२५ जेष्ठ २०७७ आइतबार
अन्य

अन्धो समाजको दृष्टि

प्रकाश नेपालीको उपन्यास ‘अन्धो समाज’ जातीय विभेदका कारण अभिजातवर्गबाट निम्नवर्गका मानिसले भोग्दै आएको पीडाको दस्ताबेज हो । अछुतलाई हाम्रो समाजमा सधैँ हेयका दृष्टिले हेरिन्छ । देवताको निर्माण गर्नु तर पुज्न नपाउनु, धारा बनाउनु तर तिर्खा लाग्दा पानी पिउन नपाउनु, मन्दिर बनाउनु तर प्रवेश नपाउनु, चौतारा बनाउनु तर थकाइ लाग्दा सुस्ताउन नपाउनु जस्ता नियति अछुतहरूले भोग्दै आएका छन् । उनीहरूले सिलाएको कपडा लगाएर पण्डितहरू लाज ढाक्छन्, त्यो कपडा अछुत हुँदैन तर कथम्कदाचित छोइएमा छोइछिटो हालेर चोखिने भ्रममा बाँचिरहेका छन् तथाकथित् पण्डितहरू।

सन्तमानको छोरो सूर्यले चार–पाँच घण्टासम्म पण्डितलाई मन्दिरमा कुरेर बसेको तर पण्डित नआइपुगेको र आफूलाई पनि हतार भएका कारण आफैँ मन्दिरमा पसि पूजा गरेर फर्कन लाग्दा पण्डित आएर सार्कीको छोरो मन्दिर पसेको भन्दै उसलाई तथानाम गाली गरेको प्रसंगबाट उपन्यास उठान गरिएको छ । मन्दिरमा प्रवेश गरेकै कारण गाउँलेबाट तिरष्कृत भई चारपाटा मुडेर गाउँ निकाला गर्ने क्रममा नदिमा हेलिएर बेपत्ता हुन विवश सूर्य र भएको एउटा छोरो पनि गुमाउनु परेको पिडा खेपेर बाँच्न वाध्य सन्तमानको दुर्दान्त अवस्थालाई उपन्यासमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। 

एकातिर मन्दिर प्रवेशकै कारण सूर्य नामक पात्रको त्यो हविगत भएको छ भने अर्कोतिर गाउँकी मुखियाकी छोरी नम्रतासँग अशोक दर्जीको प्रेम प्रसङ्गको कुरा देखाइएको छ । त्यस्तै अर्को माझीको छोरो वीरेले उच्चजातकी आशिकासँग प्रेम गरेको तर अन्तरजातीय विवाहका कारण उसलाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाउने जस्तो निकृष्ट व्यवहार गाउँलेले गरेको देखाइएको छ । उपन्यासका कुनै पनि पात्रले सजातीय प्रेम गरेका छैनन्। 

बालबालिका निश्छल स्वभावका हुन्छन्, उनीहरूमा जात, धर्म, लिंग, धनी, गरिब कुनै पनि आधारमा विभेदको भावना हुँदैन भनिन्छ तर उपन्यासमा हरिराम विश्वकर्माकी बाह्र वर्षिया छोरी गीतालाई विद्यालयमा सबै कुरा राम्रो भए पनि दलित भएकै कारण किताबहरू फ्याँकिदिने, बेन्चमा बस्न नदिने जस्ता दुर्व्यवहार गरिन्छ आफ्नै कक्षाका साथीहरू र शिक्षकबाट समेत।

‘वीरू तैँले म मरेपछि काजकिरीया पनि नगर्नू र आमाको सिउँदो पुछ्न र चुरा फुटाउन पनि नदिनू । यदि उनीहरू रातो कपडा, सिउँदोको सिन्दूर अनि चुराहरू फुटालेर सेतो कपडामा बस्नु पर्यो भने उनीहरू बन्धनमा रहन्छन्।’ 

उपन्यासमा राजनैतिक विकृृति र विसंगतिमाथि समेत तिव्र व्यङ्ग्य गरिएको छ— नेताहरू सबैजना सिंहदरबारमा कानुन बनाउँछन्, भित्र नीतिनियम बनाउँछन्, बाहिर निस्कँदा नीति नियमलाई भित्रै थुनेर हिँड्छन् । यस्तो अवस्थामा कसरी देशले कोल्टो फेर्छ र ? यहाँ त साग बेच्नेलाई जेलमा लगेर हाल्छन् तर गैँडाको खाग बेच्नेलाई हाइहाइ काढ्दै काँधमा चढाउँछन् ।’(पृ . ७३) । यसै गरी उपन्यासमा नारी हकहितका कुरा पनि क्रान्तिकारी ढंगले बुलन्द रुपमा आएका छन् । वीरे भन्ने पात्रलाई उसको बाबुले मर्ने बेलामा के भनेको छ भने, ‘वीरू तैँले म मरेपछि काजकिरीया पनि नगर्नू र आमाको सिउँदो पुछ्न र चुरा फुटाउन पनि नदिनू । यो नारीहरूको स्वतन्त्रता हो । यदि उनीहरू रातो कपडा, सिउँदोको सिन्दूर अनि चुराहरू फुटालेर सेतो कपडामा बस्नु पर्यो भने उनीहरू बन्धनमा रहन्छन्।’ 

