१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

श्रमको सबाई

कविता 
–राधा कार्की

चरचर हस्तरेखा
थरथर शरीर
बुख्याँचाझैं खडा छ–कान्छाको काया।

घामको झुल्का ओर्लनै नसक्ने
साँघुरो गल्ली
महलको सेपले सुकेनास लागेको
राम झुपडी
अँध्यारै अँध्यारो
कान्छाको भागमा।

फुर्तीबहादुर घाम ओढेर
कान्छालाई दप्काउँछ
मानौंकि
यो नै हो उसको नैसर्गिक अधिकार !
उफ्, यो कस्तो नसा हो !
मान्छेको पसिनामा पौडी खेल्ने
उफ्, यो कस्तो रहर हो !
मान्छेका खुसीहरू लुट्ने
उफ्, यो कस्तो नियत हो
ठट्टा मजाकमा उडाउने मान्छेको सास्ती।

ए, समय !
तैंले त बुझ्नुपर्ने पसिनाको मूल्य 
कान्छाको शरीरबाट
कत्रो भेल बग्यो होला–पसिनाको ।
कत्रो दह बन्यो होला–रगतको
र कति पटक ढोलिए होलान्–सपनाका बिस्कुनहरू!

झैं बेखबर प्रतीत छन्
कैयौं कान्छाहरू 
जसको श्रमको ढाडमा टेकेर
अग्लिएको छ–महलको धुरी।

प्रकाशित: १३ आश्विन २०७५ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App