्बिर : तेजनारायण महर्जन

जीवित देवी कुमारीले आइतबार आफ्नो शक्ति पुनप्र्राप्ति गर्दैछिन् । आइतबार असोज शुक्ल पञ्चमीको दिन उनले हनुमानढोकामा पचली आजु (भैरव)को दर्शन गरी शक्ति पुनप्र्राप्ति गर्नेेछिन् । उनलाई शक्ति प्रदान गर्न पचली आजु (भैरव) हरेक वर्ष असोज शुक्ल पंचमीको दिन हनुमानढोकामा आउने गर्छन्। कुमारी शक्ति प्रदान गर्न पचली आजुलाई हरेक वर्ष जात्रा गरी हनुमानढोका पु-याइँदै आइरहेको छ।

असोज शुक्ल पंचमीको राति पचली आजु हनुमानढोका पुगेपछि जीवित देवी कुमारीलाई पनि हनुमानढोका ल्याइन्छ । उनी आइसकेपछि हनुमानढोकासँगै रहेको पाटीमा बसी पचली आजुसँग आँखा जुधाउँछन् । यसरी आँखा जुधाउनेलाई नै कुमारीले आफ्नो शक्ति पुनप्र्राप्ति गरेको रूपमा लिइँदै आइरहेको संस्कृति अध्ययता एकाराम सिंहले बताए । उनका अनुसार देवीदेवताको शक्ति तीन महिना, छ महिना, बाह्र महिना वा बाह्र वर्षमा क्षीण हुन्छ । कुमारीले पनि १२ महिनामा एकचोटी आफ्नो क्षीण भएको शक्ति पचली आजुबाट पुनःप्राप्त गर्दै आइरहेको उनले बताए।

धार्मिक मान्यता अनुसार भैरव राष्ट्र रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने गर्छ । लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेग (हालको टेकु)मा क्षेत्रपालको रूपमा पचली भैरवलाई स्थापना गरेको विभिन्न वंशावलीमा उल्लेख छ।

संस्कृति अध्ययता सिंका अनुसार अष्टमातृका स्थापना गर्दा बीचमा भैरवको पनि स्थापना गर्नुपर्छ । त्यसैले गुणकाम देवले कान्तिपुरको रक्षाको लागि अष्टमातृका स्थापना गरेपछि बीचमा इन्द्रचोकस्थित आकाश भैरवसँगै क्षेत्रपालको रूपमा पचली भैरवको पनि स्थापना गरेका हुन्।

पचली भैरवको जात्रा हरेक वर्ष घटनास्थापनादेखि पंचमीसम्म पाँच दिन मनाइन्छ । घटनास्थापनाको दिन साँझ पचली भैरवको मूर्तिलाई पाःलाः (पुजारी)को घरबाट टेकुस्थित पीठमा लगिएको थियो । यसपाली पाःलाः परेका सानु महर्जनका अनुसार पीठमा राखिएको भोलिपल्ट मूर्तिमा दृष्टि दिनको लागि कोहितिस्थित चित्रकारको घरमा राखिन्छ । त्यहाँ भीमसेनस्थानका चित्रकारहरूले मूर्तिमा लँपुं छायेगु (साजसज्जा गर्ने) र मिखा कंकेगु भनेर दृष्टि दिने कार्य गरिन्छ । यो बेला कोहितिमा वटु टोलका चित्रकारहरू पाःलाःको रूपमा बस्ने÷आउने गर्छन् । असोज शुक्ल चौथीको दिन दृष्टि दिइसकेपछि बेलुकी मूर्तिलाई भिमसेनस्थानस्थित क्वाबहाःमा लगी थकु जुजुको तर्फबाट पूजा लिने गरिन्छ । पूजापछि त्यहि दिन बेलुकी मूर्तिलाई टेकुस्थित पचली पीठमा ल्याई राखिन्छ । पंचमीको दिन बिहानै मूर्ति रहेको घ्याम्पोमा वर्ष दिनअगाडिदेखि राखीराखेको जाँड, रक्सी सहितको जल टेकुस्थित पञ्चनालीमा बगाइन्छ । नवरात्रिको पाँचौं दिन पञ्चनालीमा बगाएको जल लिएमा रोगव्याधि नलाग्ने जनविश्वास छ ।  टेकुमा नवरात्रि मेला भर्न आएका श्रद्धालुहरूले यसले नुहाउने गर्छन् । सोहि दिन बेलुका पचली भैरवको मुख्य जात्रा मनाइन्छ । बेलुकी मूर्तिलाई बोकी रुद्रविनायक, अजिमासँगै हनुमानढोका लगिन्छ । पचली आजुको मूर्ति हनुमानढोका पुगेपछि जीवित देवी कुमारीलाई आजुको दर्शन गर्न ल्याइन्छ र यसै क्रममा कुमारीले पचली भैरवसँग दृष्टि जुधाई शक्ति पुनप्र्राप्ति गर्छिन्।