यसरी बाबुको भनाइ अनुसार वीरेले काजकिरिया नगर्दा गाउँलेहरूले अनेक कुरा काटे तैपनि समाज परिवर्तनका खातिर उसले सहेर बस्यो । त्यस्तै हाम्रो समाजमा विद्यमान लैङ्गिक विभेदलाई पनि उपन्यासमा चर्चा गरिएको छ । कालिप्रसादका छोरा नहुँदा छोरी नम्रताले नै दागबत्ति र काजकिरिया गरेकी छ तर समाजले त्यसलाई निन्दा गरेको छ । यसैगरि नछुने हुँदा छोरी मान्छेले भोग्नु पर्ने कष्ट, अन्धविश्वास आदिलाई एकातिर देखाइएको छ भने अर्कोतिर बोक्सी लाग्ने, धामीझाँक्री बसाउने जस्ता अन्धपरम्परा पनि उत्तिकै सशक्त रूपमा आएको छ। 

उपन्यासमा चेलीबेटी बेचबिखन जस्तो सामाजिक कुप्रथालाई पनि प्रस्तुत गरिएको छ । कानुनी रुपमा अपराध मानिए पनि यो प्रथा चलिआएको छ । अशिक्षित, निम्नवर्गीय, सोझासाझा चेलीबेटीलाई अनेक प्रलोभनका साथै विवाहको प्रपञ्च रचेर विदेशी कोठीमा लगी बेचबिखन गर्ने नरपशुहरू समाजमा छाति फुलाएर हिँडेका छन् । कमजोर कानुन र आर्थिक विपन्नताका कारण यो समस्या न्यूनीकरण हुन सकेको छैन । उपन्यासमा अमृता नामकी पात्र यसको सिकार बनेकी छ । आफ्नै श्रीमान भनाउँदोबाट बेचिएकी छ ऊ र बम्बैमा नारकीय जीवन बिताएर गर्भवती भएपछि आफ्नो घर फर्किन्छे तर घरमा पनि आफ्नै बाबु लगायत गाउँलेहरूको तिरस्कार सहँदै बाँच्न विवश हुन्छे । पछि सुत्केरी हुन नसकीअकाल मृत्युवरण गर्न पुग्छे।

यसैगरी वर्तमानमा युवाहरू वैदेशिक मुलूकमा रोजगारीका लागि धाउने समस्यालाई ज्वलन्तरmपमा प्रस्तुत गरिएको छ । स्वदेशमा कुनै उपाय नदेखेपछि पैसा कमाउने आशमा आफ्नो भएभरको धनसम्पत्ती धितो राखेर पनि नेपालीयुवा विदेश पलायन हुने गरेका तथ्यहरू उपन्यासमा अघि सारिएको छ । जसअनुसार आफ्नी बिरामी आमा र प्रेमिकालाई छाडेर हरि विदेश जानविवश छ । उता रामसुरत नामको पात्र वैदेशिक रोजगारमा छँदै केटीलाई आँखा लगाएको अभियोगमा मलेसियन सरकारद्वारा फाँसीको सजाय भोग्न बाध्य भएको छ । अन्त्यमा हरिले सन्ध्या नामको दलितलाई बिहे गर्छ तर आफ्नोे बाबु लगायत पुरै समाज उनीहरूको विरmद्धमा उत्रिन्छन् । बाबुको र समाजको विरmद्धमा धेरै लडे पनि, धेरै शक्तिशाली विचार प्रस्तुत गरे पनि आखिर बाबुले कुनै हालतमा स्वीकार्न नखोजेपछि अन्ततः हरि र सन्ध्या फाँसी लगाई सँगै मृत्युवरण गरेको घटनाबाट उपन्यासको अन्त्यभएको छ।

यसरी उपन्यासकार प्रकाश नेपालीले समाजका जल्दाबल्दा समस्याहरूलाई उनेर एउटा औपन्यासिक रूपमा पाठक सामु पस्किएका छन् । शिखा बुक्सको प्रकाशनमालाका रूपमा बजारमा आएको यस पुस्तक नेपालीभाषा साहित्यप्रति त्यति अभिरुचि नदेखाउने युवाको  जमातमा पृथक पहिचान बोकेर उदाएको छ। 

युवाहरूलाई उत्प्रेरणाको खाँचो छ । प्रकाशभित्र साहित्यिक प्रतिभाको राम्रो लक्षण देखिएको छ । हाम्रा समस्यालाई हामीले नै नउजिल्याउने हो भने समाज कसरी परिवर्तन हुन सक्छ र ? तथापि यस्ता कुरीतिलाई पन्छाउन सामाजिक जागरण आवश्यक छ । बोलिमा भन्दा व्यवहारमा लागू गर्ने हो भने प्रकाशले खोजेजस्तै समृद्ध समाज निर्माण गर्न सकिने कुरामा कुनै संकोच देखिदैँन । हामीमा चेतनाको स्तर उकासिने हो भने आफसेआफ परिवर्तनको दैलो उघ्रन्छ।  

 

प्रकाशित: १३ आश्विन २०७५ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App