कुमारीले भैरवको दर्शन गर्दा कुमारीले हेर्न पुग्यो नभनेसम्म मूर्तिलाई उठाउन नहुने पुजारी गुथिका हरि महर्जनले बताए । ‘कुमारीले पचली भैरवको दर्शनको बेला मूर्तिलाई हेरिरहेको हुन्छ । कुमारी माजुले हेर्न पुग्यो नभनेसम्म मूर्तिलाई फिर्ता लानु हुन्न । उनले दुई–तीन घण्टा हेरिरहे पनि कुरेरै बस्नुपर्छ,’ उनले भने।

पचली आजुलाई कुमारीले दर्शन गर्दा सरकारी पूजा पनि हुने गर्छ । हनुमानढोकास्थित कौशी तोषाखानाले सरकारी पूजा दिने गर्छ।

पचली आजु (भैरव)लाई राष्ट्रको रक्षक र शक्तिको स्रोतका रूपमा सरकारीस्तरबाटै पूजा गरिन्छ । तत्कालीन राजाहरूले शक्ति संचितिको लागि हरेक १२ वर्षमा पचली भैरवसँग खड्गसिद्धि (खड्ग साट्ने) गर्थे । ‘राजाहरूले खड्ग सिद्धि गर्ने पनि कुमारीले शक्ति पुनप्र्राप्ति गरेजस्तै हो,’ संस्कृति अध्ययता सिंहले भने।

शाहकालीन राजा वीरेन्द्र शाहले समेत पचली भैरवको १२ वर्षे जात्रामा खड्गसिद्धि गरेका थिए । ज्ञानेन्द्र शाहले राजगद्दी त्यागिसकेपछि पनि तीन वर्षअगाडि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न सहयोग गरेका थिए।

सरकारी स्तरबाटै सम्मान गरिँदै आइरहेको पचली भैरवको जात्रा भने अहिलेसम्म ओझेलमै रहेको स्थानीयहरू बताउँछन् । सरकारीस्तरले पनि पचली जात्रामा पूजा दिनेबाहेक केही सहयोग नगरेको गुथियारहरू बताउँछन् । ‘पचली जात्राको लागि गुठी संस्थानबाट यति थोरै रकम दिन्छ कि त्यो रकमले जात्रामा अवसरमा गरिने भोजको लागि अचार बनाउनसम्म पनि पुग्दैन,’ यसपालिदेखि पाःलाः बस्न लागेको पुजारी गुठीका आशानारायण महर्जनले बताए।

पचली आजुको संरक्षण गर्न, जात्रा मनाउन १२ जना गुठियार हरेक वर्ष पालैपालो पुजारी बस्दै आइरहेका छन् । ‘एक वर्ष पुजारी बस्नु पर्दा जागिर समेत छोडेर आउनुपर्ने हुन्छ,’ उनले भने, ‘तर, जात्रामा सबै खर्च पुजारीले नै गर्नुपर्छ । अहिले पीठ रहेको स्थानमा केही सत्तलहरू भोज र कार्यक्रमको लागि भाडामा दिन पाएकोले अलि खर्च उठिरहेको छ, पहिला त आफ्नै घरखेत बेचेर भए पनि जात्रा चलाउनुपथ्र्याे।’

उपत्यकाका परम्परागत जात्रा पर्व चलाउन पहिला धैरे खेत जात्रा गुठीको नाममा रहेको हुन्थ्यो । यही खेतबाट आउने आयस्ताबाटै यस्ता जात्रा पर्वहरू चलाउँदै आइरहेको थियो । ‘गुठी संस्थानको स्थापनापछि जात्रापर्व गुठीका जग्गा सबै गुठी संस्थानले लिइसके । अहिले हामीसँग केही आयस्ता छैन । गुठी संस्थानले यहि जग्गाबाट कमाइरहेका छन् । तर, जात्रापर्व मनाउन भने यति थोरै रकम दिन्छन् कि जात्रा मनाउनु त के जात्राको लागि सानो सामान पु¥याउन पनि पुग्दैन,’ पुजारी महर्जनले भने।

पहिला गुठियार, थकु जुजु र जात्रासँग सम्बन्धित चित्रकार, गथुहरूले मात्र संचालन गर्दै आइरहेको जात्रा व्यस्थापन गर्न केही वर्षअगाडिदेखि स्थानीयस्तरमा पचली जात्रा व्यवस्थापन समिति बनाई जात्रा व्यवस्थापन गर्दै आइरहेको छ । समितिका अध्यक्ष बालकृष्ण महर्जन राज्यस्तरबाटै सम्मानित पचली भैरवको जात्राबारे प्रचारप्रसार नभएकाले गर्दा स्थानीय स्तरमा मात्रै सीमित भइरहेको बताउँछन् । उनले भने, ‘पचली भैरवको जात्रा नेपालकै मौलिक जात्रा हो, यो जात्राले पनि पर्यटकलाई धेरै आकर्षित गर्न सकिन्छ । त्यसैले हामी यसपाली जात्राको प्रचारप्रसारमा पनि लाग्दैछौं । जात्राको टेलिभिजनबाट लाइभ गर्दैछौं।’

उनका अनुसार यसपालि काठमाडौं महानगरपालिकाले जात्रा व्यवस्थापन गर्न समितिलाई ८० हजार रकम दिएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App